स्वस्थ जीवनको सूत्र
महलिा हार्मोन्सले ह्दयको रोगबाट महलिालाई सुरक्षा प्रदान गर्छ तर तनावपूर्ण स्थितिमा जीवनयापन, शारीरिक श्रमको कमी, धूमपान, मद्यपान तथा खानपानसम्बन्धी नराम्रो बानीले कम उमेरमै अनेकौं स्वास्थ्य समस्या आउँछन् । यस्ता कुराबाट टाढा रही केही कुरामा विचार पुर्याए स्वस्थ भएर बाँच्न सकिन्छ।
शारीरिक रूपमा सक्रिय
नियमित व्यायामबाट ह्दय र शरीरका अन्य मांसपेशीको शक्ति र सहनशीलता बढाउन सहयोग प्राप्त हुन्छ । यी व्यायाममा हिँड्ने, पौडने, साइकलिङजस्ता एरोविक्स समावेश गर्नुपर्छ । जीवन अत्यन्त व्यस्त र सक्रिय छ भने प्रत्येक घन्टा ५ मिनेट हल्का हिँडडुल गर्नुपर्छ ।
स्वस्थ आहार
स्वस्थ आहारका माध्यमबाट व्यक्ति स्वस्थ जीवनको बाटोमा अग्रसर हुन सक्छ । स्वस्थ आहारको अर्थ कम खानु वा डाइटिङ गर्नु होइन, यसको अर्थ हो–पोषक र सन्तुलित भोजनसित जोडिएको आहार । फलफूल, सागसब्जी आदि उत्पादनको राम्रो संयोजनले स्वस्थ आहारलाई जनाउँछ । स्वस्थ रहन प्रत्येक दिन चार–पाँच पटक फलफूल, सागसब्जी एवं नास्ता खानुपर्छ । नास्ताले शरीरका लागि आवश्यक ऊर्जा र इन्धनको पूर्ति गर्छ ।
पानी जीवनका लागि
शरीरमा पानीको मात्रा ठीक राख्नका लागि आवश्यक मात्रामा पानी पिउनुपर्छ । मानव शरीरमा प्रत्येक दिन ४ लिटरको अनुपातमा तरल पदार्थको आवश्यकता पर्छ, अत: सोहीअनुरूप त्यसको पूर्ति गर्नुपर्छ ।
नुनको नियन्त्रण
रक्तचापलाई नियन्त्रणमा राख्न साधारणतया नुन सेवन गर्ने सीमालाई प्रतिदिन ६ ग्रामसम्म राख्नु उचित हुन्छ । उच्च रक्तचापबाट ग्रसितहरूलाई यो उपाय प्रभावकारी हुन्छ । यसबाहेक कम नुन सेवन गर्नु, बूढाबूढी, मोटो शरीर भएका लागि लाभदायक हुन्छ । नुनमा नियन्त्रणले ह्दय रोगका बिरामीलाई २२ प्रतिशतसम्म कम गर्छ । अत्यधिक रूपमा नुनको मात्रा कम गर्नु पनि ठीक होइन, यसबाट रक्तचापमा उल्लेखनीय गिराबट आई बेहोस हुने समस्या आउन सक्छ । गर्मीमा यस विषयमा सतर्क रहनुपर्छ ।
गहिरो र पूर्ण निद्रा
गहिरो निद्राले मानिसलाई स्वस्थ रहन सहयोग गर्छ । निद्राबाट मानिसभित्रको डर र आशंकाहरू हट्छन् । वयस्क मानिस कम्तीमा ७–८ घन्टा सुत्नुपर्छ भने बालबालिकाका लागि दस घन्टाको निद्रा आवश्यक छ।
आदर्श वजन
अतिरिक्त तौललाई कम गर्ने प्रयास गर्नुपर्छ । बोसो बढी भए ह्दय रोग र मधुमेहजस्ता खतरनाक रोगको जोखिम बढ्न जान्छ र यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ । शरीरको तौल बढी भए नियमित व्यायाम, स्वस्थ खानालाई प्राथमिकता दिएर त्यसलाई कम गर्न सकिन्छ ।
रक्तचाप र कोलेस्ट्रोलको जाँच
उच्च रक्तचापका रोगीलाई ह्दयाघातको खतरा बढी हुन्छ । अत: हरेक दिन आफ्नो रक्तचापलाई जाँच गर्नुपर्छ र त्यसको रिडिङमा सुधार नआए चिकित्सकको सल्लाह लिनु जरुरी छ ।
अल्कोहलको नियन्त्रण
दैनिक बढी मात्रामा मादकपदार्थको सेवनले उच्च रक्तचापको समस्या सिर्जना हुन्छ । मादकपदार्थ बढी सेवनले यसबाट हुने रक्तचापमा वृद्धि एक सातासम्म पनि कायम रहने सम्भावना रहन्छ । एक अनुसन्धानअनुसार अल्कोहलको सेवन प्रतिदिन ४ सय ४० मिलिलिटरबाट घटाएर ६६ मिलिलिटरसम्म पुर्याउँदा सिस्टोलिक दबाबमा ५ एमएम एचजी र डिस्टोलिक दबाबमा ३ मि.मि. एचजी कम भएको पाइयो । त्यसैले उच्च रक्तचापका रोगीले हरेक दिन एक–दुई ड्रिङक्सभन्दा बढी सेवन गर्नु राम्रो होइन ।
नियमित स्वास्थ्य जाँच
आपत्कालीन परिस्थितिमा मात्र नभएर अन्य अवस्थामा पनि जाँच गराउनु राम्रो हुन्छ । प्रतिरोधक क्षमता र अस्वस्थकर जीवन शैलीका कारण हरेक व्यक्तिले केही समयको अन्तरालमा नियमित स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ । यसबाट गम्भीर स्वास्थ्य समस्याबाट जोगिन धेरै हदसम्म सहयोग मिल्छ ।