Successfully Copied

आपत्कालीन समयका लागि चाहिने सामग्री

प्रकृति परिवर्तनशील छ । १२ महिनामा ६ ऋतु हुन्छन् । हरेक ऋतुको आ–आफ्नै प्रकृति हुन्छ । वर्षामा धेरै पानी पर्छ, हिउँदमा चिसोको सिउसिउमा

प्रकृति परिवर्तनशील छ । १२ महिनामा ६ ऋतु हुन्छन् । हरेक ऋतुको आ–आफ्नै प्रकृति हुन्छ । वर्षामा धेरै पानी पर्छ, हिउँदमा चिसोको सिउसिउमा दिन बित्छ भने गर्मीमा घामबाट जोगिँदै फुर्सद हुँदैन । त्यसबाहेक अरु ऋतु भने खासै समस्या दिने खालका छैनन् । गर्मी, जाडो वा वर्षा निकै सावधान रहनुपर्ने समय हो । यतिबेला शीत लहर चल्न सक्छ, खडेरी लाग्छ भने बाढीले जीवन जोखिमपूर्ण बनाउँछ । मानिसको जीवनमा प्रकृतिको ठूलो भूमिका छ । प्रकृतिको नियमअनुसार मानिसको जीवन अघि बढ्छ । प्रकृतिसँंग पौंठेजोरी खेल्दै मानिस बालकदेखि वृद्धसम्म हुन्छ भने यही धर्तीमा विलीन भएर मानव अस्तित्वको अन्त्य हुन्छ । त्यसैले मानिसले प्राकृतिक समस्याहरूसँग जुध्न सदैव तयार रहनुपर्छ । आत्मरक्षा गर्न तथा जस्तोसुकै परिस्थितिमा जीवनलाई सहज बनाउन आपत्कालीन स्थितिमा चाहिने सामानको जोहो गर्नुपर्छ । प्राकृतिक विपत्ति जुनसुकै बेला आइलाग्न सक्छ । महाराजगंजकी सुस्मिता भण्डारी निकै सचेत छिन् । उनको सचेतता देखेर सबैले उनलाई डरछेरुवा भन्थे । उनले सम्भावित विपत्तिसँग जुध्न आवश्यक पर्ने सेक्युरिटी साइरन, सिसफायरजस्ता सेवा घरैमा लिएकी छिन् भने घरै छोड्नुपर्ने अवस्था आइपरे बसाइ सराइका लागि चाहिने टेन्ट, झुल, क्याम्प खाट, इमर्जेन्सी लाइट, लाइटर, सिफर्म औषधीजस्ता सामग्री समयमै जोहो गरेर राखेकी थिइन् । त्यसैले त गत १२ गते गएको भूकम्पको रात पनि उनी आफ्नो टेन्टभित्र परिवारका साथ मज्जाले सुतिन् । त्यो दिन अधिकांश नेपाली खाली आकाश तथा भुइँमा सुत्न बाध्य भए । घरमा सेक्युरिटी साइरन जडान गरिएकाले उनलाई चोरको पनि कुनै डर छैन । सुस्मिता भन्छिन्–

‘नेपालजस्तो भौगोलिक संरचना भएको ठाउँमा हामी सबै मौसमको अनुभव लिन पाएका छौं भने ती मौसमले ल्याएको समस्यालाई पनि हामीले झेल्नुपर्छ । त्यसका लागि चाहिने सामग्रीको जोहो समयमै गरे समस्या परे पनि आत्तिनुपर्दैन । त्यसैले पनि आपत्कालीन समयका लागि केही लगानी गर्नुपर्छ । यस्तो लगानीले हाम्रो जीवन रक्षा गर्छ ।’

टेन्ट

अहिले नेपालका कतिपय जिल्ला टेन्टमय भएका छन् । काठमाडौंलगायत करिब १६ जिल्लाका बासिन्दा अहिले टेन्टलाई आफ्नो घर बनाउन बाध्य छन् । काठमाडौंका खाली चौर तथा खुल्ला ठाउँ रंगीचंगी देखिन्छन् । अहिले सबै तह तथा तप्काका नेपालीहरू टेन्टमै आश्रय लिइरहेका छन् । टेन्ट वा त्रिपाल दुवैले हामीलाई आपत्कालीन समयमा छहारी प्रदान गर्छन् । यसको प्रयोग हरेक समय हुन सक्छ । यसले घाम, पानी तथा हावाबाट जोगाउँछ । जब कुनै विपत्तिका कारण घर छोड्नुपर्ने बाध्यता हुन्छ तब टेन्ट हाम्रा लागि घर बन्छ । यो पनि घरजस्तै आरामदायक हुन्छ । बजारमा झ्याल–ढोका तथा नेट भएका टेन्ट पनि पाइन्छन् । आवश्यकता हेरी ३ जनादेखि २० जनासम्म बस्न मिल्ने टेन्ट खरिद गर्न सकिन्छ । साधारण पाललाई ३ देखि ५ हजारसम्म पर्छ भने टेन्टको मूल्य ४ हजारबाट सुरु हुन्छ । महिनौंसम्म घर छाड्नुपर्दा पनि यसमा समय बिताउन सकिन्छ । यसमा खाट, टेबल, टिभी, कुर्सी आदि फर्निचर पनि राख्न सकिन्छ । विदेशमा त घरैजस्तो देखिने महँगा टेन्ट पनि उपलब्ध हुन्छन् । यस्ता टेन्ट विभिन्न रंगमा तयार पारिन्छ । आफूलाई आवश्यकता पर्दा प्रयोग गरी आवश्यकता पूरा भएपछि यसलाई प्याकिङ गरेर राख्न सकिन्छ । टेन्ट कपडा तथा प्लास्टिकबाट बन्ने भएकाले यसलाई घोच्ने, च्यातिने, जलाउने चीजहरूबाट जोगाउनुपर्छ । बाढी, पहिरो तथा भूकम्पको विपत्तिसँग जुध्न घरमा टेन्ट निकै आवश्यक हुन्छ । नेपालमा केही ब्रान्ड यहीँ उत्पादन हुन्छन् भने केही भारत तथा चीनबाट आयात गरिन्छ । टेन्टलाई त्यसको मेन्युअल अध्ययन गरेर फिट गर्नुपर्छ । बजारमा विभिन्न आकार तथा शैलीका टेन्ट खरिद गर्न वा विदेशबाट आयात गर्न सकिन्छ ।

टर्च लाइट, इमर्जेन्सी लाइट तथा सौर्य टुकी

राति हिँड्दा हातमा टर्च हुनु आवश्यक छ । टर्चबिना राति हिँड्न कठिन हुन्छ । टर्चकै परिस्कृत रूप इमर्जेन्सी लाइट पनि बजारमा उपलब्ध छ । जसलाई विभिन्न किसिमले प्रयोगमा ल्याउन सकिन्छ । इमर्जेन्सी लाइटलाई घर उज्यालो बनाउन पनि प्रयोग गरिन्छ । लोडसेडिङ वा आपत्कालीन अवस्थामा यो सहयोगी साबित हुन्छ । यसलाई रिचार्ज गरी पुन: प्रयोगमा ल्याउन सकिन्छ । बाहिर चौरमा बिजुली वा बत्तीको व्यवस्था हुँदैन । यस्तो बेलामा इमर्जेन्सी लाइट निकै उपयोगी हुन्छ । टेन्टमा होस् वा बाहिर चौरमा रात परेपछि अँध्यारोमा बस्न निकै कठिन हुन्छ । इमर्जेन्सी लाइटले उज्यालो बनाई वातावरण सहज राख्छ । नेपाली बजारमा विभिन्न ब्रान्डका इमर्जेन्सी लाइट खरिद गर्न सकिन्छ । सानादेखि ठूलासम्मका इमरजेन्सी लाइट २ सयदेखि ३ हजारसम्ममा उपलब्ध हुन्छ । बत्ती नभएर चार्ज गर्न सकिएन भने पनि यसलाई ब्याट्रीबाट चलाउन सकिन्छ । बिजुली नभएका बेला तथा ब्याट्री खरिद गर्ने समय छैन भने सौर्य टुकी यतिबेलाको सबैभन्दा प्रिय साथी हो । यसलाई जुनसुकै ठाउँमा झुन्ड्याउन सकिन्छ । राती प्रयोग गरेपछि यसलाई दिउँसो चार्जका लागि घाममा राख्नुपर्छ । सुरुमा केही महँगो भए पनि यसलाई वर्षौं प्रयोगमा ल्याउन सकिन्छ ।

झुल

झुल गर्मी महिनाका लागि अपरिहार्य मानिन्छ । तराईको जीवन झुलबिना कल्पना पनि गर्न सकिँदैन । यो अत्यावश्यक सामग्री मात्र नभई आपत्कालीन सामग्री पनि हो । आफूलाई आपत् परी हप्तौं बाहिर बस्नुपर्ने बाध्यता भए झुलले हामीलाई विभिन्न कीराबाट जोगाउँछ । यस्ता कीराको टोकाइबाट डेंगु, मलेरिया, टाइफाइड, पहेंलो ज्वरो आदिको सिकार हुन सकिन्छ । अहिले के पहाड के तराई जताततै झुल प्रयोग गरिन्छ । लामखुट्टे आउने समयमा त झुल नभई हुँदैन । विपत्का बेला जहाँ पनि बास बस्नुपर्ने हुन्छ । फोहोर तथा हरियो–परियो भएको ठाउँमा लामखुट्टे लाग्छ । त्यसैले झुल अत्यावश्यक छ । परिवारको संख्या हेरी विभिन्न रंग तथा आकारमा झुल खरिद गर्न सकिन्छ । अहिले बजारमा घरको आन्तरिक सज्जालाई मध्यनजर गरी डिजाइनर झुलका साथै मेडिकेटेट झुल पनि आएका छन् । लामखुट्टे वा अरू साना कीराहरू झुलको नजिक आउनेबित्तिकै मर्छन् । स्वास्थ्यका हिसाबले पनि झुल नभई नहुने वस्तु हो । यसलाई जहाँ पनि सजिलै झुन्ड्याउन सकिन्छ । सि थ्रु नेट फेब्रिकबाट बनेका झुल विभिन्न रंगमा उपलब्ध हुन्छन् । नेपालमा भारत, चीन, कोरिया तथा बंगलादेशबाट झुल आयात गरिन्छ ।

स्लिपिङ ब्याग

यसभित्र पसेपछि न छानो चाहिन्छ न त डसना । यसमा जस्तोसुकै ठाउँमा सुत्न सकिन्छ । यो हेर्दा ब्यागजस्तो देखिन्छ । यसभित्र पसेर फस्नर लगाएपछि आनन्दले सुत्न मिल्छ । चिसो नलाग्ने गरी बनाइने हुँदा यसमा सुत्दा चिसो लाग्दैन । यसलाई सुरक्षित ब्याग पनि भनिन्छ । जहाँ सुत्नका लागि खाट हुँदैन त्यहाँ यसलाई प्रयोग गर्न सकिन्छ । यसमा तकियाको ठाउँमा स्लिपिङ प्याड पनि हुन्छ । यसलाई हाइकिङमा बढी प्रयोग गरिन्छ तर पनि आपत्कालीन अवस्थामा यसको निकै प्रयोग भएको पाइन्छ । स्लिपिङ व्याग विभिन्न रंग तथा साइजमा खरिद गर्न सकिन्छ । शेर्पा ब्रान्डका नेपाली स्लिपिङ ब्याग निकै लोकप्रिय छन् ।

फायर एक्स्टिगुइसर

आगलागी जुनसुकै परिस्थिति तथा समयमा हुनसक्छ । सानो लापरबाही तथा बिजुलीको चुहावटका कारण आगलागी हुन सक्छ । आगलागीबाट जोगिन घरमा फायर एक्स्टिगुइसर जडान गर्न सकिन्छ । यसले हामीलाई ठूलो आगलागीबाट जोगाउँछ । हुन त नेपालका कार्यालयहरूमा यस्ता उपकरण जडान गर्ने चलन बढिसकेको छ तर पनि यसलाई घरमा राख्ने चलन भने छैन । यसले सानातिना आगलागीका घटनामा राहत प्रदान गर्छ भने घरायसी रूपमा उत्पन्न हुने ठूलो जोखिमलाई समेत नियन्त्रण गर्छ । यो निकै आवश्यक उपकरण हो । यसलाई करिब १० हजारको हाराहारीमा जडान गर्न सकिन्छ । यसलाई भित्तामा झुन्ड्याउनु पर्छ । फायर एक्स्टिगुइसर विभिन्न आकारमा खरिद गर्न सकिन्छ ।

 

 Image