Successfully Copied

‘सरकारी सेवामा महिला बढी भए भ्रष्टाचार स्वतः घट्छ’

चितवन फूलबारीमा जन्मिएकी सावित्री थापा गुरुङ पाँचजना दिदीबहिनी र एकजना भाइमध्येकी माहिली छोरी हुन् । शिवनगरस्थित नारायणी माविबाट उनले स्कुले शिक्षा, भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट इन्टर र स्नातकसम्मको अध्ययन गरिन् ।

चितवन फूलबारीमा जन्मिएकी सावित्री थापा गुरुङ पाँचजना दिदीबहिनी र एकजना भाइमध्येकी माहिली छोरी हुन् । शिवनगरस्थित नारायणी माविबाट उनले स्कुले शिक्षा, भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट इन्टर र स्नातकसम्मको अध्ययन गरिन् । पछि उनले त्रिभुवन विश्वविद्यालयबाट राजीनीतिशास्त्रमा स्नातकोत्तर पूरा गरिन् । उनले बीएड, बीएल गर्दै एमए इन पब्लिक पोलिसी अस्ट्रेलिया, इन्टरनेशनल डेभलपमेन्ट स्टडी सर्ट कोर्स नर्वे तथा जवाहरलाल नेहरू युनिभर्सिटीबाट राजनीतिशास्त्रमा पिएचडी गरेकी छिन् । सानै बेलादेखि बुवाआमाले पढ्नुपर्छ भनेर जोड गरेकाले आफू आजको स्थानमा पुगेको कुरा उनी बताउँछिन् । रत्नराज्यलक्ष्मी क्याम्पसमा २६ वर्ष राजनीतिशास्त्र अध्यापन गरेकी सावित्री परिवारका साथ घट्टेकुलोमा बसोबास गर्छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी एक मात्र महिला आयुक्त थापाको ६ वर्षे कार्यकाल आगामी चैतमा पूरा हुँदैछ । कार्यालय जानासाथ ‘जिरो आवर’ मा प्रमुखकोमा भेला भएर अफिसियल छलफलबाट काम सुरु गर्ने उनी आयुक्तको काम अदालतमा न्यायाधीशको जस्तो तटस्थ हुने बताउँछिन् । अख्तियारकै कार्यालयमा उनीसँग गरिएको संवादको सम्पादित अंश :

पहिलो महिला आयुक्त हुँदा कस्तो महसुस भयो ?

पहिलो भन्नासाथ इतिहासमा नाम लेखिने कुरा पनि हो, खुसी लाग्यो । पहिला अरु संवैधानिक आयोगमा महिला आइसकेका थिए । निर्वाचन आयोगमा पनि एकजना महिला हुनुहुन्थ्यो । महिला आयोगमा त महिला हुने नै भए । महत्वपूर्ण र शक्तिशाली आयोगको आयुक्त हुनु आफैमा इतिहास हो । अख्तियारले सम्पूर्ण ब्युरोक्रेसी र निजामती सेवाका मानिस, प्रहरी र अन्य सरकारी संयन्त्रलाई हेर्छ । पहिले अनुचित (कानुनविपरीत) कार्य पनि हेर्थ्यो भने अहिले त्यहाँ भएका भ्रष्टाचार हेर्छ । प्राइभेट संस्थाले पनि सरकारी अनुदान वा सरकारी पैसा लिएर कुनै भ्रष्टाचारको काम गर्छन् भने तिनलाई पनि अख्तियारले हेर्छ । सरकारी रकमको दुरुपयोग र हिनामिना हुन नदिन यसले काम गर्छ । सरकारी रकम दुरुपयोग गरेको थाहा पाएमा कारबाही गरिन्छ ।

पुरुषसँग हातेमालो गरेर काम गर्न कत्तिको सहज भयो ?

महिला भएकै कारण कार्यक्षेत्रको अधिकार प्रयोग गर्न त्यति गाह्रो भएन । तर पनि महिला भएकै कारण पुरुष आयुक्तलाई मानिसले जुन व्यवहार गर्छन्, त्यसमा अलिकति कमी भएको हो कि भन्ने महसुस भयो । कहिलेकाहीँ अलिकति नजर अन्दाज गरेजस्तो महसुस भयो । यसैगरी पुरुष आयुक्तलाई जुन किसिमको महत्व दिइन्छ, आफूलाई नदिएको हो कि भन्ने र व्यवहारमा फरक पाइन्छ । साथै कर्मचारीले गर्ने व्यवहारमा पनि केही फरकपन पाएँ ।

नेपालमा भ्रष्टाचार बढी छ भनिन्छ, तर यसमा महिलाको नाम त्यति सुनिँदैन ।

यसो हुनुको पछाडि सरकारी सेवामा महिला कम छन् । ९० जना पुरुष र १० जना महिला भएपछि त्यो संख्या स्वतः कम हुन्छ । महिलाले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको पाइन्छ । महिलाले भ्रष्टाचार गर्ने दुस्साहस त्यति गर्दैनन् । यद्यपि सबै महिला राम्रै हुन्छन् भन्ने मेरो आशय होइन ।

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न महिलाको भूमिका के–कस्तो रहन्छ ?

सुशासन कायम गर्न हरेकको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । यहाँ धेरै पुरुष कर्मचारी छन् । मूलतः पुरुष जिम्मेवार हुनैपर्‍यो । पुरुषको तुलनामा महिला धेरै कम भ्रष्टाचारमा संलग्न भएको पाएको छु । र यसले गर्दा महिला बढीभन्दा बढी सरकारी सेवामा आउनुपर्‍यो । यसले स्वतः भ्रष्टाचार घट्छ । महिलाले पुरुष (बुवा, दाजुभाइ, श्रीमान्) ले जति कमाएर ल्याउँछन्, त्यसमा सन्तोष गर्ने, त्यसैमा आफ्नो घर चलाउन निर्भर हुने, अरुले धेरै कमायो भनेर धेरै कमाएर ल्याउन दबाब दिनुहुँदैन । यसो गर्दा पनि भ्रष्टाचार नियन्त्रण हुन्छ जस्तो लाग्छ । यसका साथै महिला शिक्षित पनि हुनुपर्छ । एउटा घरमा महिला शिक्षित भएमा सम्पूर्ण परिवारै शिक्षित हुन्छ । पढेपछि सुशासनमा भूमिका अझ बढी हुन्छ । आफ्नो कामबाट आउने पैसाबाहेक अनावश्यक पैसामा लोभ गर्नुहुँदैन भन्ने थाहा भई अरूलाई पनि प्रेसर गर्दैनन् ।

अख्तियारको आयुक्त भएपछि भ्रष्टाचार नियन्त्रणका लागि के–कस्ता काम गर्नुभयो ?

अफिसले दिएको सबै जिम्मेवारी प्रभावकारी ढंगमा निर्वाह गरेँ । भ्रष्टाचार गर्नेलाई छाड्नुपर्छ भन्ने दृष्टिकोण कहिल्यै राखिनँ । जसरी अदालतमा आँखा छोपेको र तराजु लिएको मूर्ति देख्न सकिन्छ, हामीले पनि त्यस्तै किसिमले आँखा छोपेर महिला होस् वा पुरुष, आफन्त होस् वा आफ्नो जात, भ्रष्टाचार गरेको छ भने हामी त्यसलाई छाड्दैनौं, कारबाही गर्छौं । चारवटा संस्थागत रणनीति जस्तो प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक, संस्थागत विकास गर्ने रणनीतिअनुसार काम गरियो । भ्रष्टाचार हुनुअघि भ्रष्टाचार हुन नदिने कार्य गर्ने सन्दर्भमा करिब ५० वटा जिल्लामा गएँ । हरेक जिल्लामा एक दिने कार्यशाला गोष्ठी गरेर भ्रष्टाचार रोक्नेसम्बन्धी जनचेतना कार्यक्रम गरियो । कोरोनाको प्रभाव नभएको भए यो संख्या अझ बढ्थ्यो । कार्यक्रमपछि कुनै पनि जिल्लामा यस्ता कुरा पहिले नै थाहा पाउनुपर्थ्यो भन्ने किसिमका प्रतिक्रिया समेत आए । यस्ता कार्य धेरै प्रभावकारी भए । नराम्रा गतिविधि हुन लागेको थाहा पाउनासाथ सम्बन्धित निकायलाई बोलाएर यस्तो हुनु भएन भनेर छलफल चलाएँ । यसले हुन लागेको भ्रष्टाचार रोक्न सहयोग पुग्यो ।

कार्यकालको अनुभव कस्तो रह्यो ? तीनजना प्रमुख आयुक्तसँग काम गर्नुभयो, कस्तो रह्यो अनुभव ? संस्थाको प्रमुख दिएमा नेतृत्व लिन सक्नुहुन्छ ?

प्रमुख आयुक्त लोकमानसिंह कार्की, दीप बस्नेत र नवीन घिमिरे तीनैजनासँगको कार्यकाल समग्रमा राम्रै र सन्तोषजनक रह्यो । आयुक्त भइसकेपछि प्रमुख आयुक्तको भूमिका दिएमा निर्वाह गर्नै नसक्ने भन्ने हुँदैन ।

धेरै वर्ष प्राध्यापन गर्नुभयो । प्राध्यापन गर्न र आयुक्तको कार्यभार सम्हाल्न कुन सजिलो लाग्यो ?

यी दुवैको प्रकृति फरक छ । पढाउनका लागि पनि आफू पढेर तयारी हुनुपर्थ्यो । आयुक्तको काम पनि सजिलो छैन । स्वच्छ हिसाबले न्यायाधीशको भूमिका निर्वाह गर्नुपर्छ । कुनै निर्दोषले सजाय नपाओस् त्यसमा ध्यान दिनुपर्छ । प्रशस्त होमवर्क गर्नुपर्छ, समय दिनुपर्छ । अफिसको प्रकृतिका कारण यो अवधिमा मेरो व्यक्तिगत रूपमा सामाजिक गतिविधि कम भए ।

नेतृत्व तहमा महिला सहभागिता न्यून छ, यसलाई कसरी बढावा दिने ?

हरेक महिला जो नीति निर्माण तहमा पुगेका छन्, उनीरूले महिलालाई अगाडि ल्याउन कस्ता नीति ल्याउनुपर्छ भन्नेमा ध्यान दिनुपर्छ । मेरो कार्यक्षेत्र भ्रष्टाचार हेर्ने भए पनि हरेक बैठकमा महिला नदेख्दा कुनै न कुनै संस्थामा महिला होलान् किन आएनन् भन्ने प्रश्न उठाउँथें । यहाँबाट बाहिर तालिम लिन जाँदा पनि महिलाको संख्या बढी हुनुपर्छ भन्ने कुरामा जहिले पनि दबाब दिन्थें, सम्बन्धित मानिसलाई । हरेक महिलाले महिलालाई अगाडि ल्याउन त्यस्तो किसिमको पोलिसी अगाडि बढाउनुपर्‍यो, जहाँ उनीहरूको पहुँच हुन्छ । महिलाको सहभागिता बढाउन राज्यलाई दबाब पनि दिनुपर्छ ।

महिलालाई अझै पनि समाजले विश्वास गर्दैन ? विश्वासयोग्य कसरी हुने ?

महिला आयुक्त भएपछि कहिलेकाहीँ अफिसकै साथीभाइ, श्रीमान्सँग गाडीमा कतै जाँदा आयुक्त भनेर चिनाउन नपाउँदै श्रीमान् र साथीलाई नमस्कार गर्छन् । पित्तृसत्तात्मक समाजका कारण यसो भएको हो । महिला पनि आयुक्त हुन सक्छन् भन्ने विश्वास नभएकै कारण श्रीमान् वा अन्यलाई आयुक्त ठाने । महिलाको संख्या कम भएकै कारण विश्वास नगरेका होलान् । जुनसुकै संस्थामा कार्यरत महिलाले हिम्मत नहारी काम गरेर प्रमाणित गर्नुपर्छ । अनावश्यक कुरा नगरी आफ्नो संस्थाको उद्देश्य, प्रकृतिअनुरूप स्वच्छ भएर काम गर्नुपर्छ ।

महिला सक्षम हुनका लागि के आवश्यक पर्छ ?

पहिलो कुरा शिक्षा हो । शिक्षाले नै सक्षम, सचेत हुने क्षमता दिन्छ । औपचारिक शिक्षासँगै अनौपचारिक शिक्षा जस्तो वर्कसप, कार्यशाला गोष्ठी, तालिम, विदेश भ्रमण, देशको भ्रमणबाट पनि धेरै कुरा सिक्न सकिन्छ । विभिन्न सिक्ने ठाउँ छोड्नुहुँदैन । साथै पछिल्लो समयमा प्रविधिको प्रयोगले पनि सबल हुन सकिन्छ ।

भविष्यको योजना ?

पढ्ने–लेख्ने, पिएचडीको थेसिसलाई किताबको रूप दिने विचारमा छु । आयुक्तका रूपमा काम गरेको ६ वर्षे कार्यकाललाई संस्मरणका रूपमा बाहिर ल्याउँछु होला । आफ्ना अनुभवलाई महिलाका अनुभवका रूपमा ढाल्ने प्रयास गर्छु ।

 Image