Successfully Copied

मानसिक स्वास्थ्यका लागि ध्यान र योग

अहिलेको असामान्य अवस्थामा डर लाग्नु, आत्तिनु, निद्रामा समस्या हुनु, घबराहट हुनु सामान्य हो । तर पनि निरन्तर डर लागिरहने, आत्तिरहने, मनमा घवराहट हुने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, मुख सुख्खा हुने र अनावश्यक चिन्ताको महसुस भइरहेमा एन्जाइटी डिसअर्डर भएको हुन सक्ने

विश्वभर कोरोना भाइरसको प्रकोप यथावतै छ । नेपालमा चैत महिनादेखि गरिएको बन्दाबन्दी अहिले सम्म कायमै छ । केही कार्यालय खुले पनि विद्यालय, क्याम्पस, सिनेमा हल, रेस्टुराँलगायतका अन्य क्षेत्र बन्द नै छन् ।

यसरी खाली समय यत्तिकै बस्नु पर्दा मानिसमा कोरोनाको भयसँगै विभिन्न किसिमका मानसिक समस्याका लक्षण पनि देखा परेको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् । अहिलेको असामान्य अवस्थामा डर लाग्नु, आत्तिनु, निद्रामा समस्या हुनु, घबराहट हुनु सामान्य हो । तर पनि निरन्तर डर लागिरहने, आत्तिरहने, मनमा घवराहट हुने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, मुख सुख्खा हुने र अनावश्यक चिन्ताको महसुस भइरहेमा एन्जाइटी डिसअर्डर भएको हुन सक्ने डा. सगुन बताउँछन् ।

डा. सगुनका अनुसार दिक्क लागिरहने, मन निराश भइरहने, निद्रामा समस्या, खानामा अरुचि, मनमा नकारात्मक सोच ज्यादा आउने जस्ता समस्या बढ्दै गएमा आत्महत्यासम्बन्धी सोच आउनु डिप्रेसन रोगको लक्षण हो । कतिले त यो समयमा आफ्नो भविष्यको चिन्ताले डिप्रेसनमा गई आत्महत्यासमेत गरेका समाचार आउन थालेका छन् ।

कडा खालको मानसिक रोग त्यति बढेको नदेखिएपनि तनाव बढेको अवस्थामा यी रोग बल्झिन सक्छन् । दीर्घकालीन रुपमा मानसिक रोगका औषधि सेवन गरिरहेकामा अचानक औषधि छोड्दा, मनोचिकित्सक र मनोविदसँग फलोअप गर्न नपाउँदा रोग बल्झेको पाइएको छ ।  

मानसिक रुपमा स्वस्थ हुनका लागि योगको पनि भूमिका महत्वपूर्ण हुने योग शिक्षक निर्मला केसी बताउँछिन् । यस्ता मानिसका लागि प्राणायाम सबभन्दा महत्वपूर्ण हुन्छ । यसमा गहिरो र लामो श्वास लिने र छोड्ने गर्नुपर्छ । यसैगरी नाडी शोधन विधि पनि उपयोगी हुन्छ । यो विधिले मस्तिष्कसम्म अक्सिजन पुग्न गई क्रियाशील हुन्छ ।  बिरामीको इन्डोफिन, सेरोटोनिन, डोपोमिन जस्ता हर्मोन क्रियाशील बनाई आनन्द, खुशी र उमंगमा परिणत गरिदिन्छ ।

यो प्राणायाम २० देखि २५ मिनेटसम्म गर्नु उपयुक्त हुन्छ । यसैगरी ध्यान पनि गर्न सकिन्छ । सुरुमा ध्यान १० देखि २० मिनेटसम्म गरेर बिस्तारै समय बढाउन सकिन्छ । परिवारसँग, साथीभाइसँग कुराकानी गरेर होस् या आफूलाई मन लागेको कुरा गरेर यो समयमा व्यस्त राख्नुपर्छ । यो सँगै केही समय शारीरिक व्यायाम, योग, ध्यान गर्दा मानसिक तथा शारीरिक रुपमा स्वस्थ हुन सकिन्छ ।

 Image