महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।
रजस्वला हुँदा असाध्यै पेट दुखेको अवस्थामा स्टोराइडयुक्त कुनै पनि औषधि सेवन गर्नु हँुदैन अर्थात् पीडालाई दबाउने खालको औषधि प्रयोग गर्नु हुँदैन । यसबाट बाँझोपनको समस्यालगायत पाठेघर तथा शरीरका अन्य भागमा विभिन्न समस्या देखिन सक्छ ।
पाठेघरलाई स्वस्थ राख्न हरेक दिन प्राणायाम आवश्यक छ जसमध्ये कपालभाती प्राणायाम सर्वाधिक महत्वपूर्ण मानिन्छ । पाठेघर सुन्निएको बेला, रजस्वला भएको बेला, आङ झरेको बेला कपालभाती प्राणायाम गर्दा गतिमा नियन्त्रण राख्नु आवश्यक छ । गर्भावस्थामा कपालभाती प्राणायाम, बाह्य प्राणायाम, अग्निसारक्रिया आदि गर्नु हुँदैन ।
गर्भवती महिलाले पाठेघरलाई स्वस्थ बनाउन भस्त्रिका, उज्जयी, अनुलोम–विलोम, भ्रामरी, प्रणव आदि प्राणायाम गर्नु फाइदाजनक हुन्छ । यसबाट पाठेघरमा हुने सम्भावित विकारबाट जोगिन सकिन्छ ।
पाठेघरमा समस्या आए दौडने, उफ्रने खालका व्यायाम गर्नर्ु हुँदैन । महिलाहरूले यस्ता सामान्य समस्यामा पनि भारी चीज उठाउने, टुक्रुक्क बसेर नाङ्लो चलाउने, बढी तारेको, चिल्लो, पिरो, अमिलो आदिका साथै बढी तातो वा बढी चिसो खानेकुरा खानु हुँदैन ।
पाठेघरलाई बलियो बनाउन सूर्य नमस्कारका साथै सुस्त गतिमा मार्जारी आसन, सर्वाङ्गासन, गोमुखासन, हलासन आदि गर्न सकिन्छ । किशोरीहरूलाई शीर्षासन एवं पश्चिमोत्तानासन लाभदायक हुन्छ । आलसको तेल, आलसको धूलो अचार, मेथी, ज्वानो, सुठो, हिङ, वाखडबेत, भृंगिराज वा घोडताप्रे खाली पेटमा खाँदा वा सिसौका सात वटा पात मिस्रीका साथ खाँदा लाभ मिल्छ ।