प्राकृतिक चिकित्सा वैकल्पिक उपचार विधि हो । यो विधिबाट रोगीहरूको उपचार मात्र हुँदैन स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि सर्वश्रेष्ठ मानिन्छ । अन्य विधिबाट ‘साइड इफेक्ट’ हुने भएकाले धेरैले पछिल्लो समय वैकल्पिक उपचार खोज्न थालेका छन् । यो विधिले प्राकृतिक रूपमै तन्दुरुस्त र निरोगी बन्न सिकाउँछ । यसले रोग निको पार्नेदेखि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै शारीरिक, मानसिक एवं सामाजिक रूपमा बलियो र तन्दुरुस्त बनाउँछ । यो उपचार विधिअन्तर्गत ‘हाइड्रो थेरापी’, ‘मड थेरापी’, ‘फिजियोथेरापी’, ‘अकुपञ्चर’, ‘अकुप्रेसर’, वायु उपचार, मसाज, आहार एवं उपवास आदि पर्छन् । प्राकृतिक उपचार विधिबाट ‘नसा च्यापिएको’ रोगको उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही ‘नारी’ पत्रिकाकी उप–सम्पादक सुजाता मुखियाले काठमाडौंस्थित आयुष हस्पिटलकी मेडिकल अधिकृत डा.युनिता श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश -
नसा च्यापिनुको कारण के हो?
लामो समयसम्म एउटै आसनमा बसेर काम गर्नेहरूमा नसा च्यापिन सक्छ । नसा च्यापिनुमा गलत खानपानदेखि काम गर्ने तरिकासम्म जिम्मेवार छ । मद्यपान, धूम्रपान, धेरै निहुरेर काम गर्नुपर्ने, गह्रौं सामान उचाल्ने आदिका कारणले पनि नसा च्यापिन्छ । पछिल्लो समय धेरैमा नसा च्यापिने समस्या देखिने गरेको छ । त्यसमा पनि घाँटी र कम्मरको नसा बढी च्यापिन्छ ।
नसा च्यापिएको कसरी थाहा पाउन सकिन्छ?
नसा च्यापिँदा जुन भागमा च्यापिएको छ त्यही भागमा छुँदा पनि दुख्छ । घाँटीको नसा च्यापिएको भए हाततिर र कम्मरमा च्यापिएको भए खुट्टातिर सर्दै जान्छ र हातखुट्टा झमझमाउँछन् ।
कुन उमेर समूहकालाई यो समस्या बढी देखिन्छ ?
पछिल्लो समय १५ वर्ष उमेर समूहकालाई पनि नसा च्यापिएको छ । ३० देखि ४० वर्षसम्मकामा बढी देखिन्छ ।
किशोरावस्थामा नसा च्यापिने कारणहरू के–के हुन सक्छन् ?
किताबको भारी बोक्दा उनीहरूको ढाडको भाग कुप्रो परेर सेप नै बिग्रिसकेको हुन्छ । पछिल्लो समय बालबालिका मोबाइल एवं ल्यापटपमा बढी समय बिताउँछन् । यसो गर्दा लामो समयसम्म घाँटी झुकाउने गर्छन् । त्यतिबेला थाहा नपाए पनि यसले पछि असर पार्न सक्छ । त्यसबाहेक बालबालिकाहरू ‘प्रोसेसिङ फुड’ खाई घरभित्र धेरै बसेर पर्याप्त मात्रामा भिटामिन ‘डी’ नपाउँदा पनि उनीहरूमा यो समस्या देखिने गरेको छ ।
यो पूर्णरूपमा निको हुने रोग हो ?
यो नसा कति च्यापिएको भन्ने कुरामा निर्भर हुन्छ । थेरापीले दुखाइ कम गर्नुका साथै रोग पनि निको बनाउँछ । समयमै उपचार गरी सावधानी अपनाए पूर्णरूपमा निको पार्न सकिन्छ । धेरै च्यापिएको छ भने खानपानमा ध्यान दिएर व्यायाम गर्नुपर्छ । लामो समयसम्म एउटै आसनमा नबसी धेरै झुकेर गह्रौं सामान नउचाल्ने गरेमा धेरै हदसम्म निको पार्न सकिन्छ ।
यसले निम्त्याउने जोखिमहरू के–के हुन् ?
समयमै उपचार नगरी लापरबाही गरेमा पक्षघात पनि हुनसक्छ । सुरुमा दुख्दा नै उपचार गर्नुपर्छ नत्र पछि सहनै नसक्ने गरी दुखाइ बढ्न सक्छ । खुट्टा वा हात झमझाउने मात्र होइन अन्त्यमा लाटो हु“दै जान्छन् । यतिबेलासम्म पनि उपचार गरिएन भने पक्षघात हुनसक्छ ।
यसको उपचार विधि के हो? कति अवधि लाग्छ ?
‘इलेक्ट्रो थेरापी’, ‘अकुपञ्चर’, ‘अकुप्रेसर’, प्राकृतिक विधिबाट उपचार गरिन्छ । सुरुमा दश दिनसम्म हेर्छ र कम भएन भने फेरि नयाँ तरिका अपनाएर उपचार गर्छौं । यसले दुखाइ कम गर्छ, त्यसपछि व्यायामहरू सिकाइन्छ र घरमा गएर पनि बिरामीले यो गर्नुपर्छ । दिनको दुईपटक व्यायाम गर्दा फेरि समस्या बल्झिने सम्भावना हुँदैन । बिहान व्यायाम गरेपछि दिनभरि पुग्छ र साँझ गरेकाले रातभरि शरीरलाई आराम हुन्छ । खानपानमा एकदमै ध्यान दिनुपर्छ । घरमै बनाएको पोषिलो खाना खानुपर्छ । भिटामिन ‘डी’ र ‘बी १२’ भएको खाना खानुपर्छ । नियमित रूपमा बिहान घाम ताप्नुपर्छ ।