Successfully Copied

कामप्रति इमान्दार र उत्तरदायी हुनु आवश्यक

आफूलाई दिइएको जिम्मेवारीबाट पछि नहटी जस्तोसुकै चुनौतीपूर्ण काम गर्ने र आफ्नो कार्यक्षेत्रका विषयमा पर्याप्त अध्ययन र जानकारीका साथ काम गर्दा दक्ष र प्रोफेसनल भइन्छ ।


रोशन खनाल
काउन्सिलर तथा उपनियोग प्रमुख
नेपाली राजदूतावास, लन्डन

पाल्पाको रुप्सेमा जन्मिएकी रोशन खनालले निम्न माध्यमिक तहको अध्ययन त्यहीँको सरकारी विद्यालयबाट पूरा गरेकी थिइन् । जागिरको सिलसिलामा बुवाको भैरहवा सरुवा भएपछि उनले कक्षा नौदेखि स्नातक तहसम्मको अध्ययन भैरहवाबाट पूरा गरेकी हुन् । त्यसपछि शंकरदेव क्याम्पसमा व्यवस्थापन विषयमा फाइनान्स विषय लिएर स्नातकोत्तर पूरा गरिन् । परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले शाखा अधिकृतबाट जागिर सुरु गरेकी हुन् । उनले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीका रूपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् । हाल लन्डनस्थित नेपाली राजदूतावासमा काउन्सिलर तथा उपनियोग प्रमुख रहेकी खनालसँग उनको शिक्षा तथा कामका अनुभवका बारेमा गरिएको कुराकानी ः
जागिरे जीवनका बारेमा बताइदिनुस् न ।
स्नातकोत्तर पूरा गरेपछि बैंकमा छोटो समय काम गरें । त्यसपछि नेपाल वायु सेवा निगममा वरिष्ठ अधिकृत सातौं तहमा नाम निस्कियो । यसैक्रममा लोकसेवा आयोगमा परराष्ट्र सेवाको शाखा अधिकृतका लागि विज्ञापन खुल्यो ।
साढे एक महिनाको तयारी कक्षा र स्वाध्ययनपछि लोकसेवाको परीक्षा दिएँ । त्यसबेला परराष्ट्र सेवामा एकैपटकमा २८ जना अधिकृत (समावेशी र खुला) माग गरिएको थियो ।
परीक्षा दिए, राम्रै भए पनि नाम निस्कने सम्भावना कम थियो । परीक्षा दिएपछि आफ्नो नियमित काममै थिएँ । यसैबीच लिखित परीक्षामा सफल भएँ । अन्तर्वार्ताका लागि तयारी गरें केही समयपछिे परिणाम आयो र पहिलो प्रयासमै नाम निस्कियो । वि.सं २०६७ भदौमा नियुक्ति लिएपछि मन्त्रालयका विभिन्न महाशाखामा काम गर्दै आएकी छु ।
यसबीच नेपाली राजदूतावास इजरायलमा द्वितीय सचिवको रूपमा पोस्टिङ भयो । इजरायलको चार वर्षको कार्यकाल पूरा गरेर मन्त्रालयमा फर्केको केही समयपछि उपसचिवमा बढुवा भयो । सोही क्रममा २०७७ सालमा नेपाली राजदूतावास लन्डनमा काउन्सिलर उपनियोग प्रमुखका रूपमा सरुवा भएपछि हाल लन्डनमा कार्यरत छु ।

अहिलेको जिम्मेवारी के–के हुन् ?
ऐतिहासिक सम्बन्ध रहेको बेलायतको लन्डनमा रहेको राजदूतावास नेपालको सबैभन्दा पुरानो राजदूतावास हो । बेलायतसँगको बहुआयामिक सम्बन्ध र उल्लेखनीय नेपाली समुदाय रहेकाले पनि राजदूतावासमा सधै व्यस्त रहनुपर्छ । दुई पटक गरी करिब पाँच महिना कार्यवाहक राजदूतका रूपमा काम गर्ने अवसर पनि पाएँ । सोही क्रममा सन् २०२१ मा बेलायतको स्कटल्यान्डमा आयोजना भएको कोप २६ सम्मेलनको अवसरमा नेपालका प्रधानमन्त्रीको भ्रमण व्यवस्थापन गर्ने अवसरसमेत प्राप्त भयो ।
यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
परराष्ट्र सेवा नेपालको अन्य सरकारी सेवाहरूभन्दा अलि भिन्न भएको र विदेशमा देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय हित तथा आफ्ना नागरिकहरूको सेवा गर्ने अवसर प्राप्त हुने भएकाले यसमा आकर्षित भएकी हुँ ।
महिला भएकैले काम गर्दा कुनै कठिनाइको सामना गनुपरेको छ ?
महिला भएकैले त्यस्तो ठूलो कठिनाइ त भोगेकी छैन तर केही व्यावहारिक कठिनाइहरू अवश्य थिए । परराष्ट्र सेवामा हाम्रो ब्याचका २८ जनामध्ये १४ जना महिलाको प्रवेश भएको थियो । त्यसअघि महिलाहरूको संख्या एकदमै कम थियो । स्वभावतः कार्यालय, परिवार तथा बालबच्चाको हेरचाहका लागि सन्तुलन मिलाउन एवं विदेशस्थित नियोगहरूमा सरुवा हु“दा परिवारको व्यवस्थापन गर्ने कामचुनौतीपूर्ण नै हुन्छ । मन्त्रालयमा हामी अघिका महिला कर्मचारीहरूको कार्य सम्पादनले हामीलाई महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त भयो ।
महिला दक्ष र प्रोफेसनल कसरी हुने होला ?
आफूलाई दिइएको जिम्मेवारीबाट पछि नहटी जस्तोसुकै चुनौतीपूर्ण काम गर्ने र आफ्नो कार्यक्षेत्रका विषयमा पर्याप्त अध्ययन र जानकारीका साथ काम गर्दा दक्ष र प्रोफेसनल भइन्छ जस्तो लाग्छ ।
जीवनमा कसरी सफल हुन सकिन्छ ?
महिला अथवा पुरुष दुवैले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफ्नो कार्यक्षेत्रका बारेमा पर्याप्त अध्ययनका साथै राम्रो ज्ञान र इमान्दारिताका साथ काम गर्नुपर्छ । राष्ट्रसेवक कर्मचारीका रूपमा काम गर्न आएपछि सधै इमान्दार तथा उत्तरदायी भएर काम गर्नुपर्छ ।
काममा गाह्रो हुुँदा कहिलेकाहीँ छोडौं जस्तो लागेन ?
निकै खटेर काम गर्नुपर्ने हुुँदा परिवारका लागि समय अत्यन्तै कम हुन्थ्यो तैपनि काम छोडौं जस्तो कहिल्यै लागेन । महिलाहरूले घरको बहाना बनाएर काम गर्न खोज्दैनन् भन्ने मानिसमा एक खालको आमधारणा रहेको थियो, त्यसलाई तोड्नुपर्छ भन्ने लाग्छ । त्यसैले जस्तो अवस्थामा पनि मैले आफूलाई दिएको काम सम्पन्न गरेकी छु । यसका लागि महिलाहरूलाई घरपरिवारको साथ र सहयोगको आवश्यकता पर्छ । मेरो हकमा श्रीमान् तथा परिवारको ठूलो सहयोग रहेको थियो तर कहिलेकाहीँ बच्चाहरूलाई धेरै समय दिन नसकेजस्तो लाग्छ ।
आगामी योजना के छ ?
कामलाई निरन्तरता दिनेछु । साथै आफ्नो ज्ञानको दायरालाई बढाउन मिलेसम्म विदेशी विश्विद्यालयबाट थप अध्ययन गर्ने र आफ्नो वृत्ति विकास गर्दै अझ उच्च तहसम्म पुग्ने लक्ष्य रहेको छ ।

 Image