Successfully Copied

भान्सामा सिसाको जादु

सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनर भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री सिसाका भाँडाको माग बढ्दै गएको व्यापारी बताउँछन् ।

कुनै बेला होटल र पार्टी प्यालेसमा मात्र देखिने चम्किला सिसाका गिलास र भाँडाहरूले अहिले हरेक नेपाली भान्सामा प्रवेश गरिरहेका छन् । बजारमा पाइने विविध रङ, आकार र मूल्यका सिसाका भाँडाहरूले उपभोक्ताको ध्यान तानेका छन् । काठमाडौंको असन बजार होस् वा कुनै गाउँले बस्तीको भाँडा पसलमा पुग्दा सिसाका झलमल्ल भाँडाहरूले सजिलै सबैको ध्यान तानेका हुन्छन् । सफा, टल्किने, विभिन्न डिजाइन र आकारको हेर्दा लाग्छ यस्ता भाँडाहरूले भान्साको शोभा नै बढाएका छन् ।
पछिल्लो समय सहरदेखि गाउँगाउँमा समेत सिसाका गिलास, जार, बोतल, प्लेट र डेकोरेटिभ कन्टेनरहरू भान्सामा प्रयोग हुन थालेका छन् । वातावरणमैत्री हुने सिसाका भाँडाहरूको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् । भान्साका लागि साना–ठूला जार, तेल राख्ने डिस्पेन्सर, मसला कन्टेनर, अचारका बोतलदेखि लिएर चिया कप र पानीका बोतलसम्म, हरेक सामग्रीमा सिसाको आकर्षण बढेको छ । सिसाका भाँडाको बजार नेपालमा केही वर्षयता तीव्र रूपमा बढ्दो छ ।
काठमाडौं बानेश्वरका विक्रेता मुकेश बजाचार्य सजावटका लागि ग्राहकहरूले सिसाका भाँडाहरू खोज्ने गरेको बताउँछन् । उनका अनुसार सिसाका ग्लास, प्लेटदेखि डाइनिङ सेटसम्म रोज्ने गरेका छन् । विशेषगरी ग्राहकहरूले उपभोक्ताहरूको सजावट र प्रयोग दुबै हिसाबले यस्ता भाँडाहरू खोज्ने गरेको उनी बताउँछन् । ‘हामीकहाँ ग्राहकहरू सजावटका लागि गिलास सेट, रंगीन जार, बोतल र सिसाका कन्टेनरहरू खोज्छन्,’ उनी भन्छन्, ‘अहिले सिसा हरेकको भान्सामा पुगेको छ, भनौं यो एउटा फेसनजस्तै भएको छ ।’

भारत, चीन, मलेसिया र थाइल्यान्डबाट सिसाका भाँडाहरू नेपाली बजारमा आउने विभिन्न मूल्य र ब्रान्डमा उपलब्ध छन् । यसको मूल्यमा पनि विविधता छ । भान्सामा प्रयोग हुने भाँडाहरूका बारेमा उपभोक्ताहरू सचेत हुनुपर्ने उनको भनाइ छ । दैनिक प्रयोगमा आउने सिसाहरू फुड ग्रेड सिसा हुनुपर्छ । जसले खाना वा पेयपदार्थ राख्दा सुरक्षित हुन्छ । प्लास्टिकभन्दा धेरै गुणा टिकाउ र वातावरणमैत्री विकल्पका रूपमा सिसाको उपयोग प्रभावकारी मानिएको छ ।
स्टिल, प्लास्टिक हुँदै बजारमा सिसाको चलन बढ्न थालेको हो । सिसाका भाँडाको मूल्य किसिमअनुसार फरक पर्छ । सामान्य पानी गिलास रु. ५० देखि १५० सम्ममा पाइन सक्छ भने डेकोरेटिभ सेट रु. ८०० देखि ३५०० सम्म पर्छ । सहरमा मात्र होइन, हाल अनलाइन खरिदको प्रवृत्तिले गर्दा सिसाका सामानहरू गाउँसम्म पनि पुग्न थालेका छन् ।
महिला उपभोक्ताहरूले आकर्षक डिजाइन देखेर सामाजिक सञ्जालमार्फत अर्डर गर्ने गरेका छन् । कोटेश्वरकी उर्मिला अर्यालले अनलाइनबाट सिसाका सेटहरू मगाउँछिन् । भान्सामा आकर्षण र पारदर्शी देखिने हुनाले पनि आफ्नो रोजाइ सिसा रहेको उनी बताउँछिन् । उनले छोराछोरीको रहरका लागि पनि भाँडा प्रयोग गर्छिन् । उनी भन्छिन्, ‘पहिला म स्टिलका भाँडाहरू चलाउँथें । अहिले छोराछोरीले पनि रहर गर्छन् । भान्सामा राख्दा राम्रो देखिने हुनाले यसको आकर्षण बढेको हो ।’
प्लास्टिकबाट सिसातर्फ
केही समयअगााडि बजारमा प्लास्टिक वा स्टिलका सामानको बिक्री बढ्दो थियो । व्यापारीहरूका अनुसार अघिल्लो दशकसम्म प्लास्टिक र स्टिलका भाँडा मात्रै लोकप्रिय थिए भने अहिले सिसा फेसन बनेको छ । विशेषगरी मध्यम वर्गका उपभोक्ताका बीचमा सिसा ‘सजावट’ र ‘रहर’ दुवै हिसाबले रोजाइमा परेको छ ।

भान्सामा प्रयोग हुने सिसाका सामान

सादा सिसाका ५०० मिलिका बोतल–७० देखि १५० । डिजाइनर जार वा मसला कन्टेनर सेट–३०० देखि १,५०० । दालचिनी वा अचार राख्ने एयरटाइट सिसा जार–२०० देखि ५०० । सेटमा आउने डिनर सिसा भाँडा (६ सेट)–२००० देखि ६००० । सिसाको जग (१–२ लिटर)–३५० देखि ८५० । बेकिङ डिस (ओभन सेफ)– ५०० देखि १५०० ।

कोटेश्वरका अर्का व्यापारी अनिल श्रेष्ठका अनुसार अहिले ग्राहकहरूले प्लास्टिक वा स्टिलका सामानहरूको माग कम हुँदै गएको छ । उनका अनुसार पछिल्लो पाँच वर्षमा माग ३० प्रतिशतले बढेको छ । पहिला एकदुई दर्जन माक्रै बित्री हुने सिसाका ग्लास अहिले दैनिक दर्जनौं बिक्री हुने गरेका छन् । असन, इन्द्रचोकदेखि भक्तपुर, पोखरा, धरानसम्मका भान्सा सामग्री पसलमा अहिले सिसाको छुट्टै व्यापार छ । जसले गर्दा ग्राहकहरूले आवश्यकतानुसार सहजै छनोट गर्न सक्छन् ।
स्वास्थ्यका लागि कति फाइदा ?
स्वास्थ्यका दृष्टिले प्लास्टिक वा स्टिलभन्दा सिसाका सामान बढी स्वाथ्यवर्द्धक मानिन्छन् । प्लास्टिक वा मेटल भाडामा रसायन पदार्थ भए पनि सिसाका भाँडामा रसायन पदार्थ हुँदैन । यसमा स्वाद र गन्ध नफेरिने हुनाले पनि लामो समयसम्म राख्न सकिन्छ । यसलाई सफा गर्न पनि सहज हुनाले प्रयोगमा पनि सहजता ल्याएको पाइन्छ ।
सिसाका भाँडाहरूमा जोखिम पनि उत्तिकै छ । नक्कली वा कम गुणस्तरको भाँडामा लिड मिसिएको, रङ भरेका सामानहरूमा सचेत हुन आवश्यक छ ।

बजारमा पाइने सिसा
फुड ग्रेड सिसाः तातो खाना वा पेय पदार्थ राख्दा सुरक्षित ।
लेड फ्रीः रसायनको असर नपर्ने, स्वास्थ्यका लागि सुरक्षित ।
हिट रेसिस्टेन्टः ओभन वा माइक्रोवेभ प्रयोगका लागि उपयुक्त ।
टेम्पर्ड ग्लासः चाँडै नच्यातिने, झट्कामा नफुट्ने ।

 Image