क्यान्सर अहिले आम समस्या बनेको छ । स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलामा हुने सबैभन्दा खतरनाक क्यान्सर हो । नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पाठेघरको मुखको क्यान्सर छ भने दोस्रो स्थानमा स्तन क्यान्सर छ । सुरुवाती अवस्थामा पत्ता नलागे धेरै महिलाको मृत्यु यही क्यान्सरका कारण हुन्छ ।
स्तन क्यान्सर
विश्व स्वास्थ्य संगठनले हरेक अक्टोबर महिनालाई स्तन क्यान्सर जागरण महिनाका रूपमा मनाउने गरेको छ । आधुनिक तथा अप्राकृतिक जीवनशैली, खानपान, वातावरणीय प्रदूषण तथा विविध रसायनका कारण महिलामा मात्र होइन युवतीहरूमा समेत यो क्यान्सर देखिन थालेको छ । विकसित मुलुकमा प्रत्येक ८ महिलामध्ये १ जनामा स्तनसम्बन्धी कुनै न कुनै जटिलता देखिएको छ । एसियाली मुलुकमा भने प्रत्येक २२ जनामध्ये १ जना महिलामा यो समस्या देखा पर्ने तथ्यांकमा उल्लेख छ ।
स्तन क्यान्सर कुनै पनि उमेरका महिलालाई हुनसक्छ । यो क्यान्सर वंशानुगत कारणले हुन्छ । परिवारमा नजिकका नातेदार, आमा, काकी, हजुरआमा आदिमा यो समस्या भए त्यस्ता महिलामा पनि स्तन क्यान्सर हुनसक्छ । हिजोआज ढिलो विवाह गर्ने तथा शिशु जन्माउने चलनका कारण पनि महिलामा स्तन क्यान्सर हुने सम्भावना वृद्धि भएको पाइन्छ । शिशुलाई लामो समयसम्म स्तनपान नगराउँदा पनि स्तन क्यान्सरको जोखिम बढ्छ ।
महिनावारी कम उमेरमै हुने तथा मेनापज ढिलो भए पनि स्तन क्यान्सरको खतरा बढ्छ ।
गलत जीवनशैली तथा चिल्लो खाना, शारीरिक व्यायामको कमी आदिका कारण पनि स्तन क्यान्सर हुनसक्छ ।
खानपानमा मिसावटका कारण पनि स्तन क्यान्सर हुने सम्भावना बढ्छ ।
एस्ट्रोजन हार्मोनका कारण स्तन क्यान्सरको खतरा हुन्छ । एक प्रतिशत पुरुष पनि यसको सिकार हुन्छन् ।
लक्षण
स्तन क्यान्सरको सुरुको अवस्थामा बिरामीले सामान्यतया कुनै लक्षण अनुभव गर्न नसक्नु ।
एउटा स्तनमा नदुख्ने गिर्खा तथा कडा गिर्खा आउनु । आकारमा परिवर्तन आउनु ।
स्तनको मुन्टाबाट रगत तथा रगतरहितको तरल पदार्थ बगिरहनु ।
– छालाको अल्सर हुने, स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रंग परिवर्तन हुने ।
स्तनको मुन्टो वरिपरि वा मुन्टोमै स–साना घाउ–खटिरा एवं बिमिरा देखा पर्नु । स्तनको मुन्टो पहिलेभन्दा फरक रूपमा देखापर्नु वा मुन्टो भित्र गडिनु ।
अकस्मात् शारीरिक तौल घट्नु तथा हड्डी दुख्नु ।
कसरी जोगिने ?
मद्यपान तथा धूम्रपानबाट टाढै रहने ।
तौल नियन्त्रण राख्न नियमित रूपमा एक्सरसाइज गर्ने तथा स्वस्थ खाना खाने ।
सबै महिलाले क्लिनिकल ब्रेस्ट इक्जामिनेसन गर्ने ।
सुत्केरी अवस्थामा धेरैभन्दा धेरै स्तनपान गराउने ।
परिवारमा कसैलाई स्तन क्यान्सर भए नियमित रूपमा चेकअप गराउने ।
२० देखि ४० वर्षका महिलाले सेल्फ इक्जामिनेसन गर्ने । त्यसपछि केही भए मात्र सोनोग्राफी गराउने ।
४० वर्षमाथिका महिलाले बर्सेनि स्क्रिनी म्यामोग्रामका साथै विशेषज्ञ चिकित्सकको परामर्श लिने ।
डा. ज्योति रायमाझी
स्तन तथा कस्मेटिक सर्जन,
नर्भिक इन्टरनेसनल हस्पिटल
पाठेघरको मुखको क्यान्सर
-डा. अचला वैद्य
नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो ।
के कारण ?
यो क्यान्सर ७० प्रतिशत ह्युमन प्यापिलोमा भाइरसका कारण हुन्छ जुन यौनसम्पर्कका दौरान फैलन सक्छ । शारीरिक सम्पर्कका कारण यो भाइरस सर्छ । भाइरस विभिन्न किसिमका हुन्छन् । क्यान्सर १६ र १८ भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।
यसको प्रमुख कारण महिलाले पटक–पटक यौन पार्टनर परिवर्तन गर्नु हो साथै पुरुषले धेरै जनासँग असुरक्षित यौनसम्बन्ध राख्दा पनि यो क्यान्सर महिलामा सर्छ ।
सानै उमेरमा विवाह भएको छ र सानै उमेरदेखि यौन सम्बन्ध राखिएको छ भने पनि यो समस्या देखा पर्छ ।
जुन महिलाले २० वर्षको उमेरभन्दा पहिले सन्तान जन्माउँछन् त्यस्ता महिलामा पनि यसको सम्भावना वृद्धि हुन्छ । धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुने सम्भावना हुन्छ ।
यौनसम्पर्कका क्रममा कन्डम प्रयोग नगर्दा पनि पाठेघरको मुखको क्यान्सर हुने खतरा बढ्छ ।
धेरै धूम्रपान पनि यसको एउटा कारण हो ।
लक्षण
यौनसम्पर्क गर्दा रगत देखिनु ।
योनिबाट सेतो गन्हाउने पानी बग्नु ।
महिनावारी सुकेपछि पनि रगत देखिनु । सानो पेट दुखिरहनु ।
ढाड दुख्नु, थकाइ बढी लाग्नु ।
लामो समयसम्म खोकी निको नहुनु । स्वरमा परिवर्तन आउनु ।
तौल घट्दै जानु, दिसा–पिसाब गर्ने समय परिवर्तन हुनु । खाना खान मन नलाग्नु ।
कसरी पत्ता लगाउने पाठेघरको क्यान्सर ?
प्याप स्मेयर–यो परम्परागत विधि हो ।
लिक्विड बेस्ड साइटोलोजी–यो अत्याधुनिक विधि हो ।
भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड तथा भिजुअल इन्सपेक्सन विथ लुगोल्स आयोडिन–यो पाठेघरको क्यान्सर जाँच्ने सहज एवं सुलभ विधि हो । यसको प्रयोग हेल्थ क्याम्प वा ग्रामीण भेगमा गर्न सहज हुन्छ ।
कल्पोस्कोपी–माथिका तीनवटा टेस्ट गर्दा समस्या देखिए थप सुनिश्चितताका लागि कल्पोस्कोपी गरिन्छ । यसले योनिद्वारमा क्यान्सरका घातक कोषिकाहरू उत्पादन हुनुपूर्व र ती कोषिकाहरू उत्पादित भएपछि त्यहाँ देखिने परिवर्तनका बारेमा पत्ता लगाउन सहयोग पुर्याउँछ ।
पाठेघरको क्यान्सर हुनुभन्दा १५–२० वर्षअघि प्रि–पाठेघरको क्यान्सर बुझ्नुपर्छ । क्यान्सर एक्कासि देखा पर्दैन । यसका पनि दुईवटा ग्रेड हुन्छन् ।
१) लो ग्रेड स्क्वामस इन्ट्राइपिथेलियल लेजन–यसको उपचार १ सय प्रतिशत सम्भव छ ।
२) हाई ग्रेड स्क्वामस इन्ट्राइपिथेलियल लेजन–यसको उपचारका लागि ३–६ महिनामा नियमित परीक्षण गराइरहनुपर्छ ।
कसरी जोगिने ?
केही कुरामा ध्यान दिए पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ ।
यौनसम्पर्क नगरेका महिलामा यो क्यान्सर हुँदैन ।
२० वर्षको उमेरसम्म यौनसम्पर्क नगर्ने तथा २५ वर्षको उमेरपछि सन्तान जन्माए पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित रहन सकिन्छ ।
सन्तुलित जीवनशैली अपनाउनुपर्छ ।
यौन पार्टनर एकभन्दा बढी हुनुहुँदैन । यौनसम्पर्कका बेला कन्डम प्रयोग गर्नुपर्छ ।
यो क्यान्सरविरुद्धको खोप पनि आविष्कार भैसकेको छ । टिनएजमै ह्युमन प्यापिलोमा भाइरस (एचपीभी भ्याक्सिन) दिँदा पनि भविष्यमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिन्छ । यो भ्याक्सिन ९ वर्षदेखि १३ वर्षको उमेरमा लगाउनुपर्छ । यसले एचपीभी इन्फेक्सनबाट जोगाउँछ । नेपालमा केही ठाउँमा यसको प्रयोग भैरहेको छ । चार–पाँच वर्षअघि अस्ट्रेलियन क्यान्सर फाउन्डेसनको सहयोगमा काठमाडौंबाहिरका स्कुलका बालबालिकालाई यो इन्जेक्सन लगाइएको थियो । नेपाल सरकारले पनि हालसालै स्कुलका बालबालिकालाई उपत्यकाबाहिरका २–४ ठाउँमा यो खोप उपलब्ध गराएको छ । यो खोपले पनि पछि गएर हुन सक्ने पाठेघरको क्यान्सरबाट जोगाउँछ ।