Successfully Copied

लामखुट्टे भगाउने बोटबिरुवा

गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ ।



लामखुट्टेबाट छुटकारा पाउन त्यति सजिलो छैन । घरवरिपरि भएका पानी जम्ने खाल्डाखुल्डीका कारण लामखुट्टे पूर्णरूपमाभगाउन सकिँदैन । गर्मी मौसममा लामखुट्टेकै कारण साँझ बाहिर बस्न मुस्किल हुन्छ । लामखुट्टेकै टोकाइबाट मलेरिया, डेंगीजस्ता प्रकोप फैलिने डर हुन्छ र कतिपयलाई यसको टोकाइले एलर्जी गराउँछ । हामी लामखुट्टेको टोकाइबाट बच्न बजारमा पाइने उत्पादनमा निर्भर छौं । यी उत्पादनमा विभिन्न किसिमका रसायन प्रयोग गरिएको हुन्छ जसले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पारिरहेको हुन्छ । यस्ता औषधि प्रयोग गरेको १–२ दिनमालामखुट्टेबाट छुटकारा मिल्छ । लामखुट्टेबाट बच्न घरवरिपरि बिरुवा रोप्न सकिन्छ । यी बिरुवाले घरमा लामखुट्टे आउनबाट रोक्नुका साथै घरको रौनक बढाउँछन् ।

लेमन ग्रास
लेमन ग्रासको सुगन्धले लामखुट्टे भगाउन सहयोग गर्छ । बजारमा पाइने लामखुट्टे भगाउने धेरै औषधिमा यसको प्रयोग गरिएको हुन्छ । यसको मनमोहक सुगन्धले ताजगी दिन्छ । मुड फ्रेस गराउँछ । यसको बिरुवालाई हेरचाह गर्न सजिलो हुन्छ । धेरै स्याहार–सुसार चाँहिदैन । लेमन ग्रासको चिया बनाएर पनि पिउन सकिन्छ ।

सयपत्री
सयपत्री फूलले लामखुट्टे मात्र नभएर धेरैजसो कीरालाई भगाउने काम गर्छ । लामखुट्टे भगाउन यसको फूल नफुले पनि हुन्छ यसको बिरुवा नै काफी हुन्छ । सयपत्रीको गन्ध लामखुट्टेलाई मन पर्दैन । सयपत्री धेरै प्रजातिमा पाइन्छ । यी सबै प्रकारकाप्रजातिका बिरुवा घरमा रोप्दा लामखुट्टेबाट छुटकारा पाउन सकिन्छ । सयपत्रीलाई गमलामा सजिलै फुलाउन सकिन्छ ।


लेभेन्डर
लामखुट्टे भगाउन बजारमा पाइने लिक्विडमा पनि लेभेन्डरको तेल मिसाइएको हुन्छ । लेभेन्डरको बिरुवा घरमा रोप्दा घर सुगन्धित हुन्छ र लामखुट्टेबाट पनि छुटकारा प्राप्त हुन्छ । यो बिरुवालाई सजिलै सार्न सकिन्छ । धेरै स्याहार–सुसार र हेरचाहको पनित्यति आवश्यकता पर्दैन । यो बिरुवा चार फिटसम्म अग्लो हुन्छ । रसायन फ्रि औषधि बनाउनका लागि लेभेन्डरको तेल पानीमा मिसाएर छालामा पनि लगाउन सकिन्छ ।

लसुन
लसुनको गन्ध लामखुट्टेलाई पटक्कै मनपर्दैन । भनिन्छ, लसुनको सेवन गर्दा हाम्रो रगतमा पनि त्यसको गन्ध आउने भएकाले काँचो लसुन खाएको व्यक्तिलाई लामखुट्टेले टोक्दैन । लसुनको सेवन गर्न नचाहनेहरूले घरमा लसुनका बिरुवा रोप्न सकिन्छ । बगैंचामा लसुन रोपे लामखुट्टे फैलने सम्भावना निकै कम हुन्छ । लसुन रोप्नका लागि प्रशस्त ठाउ“ छैन भने ग्रो ब्याग वा गमलामा रोप्न सकिन्छ ।


पुदिना
पुदिना प्रायः अचार वा सर्बत बनाउन प्रयोग गरिन्छ । यसबाट निस्कने सुगन्ध लामखुट्टेलाई मन पर्दैन । स–साना कीरा, झिँगा आदि पुदिना रोपेको ठाउँमा आउँदैनन् । पुदिनाका पातलाई सुकाएर घरभित्र राखे लामखुट्टे भित्र आउँदैनन् । त्यसैले घरमा यसको एउटा बिरुवा लगाए लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । पुदिनालाई घाम लाग्ने ठाउँमा रोप्नुपर्छ ।

केटनिप
यसको प्रयोग विभिन्न आयुर्वेदिक औषधिहरूमा गरिएको हुन्छ । लामखुट्टे भगाउनका लागि यो बिरुवा अति नै प्रभावकारी हुन्छ । यो बिरुवा जुनसुकै मौसममा हुन्छ । यसको फूल सेतो र लेभेन्डरजस्तै देखिने खालको हुन्छ । लामखुट्टे भगाउन यसको बिरुवालाई गमलामा लगाउन सकिन्छ ।

सिट्रोनेला ग्रास
यो बिरुवा लामखुट्टे भगाउनका लागि निकै उपयोगी मानिन्छ । यो बिरुवा दुई मिटरसम्म अग्लो हुन्छ । यो बिरुवाको तेल मैनबत्ती, परफ्युम र जडीबुटीबाट बन्ने केही उत्पादनहरूमा समेत प्रयोग गरिन्छ । यसमा एन्टी फंगल गुण पनि हुन्छ ।

हार्समिट
यो बिरुवालाई धेरै स्याहार–सुसारको आवश्यकता पर्दैन । यसको सुगन्ध सिट्रोनेला ग्रासको जस्तै हुन्छ । यो बिरुवा गर्मीमा हुन्छ । यसको प्रयोग धेरैजसो औषधिमा गरिएको हुन्छ । घरमा यो बिरुवा लगाए लामखुट्टे नजिक आउँदैनन् ।


निम
लामखुट्टे, झिँगा र स–साना कीरा भगाउन निमको बिरुवा उपयुक्त हुन्छ । घरमा बगैंचा भएकाहरूले निमको बिरुवा लगाउन सक्छन् । यसले घरभित्र लामखुट्टे आउँदैनन् ।

रोजमेरी
रोजमेरीको बिरुवा लामखुट्टे भगाउने प्राकृतिक औषधि हो । रोजमेरी फुल्दा एकदमै आकर्षक देखिन्छ । यो बिरुवा गर्मीमा एकदमै राम्रोसँग सप्रिन्छ । यो बिरुवालाई चिसो तर सुख्खा ठाउँमा राख्नुपर्छ । चार–पाँच फिट अग्लो हुने यो बिरुवाको नीलो रंगको फूल फुल्छ ।

तुलसी
तुलसीको बिरुवाले हावा शुद्धीकरणको काम गर्छ । यो बिरुवा औषधीय गुणले भरिपूर्ण हुन्छ । तुलसीको सुगन्धले लामखुट्टे भाग्छन् । तुलसीले लामखुट्टेका साथै स–साना कीराहरू आउन दिँदैन । लामखुट्टेले टोकेर रातो दाग बस्दा पनि यसको पात निचोरेर लगाउँदा राहत मिल्छ ।

 Image