Successfully Copied

कस्तो जीवनसाथी रोज्ने ?

आजका युवा बिलासितातर्फ आकषिर्त छन्। उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्छन्, संसारका हरेक सुख भोग गर्ने आकांक्षा उनीहरूभित्र हरक्षण रुमल्लिइरहन्छ।

आजका युवा बिलासितातर्फ आकषिर्त छन्। उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्छन्, संसारका हरेक सुख भोग गर्ने आकांक्षा उनीहरूभित्र हरक्षण रुमल्लिइरहन्छ। जीवनसाथी रोज्ने क्रममा पनि उनीहरुले सम्पन्नतामा विशेष ध्यान दिने युवा परामर्शदाता तथा सम्बन्धित विशेषज्ञहरूको भनाइ छ। परिपक्व तथा उमेर पुगेका कतिपय भने बौद्धिकतालाई यी सबै कुराको कसी मान्छन्। विश्वभर हालसम्म विवादास्पद मानिएको यो विषय (जीवनसाथी रोज्दा सम्पन्नतालाई ध्यान दिने कि बौद्धिकतालाई ?) का सम्बन्धमा नारी बहस ः

डोल्मा लामा युथ क्याम्पेनर तथा सामाजिक कार्यकर्ता

अहिलेका युवाहरू बौद्धिकतामा भन्दा पनि सम्पन्नतातर्फ बढी आकषिर्त छन्। गाडी, बंगला, महँगा ग्याजेट, विदेश भ्रमण गराउन सक्ने जस्ता हैसियत भएका जीवनसाथी उनीहरूको पहिलो रोजाइमा पर्छन्। उनीहरू आफ्ना चाहना पूरा गर्ने पार्टनरको पक्षमा हुन्छन्। थोरै दूरदर्शीहरू मात्र बौद्धिक जीवनसाथी चाहन्छन्। वास्तवमा बौद्धिकतातर्फ आकषिर्त हुनुपर्ने हो किनभने बौद्धिक व्यक्तिले केही समय लगाए पनि ती सबै चीज हासिल गर्न सक्छ। पुरुषको तुलनामा महिलाहरू बढी संवेदनशील हुने भएकाले अभिभावकहरू पनि उनीहरूका बारेमा बढी चिन्ता गर्छन्। अभिभावकहरूले आफ्ना छोरीलाई सानैदेखि सही स्कुलिङ तथा सकारात्मक पारिवारिक वातावरणमा हुर्काउन सके यो टे्रन्डमा विस्तारै परिवर्तन आउँछ। मेरो सुझाव छ-इमान्दार, सहयोगी, क्षमतावान्, आफूलाई बुझ्न सक्ने र जीवनसाथी बन्ने क्षमता राख्ने लाइफ पार्टनर रोजौं। सम्पन्नतामा लोभिएर भविष्यमा नपछुताऔं।

प्रतिभा विवश राइ, लेखिका तथा साहित्यकार

वास्तवमा म अहिलेसम्म अविवाहित बस्नुको कारण आफूले चाहेजस्तो नभएकाले पनि हो। लाहुरे परिवेशसँग नजिक म पैसा र सम्पन्नतालाई मात्र प्राथमिकता दिने भए आज सम्भवतः यो स्थानमा हुदिनथें। करिअर ओरिएन्टेड व्यक्तिको हैसियतले म आफूसँग विचार मिल्ने, लैंगिकमैत्री, शिक्षित, समझदार तथा सहकार्य गर्न सक्ने जीवनसाथी चाहन्छु। मलाई थाहा छ बौद्धिकताबिनाको सम्पत्ति प्लास्टिकको फूलजस्तै कृत्रिम हुन्छ जसमा सुगन्ध हुँदैन। सम्पत्ति मात्र हेर्नेहरूको सम्बन्ध पछि गएर डिभोर्ससम्म पुगी जीवन बर्बाद भएको पनि देखिएको छ। अहिलेका युवतीहरू श्रीमान्भन्दा पनि सहकर्मी जीवनसाथी चाहन्छन्। उनीहरूको आफ्नै सपना, आकांक्षा, महत्वाकांक्षा र करिअर छ। उनीहरू उचाइमा पुग्न हातेमालो चाहन्छन्। त्यसो त बौद्धिक भएर पनि त्यसको उपयोग नगरेका थुप्रै व्यक्ति नभएका होइनन् तसर्थ बौद्धिकतासँगै स्मार्टनेस पनि चाहिन्छ। अहिलेको जमानामा स्मार्ट, पि्रजेन्टेवल र कन्फिडेन्ट युवा पहिलो रोजाइमा पर्छन्। यी कुराले सम्पत्ति कमाउन सकिन्छ र त्यसको सदुपयोग पनि गर्न सकिन्छ।

ज्योति श्रेष्ठ कम्युनिकेसन एसोसियट, डब्ल्युडब्ल्युएफ, नेपाल

जीवनमा कसैको साथ सबैका लागि आवश्यक छ जसको चयनमा हामीजस्ता युवाले विशेष सजगता अपनाउनुपर्छ। टिनएजर्सहरू स्टाइलिस्ट बाइक, महँगा ग्याजेट, कार, बंगला आदि भौतिक वस्तुप्रति आकषिर्त हुन्छन्। मलाई पनि आफू टिनएजर्स हुँदा त्यस्ता वस्तु कुल लाग्थे। अहिले मलाई त्यस्ता भौतिक वस्तुहरू क्षणिक हुन्छन् भन्ने लाग्छ। अविवाहित युवतीका हैसियतले मलाई माया गर्ने, बौद्धिक, समझदार, पि्रजेन्टेबल, इम्प्रेसिभ, कम्फर्टेबल, आफूसँग विचार मिल्ने, जस्तोसुकै परिस्थितिलाई सम्हाल्न सक्ने जीवनसाथी होस् भन्ने लाग्छ, बरु गुड लुकिङ नभए पनि हुन्छ तर स्मार्टनेस र बौद्धिकता प्राथमिकतामा पर्छ।

अनिता थापा, निर्देशक, सम्भावना

विगत ९ वर्षदेखि युवाका फरक-फरक क्षेत्रमा काम गरेको अनुभवका आधारमा म के भन्छु भने वैवाहिक मामलामा अहिले युवाहरू स्वयंको भन्दा अभिभावकको निर्णयले बढी काम गर्छ। मैले आफ्ना सहपाठीसँगको अफेयर टुक्र्याएर आमाबाबुको निर्णयमा विदेश बसेर आउने केटासँग विवाह गरेको पनि देखेकी छु। युथ इनिसियटिभमा अध्यक्षका रूपमा करिब ३ वर्ष काम गर्दा मैले त्यस्ता धेरै घटना देखेकी छु जसमा वैवाहिक विषय आमाबुबाको निर्णयमा निर्भर रहन्छ तर विवाह भनेको नितान्त व्यक्तिगत निर्णयमा हुनुपर्ने हो। मेरो सर्कलमा खान-लाउन सक्ने, आफूलाई सहज हुने तथा आफ्नो कामलाई बुझेर आवश्यक स्वतन्त्रता दिन सक्ने जीवनसाथीको चाहना राख्नेहरू धेरै छन्। थोरै मात्र पैसा भएका व्यक्तिसँग विवाह गर्न चाहन्छन् ताकि उनीहरू कामै नगरी सुखमय जीवन बिताउन सकून्। अहिलेका कतिपय युवाहरू चाहिँ लभ अफेयर कलेजका साथीसँग भए पनि कालान्तरमा वेल स्टाब्लिस्ट व्यक्तिसँग विवाह गर्न चाहन्छन्। यद्यपि जीवनसाथी रोज्दा सम्पन्नता होइन सहजताका साथै स्वतन्त्रता र क्षमतामा जोड दिनुपर्छ।

 Image