Successfully Copied

‘खाद्य सुरक्षामा अझै धेरै चुनौती छ’

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागकी खाद्य बिशेषज्ञ भारती अधिकारीसँग नेपालमा खाद्य सुरक्षा सम्बन्धी बिषयमा नारीले गरेको कुराकानी

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागकी खाद्य बिशेषज्ञ भारती अधिकारी लामो समय खाद्य सुरक्षा र यसको गुणस्तर बृद्धिमा कार्यरत छिन् । खाद्य सुरक्षा र गुणस्तर सम्बन्धी थुप्रै गोष्ठी, तालिम र कार्यशाला मार्फत् चेतना अभिबृद्धि गरिरहेकी अधिकारीसँग नेपालमा खाद्य सुरक्षा सम्बन्धी बिषयमा नारीकालागि लक्ष्मी भण्डारीले गरेको कुराकानीः

खाद्य सुरक्षा भन्नाले के बुझिन्छ ?

खाद्य सुरक्षाले खानालाई कसरी ह्याण्डल गर्ने, तयारी गर्ने र भण्डारण गर्ने भन्ने सुनिश्चितता गर्दछ । यसअन्तरगत मुख्यतः खाद्य भण्डारण र तयारी पर्दछ । खाद्य सुरक्षाले खाद्यजन्य रोगबाट बिरामी हुने व्यक्तिको जोखिमलाई कम गर्दछ । खाद्य सुरक्षा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष्य जोडिएको बिषय हो ।

नेपालमा खाद्य सुरक्षाको अवस्था कस्तो छ ?

सन् २००४ मा नेपालले विश्व खाद्य संगठन (डब्ल्युएफओ) को सदस्यता लिएको हो । त्यसयता नेपालमा खाद्य सुरक्षा सम्बन्धी थुप्रै नीति नियम बनिसकेका छन् । हामीकहाँ कमजोर पूर्वाधार र प्रविधिका कारण विकसित मुलुकमा जस्तो खाद्य सुरक्षा छैन । तरकारीमा बिषादीका कुराहरु उठिरहेका छन् । कहिले म्याद नाघेका चामल र अन्य खाद्यान्नको मुद्धा उठ्छ । तर पछिल्लो समयमा आएर यसमा निकै सुधार आएको छ ।

हाम्रो देशमा खाद्य सुरक्षा बलियो बनाउन के आवश्यक देख्नुहुन्छ ?

मुख्यतः सरकारी तवरबाटै कडाइ गर्नुपर्छ । एउटा व्यक्ति वा संघ–संगठनले गरेर हाम्रो जस्तो विकासोन्मुख र कमजोर पूर्वाधार भएको मुलुकमा सम्भव छै् । सरकारद्वारा यसमा बलियो नीति ल्याइ प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । नियम कानुन बनेर मात्र केही हुँदैन । व्यवहारिक मै त्यसलाई कडाइका साथ पालना गराउन सक्नुपर्छ । खाद्यान्न उमार्ने कृषकदेखि भण्डारण गर्ने व्यावसायी र बिक्रीबितरण गर्ने बिक्रेतासम्ममा निरन्तर अनुगमन जरुरी छ । अनुगमनबाट गलत ठहरिएमा कारबाहीको समेत दायरा तोकिदिनुपर्छ ।

खानालाई कसरी तयारी र भण्डारण गर्ने ?

सर्वप्रथम त जुनसुकै खाद्यान्न पनि सफा हुनुपर्‍यो । धोइपखाली गरेर हुन्छ वा घाममा सुकाएर हुन्छ खाद्यान्नमा घुन, किरा, बालुवा, माटो या अन्य कुनै जीवाणु रहनु भएन । त्यसपछि खाद्यपदार्थको प्रकृति हेरी छुट्याएर राख्नुपर्छ । सबै खाद्यान्न एकै स्थानमा राख्नुहुदैन । कतिपय खाद्यपदार्थ २४ घण्टासम्म फ्रिजिङ गरेर खाँदा उत्तम हुन्छ ।

खाद्यान्न कसरी तयार पार्ने ?

धुने, केलाउने, फ्रिजिङगर्ने त मुख्य कुरा नै भए यसका अलावा खानालाई पकाएर खानु राम्रो मानिन्छ ।

कतिपय खाद्यान्न बढी पकाउँदा भिटामिनको मात्रा घट्छ या खेर जान्छ भनिन्छ नि?

हो । हरिया सागसब्जी, काँचै खानमिल्ने फलजन्य तरकारी जस्तैः कांक्रो, गाँजर, मुला, चुकन्दर लगायतका खाद्यान्नलाई बढी पकाएर खाँदा यसमा भएको भिटामिन खेर जाने बढी सम्भावना हुन्छ । तसर्थ यि प्रकृतिका खानेकुरालाई काँचै या कम पकाएर खानु राम्रो हुन्छ । तर चामल, मकै, गहुँ जस्ता ठोस प्रकृतिका खाद्यान्नलाई भने पकाएरै खानुपर्छ ।

 Image