Successfully Copied

मलेसियामा मैथली फेसन

विभिन्न ३० देशका फेसन डिजाइनरको आ–आफ्नै प्रकारको सोच थियो । फेसनका बारेमा पढेर मात्र हुँदैन, प्रत्येक दिन नयाँ कुरा सिकिरहनुपर्दो रहेछ । उनीहरूले क्षण–क्षणमा नयाँ कुरा सोचिरहेको मैले पाएँ ।

प्रेम देवले आईईसी कलेज बागबजारबाट फेसन डिजाइनमा डिप्लोमा गरेका हुन् । आठ वर्षदेखि फेसन डिजाइनिङमा सक्रिय ३० वर्षीय देव हालै मलेसियामा सम्पन्न इन्टरनेसनल इपो फेसन विक सिजन–२ मा सहभागी भएर नेपाल फर्किएका छन् । न्यूरोडमा टिपाज क्रिएसन चलाइरहेका देवसँग अन्तर्राष्ट्रिय फेसन विकको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानी :

इन्टरनेसनल इपो फेसन विक सिजन–२ को सहभागिता कस्तो रह्यो ? 

त्यहाँ फेसन प्रदर्शन गर्ने तरिकामा धेरै फरक पाए । त्यहाँ फेसन विकमा पहिरन किन्नेहरूको घुइँचो लाग्दो रहेछ । नेपालको फेसन विकलाई मानिसहरू मनोरञ्जनको माध्यमका रूपमा मात्र लिन्छन्, तर त्यहाँ मानिसहरू किन्ने तथा सिक्ने हिसाबले जाँदा रहेछन् । कुन देशको कल्चर कस्तो छ, कस्तो फेसन चलेको छ भनेर त्यहाँका मानिसहरू निकै रुचि राख्दा रहेछन् । त्यहाँ डिजाइनरलाई निकै सम्मानपूर्वक हेरिँदो रहेछ । 

तपाईंले कस्ता पहिरन प्रदर्शन गर्नुभयो ? 

मैले मिथिला कल्चरमा आधारित रहेर मोडर्न थिममा डिजाइन गरिएका १२ वटाजति पहिरन प्रदर्शन गरें । नेपाली पहिरनप्रति धेरैको आकर्षण देखियो । 

 

फेसन विकमा सहभागी विभिन्न देशका फेसन डिजाइनरबाट के–कस्ता कुरा सिक्न पाउनुभयो ? 

अमेरिका, भारत, फिलिपिन्स, मलेसिया, भियतनाम आदि विश्वका विभिन्न ३० देशका फेसन डिजाइनर सहभागी थिए । उनीहरूको ड्रेस फिनिसिङ, एट्याक्सन अलिकति फरक थियो । उनीहरू हामीभन्दा फरक किसिमले काम गर्दा रहेछन् । आँखा नै नहट्ने गरी ड्ेरस डिजाइन गर्दा रहेछन् । मैले पनि त्यहाँजस्तै फिनिसिङ गर्न केही सामानसमेत लिएर आएको छु, जुन आगामी दिनमा आफ्नो पहिरनमा अप्लाइ गर्छु । 

विदेशीहरू ड्रेस डिजाइनिङका सम्बन्धमा कसरी सोच्दा रहेछन् ? 

विभिन्न ३० देशका फेसन डिजाइनरको आ–आफ्नै प्रकारको सोच थियो । फेसनका बारेमा पढेर मात्र हुँदैन, प्रत्येक दिन नयाँ कुरा सिकिरहनुपर्दो रहेछ । उनीहरूले क्षण–क्षणमा नयाँ कुरा सोचिरहेको मैले पाएँ । 

 

यस्ता अन्तर्राष्ट्रिय फेसन शोको सहभागिताले नेपाली फेसन उद्योगलाई के–कस्तो टेवा पुर्‍याउँछ ? 

निकै ठूलो सहयोग पुर्‍याउँछ । नयाँ कुरा सिक्न पाइन्छ । यसले नेपाली फेसनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन मद्दत गर्छ । समय र पैसा कम लाग्ने आइडिया पनि सिक्न पाइन्छ । यस्तो सहभागिताबाट फेसनमा काम गर्ने शैली सिक्न सजिलो हुन्छ । यस्तै खालको अन्तर्राष्ट्रिय फेसन विक नेपालमा पनि गर्न जरुरी छ । यसले बाहिरका फेसन डिजाइनर तथा मोडलहरूलाई नेपाल आउने अवसर प्राप्त हुन्छ र त्यसबाट फेसनसँगै पर्यटन व्यवसायलाई समेत टेवा मिल्छ । 

 Image