Successfully Copied

५८ प्रतिशत असुरक्षित गर्भपतन

नेपालमा अझै पनि करिब ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने एक तथ्यांकले देखाएको छ । असुरक्षित गर्भपतन गर्नेमध्ये पनि ५६ प्रतिशत विवाहित तथा २ प्रतिशत अविवाहित महिला रहेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालमा अझै पनि करिब ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने एक तथ्यांकले देखाएको छ । असुरक्षित गर्भपतन गर्नेमध्ये पनि ५६ प्रतिशत विवाहित तथा २ प्रतिशत अविवाहित महिला रहेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाले गत महिना राजधानीमा संचालन गरेको सुरक्षित गर्भपतनसम्बन्धी कार्यक्रममा बोल्दै महाशाखा प्रमुख डा. नरेशप्रताप केसीले नेपालमा करिब ५८ प्रतिशत महिलाले सरकारले मान्यता नदिएको स्वास्थ्य संस्थाबाट वा असुरक्षित गर्भपतन गराउने कुरा बताएका हुन् ।

त्यसैगरी २० वर्षमुनिका करिब १३ हजार २ सय २९ जनाले गर्भपतन गर्ने गरेको तथ्यांकमा उल्लेख छ । नेपालमा १२ हप्तासम्मको गर्भपतनलाई कानुनले मान्यता दिएको अवस्थामा सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न ३ हजारजति चिकित्सक, नर्स तथा अनमीलाई तालिम प्रदान गर्नुका साथै करिब १ हजार १ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा सञ्चालन भैरहेको महाशाखाले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार विश्वमा बर्सेनि करिब २ करोड २० लाख महिलाले असुरक्षित गर्भपतन गराउँछन् । त्यसैगरी नेपालमा प्रत्येक वर्ष झन्डै ३ लाख २२ हजारले गर्भपतन गराएकोमा करिब ५८ प्रतिशत अर्थात् १ लाख ८६ हजार असुरक्षित गर्भपतन गराउनेहरू छन् । असुरक्षित गर्भपतनकै कारण विश्वमा करिब ४७ हजार महिलाको मृत्यु हुने गरेकोमा नेपालमा करिब ७ प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने तथ्यांकमा उल्लेख छ ।

परिवार स्वास्थ्य महाशाखाकै तथ्यांकअनुसार नेपालमा तालिम प्राप्त चिकित्सक, नर्स तथा अनमीद्वारा अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेहरूको संख्या १० लाखभन्दा बढी छ । त्यसमध्ये यो आर्थिक वर्षमा मात्र ९६ हजारभन्दा बढी महिलाले अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिइसकेको महाशाखाले जनाएको छ ।

 Image