Successfully Copied

समयमै उपचार गरौं

अनावश्यक रौं, एक्ने तथा अनियमित महिनावारीको समस्या तथा लक्षण पिसिओडी अर्थात् पोलिसिस्टिक ओबेरियन डिजिजको संकेत हो । आधुनिक जीवनशैली अपनाउने धेरै महिलाले यस्तो समस्याको सामना गर्नुपर्छ।

अनावश्यक रौं, एक्ने तथा अनियमित महिनावारीको समस्या तथा लक्षण पिसिओडी अर्थात् पोलिसिस्टिक ओबेरियन डिजिजको संकेत हो । आधुनिक जीवनशैली अपनाउने धेरै महिलाले यस्तो समस्याको सामना गर्नुपर्छ । खासगरी युवतीमा यस्तो समस्या देखापर्छ । विशेषज्ञहरूका अनुसार यस्तो समस्याको खास कारण पत्ता नलागे पनि लामो समयको जेनेटिक रोग यसको कारण मानिन्छ । यस्तो समस्यामा ओभरिज प्रभावित हुन्छ । 

आधुनिक जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट धेरैजसो महिलाको स्वास्थ्यमा असर देखापर्छ । खानपानको गलत बानी, अनियमित दिनचर्या, घर तथा बाहिरको दोहोरो भूमिकाले गर्दा महिलाले आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन पाएका हुँदैनन् । त्यसैले युवावस्थामै अनेकौं समस्याले सताउँछ । पिसिओडी पनि यस्तै समस्यामध्ये एक हो । समयमा उपचार सुरु नगरे यसले गम्भीर रूप धारण गर्न सक्छ । 

के हो पिसिओडी ?

पिसिओडी महिलाको अन्तस्रावी ग्रन्थिसँग जोडिएको समस्या हो । एक रिपोर्टअनुसार ३० देखि ४० प्रतिशत किशोरीले यस्तो समस्याको सामना गरिरहेका छन् । पिसिओडीले ग्रसित महिलाको सबैभन्दा बढी चिन्ता बाँझोपनलाई लिएर हुन्छ । यो समस्या ओबेसिटीसँग सम्बन्धित पनि हुन्छ । यसबाट पीडित करिब ४० प्रतिशत महिलामा ओबेसिटी हुनसक्छ । यस्तो ओबेसिटीका कारण अगाडिको भाग अर्थात् पेट मात्र ठूलो हुन्छ । पिसिओडीका कारण पछि गएर मधुमेह, युटेरिन क्यान्सर तथा उच्च कोलेस्ट्रोलको खतरा बढ्न सक्छ । तथ्यांकअनुसार ४ देखि ११ प्रतिशत महिला पिसिओडीको समस्याबाट पीडित हुन्छन् । अध्ययनमा ग्रामीण महिलाको तुलना सहरी महिलामा यस्तो समस्या बढी पाइएको थियो । 

पत्ता लगाउन कठिन 

अहिले धेरै युवतीमा यस्तो समस्या देखिन्छ । यो उमेरमा युवतीको सेक्स हार्मोन्स सबैभन्दा बढी सक्रिय हुन्छ । । प्रसूति तथा महलिा रोग विशेषज्ञ डा. रंगिना लाइकंग बमका अनुसार हार्मोन्स असन्तुलनका कारण यस्तो समस्या उत्पन्न हुन्छ । मानिसको शरीरमा भएको अन्तस्रावी ग्रन्थिले धेरै किसिमका हार्मोन्स स्राव गर्छ । महिलाको शरीरमा मुख्य रूपमा एस्ट्रोजन तथा प्राजेस्टेरोन नामक सेक्स हार्मोन्स सक्रिय हुन्छ । यसमा आंशिक रूपमा पुरुष हार्मोन टेस्टोस्टोरोनको सक्रियता पनि बढी हुन थाल्छ ।

परिणामस्वरूप ओभरीमा अण्डा बन्ने तथा बाहिर निस्कने प्रक्रियामा अवरुद्ध हुन्छ । यस्तो स्थितिमा केही अण्डा तथा डल्लो जस्तो रूप लिन्छ । यसको भित्र तरल पदार्थ भरिएको हुन्छ । यही अवस्थालाई पिसिओडी अर्थात् पोलिसिस्टिक ओबेरियन डिजिज भनिन्छ । यस्ता बिरामीमा सुरुमा लक्षण सजिलै पत्ता लगाउन कठिन हुन्छ । विवाहपछि महिलाले पारिवारिक जीवनको सुरुवात नगरेसम्म गाइनो चेकअपपछि मात्र यस्तो समस्याको जानकारी पाइन्छ तर यो त्यतिबेलासम्म धेरै ढिला हुनसक्छ । 

धेरै कारण 

सामान्यतया जुन महिलाको सुगर तथा रक्तचापको स्तर बढी हुन्छ, त्यस्ता महिला पिसिओडीको सिकार हुन्छन् । कोलेस्ट्रोलको मात्रा बढी हुने महिलाहरूमा पनि यस्तो समस्या हुन सक्छ । हृदय रोग भएका महिलामा पनि यो समस्या हुनसक्छ । यसका अतिरिक्त मानसिक तनाव, गतिविधि तथा वर्क आउटमा कमी, अनियमित दिनचर्या, खानामा मीठो तथा चिल्लोयुक्त पदार्थ, वंशानुगत आदि यसका प्रमुख कारण हुन् । 

प्रमुख लक्षण 

  • अनियमित महिनावारी ।
  • महिनावारीको समयमा धेरै रक्तस्राव ।
  • एक्नेको समस्या ।
  • लगातार तौल बढ्नु ।
  • अनुहार, पेट, आंैला तथा पीठमा अवाञ्छित रौं निस्कनु ।
  • डिप्रेसन, चिडचिडेपन तथा अनिद्रा ।
  • अनावश्यक थकान तथा इन्फर्टिलिटी ।

सम्भव छ बच्न 

सुरुदेखि नै स्वस्थ जीवनशैली अपनाए यसबाट जोगिन सकिन्छ । यसको सीधा सम्बन्ध मोटोपनसँग हुन्छ । यसले गर्दा तौलमा नियन्त्रण जरुरी हुन्छ । नियमित रूपमा एक्सरसाइज तथा हिँडडुल गरेर, लिफ्टको साटो सिँढीको प्रयोग गरेर, सानो भन्दा सानो काम पनि आफैं गरेर, बिरुवामा पानी हालेर, घरको सरसफाइ आदि कामलाई आफ्नो दिनचर्याको जरुरी हिस्सा बनाएर बढ्दो वजनलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । 

जंक फुडबाट जोगिनु 

अहिले जंक फुडको सेवन बढ्दो छ । यसले स्वास्थ्यमा क्षति पुर्‍याउन सक्छ । समस्याबाट जोगिन खानपानमा सुरुदेखि नै ध्यान दिनु जरुरी हुन्छ । चकलेट, पेस्ट्री, पिज्जा, बर्गर, नुडल्स, कोल्ड ड्रिंक्स आदिबाट टाढै रहनुपर्छ । 

नियमित जाँच 

जुन महिलालाई पहिलेदेखि नै उच्च रक्तचाप तथा टाइप टु डाइबिटिजको समस्या छ त्यस्ता महिलाले नियमित रूपमा उपचार गराउनुपर्छ । औषधि तथा संयमित खानपानको प्रयोगबाट यी दुवै समस्या नियन्त्रित गर्ने प्रयास गर्नुपर्छ । उच्च कोलेस्ट्रोलको समस्या भएका महिलाले तारेको, भुटेको खानेकुरा तथा मिठाईं खानुहुँदैन बरू स्किम्ड मिल्क तथा दहीको सेवन लाभदायक हुन्छ । यसैगरी दिनहुँ सात–आठ घन्टा सुत्न जरुरी हुन्छ । अनिद्रा धेरै रोगको कारक तत्व हो । 

व्यायाम रामवाण

व्यायाममा लापरबाही गर्नुहुँदैन । जतिसुकै व्यस्त भए पनि बिहान हिँडडुल गर्नुपर्छ । प्रतिदिन आधा घन्टा वाकमा निस्कनुपर्छ । दिनचर्या नियमित भए फिटनेस ट्ेरनरको सल्लाहमा कार्डियोवास्कुलर एक्सरसाइजलाई पनि रुटिनमा समावेश गर्न सकिन्छ ।

जाँच एवं उपचार 

पिसिओडीको शंका लागे पेल्भिक अल्ट्रासाउन्ड तथा हार्मोनसम्बन्धी जाँच गरेर समस्या पत्ता लगाउनुपर्छ । सुरुवातमै पत्ता लागे यो रोग औषधि सेवनबाटै कम गर्न सकिन्छ । समस्या गम्भीर भए लेप्रोस्कोपिक सर्जरी गराउनुपर्छ । यस्तो सर्जरीपछि एक दिनपछि नै सामान्य दिनचर्यामा फर्कन सकिन्छ । यस्तो स्थितिमा कम्तीमा पनि एक महिना शारीरिक सम्बन्धबाट टाढै रहनुपर्छ । त्यसपछि सजिलै गर्भधारण गर्न सकिन्छ । 

बक्समा 

  • पिसिओडी महिलाको शरीरमा हुने हार्मोनल असन्तुलनका कारण हुन्छ । यस्तो असन्तुलन इन्सुलिन रेजिस्टेन्स तथा ओबेसिटीका कारण हुन सक्छ । सेक्स हार्मोनको अधिकता तथा इन्सुलिनको रेजिस्टेन्स ओबेसिटी एवं पिसिओडीलाई बढाउँछ । अहिलेसम्म ओबेसिटीका कारण पिसिओडी हुने हो वा पिसिओडीका कारण ओबेसिटी हुने हो भन्ने कुरा पत्ता लागेको छैन । 
  • बढी क्यालोरीयुक्त खानपान तथा व्यायामको कमीका कारण इन्सुलिन रेजिस्टेन्स हुन्छ । यसले शरीरमा इन्सुलिनको स्तर बढाउँछ । यसले वजन बढ्नुका साथै ओबेरिजलाई स्टिमुलेसन हुन्छ । त्यसैले ओबेरिजमा मल्टिपल सिस्ट बन्छ । 
  • पिसिओडीमा नियन्त्रण नगरे डायबिटिजले पनि सताउँछ । 

 Image