अन्ती गुरुङ
फेसन डिजाइनर
तपाईंले आफ्नो पहिलो अन्तर्वार्तामा कस्तो पहिरन लगाउनु भएको थियो ?
अन्तर्वार्ता दिँदा म जहिले पनि सेमी–फर्मल आउटफिट नै रुचाउँछु ।
सामाजिक सञ्जालले फेसन इन्डस्ट्रिजमा खेलेको भूमिकाका बारेमा तपाईं के सोच्नुहुन्छ ?
फेसनले नै समय कसरी चलिरहेको छ भन्ने कुराको संकेत गर्छ । आजको फेसनको दुनियाँलाई ड्रयाग गर्ने मुख्य अस्त्रमध्ये सामाजिक सञ्जाल पनि एक हो । यसैको माध्यमबाट कतिपयले त्यहाँ डिस्प्ले गरिएका डिजाइनमा फ्युजन गरेर नयाँ सिर्जना गरिरहेका हुन्छन् ।
डिजाइनिङ गर्दा तपाईंलाई अत्यधिक मनपर्ने भाग ?
जब म डिजाइन सिर्जनाका लागि बसेकी हुन्छु तब सबैभन्दा पहिले अवधारणा बनाउँछु । मुड बोर्डपछि, इल्युस्ट्ेरसन र फेब्रिक हन्टिङ गर्दै ट्रेल तथा फिटिङ गर्दासम्म जे–जति काम गर्छु उत्तिकै इन्जोय गरिरहेकी हुन्छु ।
तपाईंको डिजाइन लगाउने महिलाले कस्तो अनुभूति गरून् भन्ने चाहनुहुन्छ ?
मेरो डिजाइन लगाउने नारीको अनुहारमा खुसी र हाँसो देख्न चाहन्छु ।
आफ्नो व्यक्तिगत स्टाइललाई कसरी परिभाषित गर्नुहुन्छ ?
मलाई समय, स्थान र अवसर हेरेर पहिरन लगाउन मन लाग्छ । कामका बेला सहज हुने पहिरन हेर्छु भने अन्य समयमा म फेमिनाइन, एलिगेन्ट र स्टाइलिस्ट परिधानको पारखी हुँ ।
रिसाहा ग्राहकसँग कसरी डिल गर्नुहुन्छ ?
म हरेक ग्राहकसँग समान व्यवहार गर्न रुचाउँछु । मेरो जान्न चाहने र सुन्न सक्ने धैर्यका कारण ग्राहकहरू आफैं कन्भिन्स भएका थुप्रै उदाहरण छन्, त्यसैले म नरिसाई उहाँहरूका कुरा सुन्न र उहाँहरूलाई बुझ्न चाहन्छु ।
कुन सेलिब्रेटीका लागि कस्तो डिजाइन गर्ने इच्छा छ ?
पर्सनालिटी, स्टाइल र उनले गरेको काम र योगदान सुनेका आधारमा जोर्डनकी रानी ‘क्विन रानिया’ का लागि एलिगेन्ट रोयल लुक्सको पहिरन डिजाइन गर्ने ठूलो इच्छा छ ।
तपाईंको पछिल्लो डिजाइन कुन हो ?
मैले गरेको पछिल्लो डिजाइन मेरो स्प्रिङ–समर कलेक्सनका पहिरन थिए, जसलाई मैले लन्डनको एउटा भव्य इभेन्टमा प्रस्तुत गरेको धेरै भएको छैन ।
तपाईंलाई सोध्नैपर्ने कुनै एउटा प्रश्न कुन होला, जसमा तपाईंको उत्तर के हुनेछ ?
मेरो डिजाइन स्टुडियोका बारेमा सोध्नुभयो भने मेरो उत्तर–‘मेरो इन्स्पायर फेसन स्टुडियोभित्र म पहिरनभन्दा पनि मानिसको खुसी डिजाइन गर्न चाहन्छु जसले मेरा पहिरन लगाउनेहरूको मुहारमा मुस्कान ल्याओस् ।’