Successfully Copied

‘योग्य भए सबैले पत्याउँछन्’

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रूपमा नियुक्त हुने म प्रथम महिला हुँ । महिला भएकै कारण सिट सुरक्षित भएर मलाई नियुक्त गरिएको होइन

धनुषा जनकपुरधाममा ५१ वर्षअघि जन्मिएकी नीलम ढुंगाना तिम्सिनाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अस्ट्रेलियास्थित वलङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए र भारतस्थित मेवार्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा ०५३ सालताका प्राध्यापन पेशामा आबद्ध उनी ०५४ तिर नेपाल राष्ट्र बैंकमा सहायक अधिकृत तहमा प्रवेश गरिन् । राष्ट्र बैंकमा उनी आन्तरिक प्रतियोगात्मक परीक्षा उत्तीर्ण गरी ०६१ मा उपनिर्देशकमा बढुवा भइन् । त्यसको पाँच वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाटै निर्देशकमा बढुवा भइन् । उनी ०७४ मा कार्यकारी निर्देशकमा बढुवा भएको तीन वर्षपछि बल्ल नेपाल सरकारबाट डेपुटी गभर्नर पदमा नियुक्त भएकी छन् । प्रथम महिला डेपुटी गभर्नर हुँदाको अनुभव, बैंकिङ क्षेत्रमा आकर्षित हुनुको कारण, काम गर्दा आउने समस्या, महिलालाई उच्च पदमा पुर्‍याउन सकिने उपाय आदिका विषयमा केन्द्रित भई उनीसँग गरिएको संवाद :

प्रथम महिला डेपुटी गभर्नर हुँदा कस्तो महसुस भयो ?

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रूपमा नियुक्त हुने म प्रथम महिला हुँ । महिला भएकै कारण सिट सुरक्षित भएर मलाई नियुक्त गरिएको होइन । योग्यता, दक्षता र ज्येष्ठतासहितका सबै पक्ष सुदृढ भएकाले नियुक्ति पाएकी हुँ । मलाई अत्यन्त खुसी र गर्व महसुस भएको छ । नियुक्तिमा खुसी हुनु स्वाभाविकै हो, तर काँधमा जिम्मेवारी थपिएको छ ।

बैंकिङ क्षेत्रमा कति वर्ष बिताउनु भयो ?

यो क्षेत्रमा २३ वर्ष बिताएँ ।

यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?

मैले एमबीए उत्तीर्ण गरेपछि विराटनगरस्थित एक क्याम्पसमा करारमा नियुक्ति पाएँ । त्यहाँ मेरा श्रीमान् विष्णुप्रसाद तिम्सिनाले अर्थशास्त्र पढाउनु हुन्थ्यो । उहाँका विद्यार्थीहरूले मलाई चिन्थे । तिनीहरूले नै ‘म्याडम नेपाल राष्ट्र बैंकमा सहायक अधिकृत तहमा फारम खुलेको छ, भर्नुस् न, यहाँ भन्दा त्यहाँ राम्रो हुन्छ’ भनेका हुन् । अझ फर्म पनि तिनीहरूले नै ल्याइदिए । नेपाल राष्ट्र बैंकको परीक्षा दिएँ, पास पनि भएँ । यसरी यो क्षेत्रमा आएकी हुँ ।

बैंकिङ क्षेत्रमा महिलाको आकर्षण बढ्नुको कारण के हो ?

मर्यादित र सुरक्षित कार्य वातावरण, आकर्षक तलब/भत्ता र सुविधा, महिलामैत्री सरुवा नीतिलगायतका कारण यस क्षेत्रमा महिलाको आकर्षण बढेको जस्तो मलाई लाग्छ ।

यो क्षेत्रमा के पाउनु भयो ? के गुमाउनु भयो ?

यो क्षेत्रमा मैले मुलुकको सेवा गर्ने मौका पाएकी छु । चुनौतीहरूसँग जुध्ने सामर्थ्य आर्जन गरेकी छु । आर्थिक हिसाबले समृद्धि पनि हासिल गरेकी छु । मेरो वृत्ति विकास पनि भएको छ । डेपुटी गभर्नरजस्तो गरिमामय पदमा नियुक्तिसमेत पाएकी छु । राष्ट्र बैंकबाट मैले पाएका धेरै कुरा छन् । गुमाएको कुरा गर्दा घरपरिवारलाई दिनुपर्ने समय चाहिँ मैले दिन सकिनँ । यसबाहेक अन्य कुरा

केही छैन ।

महिला भएकै कारण काम गर्दा कुनै कठिनाइ आयो कि आएन ?

काम गर्ने क्रममा महिला वा पुरुष सबैलाई केही न केही कठिनाइ आइहाल्छ । महिला भएका कारण गर्भावस्थामा कार्यालय आउजाउ गर्नुपर्दा, पुरुष कर्मचारीसरह नै कार्य गर्नुपर्दा, प्रसूति बिदा पर्याप्त नहुँदा, बच्चा र कार्यालयबीच सामञ्जस्यता कायम गर्न कठिनाइ हुँदा, कार्यालय परिसरभित्र शिशु स्याहार केन्द्र नहुँदा निश्चय नै मैले कठिनाइ महसुस गरें ।

अर्को कुरा महिलाले प्रत्येक तह, अवस्था, कार्य र जिम्मेवारीमा रहँदा आफूलाई योग्य भएको प्रमाणित गरेपछि बल्ल सबैले पत्याउने वातावरण हुँदो रहेछ । तसर्थ मैले प्रत्येक अवस्थामा परीक्षा उत्तीर्ण चाहिँ हुनु नै पर्‍यो, यसमा मलाई गर्व पनि छ । महिलाले काम गर्नमा केही पछाडि परे भने ‘केही जान्दिनन्’ भन्ने र अगाडि बढ्न खोजे, ‘बढी बाठी भई’ भन्ने धारणा अझै व्याप्त छ । त्यसको सामना मैले पनि गरें । त्यस्तै, महिलाको सवालमा बोली, व्यवहार, पोसाक, चरित्र हरेक कुरामा टीका–टिप्पणी हुने हाम्रो समाजमा सन्तुलन मिलाएर काम गर्न कठिन नै छ, जुन मैले पनि केही हदसम्म अनुभव गरेकी छु । जे भए पनि यस्ता कुरालाई चिर्दै आफू मेहनती हुने हो भने खासै कठिनाइ हुन्छ जस्तो मलाई लाग्दैन ।

महिला उच्च तहमा पुग्नका लागि के गर्नुपर्ला ?

महिलालाई उच्च तहमा पुग्न सर्वप्रथम महिलाले नै सपना देख्नुपर्छ । उक्त सपना पूरा गर्न मेहनत गर्नुपर्छ । आफ्नो योग्यता, क्षमता, दक्षता र संस्थाप्रतिको इन्टेग्रिटीमा निखार ल्याउनैपर्छ । अन्य तत्वहरूमा घरपरिवारको सहयोग र नेतृत्व तहमा बस्नेहरूमा महिलाले अवसर पाए भने काम गर्न सक्छन् भन्ने भावना जागृत हुनु आवश्यक छ । केही हदसम्म सेवा प्रवेशमा आरक्षण र सहज कार्य वातावरणको आवश्यकता पनि छ ।

निर्णायक तहमा महिला पुग्नका लागि क्षमता पर्याप्त हुन्छ कि राजनीतिक पार्टीसँगको आबद्धता ?

पहिलो त क्षमता र योग्यता नै आवश्यक पर्छ । निर्णायक तहमा नियुक्ति पनि संस्थाको कर्मचारी सेवा विनियमावलीअनुसार बढुवाबाट हुने र सरकारबाट हुने गरी दुई प्रकारका छन् । यसमध्ये सरकार, मन्त्रिपरिषद्बाट हुने नियुक्तिहरूमा राजनीतिक पार्टीसँगको आबद्धता पनि आवश्यक पर्छ । यो विश्वव्यापी प्रचलन नै हो । यसलाई अन्यथा लिनु हुँदैन ।

हरेक क्षेत्रमा महिला अब्बल ठहरिँदै गएको अवस्थामा आरक्षणको सान्दर्भिकता कत्तिको देख्नुहुन्छ ?

देशका सबै महिला अझै पनि पूर्णरूपमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगिसकेका छैनन् । तसर्थ कमजोर र बलियोको प्रतिस्पर्धा एकै ठाउँमा हुनै सक्दैन । सेवा प्रवेशमा एकपटक महिलालाई आरक्षण अझै केही वर्ष आवश्यक छ । तर, सबै तहको बढुवामा आरक्षण आवश्यक छैन । पढाइ–लेखाइमा समान अवसर दिइनुपर्छ । महिलाहरूले पनि आफ्नो योग्यता, क्षमता निखार्न मेहनत चाहिँ गर्नैपर्छ । प्रतिस्पर्धामा विश्वास गर्नैपर्छ । यसो भयो भने पछि गएर आरक्षणको आवश्यकता पर्दैन ।

वित्तीय क्षेत्रमा कोरोनाको असर कस्तो छ ?

कोरोनाले होटल, पर्यटन, मनोरञ्जन, यातायात आदि क्षेत्र शिथिल बनाएको छ । बैंकहरूबाट यी क्षेत्रमा गएको ऋण समयमा उठ्न कठिनाइ हुने, खराब कर्जा केही बढ्ने जस्ता असरहरू देखिएका छन् । यी समस्या समाधान गर्न राष्ट्र बैंकले पुनर्कजाको व्यवस्था, साँवा र व्याज तिर्ने अवधि विस्तार, अनिवार्य नगद अनुपातमा कटौतीजस्ता लचिला र सहज नियमनकारी व्यवस्था लागू गरेको छ ।

भविष्यको योजना ?

अहिले नियुक्ति पाएको डेपुटी गभर्नरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने मात्र हालको मेरो योजना हो । अरु योजना विस्तारै बन्दै जालान् ।

 Image