जाडो तथा वर्षा मौसममा दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरूलाई अझ बढी गाह्रो हुन्छ । त्यसैले यस्ता बिरामीले यी मौसममा विशेष सावधानी अपनाउनुपर्छ । यस्ता बिरामीलाई सानो काम गर्दा पनि गाह्रो हुन्छ । राति सुत्दा स्वाँ–स्वाँ बढ्नुका साथै सुख्खा खोकी लाग्छ । भर्याङ उक्लदा मात्र होइन उत्तानो परेर सुत्न र बोल्न पनि गाह्रो हुन्छ । ज्वरो पनि लगातार आउँछ ।
व्यस्त एवं ऊर्जाशील जीवन जिउन निरोगी हुनु जरुरी छ । अहिलेको बदलिँदो वातावरण, प्रदूषण तथा खानपानमा गरिएको मिसावटका कारण धेरै कुरामा शुद्धता पाइँदैन । यसले गर्दा दमका बिरामीको संख्या पनि बढिरहेको छ । यो समस्या बालबालिकामा पनि फैलिरहेको छ ।
दमका लक्षण के–के हुन सक्छन् ?
दमको लक्षण सबैमा एकै प्रकारको हुँदैन । दम धेरै किसिमका हुन्छन् । जुन अन्य श्वाससम्बन्धी बिरामीको लक्षण पनि हुनसक्छ । यी लक्षण दमका लक्षण हुन् कि होइनन् चिन्न जरुरी हुन्छ । सामान्यतया सुरुमा छातीमा अप्ठ्यारो हुनु, सास फेर्दा विशेष प्रकारको ध्वनि निस्कनु, राति तथा बिहान खोकी लाग्नु, श्वासनलीमा हावाको प्रवाह ठीक ढंगमा नहुनु जस्ता लक्षण देखा पर्छन् ।
कारण ?
दम रोगका लागि पर्यावरण, प्रदूषण तथा वंशानुगत कारण प्रमुख रूपमा जिम्मेवार हुन्छन् । आमाबुवा यो रोगबाट पीडित भए सन्तानलाई पनि दम हुने सम्भावना वृद्धि हुन्छ ।
मौसमको असर ?
वर्षा तथा जाडो मौसममा सामान्य मानिसको श्वास नली पनि खुम्चन्छ । यही दौरान दम रोग लाग्ने सम्भावना बढ्छ । दुवै मौसममा त्यस्ता मानिसहरूले विशेष सावधानी अपनाउनुपर्छ । त्यसमा धूवाँ, धूलो, पाल्तु जनावर तथा कुनै औषधिको एलर्जी हुनसक्छ । जाडो मौसममा रुघाखोकी लाग्न सक्छ । यसले गर्दा श्वासनली खुम्चन्छ । यसको समयमा उपचार नगरे दमको एट्याकको खतरा बढ्छ । यो मौसममा दमका बिरामीले आफ्नो शरीरको विशेष ख्याल राखी सावधानी अपनाउनुपर्छ । शरीरलाई चिसोबाट पूर्णरूपमा जोगाउनुपर्छ । यस्ता बिरामीको कोठा ओसिलो हुनुहुँदैन । चिसोले दमका बिमारीमा फंगल इन्फेक्सन हुने जोखिम वृद्धि गर्छ ।
दम हुने कारण ?
अप्रत्यक्ष रूपमा मानसिक तनाव पनि यसको कारण हुनसक्छ । लगातार मानसिक तनाव भए शरीरको रोगप्रतिरोधक क्षमता कम हुन्छ । त्यसका अतिरिक्त रुघाखोकी, धूलो, कसिंगर, पाल्तु जनावरका रौं, विषाणु तथा वायु प्रदूषणका साथमा भावनात्मक आवेश पनि दमको आघातको कारण बन्न सक्छ । त्यसैगरी चुरोटको सेवन एवम वंशानुगत कारणले पनि दम हुनसक्छ । कुनै एउटा मानिस संक्रमणबाट ग्रसित भए फोक्सोको नलीले स्वाभाविक रूपमा आफ्नो काम गर्न पाउँदैन । यसले गर्दा सास लिने प्रक्रियामा अप्ठ्यारो सिर्जना हुन्छ ।
शिशुमा दमको असर ?
अहिले बढ्दो प्रदूषण तथा बदलिँदो जीवनशैलीका कारण शिशुहरूमा पनि दम रोग तीव्र रूपमा फैलिरहेको छ । यसको प्रमुख कारण शिशुलाई स्तनपान नगराउनु, बोतलबाट दूध पिलाउनु तथा उनीहरूलाई दूषित हावाको सम्र्पकमा राख्नु हो । त्यसैगरी दम वंशानुगत कारणले पनि हुनसक्छ । पाँच वर्षमुनिका बालबालिकामा यस्तो हुन सक्छ । दम केही वर्षपछि पनि देखिने सम्भावना बढ्छ । त्यसका अतिरिक्त एन्टिबायोटिक औषधिको चलन पनि बढ्दो छ । यसले गर्दा शिशुको रोगप्रतिरोधक क्षमता कम भएर दमका साथै अन्य रोग लाग्ने खतरा वृद्धि हुन्छ ।
विशेष ध्यान दिनु जरुरी छ
जाडो तथा वर्षा मौसममा शिशुको विशेष स्याहार गर्नुपर्छ । उसलाई बाहिरको हावाबाट जोगाउनुपर्छ । भीडभाड भएको ठाउँमा लानु हुँदैन । कुनै किसिमको रोग लागेर अप्ठ्यारो भए आफैं औषधि नदिई चिकित्सककहाँ पुर्याउनुपर्छ । शिशुलाई बासीभन्दा ताजा तथा स्वस्थ खाने कुरा दिनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० पछि दमका रोगीहरू बढिरहेका छन् । पूरै विश्वमा करिब २३ करोड ५० लाख मानिस दमका रोगी छन् ।
दम कुनै पनि उमेरमा हुन सक्छ
दम यही उमेरमा हुन्छ भन्ने छैन । यो जुनसुकै उमेरकालाई पनि लाग्न सक्छ । ३० वर्षमाथिका मानिसलाई दूषित हावाका कारण दम हुन सक्छ । यसैगरी ३० वर्षभन्दा कम उमेरकालाई एलर्जीका कारण दम हुन सक्छ । चुरोटको धूवाँ, चिसो हावा तथा भावनात्मक तनावका कारण दम हुन सक्छ । ५० वर्षभन्दा माथिकालाई दम हुने सम्भावना बढी हुन्छ ।
परीक्षण
स्पिरोमेट्री : यो सामान्य किसिमको परीक्षण हो । यो कुनै पनि मेडिकल क्लिनिकमा गर्न सकिन्छ । यो परीक्षणबाट सास फेर्दा हुने असजिलो तथा मुटु रोग छ कि छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यसबाट मानिसले छिटो–छिटो सास फेर्ने कारण पनि पत्ता लगाउन सकिन्छ ।
छातीको एक्सरे : यो एक्सरेबाट दम देखिँदैन तर यससँग सम्बन्धित जानकारी भने लिन सकिन्छ ।
एलर्जी टेस्ट : धेरै पटक चिकित्सकले एलर्जी टेस्टको सल्लाह दिन्छन् । यो टेस्टबाट मानिसको टिगर्सको सही स्थिति के छ र कस्तो परिस्थितिमा यसले प्रभावित गर्छ भन्ने कुरा पत्ता लाग्छ ।
स्किनप्रिक टेस्ट : यो साधारण विधि हो । यो एलर्जिक टिगर्स थाहा पाउने प्रभावशाली उपाय पनि हो । यो सस्तो तथा तुरुन्त रिजल्ट दिने खालको सुरक्षित परीक्षण हो ।
ब्लड टेस्ट : ब्लड टेस्ट एलर्जीको स्थिति पत्ता लगाउने उपयोगी विधि हो ।
शारीरिक परीक्षण : दमको स्थिति के–कस्तो छ भनेर चिकित्सकले शारीरिक परीक्षण गर्छन् । यसबाट छाती घ्यारघ्यार भएको आवाज सुनिनुका साथै त्यसको गम्भीरता पत्ता लाग्छ ।
दमको उपचार तथा रोकथाम
दमको सबैभन्दा राम्रो उपचार इनहेलेसन थेरापी हो । यो उपचारले बिरामीको फोक्सोमा आफ्नो प्रभाव देखाउँछ । औषधि तथा सिरप पेटमा पुगेपछि रगतको माध्यमबाट फोक्सोमा पुग्छ । त्यसबाट साइडइफेक्ट पनि हुन सक्छ । पहिलेदेखि नै मधुमेह तथा अन्य क्रोनिक बिरामी भए दमको असर अझ बढी देखापर्ने भएकाले विशेष सावधानी अपनाउनुपर्छ । धूलो, धूँवाबाट जोगिन, न्याना पहिरन लगाउने । बिहान चिसो बढी हुने भएकाले कोठाको तापक्रम नियन्त्रमा राख्नुपर्छ । यसो भन्दैमा कोठाका झ्याल–ढोका बन्द गरेर गुम्म पार्नुहुँदैन । त्यसो गरे कोठामा अक्सिजन अपर्याप्त भएर बिरामीलाई अझ गाह्रो हुन्छ ।
दम एट्याकमा नियन्त्रण
दमको एट्याक रोक्न चिकित्सकले दिएको औषधि समयमा सेवन गर्नुपर्छ । जरुरी भए इनहेलर प्रयोग गर्नुपर्छ । जुन चीजले गर्दा दम बढेजस्तो महसुस हुन्छ त्यस्ता कुराबाट जोगिनुपर्छ । खानपानमा पनि ध्यान पुर्याउनुपर्छ । खाना खाएको आधा घन्टापछि पानी पिउनुपर्छ । चिया, कफी, अचार, रातो खुर्सानी, गरम मसला आदि भरसक प्रयोग गर्नुहुँदैन, गर्नैपरे कम मात्रामा प्रयोग गर्नुपर्छ ।
रोगीको खानपान
(उपासना पाण्डेसँगको कुराकानीमा आधारित)
के नगर्ने
घरमा पाल्तु जनावर भए ओछ्यान तथा बेडरुममा नल्याउने ।
नशालु पदार्थ सेवन नगर्ने ।
घरमा दमका रोगी भए नजिकै बसेर धूम्रपान नगर्ने ।
केमा ध्यान दिने ?