नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया -डा. सबिन ढकाल, मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन
सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो
चाडपर्वको समयमा टीका वा पूजापाठ छेकिन्छ कि भनेर महिनावारी पर सार्न पिल्स चक्की खाँदा त्यसका अनेकौं साइड इफेक्ट हुनसक्छन् । त्यसो त चिकित्सकको सल्लाहबमोजिम मात्र खानुपर्ने यस्ता औषधि उमेर पुगेका, उच्च रक्तचाप एवं मधुमेह भएका, मुटु तथा कोलेस्टेरोलका रोगीहरूले सेवन गर्नु हुँदैन ।
साउन लागेदेखि नै नेपाली महिलाहरूको व्रत अर्थात् भोकै बस्ने पर्व तीज एवं ऋषिपञ्चमी हुँदै त्यसको निरन्तरता दसंैसम्म पुग्छ । नवरात्रिको पहिलो दिन घटस्थापनादेखि जमराघरमा घरमूलीलाई पूजाआजामा सघाउनुपर्ने भएकाले घरका महिलाहरू भोकै बस्नुपर्ने हुन्छ । ग्यास्ट्राइटिसको जोखिममा रहेकाहरूमा यस्तो समस्या अझ बल्झन्छ । दसैंको व्यस्तताका कारण खाना खाने समयको अनिश्चितता एवं तुलनात्मक रूपमा बढी चिल्लो, पिरो अनि मरमसलाका कारण पेट तथा आन्द्राको समस्या वृद्धि हुनसक्छ ।
यसैगरी फूलपातीदेखि पूर्णिमासम्म मासु आदि विभिन्न परिकारका लागि महिलाले भान्सामै समय बिताउनुपर्ने हुन्छ । अरू बेलाको तुलनामा धेरै थरीका परिकार बनाउनुपर्ने भएकाले यसमा समय पनि बढी लाग्छ । महिलाहरूलाई पनि चाडपर्वमा बाहिर घुम्न जान, रमाइलो गर्न मन लाग्ने हुनाले यी कुरा बुझ्ने परिवार छैन भने विशेषगरी घरायसी महिलाहरू चिन्ताले ग्रस्त हुनसक्छन् । त्यतिमात्र होइन कतिपय नेपालीमा अझै पनि मीठो–मसिनो खानुका अतिरिक्त नयाँ पहिरन, चुरापोते किन्ने काम दसैंमै गरिन्छ । एकातिर आफ्नो चित्तबुझ्दो सामान नपाउनु अर्कातिर परिवारको समग्र आर्थिक स्थितिले पनि घरायसी महिलालाई थप चिन्तित बनाउन सक्छ ।
चाडपर्वको समयमा टीका वा पूजापाठ छेकिन्छ कि भनेर महिनावारी पर सार्न पिल्स चक्की खाँदा त्यसका अनेकौं साइड इफेक्ट हुनसक्छन् । त्यसो त चिकित्सकको सल्लाहबमोजिम मात्र खानुपर्ने यस्ता औषधि उमेर पुगेका, उच्च रक्तचाप एवं मधुमेह भएका, मुटु तथा कोलेस्टेरोलका रोगीहरूले सेवन गर्नु हुँदैन ।
घरमा मात्र होइन मठमन्दिरमा पनि महिला नै जानुपर्ने अनि लामो समय लाइनमा उभिनुपर्ने, हुनाले भोको पेटका कारण हातखुट्टा गल्छन्् अनि शरीर कमजोर हुँदै जान्छ । यसरी घरमा हुँदा बाहिरको पूजापाठको पिरलो अनि मन्दिरमा लाइन बस्दा घरमा काम बितेको पिरलोले घरेलुु महिलामा मानसिक तनाव उत्पन्न गर्छ ।
लामो समय भान्सामै काम गरिरहनुपर्दा खुट्टा गल्ने, पिँडौलाको नसा फुल्ने, खुट्टा तथा पिँडौला बाउँडिने समस्या पनि हुनसक्छ । नवरात्रिको अनिँदो, दिनभर भान्सामा उभिँदा अनि खाना खाने समयको अनियमितताका कारण चक्कर लाग्ने, बेहोस हुने आदि समस्या उत्पन्न हुन सक्छन् ।
चाडपर्वमा धेरै थरिका परिकार पकाउने, खानेकुरा पनि खाइरहने, पाहुनाहरू पनि आइरहने हुँदा भान्सामा जूठा भाँडाकुँडा पनि धेरै हुन्छन् । पटक–पटकको भाँडाकुँडा धुवाइले कतिपय महिलामा टेनिस एल्बो भनिने बाहिरी भागको कुहिनामा पीडा हुनुका साथै दायाँ नाडीको जोर्नी सुन्निएर बढी पीडा हुन्छ । कतिपय ठाउँमा चाडपर्वमा दाउरामै खानेकुरा पकाउने चलन छ । लामो समय धूवाँ तथा घिउ–तेलको खारमा बस्नु श्वासप्रश्वासको दृष्टिले राम्रो मानिँदैन ।
चाडपर्वमा दैनिकजसो घर–आँगनको सरसफाइ, उब्रिएको खानेकुराको उचित व्यवस्थापन, पाहुनाको स्वागत–सत्कार आदिले घरेलु महिलाहरूलाई कमजोर बनाइदिन्छ । पिङ खेल्ने, घुमघाम गर्ने रहर भएर पनि घरभित्रै घरको काममा मात्र व्यस्त हुनुपर्दा चिडचिडाहट हुने, झर्काे लाग्ने हुनसक्छ । चाडपर्वको चटारोमा दैनिक खाइरहेको औषधि तथा खानेकुरामा अनियमितता भए सुगर, प्रेसर, कोलेस्टेरोल आदिलाई नियन्त्रणमा राख्न समस्या हुन्छ ।
चाडपर्वमा विशेषगरी पुरुषले अनि महिला आफैंले पनि मद्यपान गर्छन् । अनियन्त्रित मद्यपानका कारण घरेलुु हिंसा, यौनिक हिंसा अनि अनिच्छित गर्भको समस्या निम्तिन सक्छ । यदि आकस्मिक रूपमा महिनावारी भैदियो भने तनावमा बस्नुपर्ने हुन्छ ।
चाडपर्वको समयमा अधिक व्यस्तताले रोगी वा अस्वस्थ हुनुभन्दा आफ्नो काम व्यवहारमा समयानुकूल परिवर्तन ल्याउनुपर्छ । मुख्यत: घरकै पुरुष सदस्यले दसैं बिदाको समयमा घरायसी काममा महिला सदस्यहरूलाई सघाउनुपर्ने हुन्छ । नवरात्रिभर पूजापाठ पनि निश्चित समयसीमामै सकिने गरी गर्नु राम्रो हुन्छ । एकैदिन पशुपंक्षीको मासु धेरै मात्रामा बनाउनुभन्दा आवश्यक मात्रामा मात्र पकाउनु राम्रो हुन्छ । घरमा फ्रिजको सुविधा छ भने कतिपय परिकार दुई–चार दिनलाई पुग्ने गरी बनाई संचय गर्न सकिन्छ । दसैंमा पिङ वा चङ्गाको मज्जा पनि लिन पाइन्छ । यसरी चाडपर्वलाई पुरानो हिसाबले नमनाई, महिला सदस्यलाई मात्र काममा लगाउने हिसाबले पर्व टार्ने काम नगरी महिला सदस्यलाई पनि उत्तिकै मनोरञ्जन हुने हिसाबले चाडपर्व मनाउनु वेश हुन्छ । यति भए महिलाहरूले शारीरिक व्यस्तताका बाबजुद मानसिक पीडा एवं थकान महसुस गर्नुपर्ने अवस्था आउँदैन । घरमा भएका पुरुष सदस्यले पनि भान्सा, पूजापाठ एवं भाँडाकँुडा धुवाइमा सघाउँदा महिलाले घुमघाम वा अन्य मनोरञ्जनका लागि समय निकाल्न सक्छन् । यसरी मिलीजुली पर्व मनाउँदा बढी खुसी प्राप्त हुनुका साथै अल्पकालीन स्वास्थ्य समस्याका साथै दीर्घ खालका स्वास्थ्य समस्यालाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।