नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो छ । एक तथ्यांकअनुसार नेपालमा करिब एक लाख क्यान्सर रोगी रहेका छन् । यो रोगबाट मृत्यु हुनेको संख्या पनि उस्तै छ । एक गैरसरकारी संस्था ‘रिलिफ सोसाइटी’ का अनुसार क्यान्सरबाट हरेक वर्ष २० हजारको मृत्यु हुने गरेको छ । यो रोगबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक पनि डरलाग्दो छ । संगठनका अनुसार विश्वमा यो रोगबाट बर्सेनि दुई करोड मानिस प्रभावित हुने र झन्डै ८० लाखले ज्यान गुमाउने गरेका छन् । विश्वमा क्यान्सर रोगीको संख्या जुन अनुपातमा बढिरहेको छ, त्यो कायमै रहने हो भने सन् २०४० सम्ममा दुई करोड ८४ लाखसम्म पुग्ने अनुमान गरिएको छ । विश्वमा सबैभन्दा बढी मृत्युदर रहेका रोगहरूमा क्यान्सर छैठौं स्थानमा छ । यो तथ्यांकमा विकसित मुलुकहरूलाई मात्रै समेटिएको छ । विकासोन्मुख मुलुकहरूलाई समेत तथ्यांकमा समावेश गर्ने हो भने यो संख्या झनै बढ्नेछ ।
क्यान्सर रोग बढ्नुमा विभिन्न कारण छन् । तीमध्ये मानिसको व्यस्त र अव्यवस्थित दिनचर्या पनि हो । आफ्नो स्वास्थ्यप्रति सचेत नहुँदा रोगले मानिसलाई थला पार्ने गरेको छ । अझ शरीरमा जटिल समस्या नभएसम्म अस्पताल नजाने वा चिकित्सकको नियमित परामर्श नलि“दा पनि अवस्था विकराल बनेको हो । कुनै पनि रोग सूचना दिएर लाग्ने होइन । रोग जटिल बनेको पत्तो नपाई अनाहकमा ज्यान गुमाउनेहरू धेरै छन् । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जरुरी छ । पछिल्लो समय जटिलभन्दा जटिल रोगको उपचार पनि सम्भव छ । हाल विभिन्न रोगको उपचार स्वदेशमै हुने गरेको छ । क्यान्सरको उपचार यहीँ सम्भव छ । तर, त्यसको पहिचान हुनैपर्छ ।
महिलाहरूमा विभिन्न प्रकारका क्यान्सर रोगको पहिचान भैसकेको छ । तीमध्ये स्तन र पाठेघरको क्यान्सर महिलामा बढी पाइएको छ । पुरुष र महिला दुवैमा हुने रक्त क्यान्सर, कोलोन क्यान्सर, पेटको क्यान्सर, आन्द्राको क्यान्सर आदिबाट पनि धेरैको ज्यान गइरहेको छ । विज्ञहरूका अनुसार हालसम्म पहिचान गरिएका जति पनि क्यान्सर रोग छन्, तिनलाई आहार र उपचारबाटै पनि ५० प्रतिशत कम गर्न सकिन्छ । अत्यधिक नुन, चिल्लो, चिनी बढी र फाइबर न्यून भएको घरबाहिरका खाना र शारीरिक परिश्रम कम हुनुले क्यान्सरको जोखिमलाई बढावा दिन्छ । तयारी खानेकुरा र रिफाइन्ड गरेकोे खाद्यपदार्थको सेवन गर्नेहरूमा क्यान्सर हुने सम्भावना बढी रहेको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ । सन् २०१२ मा गरिएको उक्त अध्ययनमा मानिसको जीवन शैली, तयारी खानेकुरा, सक्रिय जीवन, बिएमआई, तौल, खर्चिने क्यालोरी, दिनभरिको काम र खानेकुरालगायतका विषय समावेश गरिएको थियो । तीमध्ये बाहिरको तयारी खानेकुरा र न्यून शारीरिक प्ररिश्रमले क्यान्सरको जोखिम उच्च रहेको निष्कर्ष निकालिएको थियो । त्यसैले बाहिरको खानेकुरा सकेसम्म खाँदै नखाने र नियमित व्यायाम गर्दा यो रोग लाग्ने जोखिम घट्छ ।
क्यान्सरसहित अन्य रोगबाट बच्ने उपाय
–हामी आफ्नो स्वास्थ्यका लागि स्वार्थी बन्न सक्नुपर्छ । यो आफ्ना लागि मात्रै नभई परिवारका लागि पनि हितकर हुन्छ । हामी आफै स्वस्थ भएनौं भने अरुका बारेमा केही गर्न सक्दैनौं । अरुमाथि बोझ बन्नुको साटो आफ्नो रोगको पहिचान गरी उपचारतिर लाग्नुपर्छ । अझ रोग लाग्नै नदिनका लागि सक्रिय तथा अनुशासित जीवनशैली अपनाउनु जरुरी हुन्छ ।
–वनस्पतिजन्य खाद्यपदार्थको सेवन प्रशस्त मात्रामा गर्नुपर्छ । यसले क्यान्सरको जोखिम कम गर्छ । मौसमअनुसार सस्तो र सहजै पाइने फलफूल, सागपात तथा ताजा तरकारी खाने बानी बसाल्नुपर्छ । तरकारीमा पाइने पोषकतत्व फाइबर, विभिन्न प्रकारका भिटामिन, पोटासियम, फोस्फोरस, खनिज तत्व, लौहतत्व, जिन्क आदिले क्यान्सर कम गर्नमा मद्दत गर्छ ।
–सबै प्रकारका फलफूल सेवन गर्न सकिन्छ । स्याउको नियमित सेवनले फोक्सो बलियो बनाउँछ । दम तथा फोक्सोको क्यान्सरमा समेत सुधार गराउन सहयोग गर्छ । यसमा भएको पोषकतत्व र फ्लाभोनोइडस र भिटामिन ‘सी’ ले राम्रो गर्दछ ।
–ताजा फर्सी नियमित रूपमा खानामा समावेश गर्नुपर्छ । यसमा पाइने ‘क्यारोटिनोइड’, ‘बिटा क्यारोटिन’, ‘लुइटिन’, र ‘जियानथिन’ जस्ता तत्वहरू ‘एन्टी अक्सिडेन्ट’ का स्रोत हुन्, जुन क्यान्सरका लागि अति नै राम्रो मानिन्छ ।
–आफ्नो खानामा गोलभेंडालाई नियमित रूपमा समावेश गर्नुपर्छ । यसमा पाइने ‘क्यारोटिनोइड’ तथा अन्य पोषक तत्वले क्यान्सर लाग्न दिँदैन ।
–ग्रीन टी, कफी, कालो चिया, हर्बल चिया, सुकमेल, जैतुनको तेल, माछा, इसकुस, बार्ली, दाल आदिको सेवन नियमति गर्नुपर्छ ।
केही उपयोगी टिप्सहरू
–सातामा कम्तीमा १५० मिनेट हिँड्नुपर्छ । धेरै हिँड्ने कम बस्ने बानी बसाल्नुपर्छ । दिनहुँ जुनसुकै बेला पनि हिँड्न सकिन्छ ।
–मानसिक तनाव कम गर्नुपर्छ ।
–खाने, सुत्ने, उठ्ने, शारीरिक अभ्यास गर्ने समय तालिका मिलाउनुपर्छ ।
–रातिको खाना सुत्नुभन्दा कम्तीमा दुईदेखि तीन घण्टा पहिले नै खानुपर्छ ।
–दिनहुँ तीन लिटर वा आठदेखि १० गिलास पानी पिउनुपर्छ ।
–तारेको र भुटेको खानेकुरा कम खानुपर्छ
–हरेक खाना वा खाजापछि हिँड्ने बानी बसाल्नुपर्छ ।
–बिहानको घाममा एकछिन भए पनि बस्नुपर्छ ।
(शाह कीर्तिपुर अस्पतालकी आहार तथा पोषणविज्ञ हुन्)