Successfully Copied

महिनावारी र औषधि

दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं ।

दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं । दसैंमा मासुका विभिन्न परिकार, अचार, चिउरा अनि रमाइलो बढी सम्झन्छौं । बालबालिका मात्र होइन युवा–युवती एवं वृद्धवृद्धा सबै आ–आफ्नै तालमा रमाउँछौं । तर चाडबाडमा रमाइरहेका महिला कामको थप मारमा परेका हुन्छन् । किनमेलदेखि भान्सासम्म उनीहरूलाई काम थपिएकै हुन्छ, तर त्यो व्यस्ततामा पनि महिलाले छुट्टै आनन्द लिइरहेका हुन्छन् । जमघट र रमाइलो वातावरणमा महिनावारी सुरु भए धेरैलाई खल्लो महसुस हुनसक्छ । स्वास्थ्यको पीडासँगै पारिवारिक जमघट र पूजापाठबाट समेत छुट्टिनुपर्ने बाध्यता हुन्छ । महिनावारी हुने सम्भावना भएकाहरूले औषधि सेवन गरी त्यसलाई पछाडि धकेल्न सक्छन् । 

महिनावारी के हो ?

महिनावारी एक प्राकृतिक प्रक्रिया हो । खासगरी नारीहरूको शारीरिक परिपक्वता आएपछि मुख्यतया ‘इस्ट्रोजेन’ र ‘प्रोजेस्ट्रोन’ हर्मोनले गर्दा पाठेघरको भित्री तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुन्छ । यो हरेक महिना हुने भएकाले यसलाई महिनावारी भनिएको हो । यसलाई रजस्वला वा पिरियड पनि भनिन्छ । महिनावारी हुनुका पछाडि ‘हाइपोथालामस्’, पिट्युटरी ग्रन्थि, अण्डाशय र पाठेघर सबैको आ–आफ्नै भूमिका हुन्छ । यो वास्तविकताको जानकारी हुँदाहुँदै पनि कतिपयले यो अवस्थालाई ‘अशुद्ध’ भएको वा ‘नछुने’ भएको भन्छन् । यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक वा शुभ कार्यहरूमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने प्रचलन रहेकोले पनि नछुने भनिएको हो । यो मानिसले दिसा वा पिसाब गरेजस्तै प्राकृतिक भएकाले यसमा शुद्ध–अशुद्ध भन्ने प्रश्नै आउँदैन । 

यसमा हुने समस्या 

महिनावारीमा सबैलाई एकै किसिमको अनुभव नहुन सक्छ । कसैलाई सामान्य लाग्छ भने कतिपयलाई यो पीडादायी हुनसक्छ । विभिन्न अध्ययनले ८० प्रतिशत महिला र विशेषतः किशोरीले महिनावारीलाई पीडाका रूपमा लिने गरेको देखाएको छ । महिनावारीमा धेरैको पेट र ढाड दुख्ने हुन्छ । कसै–कसैलाई झर्को लाग्ने, टाउको दुख्ने र बान्ता पनि हुनसक्छ । पछिल्लो समय यी समस्याहरू धेरैले सजिलै झेलिरहेका छन् । यसलाई महिनावारीको नियमित प्रक्रियाका रूपमा स्वीकार गरेका हुन्छन् । कसैकसैले दुखाई धेरै भए सामान्य दुखाई कम गर्ने औषधि सेवन गर्ने, झोलकुराहरू प्रशस्त खाने र आराम गर्नुपर्ने हुन्छ । 

धार्मिक कार्यबाट वञ्चित 

महिनावारी नियमित प्रक्रिया भए पनि यो अवस्थामा धेरैले धार्मिक कार्यमा सहभागी हुने, मन्दिर जाने वा पूजा सामग्रीहरू तयार गर्ने वा छुने काम वर्जित गरेको पाइन्छ । समाजका धेरै वर्ग तथा अगुवाहरूले यो सामान्य शारीरिक प्रक्रिया भएको स्वीकार गर्दै आएका छन् । त्यसैले पछिल्लो समय महिनावारीका समयमा आफ्नो कामबाट बिदा लिने, स्कुल/कलेज र भान्सा नजाने जस्ता कामहरूमा उल्लेखनीय कमी आएको छ । तर, धार्मिक कार्यमा सहजता अपनाउन सकेका छैनन् । समाजका अगुवाहरू तथा महिला अधिकारकर्मीहरू स्वयं पनि महिनावारीको यथार्थलाई भान्सा र कार्यकक्षसम्म नियमित प्रक्रियाका रूपमा लिन सके पनि पूजा र व्रतमासहज महसुस गर्न सकेका छैनन् । त्यसैले महिनावारीका समयमा कुनै धार्मिक अवसर पर्न गए यसलाई पछाडि धकेल्ने वा ‘पर सार्ने’ कोसिस गर्छन् । कसै–कसैले घरमा पारिवारिक जमघट, शुभकार्य, भ्रमण तथा अन्य धेरै घरायसी वा व्यक्तिगत कामहरूका लागि पनि महिनावारी सार्ने प्रयास गर्ने गरेको पाइन्छ ।

कसरी सार्न सकिन्छ ?

महिनावारी सार्नका लागि यसको सम्भावित मितिभन्दा १–२ दिन अगाडिदेखि औषधि सेवन गर्नुपर्ने हुन्छ । बजारमा सजिलै उपलब्ध हुने ‘प्रोजेस्टेरोन’ चक्की वा परिवार नियोजनका लागि प्रयोग गरिने ‘पिल्स’ को प्रयोगले महिनावारी सजिलै पर सार्न सकिन्छ । प्रयोग गरेको अवधिसम्म महिनावारी हुँदैन र सेवन गर्न छोडेको केही दिनमा महिनावारी हुन्छ । 

के औषधि प्रयोग गरी पर सार्नु उचित हो ?

धेरैको मनमा यो प्रश्न रहने गरेको पाइन्छ । आस्था, विश्वास र संस्कार आ–आफ्नै हुन्छन् । आफूलाई जे सहज हुन्छ, सोहीअनुसार अगाडि बढ्नुपर्छ । कतिपय सामाजिक तथा सांस्कृतिक चलनहरू नअपनाउँदा आफैलाई अप्ठ्यारो र नरमाइलो लाग्न सक्छ । त्यसैले सामाजिक पक्षबाट हेर्दा महिनावारी सार्नुपर्ने हुनसक्छ । स्वास्थ्यका दृष्टिकोणले भन्नुपर्दा यसरी हर्मोन भएका अर्थात् प्रोजेस्ट्रोन वा पिल्सको सेवन २–४ दिन खानु पक्कै राम्रो होइन । यी हर्मोनहरूले महिनावारी प्रक्रिया गराउने तथा नियन्त्रण गर्ने भएकाले छोटो समय मात्र सेवन गर्नुले महिनावारीको नियमिततालाई असर गर्ने हुन्छ र थप जटिलताहरूको सिर्जना गर्न सक्छ । यस्ता औषधिहरूले महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै वा लामो समयसम्म रक्तस्राव हुनसक्छ । 

पछिल्लो समय महिनावारीलाई सामान्य प्रक्रियाका रूपमा लिँदै घरको भान्सा र अफिसको कामलाई सहजता दिन थालेको पाइन्छ । स्कुल/कलेजहरूमा पनि प्याड उपलब्ध गराउन सम्भव भएको छ । त्यसैले औषधि सेवन गरी महिनावारी पर सार्नुभन्दा यसलाई नियमित प्रक्रियाका रूपमा स्वीकार गर्नु नै उपयुक्त हुन्छ । पर सार्नैपरे हर्मोनल चक्कीहरू (प्रोजेस्टेरोन, पिल्स) पटक–पटक २–४ दिन मात्र सेवन गर्नुभन्दा पूर्ण अवधि अर्थात् २१ दिन नै खानु राम्रो हुन्छ । तर, चिकित्सकको सल्लाहबिना पटक–पटक हर्मोनल औषधि प्रयोग गर्नु हुँदैन ।

डा. बालकृष्ण साह

(डा. साह मोरङ सहकारी अस्पताल, विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

 

 Image