Successfully Copied

व्यक्तित्वका लागि पहिरन

मानिसका आधारभूत आवश्यकतामध्ये पहिरन पनि अहिले स्ट्याटस सिम्बोल बन्दैछ । कुनै समय मौसम तथा उत्सवको मौका पारेर पहिरनको जोहो गरिन्थ्यो

मानिसका आधारभूत आवश्यकतामध्ये पहिरन पनि अहिले स्ट्याटस सिम्बोल बन्दैछ । कुनै समय मौसम तथा उत्सवको मौका पारेर पहिरनको जोहो गरिन्थ्यो तर हिजोआज यो फेसनको अपरिहार्य वस्तु भएको छ । अहिले कुनै पनि पोसाक तयार गर्न मौसम तथा उत्सव नै कुर्नुपर्छ भन्ने छैन । यस हिसाबले हेर्दा नेपालीहरूको पहिरन शैलीमा पनि ठूलो परिवर्तन आएको अनुमान लगाउन सकिन्छ । फलत: नेपालीहरूमा आयको निश्चित रकम पोसाकका लागि छुट्याउने चलन बढ्दैछ ।

हिजोआज नेपाली बजारमा कपडाको कारोवार बढी हुने गरेको छ । बर्सेनि ठूलो मात्रामाभारत, चीन, थाइल्यान्डजस्ता मुलुकबाट तयारी तथा थानका कपडा नेपाल भित्रन्छन् । स्थानीय रूपमा तयार गरिने ढाका, पश्मिना, सुती, खादी तथा अल्लोको माग पनि राम्रै छ । कपडा तयार गर्न अहिले टेलर्स मात्र होइन थुपै्र बुटिक पनि खुलेका छन् । तयारी पोसाकमा पनि उस्तै प्रतिस्पर्धा छ । बुटिक टेलरको परिस्कृत रूप हो । बुटिकमा आफूले कल्पना गरेका तथा फेसनेबल पहिरन सिलाउन सकिन्छ । बुटिकका संचालक विशेषगरी फेसन डिजाइनर हुन्छन् । उनीहरूले ग्राहकहरूको उमेर, शारीरिक संरचना तथा समय हेरी कपडा तयार गर्छन् । काठमाडौंका मुख्य तथा व्यस्त सडकहरूमा बुटिक तथा तयारी पोसाकका शोरुमहरूको कुनै कमी छैन जसले गर्दा छानी-छानी डिजाइन गरिएका तथा रेडी टु वेयर परिहन बनाउन सजिलो भएको छ । टेलिभिजनमा देखिएका सबैखाले पहिरन अहिले आफ्नो रोजाइ तथा बजेटअनुसार नेपालमै बनाउन वा खरिद गर्न सकिन्छ ।

उमाज बुटिक

भारतबाट फेसनसम्बन्धी तालिम लिएकी उमा प्रधानले बुटिकको सपना बुन्दा नेपालमा थोरै मात्र बुटिक थिए। साथीसँग मिलेर कुपण्डोलमा आकर्षण बुटिक स्थापना गरेकी उमा अहिले आकर्षण तथा उमाज बुटिकको संचालनमा व्यस्त छिन्। उमाज बुटिकको स्थापना भएको केवल १ वर्ष भयो तर यसले राम्रै लोकप्रियता हासिल गरिसकेको छ। प्रधानको लामो समयको अनुभव गर्दा उमाजले चाँडै पिक लिएको हो। यहाँ विशेष गरी ब्राइडल तथा सेमी फर्मल पहिरनको अर्डर बढी आउँछ। उमाजमा ५ सय रुपैंयाँभन्दा माथिका सेमी फर्मल पहिरन तयार गरिन्छ।

उमाजको विशेषता फिनिसिङ, डिजाइन तथा कलर कम्बिनेसन हो। यहाँ ग्राहकहरूले खोज्ने सबै खालका पोसाक तयार गरिन्छ। उमाजका लेहेंगा तथा साडी विशेष रुचाइएको छ। परिधान अर्डर गरेको एक साताभित्र डेलिभरी गरिन्छ। गुणस्तरीय फेबि्रक तथा सफा काम उमाजको विशेषता हो। संचालिका उमा प्रधान नेपालका महिलाहरू निकै फेसन कन्सियस भएको बताउँछिन्। प्रधान भन्छिन्, 'अहिले महिलाहरू बुटिकमै पोसाक बनाउन इच्छुक हुन्छन्। कहिलेकाहीँ मटेरियलको समस्या हुन्छ तर पनि नेपाली फेसन उद्योगको भविष्य उज्ज्वल छ।'

टिपाज क्रियसन

न्यूरोड

आइइसी फेसन एण्ड आर्ट कलेजबाट डिजाइनिङ कोर्स गरेका प्रेमदेवले नेपालमा आयोजना गरिने ठूला फेसन शोहरूमा आफ्नो सिर्जना प्रस्तुत गरिसकेका छन्। विभिन्न नेट तथा आफ्नो सिर्जनात्मक सोचका माध्यमबाट उनी पहिरन तयार गर्छन्। न्यूरोडस्थित उनको बुटिक विभिन्न परिधानले सुसज्जित छ। बिहानदेखि बेलुकासम्म उनी आफै खट्छन्। टिपाज कलेक्सन स्थापना भएको करिब दुई वर्ष भएको छ भने यसले करिब २ हजार ग्राहक बनाइसकेको छ। टिपाज कलेक्सनको विशेषता भनेकै सबै खालका परिधान उपलब्ध हुनु हो। यहाँ नयाँ-नयाँ फेबि्रक, रंग तथा मटेरियलको संयोजनबाट पोसाक तयार हुन्छ। उनले तयार गर्ने लेहेंगा, डिजाइनर साडी तथा अनारकली कुर्ता-सुरुवाल विशेष मन पराइन्छन् । यहाँ परिधानको शैली, कच्चापदार्थ, रंग एवं फेबि्रकका आधारमा परिधानको मूल्य तय गरिन्छ।

प्रेमदेव भन्छन्, 'टिपाजको विशेषता विविधता तथा डेलिभरी समय हो।' प्रेम भन्छन्, 'अहिले नेपालीहरूमा डिजाइनर पोसाक बनाउने लहर छ। फेसबुकले गर्दा पनि हाम्रो व्यापारलाई प्रत्यक्ष फाइदा भएको छ। फेसबुक आफ्नो सामान बिक्री गर्ने सुलभ तथा सजिलो माध्यम हो।'

लावन्याज द फसेन स्टुडियो

दरबारमार्ग

मार्केटको टे्रन्डअनुसार आफ्ना ग्राहकलाई सेवा-सुविधा उपलब्ध गराउँदै आएको दरबारमार्गस्थित लाबन्याज द फेसन स्टुडियोमा हरेक प्रकारका पहिरन पाइन्छन्। ९ महिना फेसन म्यानेजमेन्टसम्बन्धी कोर्स गरेर आएकी यसकी सञ्चालिका प्रविकाका अनुसार उक्त कोर्सले गर्दा बजारमा कस्तो टे्रन्ड चलेको छ, कसरी डिस्प्ले गर्ने, कस्तो खालको ब्रान्ड प्लानिङ गर्ने आदि कुरा बुझ्न सजिलो हुन्छ। प्रविका भन्छिन्-ग्राहकको सुविधा तथा सन्तुष्टि नै महत्वपूर्ण कुरा हो।

ग्राहकलाई फ्रेस डिजाइन दिने योजनाअनुरूप यहाँ हरेक डेढ महिनामा एक हप्तादेखि १० दिन लामो सेल लाग्ने गरेको छ। सेलमा पुराना बाँकी रहेका स्टक जान्छन् भने त्यसमा पछि नयाँ स्टक मुभ गरिन्छ। यसका साथै यहाँ ग्राहकलाई सर्वसुलभ मूल्यमा सेवा-सुविधा प्रदान गरिँदै आएको छ। यहाँका सामानहरू नेपालभर नै डेलिभर गरिन्छ। सामान घरसम्म पुर्‍याउँदा त्यसमा थप कुनै चार्ज लिइँदैन। यहाँ नियमितजसो लक्की ड्र पनि गरिन्छ जसमा कम्बो अफरस्वरूप पहिरनसँग मिल्दोजुल्दो केही सामान निःशुल्क प्रदान गरिन्छ। सेलको समयबाहेक यहाँ अरू बेला पनि विभिन्न खालको अफर दिइन्छ।

सी बुटिक

कुपण्डोल

हरेक मानिसले आफूलाई अरूभन्दा राम्रो र भिन्न देखाउन खोज्नु स्वाभाविक हो। त्यसमा पनि चलचित्र विशेष गरी टिभी सिरियलले गर्दा महिलाहरू फेसनप्रति बढी सजग भएको सी बुटिकका डिजाइनर संगीत श्रेष्ठ बताउँछन्। श्रेष्ठका अनुसार फेसन च्यानल तथा इलेक्ट्रोनिक मिडियाले यसमा विशेष भूमिका खेलेका छन्। टेक्नोलोजीको विकासले मानिसहरू पहिरनका साथै त्यसमा प्रयोग भएका सामग्रीमा समेत सचेत हुँदै गएको उनको बुझाइ छ। सी बुटिक हरेक उमेर समूहका महिलाका लागि सम्पूर्ण पहिरन तयार पारिन्छ। साडी, लेहेंगा, कुर्ता-सलवार, इथनिक तथा ब्राइडल डे्रसले यो ठाउँलाई अरू भन्दा भिन्न बनाएको छ। अहिले महिलाहरूले इन्डिभिजुअल फेसन स्टेटमेन्टमा समेत जोड दिन थालेको संगीत बताउँछन्। यहाँबाट नेपालका मुख्य सहर पोखरा, धरान आदि ठाउँमा अनलाइन बुकिङको सेवा पनि उपलब्ध गराईंदै आएको छ। त्यसैगरी, अस्ट्रेलिया, अमेरिका, हङकङ आदि ठाउँमा पनि अनलाइन बुकिङको सुविधा छ। यो बुटिकको विशेषता फरक फेबि्रक, हातले गरिने इम्ब्रोइडरी तथा ग्राहक सर्भिस रहेको संगीत बताउँछन्।

कायरा फेसन

उडल्यान्ड कम्प्लेक्स, दरबारमार्ग

७ वर्ष पहिले खुलेको पोसाक बुटिकले हालसालै उडल्यान्ड कम्प्लेक्स, दरबारमार्गमा कायरा बुटिक संचालनमा ल्याएको छ। भर्खरै मात्र खुलेको भए पनि यो बुटिक युवाहरूमाझ लोकप्रिय छ। भारतबाट फेसन डिजाइनिङसम्बन्धी कोर्स गरेर आएकी पुष्पा बुढाथोकी फेसनप्रति रुचि भएर नै यो क्षेत्रमा लागेको बताउँछिन्। पोसाक बुटिक खोलेपछि आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्न उनले फेसन डिजाइनिङसम्बन्धी कोर्स गरिन्। यो थलोलाई हामी हरेक प्रकारका डिजाइनर पहिरनका लागि सम्झन सक्छांै। यहाँ युवालाई मध्यनजर गरेर विशेष गरी क्याजुयल तथा फर्मल पहिरन उपलब्ध छन्। डिजाइनर स्कर्ट लगाउन चाहने युवतीहरूका लागि यो उपयुक्त गन्तव्य हो। यहाँ लेटेस्ट पार्टी वेयर कुर्ता-सलवार, साडी तथा लेहेंगा पनि उपलब्ध छन्। कायरा फेसनमा आफ्नो इच्छाअनुसार पूर्णरूपमा स्टिचिङ समेत गरिन्छ। यहाँ विभिन्न रेन्जअनुसार हरेक वर्गका लागि उपयुक्त पहिरन पाइन्छ। यहाँ साडी मन पराउने युवतीका लागि परम्परागत, पियोर सिफन, सिल्क, जर्जेट आदि साडी पनि उपलब्घ छन्। यहाँ ग्राहकको इच्छाअनुरूप उनीहरूको रंग तथा शारीरिक बनावट हेरेर पहिरनसम्बन्धी सुझाव प्रदान गरिन्छ।

बेल्जा कोल्थो

दरबारमार्ग

बेल्जा कोल्थोका राजविक्रम श्रेष्ठ नेपालीहरूमा फलो गर्ने ट्रेन्ड रहेको बताउँछन्। विगत छ वर्षदेखि फेसन संसारमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको बेल्जामा डिजाइनर साडी, कुर्ता-सलवार, लेगिन्ज, डिजाइनर डे्रस आदि उपलब्ध छन्। यसका साथै यहाँ इच्छाअनुसार एक्सक्लुसिभ डे्रस मेटेरियल समेत प्राप्त गर्न सकिन्छ। श्रेष्ठका अनुसार फेसन भनेको जीवनको चक्रजस्तै हो। यो समयसँगै घुमिरहन्छ। भारतमा आफै गएर सामान रोज्ने राजविक्रम भन्छन्, 'ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो।' यहाँ पहिरनको रंग नमिलेको खण्डमा डाइङको सुविधा पनि छ। यसका साथै यहाँ सिलाइ, डिजाइन, त्यसलाई चाहिने म्याचिङ गरगहना, कल्च आदि पनि उपलब्ध हुन्छ। नेपालीहरू अहिले तुलनात्मक रूपमा फेसनप्रति सचेत हुँदै गएको राजविक्रमको बुझाइ छ।

नीलिमाज फेसन

बुद्धनगर

सानैदेखि फेसन तथा ग्ल्यामरको क्षेत्रमा विशेष रुचि राख्ने नीलिमा शर्माले फेसन डिजाइनिङ कोर्स पूरा गरेपछि नीलिमाज फेसन स्टुडियो खोलेकी हुन्। नीलिमाज फेसन स्टुडियोमा महिलाका सबै किसिमका रेडिमेड पहिरन खरिद गर्न सकिन्छ। नीलिमा चलचित्रका लागि समेत पहिरन बनाउँछिन्। यहाँ साडी, कुर्ता-सलवार, टप्स, लेहेंगा आदि भारतबाट ल्याइन्छ भने वेस्टर्न डे्रस थाइल्यान्ड, मलेसिया, चाइना आदि देशबाट आयात गरिन्छ। यहाँ पूर्णरूपमा रेडिमेड सामान पाइए पनि आफूलाई कस्तो लगाउँदा राम्रो देखिन्छ, कुन रंग सुहाउँछ, कस्तो अवसरमा कस्तो पहिरन उपयुक्त हुन्छ जस्ता कुराको जानकारी आफ्ना ग्राहकलाई दिने गरेको नीलिमा बताउँछिन्। नीलिमाका अनुसार 'सबै मानिसमा फेसनसम्बन्धी जानकारी हुन्छ भन्न छैन, अहिले बिस्तारै मानिसहरू फेसनप्रति सजग हुँदै गएका छन् तर सबैलाई आफूलाई कस्तो पहिरन सुहाउँछ भन्ने कुराको ज्ञान हुन्छ भन्ने छैन। फेसन स्टेटमेन्ट किन्न सकिने कुरा पनि होइन।' नीलिमा भन्छिन्, 'फेसनसम्बन्धी जानकारी भए सामान्य मूल्यको पहिरनलाई पनि महँगोजस्तो देखाउन सकिन्छ।' नीलिमाज फेसन स्टुडियो छोटो समयमै आफ्नो गुणस्तरका कारण सुपरिचित बन्न पुगेको छ।

हेमाज बुटिक

भाटभटेनी

भिडियो एडिटरबाट फेसनको संसारमा प्रवेश गरेकी हेमा विगत ७ महिनादेखि फेसन डिजाइनिङमा रमाइरहेकी छिन्। फेसन डिजाइनिङसम्बन्धी कोर्स गरेर बुटिक संचालन गरिरहेकी हेमा आफूमा पहिलेदेखि नै फेसनसम्बन्धी रुचि भएको बताउँछिन्। पहिलेदेखि नै आफ्नो पहिरन आफै डिजाइन गरेर लगाउने हेमा अब आफ्ना ग्राहकका लागि समेत यो सेवा प्रदान गर्न व्यस्त छिन्। एउटा टेलिभिजन च्यानलको कार्यक्रम प्रोडुस गर्दा उक्त च्यानलका लागि पहिरन समेत तयार पारेकी हेमा त्यसपछि यसमै आफ्नो रुचि भएको कुरा बुझेर यो क्षेत्रमा लागेकी हुन्।

यो बुटिकले हरेक उमेर तथा वर्गका महिलालाई सेवा-सुविधा उपलब्ध गरयँदै आएको छ। हेमाले एक वर्षको फेसन डिजाइनसम्बन्धी तालिम लिएर हेमाज बुटिक खोलेकी हुन्। यहाँ हरेक प्रकारका पहिरन तयार पारिन्छ। दिन प्रतिदिन फेसन सजगता बढ्दै गएको अवस्थामा हरेक मानिसले गुणस्तरीय तथा आफू सुहाउँदो पहिरन लगाउन रुचाउने हुँदा बुटिकका पहिरन लगाउने चलन बढ्दै गएको हेमाको अनुभव छ। आफ्ना ग्राहकको समय तथा पैसा दुवैको महत्व बुझेकी हेमा आफ्ना ग्राहकलाई उनीहरूको चाहनाअनुरूप सल्लाह-सुझाव पनि दिन्छिन्।

स्वणिर्म कलेक्सन

कुपन्डोल

लामो समयदेखि डिजाइनिङमा काम गर्दै आएकी स्वणिर्म राईले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने हेतुले कुपन्डोलमा आफ्नै नामबाट स्वणिर्म कलेक्सन स्थापना गरेकी छिन्। १ वर्षअघि स्थापित स्वणिर्म कलेक्सनमा हरेक प्रकारका डिजाइनर पहिरन खरिद गर्न सकिन्छ। यो परम्परागत तथा स्टाइलिस पहिरन मन पराउनेहरूका लागि उपयुक्त थलो हो। विवाहको मौसममा यो कलेक्सनमा विशेष चहलपहल हुन्छ। यहाँ सम्पूर्ण काम कालिगढले नै गर्छन्। आफ्नै डिजाइन रुचाउनेहरूका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ। ग्राहकको सन्तुष्टिमा कुनै पनि खालको लापरबाही नहुने यो कलेक्सनमा लेहेंगा, साडी, ब्लाउज आदि खरिद गर्न सकिन्छ। यसको फेबि्रक वर्क सबैले मन पराएको डिजाइनर स्वणिर्म बताउँछिन्। स्वणिर्म कलेक्सनमा पहिरनको रंग तथा ग्राहकको शारीरिक बनावटअनुसार सुहाउँदिला पहिरन तयार हुन्छन्। यहाँको इम्ब्रोइडरी पूर्णरूपमा हातले नै गरिन्छ। यहाँ ग्राहकका लागि सम्पूर्ण प्याकेज उपलब्ध छ। यहाँ भारत तथा हङकङबाट सामान आयात गरिन्छ।

दुपियन फेसन स्टाइल

कुपन्डोल

दुपियन फेसन स्टाइलमा १६ वर्षभन्दा माथिका महिला तथा पुरुषका लागि सबै प्रकारको स्टिचिङको काम गरिन्छ। करिब ११ वर्षदेखि फेसन डिजाइनिङसम्बन्धी काम गर्दै आएकी सुरिता श्रेष्ठले सुरुमा घरमै बसेर टेलरिङको काम गरिन्। त्यसपछि बेसिक तथा डिप्लोमा कोर्स गरेर डिजाइनिङ गर्न थालिन्। मानिसमा जति नयाँ प्रविधिप्रति रुचि बढ्दैछ सोही रूपमा उनीहरू डिजाइनर पहिरनप्रति पनि आकषिर्त हुँदै गएको सुरिता बताउँछिन्। विगतका दिन सम्झदै सुरिता भन्छिन्-त्यतिबेला मानिसमा टेलरिङ र डिजाइनप्रति खासै रुचि थिएन। अहिलेको सन्दर्भमा त्यस्तो स्थिति पूर्णरूपमा फेरिएको उनको अनुभव छ। सुरिता भन्छिन्-अहिले मानिसहरू आफूले लगाउने पहिरनप्रति सजग छन्। दुपियनमा ३० प्रतिशत ग्राहक आफै डिजाइन लिएर आउने सुरिताले बताइन्। दुपियनमा आवश्यकताअनुसार कस्तो पहिरन तथा कुन रंगको कति बेला कुन समय तथा सिजनमा लगाउँदा राम्रो देखिन्छ भन्ने सुझाव समेत प्रदान गरिन्छ।

यहाँ महिलाका लागि सम्पूर्ण सुविधा उपलब्ध छ। हरेक वर्गका मानिसका लागि लक्षित गरिएको दुपियनमा रेडिमेड पहिरन पनि पाइन्छ।

कायरा बुटिक

सिटी सेन्टर, कमलपोखरी

फेसन डिजाइनर रोजिना श्रेष्ठको कायरा बुटिकमा हरेक महिला तथा बालबालिकाका लागि पहिरन उपलब्ध छन्। सानैदेखि फेसनमा रुचि राख्ने रोजिनाले फेसनसम्बन्धी अध्ययन गरेर कायरा बुटिक खोलेकी हुन्। करिब ३ वर्ष पहिले कुपन्डोलबाट प्रारम्भ भएको कायरा बुटिकको शाखा कमल पोखरीस्थित सिटी सेन्टरमा समेत छ। खुलेको ९ महिनामा नै यसले ग्राहकहरूलाई आकषिर्त गर्न सफलता हासिल गरेको छ। वान पिस, गाउन, पार्टी वेयर, साडी, लेहेंगा, चोलो, कुर्ता-सलवार आदि कायरा बुटिकका विशेष रुचाइएका पहिरन हुन्। यहाँ बालबालिकाका लागि पनि पहिरन तयार पारिन्छ। पहिरन बनाउँदा रंगमा विशेष ध्यान दिने रोजिना एलिगेन्ट पहिरन बनाउन विशेष रुचि रहेको बताउँछिन्। नाम चलेका सेलिब्रेटी तथा म्युजिक भिडियोहरूका लागि पहिरन बनाउँदै आएकी रोजिना छिट्टै फेसन शोका लागि हङकङ जाने तयारीमा छिन्। भारतबाट सामान ल्याएर नेपालका पोख्त कालिगढबाट आफ्नै डिजाइनमा पहिरन तयार पार्दै आएकी रोजिनाका अनुसार उनको बुटिकमा सर्वसुलभ मूल्यमा चाहेजस्तो पहिरन तयार पारिन्छ।   

विवा

दरबारमार्ग

विवाको नाम लिनेबित्तिकै पहिरनको सम्झना आइहाल्छ। यहाँ विवा ब्रान्डका टप्स, कुर्ती तथा सलवार-कुर्ता प्राप्त गर्न सकिन्छ। ग्रेस एलिगेन्ट वेयरले विवा नाममा यसको आउटलेट दरबारमार्गमा संचालनमा ल्याएको हो। रंग, फेबि्रक तथा डिजाइनमा विविधताले गर्दा विवा असंख्य उपभोक्ताको मन जित्न सफल छ। आफ्नो गुणस्तर तथा विकल्पका कारण विवाले छोटो समयमै लोकप्रियता हासिल गरेको छ। यहाँ एकैपटक धेरैजनाले सजिलैसँग सामान किन्न मिल्ने हिसाबले पर्याप्त स्थान उपलब्ध छ। यहाँ ग्राहकहरूले आफ्नो बजेटअनुसार छानी-छानी ब्रान्डेड पहिरन खरिद गर्न सक्छन्।

क्रसरोड अपेरियल

लाजिम्पाट

शुभेच्छा भँडेल फेसनप्रेमीहरूका लागि चिरपरिचित नाम हो। सन् २००८ देखि क्रसरोड अपेरियलबाट फेसनसम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध गराउँदै आएकी शुभेच्छा हिजोआज मानिसहरू पहिरनप्रति निकै सचेत भएको बताउँछिन्। अहिले डिजाइनर पहिरन लगाउने चलन बढ्दो छ। कतिपयका लागि यो महँगो मानिन्छ भने कतिपयले एकपटक लगाएको पहिरन अर्को पटक बिरलै लगाउँछन्। शुभेच्छा भन्छिन्, 'फेसनेबल देखिन ब्रान्डेड पहिरन नै लगाउनुपर्छ भन्ने छैन। यसका लागि आफ्नो शरीर सुहाउँदो तथा सजिलो लाग्ने जस्तोसुकै पहिरन पनि लगाउन सकिन्छ।' फेसन डिजाइनिङमा स्नातक गरेकी शुभेच्छाले २०१२ सालको मिस अर्थमा त्यतिबेलाकी मिस अर्थ नेपाल नगमा श्रेष्ठका लागि गाउन तयार गरेकी थिइन्। उनको पहिरनले बेस्ट इन्फर्मल गाउन विधामा गोल्ड मेडल प्राप्त गरेको थियो। त्यसबाट थप हौसिएकी शुभेच्छा अझ परिमार्जित तथा उत्कृष्ट पहिरन बनाउन तल्लीन छिन्। उनी अहिले साधारण ग्राहकदेखि लिएर नेपाली चलचित्र, म्युजिक भिडियो, विज्ञापन तथा विभिन्न कर्पोरेट हाउसका लागि पहिरन तयार पार्छिन्। क्रसरोडमा महिला, पुरुष तथा बालबालिकाका लागि पहिरनसम्बन्धी सम्पूर्ण सुविधा प्राप्त गर्न सकिन्छ। यहाँका वेस्टर्न पहिरन ग्राहकको विशेष रोजाइमा परेको पाइन्छ। स्वदेशी कालिगडबाट निर्माण गरिने यस्ता पहिरनका लागि आवश्यक सामान भारत, चीन, कोरिया, जापान आदि देशबाट आयात गरिन्छ।

स्वातिज कलेक्सन

भाटभटेनी

भाटभटेनीस्थित स्वातिज कलेक्सनमा ग्राहकहरूले आफूलाई मन परेको डिजाइनमा पोसाक तयार गर्न सक्छन्। कलेक्सनकी संचालिका पविता पाण्डेलाई बाल्यकालदेखि नै नयाँ-नयाँ शैलीका पहिरन तयार गर्न मन लाग्थ्यो। आफू फरक पेसामा आबद्ध भए पनि उनले आफ्नो रुचिका कारण स्वातिज कलेक्सन खोलेकी हुन्। स्वातिज कलेक्सनले आफ्नो सेवाकै बेलामा थुपै्र ग्राहक बनाइसकेको छ। यहाँको विशेषता नै नौलोपन तथा जस्तोसुकै शरीर भएकाहरूका लागि पनि पोसाक तयार गर्नु हो। मोटोपनका कारण राम्रा पोसाक लगाउन वञ्चितहरूका लागि स्वातिज कलेक्सन उपयुक्त गन्तव्य हो। यहाँका साडी, कुर्ता, सुरुवाल, टप्स, पाइन्ट, सर्ट, टिसर्ट ग्राहकले विशेष मन पराएका छन्। खासगरी यहाँ मोटो शारीरिक संरचनालाई ध्यानमा राखी पोसाक तयार गरिन्छ।

यहाँका पोसाकमा शीतल तथा हलुका फेबि्रक प्रयोग गरिन्छ। यहाँ ५ सयदेखिका पहिरन तयार गरिन्छ। यहाँ पोसाकमा प्रयोग गरिने मटेरियलको संकलन पनि राम्रो छ। त्यसैले त यहाँका परिधान फरक देखिन्छन्। यहाँको परिधानको शैली पनि युनिक छ। पाण्डे भन्छिन्- फेसन कन्सेप्ट मैले हेरेर नै जानेकी हुँ। मकहाँ बन्ने हरेक परिधानको फिटिङ परफेक्ट हुन्छ। एकपटक आएका ग्राहकहरू आफ्ना साथीभाइ लिएर पुनः आउने गरेका छन्। आफ्नो कामकै कारण स्वातिज कलेक्सन सबैको प्रिय भएको छ।

 

 Image