Successfully Copied

महिनावारी : एक उत्सव 

महिनावारी बार्नुपर्ने कुरा हो भन्ने लाग्दैन किनभने यो प्राकृतिक र शारीरिक प्रक्रिया मात्र हो । जसरी बच्चा जन्मिन्छ, उसको दाँत–कपाल उम्रन्छ, मान्छे बढ्दै जान्छ यो पनि उस्तै एउटा प्रक्रिया मात्र हो जुन महिलामा मात्र हुन्छ । यो नारीले पाएको वरदान हो जसले संसारमा शिशु जन्माउँछ,

डा. गरिमा श्रेष्ठ

पुन: प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडको अवधारणा कसरी आयो ?

पुन: प्रयोग गर्न मिल्ने प्याड यसअघि अरूले पनि प्रयोग गरेका थिए तर स्वास्थ्य सुरक्षाका हिसाबले इस्टरलाइजेसन गरेर पुन: प्रयोग गर्ने कामको सुरुवात मैले गरेकी हुँ । कारण के भने, पहिले साधारण हिसाबले साबुनपानीले धोएर सुकाइन्थ्यो र त्यसैलाई पुन: प्रयोग गरिन्थ्यो । त्यसो गर्दा जम्माजम्मी १० देखि २० प्रतिशत मात्र कीटाणु नष्ट हुने र बाँकी ८० प्रतिशतले थप इन्फेक्सन गराउने सम्भावना भएकाले मैले पुन: प्रयोगका लागि इस्टरलाइजेसन प्रक्रियापछि मात्र प्रयोग गर्नुपर्ने अभियान सुरु गरेकी हुँ ।

 

कसरी गरिन्छ इस्टेरिलाइजेसन ?

इस्टरलाइजेसन भनेको शतप्रतिशत ब्याक्टेरियामुक्त गराउने प्रक्रिया हो । मैले अध्ययन गरेअनुसार अस्पतालमा प्रयोग गरिने प्रविधिहरू इस्टरलाइजेसन गर्नलाई अटोक्लेभ गरिन्छ । ग्रामीण क्षेत्रका अस्पतालमा मूल्यका कारण अटोक्लेभ प्रयोग गरिहाल्न कठिन छ । त्यस्तो अवस्थामा इस्टरलाइजेसन कसरी गर्ने त ? त्यतिबेला प्रेसर कुकरलाई होममेड अटोक्लेभका रूपमा प्रयोग गरिन्छ । त्यसभित्र विभिन्न इक्विपमेन्ट्स राखी १ सिठी लगाएर निकालेपछि ती सम्पूर्ण इक्विपमेन्ट्स पुन: प्रयोग गर्न लायक हुन्छन् । मैले पढेको कुरा स्यानिटरी प्याडको हकमा पनि लागू गर्ने प्रयास गरेकी हुँ । स्यानिटरी प्याड एकपटक प्रयोग गरिसकेपछि साबुनपानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि घाममा सुकाएर प्लास्टिकमा राखी प्रेसर कुकरमा थोरै पानी हालेर १ सिठी लगाइदिने जसले शतप्रतिशत कीटाणु नष्ट गरिदिन्छ र त्यो पुन: प्रयोगका लागि हाइजेनिक हुन्छ ।

 

यो अभियान कत्तिको सफल हुँदैछ ?

यो अभियान सुरु गरेको १ वर्ष पूरा भयो । मैले विद्यालयबाट सुरु गरेकी हुँ किनभने विद्यार्थी शिक्षित भए भने आफ्ना अभिभावकलाई सुसूचित गराउँछन् तर म एक्लैले भन्दा विश्वास कम हुनसक्छ । स्कुलपछि म आमा समूहहरूमा गएँ । हालसम्म ३ सयभन्दा बढी पुन: प्रयोग गर्ने स्यानिटरी प्याड बाँडिसकेकी छु त्यो पनि इस्टेरिलाइजेसन गरेर । १ हजारभन्दा बढी महिला तथा पुरुषलाई घरमै स्यानिटरी प्याड बनाउने तालिमसमेत दिइसकेकी छु । 

यसबाट के अपेक्षा गर्नुभएको छ ?

आफू एक्ली छोरी भएकीले मैले घरमा कहिल्यै विभेद महसुस गर्नुपरेन । मेरो घरका हरेक सदस्य शिक्षित हुनुहुन्छ तर सबैको घरमा त्यस्तो नहुन सक्छ । सबैलाई महिनावारीका बारेमा सही ज्ञान होस् र छुवाछूत हटोस् भन्ने मेरो अपेक्षा हो । यसैका लागि पढिरहेकी र अघि बढिरहेकी छु । नेपालका ग्रामीण क्षेत्रमा गएर काम गर्ने इच्छा छ । 

नेपाली महिला र युवतीहरूलाई स्वस्थ बनाउन तत्काल गर्नैपर्ने काम ?

खानामा सजग हुन जरुरी छ । खाना नै यस्तो चीज हो जुन प्रत्यक्ष रूपमा स्वास्थ्यसँग जोडिएको छ । कतिपय टिनएजर्स बिनाज्ञानको डाइटिङमा लागिरहेका हुन्छन् जसद्वारा ग्यासट्राइटिस हुने प्रबल सम्भावना हुन्छ । कतिपय जंकफुडमा बढी एडिक्टेड हुन्छन् जसका कारण पित्तथैलीमा स्टोन हुनुका साथै कोलेस्ट्रोल बढ्दै जाँदा युवावस्थामै हार्ट अट्याक हुने समस्या बढिरहेको छ । खाना नै त्यस्तो चीज हो जहाँ हामी सजग र सचेत हुनैपर्छ । 

महिनावारी किन बार्नुपर्छ ?

मलाई महिनावारी बार्नुपर्ने कुरा हो भन्ने लाग्दैन किनभने यो प्राकृतिक र शारीरिक प्रक्रिया मात्र हो । जसरी बच्चा जन्मिन्छ, उसको दाँत–कपाल उम्रन्छ, मान्छे बढ्दै जान्छ यो पनि उस्तै एउटा प्रक्रिया मात्र हो जुन महिलामा मात्र हुन्छ । यो नारीले पाएको वरदान हो जसले संसारमा शिशु जन्माउँछ, प्राकृतिक नियमलाई रोकिन दिँदैन । महिनावारीलाई उत्सवका रूपमा मनाउँदै यतिबेला महिलालाई बढी माया, पोषण एवं आराम दिनुपर्छ ।

नयाँ के गर्ने मन छ ?

हाम्रो मुलुकमा अझै पनि स्वास्थ्यप्रति धेरै सजग र सचेत हुनुपर्ने आवश्यकता छ । अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल आउने र धेरै प्रयासका बाबजुद पनि बिरामीलाई बचाउन नसकिने यहाँको वातावरणले हाम्रो स्वास्थ्य चेतना कति छ प्रमाणित गरेको छ । त्यसैले व्यापक रूपमा यसैसँग सम्बन्धित चेतनामूलक काम गर्ने इच्छा छ । महिला तथा युवतीका लागि स्वच्छ महिनावारीलाई अझ अघि बढाई छुवाछूत न्यूनीकरण गर्ने अभियानमा सक्रिय हुने मन छ ।        

 

 Image