डा. श्रीजु वैद्य श्रेष्ठ, फिजिसियन काठमाडौं मेडिकल कलेज, ब्लुबर्ड इन्टरनेसनल हस्पिटल
गर्मी मौसमको आगमनसँगै विभिन्न किसिमका रोग लाग्छन् । गर्मीमा शरीरमा भित्री–बाहिरी विभिन्न किसिमका रोग लाग्नसक्छन् । डा. श्रीजु वैद्यका अनुसार बाहिरी रोगअन्तर्गत छालामा घमौरा, डण्डिफोर, एलर्जी, फंगल इन्फेक्सनजस्ता समस्या सिर्जना हुन्छन् भने टाइफाइड, जन्डिस, झाडापखाला, मलेरिया, आउँ, हैजा, डेंगुजस्ता रोगले समेत आक्रमण गर्छन् । यो मौसममा हिट स्ट्रोकको समस्या पनि बढी देखा पर्छ । यसका कारण कतिपयको मृत्युसमेत हुने गरेको छ । चर्को घामका कारण तापक्रम बढेर यस्तो हुन्छ ।
यो मौसममा गर्मी धेरै हुने भएकाले खानेकुरा राम्रोसँग पच्दैन । पानी पर्ने भएकाले वरपरको वातावरण फोहोर हुन्छ । यसले गर्दा पनि धेरै मानिस बिरामी हुने गरेका छन् । त्यसका अतिरिक्त गर्मी मौसममा पानी कम पिइने र शरीरमा भएको पानी पसिनाको माध्यम हुँदै बाहिर निस्कने भएकाले पानीको मात्रा कम भै डिहाइड्रेसन तथा थकान महसुस हुन्छ । यस्तो हुँदा कुनै रोग नभए पनि निद्रा मात्र लागिरहन्छ ।
टाइफाइडको लक्षण
–लगातार ज्वरो आइरहन्छ । औषधि खाए एकछिन कम हुन्छ र पछि फेरि ज्वरो आउँछ ।
–४–५ दिनसम्म यस्तो भैरहन्छ ।
–कसैलाई कब्जियत हुन्छ भने कसैलाई डायरिया हुन्छ ।
–बिरामीलाई खानामा रुचि हुँदैन ।
कारण
फोहोर खानेकुरा एवं दूषित पानी । यो रोग साल्मोनेला नामको कीटाणुका कारण लाग्छ ।
रोकथाम
समयमै उपचार नभए आन्द्रामा प्वाल पर्छ । पछि गएर निमोनिया हुनुका साथै मिर्गौलामा समेत असर पर्छ । यो रोगबाट जोगिन ताजा खानेकुरा तथा उमालेर फिल्टर गरिएको पानी मात्र पिउनुपर्छ । समयमै उपचार गराउनुपर्छ ।
जन्डिसको लक्षण
–जन्डिसलाई पहेंलो रोगसमेत भनिन्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्नसक्छ ।
–जन्डिस हुँदा ज्वरो आउने, शरीर आलस्य हुने, कमजोरी हुने, खान मन नलाग्ने, पिसाब पहेंलो हुने आदि लक्षण देखा पर्छन् ।
–पछि गएर आँखा एवं अनुहार पनि पहेंलो हुन्छ ।
कारण
जन्डिस साधारणतया फोहोर तथा संक्रमित पानीबाट हुन्छ । यसैगरी बासी वा सडेगलेका एवं बाहिर खुल्लै राखिएका खानेकुराबाट पनि यो रोग लाग्नसक्छ ।
समाधान
कतिपयले जन्डिस भएको अवस्थामा पहेंला खानेकुरा खानुहुँदैन भन्छन् जुन गलत हो । जन्डिस भएका बेला सामान्य खाना खान सकिन्छ । कार्बोहाइड्रेडयुक्त खानेकुरा आलु, भात, चिनीपानी, ग्लुकोज आदि खान मिल्छ । जन्डिस क्रिटिकल खालको हो भने प्रोटिनयुक्त खाना खानु हुँदैन । तारेका तथा भुटेका खानेकुरा परहेज गरी प्रशस्त आराम गर्नुपर्छ ।
डेंगुको लक्षण
–ज्वरो आउँछ । वाकवाकी लाग्नुका साथै पेट पनि दुख्छ ।
–उपत्यकामा पनि डेंगुका बिरामी देखा पर्न थालेका छन् । लामखुट्टेबाट सर्ने यो रोगमा चर्को ज्वरो आउँछ भने हाडजोर्नी पनि दुख्छ ।
के गर्ने ?
–घर वरपरको वातावरण सफा राख्नुपर्छ ।
–झुल प्रयोग गर्नुपर्छ । घर वरपर भएका खाल्डाखुल्डी पुर्नुपर्छ ।
झाडापखाला
–गर्मीमा सबैभन्दा बढी झाडापखालाको प्रकोप हुन्छ ।
–दूषित पानी तथा बासी खानेकुराले गर्दा झाडापखाला लाग्छ ।
–पानी पर्ने भएकाले जताततै फोहोर पानी जम्छ । दूषित पानी पिउँदा झाडापखाला चल्छ । बाहिर खुल्लै राखिएका खानेकुरा खाँदा पनि झाडापखाला लाग्नसक्छ ।
के गर्ने ?
–हात राम्रोसँग सफा गरेर मात्र खानेकुरा खानुपर्छ ।
–पानी उमालेर मात्र पिउनुपर्छ । झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा खानुहुँदैन । बासी वा सडेगलेका खानेकुरा खानुहुँदैन । झाडापखाला लागे जीवनजल पिइरहनुपर्छ ।
–झाडापखाला लागेका बेला जुस तथा ग्लुकोज पिउनुहुँदैन ।
–दालको रस तथा सुप खाइरहनुपर्छ । यति गर्दा पनि समस्या कम नभए चिकित्सककहाँ गएर उपचार गराउनुपर्छ ।
यसबाहेक गर्मीमा अन्य थुप्रै समस्या देखा पर्छन् । पहिले–पहिले हैजाको प्रकोप बढी भए पनि अहिले त्यसमा कमी आएको छ । फोहोर तथा ढल मिसिएको पानीका कारण हैजा लाग्छ । त्यसैले दिसा–पिसाब गरेर आएपछि हात राम्रोसँग धोएर मात्र खानेकुरा खानुपर्छ । जारको होस् अन्य पानी उमालेर फिल्टर गरेपछि मात्र पिउनुपर्छ । यो मौसममा कालाज्वर, मलेरियाजस्ता रोग पनि लाग्न सक्छन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तराईतिर बढी लाग्छ । यस्ता बिरामीलाई सामान्य तथा काम ज्वरो आउँछ । यो मौसममा महिला तथा बालबालिकालाई पिसाबको संक्रमण हुनसक्छ । बालबालिकाहरू बढी खेल्ने–कुद्ने काम गर्छन् । त्यसले गर्दा शरीरबाट पसिना आउँछ । पिसाब रोक्दा पनि पिसाबको संक्रमण हुन्छ । महिलाले पिसाब रोके पिसाबको संक्रमण हुने सम्भावना हुन्छ । महिलाको पिसाबनली सानो हुने भएकाले पिसाब रोक्दा कतिपयलाई यसको संक्रमण हुनसक्छ । फोहोर भित्री वस्त्र लगाउँदा पनि कीटाणु सजिलै भित्र छिर्ने भएकाले पिसाबको संक्रमण भएको पाइन्छ । त्यसैले सफा भित्री वस्त्र लगाउनुपर्छ । गर्मीमा रोगले छिट्टै आक्रमण गर्ने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ । यो मौसममा पसिना बढी निस्कने भएकाले शरीरमा नुनपानीको मात्रा कम हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । घाममा निस्कदा एलर्जी हुने भएकाले छाताका साथै सनस्किन प्रयोग गर्नुपर्छ । यसैगरी धूँवा–धूलोका कारण आँखामा समेत समस्या उत्पन्न हुनसक्छ । यतिबेला आँखा चिलाउने तथा रातो हुने समस्या बढी हुन्छ जसलाई कन्जेक्वावाइटिस भनिन्छ । त्यसैले बाहिर हिँडडुल गर्दा सनग्लास लगाउनुपर्छ भने घर आएपछि सफा पानीले अनुहार तथा आँखा धुनुपर्छ ।
सावधानी
–गर्मी मौसममा अमिलो, पिरो तथा फ्राई कुरा खान मन लाग्छ ।
–स्वादका दृष्टिले मीठा भए पनि यस्ता खानाले मानिसलाई दीर्घरोगी बनाउँछ ।
–सफा पानीले नपखालेका तथा नपाकेका सागसब्जी तथा माछामासु खाँदा अनेकौं समस्या उत्पन्न हुनसक्छन् ।
–फाइबरयुक्त खानेकुरा तथा राम्रोसँग पखालिएका फलफूल प्रशस्त मात्रामा खानुपर्छ । –सीधै फ्रिजबाट झिकेर खानेकुरा खाँदा टन्सिल हुन सक्छ ।
शरीरमा पानीको मात्रा कम हुन नदिन
–गर्मीमा कम पानी पिउँदा जलवियोजन हुन सक्छ । त्यसैले दिनहुँ कम्तीमा तीन–चार लिटर पानी पिउनुपर्छ ।
–पानी पिउँदा छालासम्बन्धी रोगबाट पनि जोगिन सकिन्छ । एकैपटक धेरैभन्दा पनि पटक–पटक थोरै–थोरै पानी पिउनु उपयुक्त हो ।
–जलवियोजनले दिमाग शून्य हुनुका साथै अल्छी लाग्छ ।
–गर्मीमा दिनहुँ दही खाए शीतलता प्राप्त हुनुका साथै जलवियोजनबाट पनि जोगिन सकिन्छ ।
–काँक्रा, खरबुजा आदि रसिला फलफूल खानुपर्छ ।
घरवरपर सफा राखौं
–जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि हुँदा, फोहोरमैलाको व्यस्थापन नहुँदा एवं घर वरपर फोहोर पानी जम्दा लामखुट्टेको वृद्धि हुनसक्छ । यसले गर्दा विभिन्न किसिमका रोग लाग्न सक्छन् ।
–घरभित्र–बाहिर सफा राख्नुपर्छ । गमलाको प्लेटमा पानी जमेको भए त्यसलाई सफा गरिरहनुपर्छ ।
–घरवरपर खाल्डाखुल्डी भए पुर्नुपर्छ ।
–सुत्ने बेलामा हातखुट्टामा तेल तथा क्रिम लगाउनुपर्छ ।
–लामा बाहुला भएका पहिरन लगाउनु उपयुक्त हुन्छ ।
कसरी जोगिने ?
–फलफूल राम्रोसँग धोई–पखाली खानुपर्छ ।
–गर्मीमा खानेकुरा छिट्टै बिग्रने भएकाले फ्रिजमा राख्नुपर्छ ।
–जारको पानी उमालेर तथा पियूष हालेर पिउनुपर्छ ।
–दूध पनि राम्रोसँग उमालेर मात्र सेवन गर्नुपर्छ ।
–बाहिर हिँड्दा मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ ।
–हात धोएर मात्र खानेकुरा खानुपर्छ ।
–सडकमा राखिएका, बासी, सडेगलेका तथा खुल्ला खानेकुरा खानुहुँदैन ।
–सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।