Successfully Copied

साधारण नसम्झौं माइग्रेनलाई

तनाव, अनियमित दिनचर्या तथा खानपानको गलत बानीका कारण पछिल्ला केही वर्षदेखि माइग्रेन आम समस्या बन्दै गएको छ ।

तनाव, अनियमित दिनचर्या तथा खानपानको गलत बानीका कारण पछिल्ला केही वर्षदेखि माइग्रेन आम समस्या बन्दै गएको छ । यसको पीडा टाउकाको एउटा भागबाट सुरु भएर बिस्तारै–बिस्तारै फैलन्छ । कतिपयले यसलाई सामान्य मानेर लापरबाही गर्छन् । टाउकोमा पीडा हुनासाथ पेनकिलर सेवन गर्ने चलन पनि बढ्दो छ तर यो समस्या बढ्दै गए पेनकिलरले पनि काम गर्दैन । माइग्रेनबाट जोगिन आवश्यक रेखदेख तथा समयमै उपचार गर्नु जरुरी हुन्छ । 

व्यस्त जीवनशैलीका कारण हिजोआजका मानिसहरू कम उमेरमै अनेकौं रोगको सिकार हुने गरेका छन् । ती रोगमध्ये माइग्रेन पनि एक हो । यो टाउकाको पीडाको गम्भीर रूप हो । पटक–पटक लगातार टाउको दुख्छ भने त्यसलाई माइग्रेन भनिन्छ । सामान्यतया यसको सिकार हुने मानिसलाई आधा टाउको दुखिरहन्छ । यो सानोतिनो पीडा नभएर ठूलो पीडा हुन्छ । यस्तो पीडा हुँदा कुनै पनि काम गर्न मन लाग्दैन । 

के हो माइग्रेन ? 

माइग्रेन न्युरोलोजिकल समस्या हो । यसमा बिस्तारै–बिस्तारै टाउकाको एक भागमा पीडा भैरहन्छ । केही घन्टादेखि लिएर तीन दिनसम्म पनि यस्तो पीडा कायम रहन्छ । यसमा टाउको दुख्नुका साथै बान्ता आउने समस्या पनि हुनसक्छ । यसका साथै फोटोफोबिया अर्थात् प्रकाशबाट दिक्दारी हुनसक्छ । माइग्रेनबाट पीडित एक तिहाइ मानिसलाई यस्तो हुँदैछ भनेर पहिले नै महसुस हुन्छ । 

कसरी पहिचान गर्ने ? 

–टाउकाको एक भाग नराम्रोसँग दुखिरहनु । केही कुराले टाउकोमा थिचिरहेजस्तो हुनु तथा टाउको फुट्लाजस्तो हुनु । 

–पीडा हुँदा साधारण काम गर्न पनि गाह्रो हुनु । 

–लामो समयसम्म टाउको दुखिरहने तथा आँखा नदेख्ने ।

–आँखामा लगातार पीडा । 

–टाउकाको पीडाका साथ बान्ता । 

–टाउकाको जुन भागमा पीडा हुन्छ त्यहाँ सुन्निनु तथा असहज महसुस हुनु ।

–काम गर्ने क्षमता ५० प्रतिशत कम हुनु । 

कारण 

धेरैजसो मामिलामा माइग्रेनको समस्या वंशानुगत हुन्छ । पुरुषको तुलनामा महिलामा माइग्रेनको समस्या बढी हुन्छ । किनभने महिलामा एस्ट्रोजन हार्मोनको मात्रा घट्ने तथा बढ्ने क्रम चलिरहन्छ । कामको थकान, तनाव, समयमा खाना नखानु, धूम्रपान, परफ्युमको प्रयोग, धेरै कम तथा बढी निदाउनु पनि यसको कारण हो । यसका अतिरिक्त मौसम परिवर्तन, हार्मोनल परिवर्तन, टाउकामा चोट लाग्नु, आँखामा स्ट्रेस पर्नु वा तेज प्रकाशको सामना गर्नु पनि यसका कारण हुन् । व्यायाम नगर्दा पनि थकान उत्पन्न हुनसक्छ । रक्तचाप बढी तथा कम भैरहने एवं ब्लड सुगर तथा तनावजस्ता समस्या छन् भने माइग्रेनको सम्भावना बढ्छ । 

ध्यान दिनुपर्ने कुरा 

सबै टाउको दुख्ने समस्या माइग्रेन हुँदैन । हात–खुट्टामा धेरै पीडा भए वा कमजोरी महसुस भए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । कतिपय अवस्थामा टाउको दुख्नु कुनै खतरनाक रोग लाग्ने संकेत पनि हुनसक्छ । त्यसैले बारम्बार टाउको एवं घाँटी दुख्ने, बाउँडिने, शरीर चिलाउने तथा आँखाअघि अँध्यारो छाउने समस्या भए तुरुन्त चिकित्सककहाँ जानुपर्छ । 

सन्तुलित आहार 

यसका लागि चिकित्सकीय उपचारका साथै सन्तुलित आहार पनि आवश्यक हुन्छ । पहिले शरीरमा कुन तत्व कम तथा बढी छ भन्ने कुरा जान्नुपर्छ र सही आहार लिनुपर्छ । कुनै खानेकुराबाट एलर्जी छ भने त्यस्ता खानेकुरा नखानु नै वेश हुन्छ । 

उपचार 

विशेषज्ञहरूका अनुसार माइग्रेनबाट छुटकारा पाउने कुरा बिरामीमा भर पर्छ । सबै बिरामीमा माइग्रेनको पूर्वसंकेत हुँदैन । त्यसैले उक्त कुरा थाहा पाउन डायरीमा आफूलाई हुने पीडाका बारेमा लेख्नुपर्छ । त्यसपछि औषधि खाएर माइग्रेनको पूर्वसंकेतकै समयबाट जोगिनुपर्छ । माइग्रेनको समस्या समाधान गर्न सकिन्छ । कुनै पनि चिकित्सा पद्धतिमा यसको स्थायी उपचार छैन । माइग्रेनको उपचारमा योग तथा व्यायाम बढी उपयोगी हुन्छ । नियमित रूपमा योग तथा ध्यान गर्दा तनाव तथा भागदौडपूर्ण दैनिकीका बाबजुद पनि दिमागलाई तनावमुक्त बनाउन सकिन्छ । यसको उपचारमा योगको भूमिकाले अन्तर्राष्ट्रिय स्तरमै मान्यता पाएको छ । अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार योगको माध्यमबाट धेरैले माइग्रेनबाट छुटकारा पाएका छन् । यस्ता बिरामीले धेरै प्रकाश आउने ठाउँमा, धेरै घाम तथा गन्हाउने ठाउँमा बसेर काम गर्नुहुँदैन । पर्याप्त मात्रामा सुत्नुपर्छ । योगका केही आसनमार्फत माइग्रेनबाट छुटकारा प्राप्त गर्न सकिन्छ । 

ब्रिदिङ एक्सरसाइज

बिहान सबेरै वा काम गर्ने समयमा ब्रेक लिएर ३ देखि ५ मिनेटसम्म सीधा बसेर बिस्तारै गहिरो सास लिने र छिटोछिटो सास छोड्ने । यसो गर्दा टाउकाको पीडा तथा माइग्रेनबाट राहत मिल्छ । यस्तो प्रक्रियाले शरीरको तनाव कम हुन्छ । यसका लागि पहिले पद्मासन तथा सुखासनमा बसेर दायाँ हातको औंलाले नाकको दायाँ प्वाल बन्द गर्ने र बायाँ प्वालबाट सास भित्र लिने अनि अर्को प्वालबाट बिस्तारै सास बाहिर निकाल्ने । पालैपालो दुवै नाकको प्वालबाट दिनमा ५ देखि १० मिनेटसम्म श्वास लिने–छाड्ने कामले माइग्रेनको समस्या कम हुन्छ । 

पद्मासन (कमल मुद्रा) 

यो मुद्राले दिमागमा आराम पुर्‍याउँछ भने टाउकाको पीडाबाट पनि राहत प्रदान गर्छ ।

सेतु मुद्रा 

यो आसनले रक्तसञ्चारलाई नियन्त्रित राख्न सहयोग पुर्‍याउँछ । यो व्यायामका माध्यमले मस्तिष्कको रक्त सञ्चार सुचारु हुनुका साथै टाउकाको पीडाबाट पनि छुटकारा मिल्छ ।

पश्चिमोत्तासन 

पश्चिमोत्तासनले मस्तिष्कलाई शान्त गराई तनावबाट राहत प्रदान गर्छ । 

अधोमुख श्वानासन 

पेटले जमिनमा प्रेस गरेर दुई हात जमिनमा राखी टाउको माथि उठाउने । अधोमुख श्वानासनले मस्तिष्कमा रक्त संचार बढाउँछ । फलस्वरूप टाउकाको पीडाबाट राहत मिल्छ ।

प्राणायाम

प्राणायामले शरीरका सबै अंगमा अक्सिजन सञ्चार हुन्छ । खासगरी गर्दन तथा मस्तिष्कमा अक्सिजन पुर्‍याउन सके माइग्रेन तथा टाउकाको पीडामा राहत प्राप्त हुन्छ । प्रतिदिन १० देखि १५ मिनेटसम्म ॐ भन्ने अभ्यास गर्दा पनि फाइदा हुन्छ ।

भ्रामरी प्राणायाम 

भ्रामरी प्राणायाम गर्दा सुखासनमा सीधा बस्नुपर्छ । दुवै कानलाई बुढीऔंलाले बन्द गरेर दुवै माझीऔंला आँखामा राख्ने । त्यसपछि गहिरो सास लिएर बिस्तारै–बिस्तारै सास छोड्दै आवाज निकाल्ने । मुख बन्द राख्ने तथा श्वासको सबै क्रिया नाकबाटै सम्पन्न गर्ने ।

जलनेती 

यसले माइग्रेन तथा टाउकाको पीडाबाट छुटकारा दिलाउँछ । जलनेती योग्य प्रशिक्षकबाट सिकेर मात्र गर्नुपर्छ । 

 Image