Successfully Copied

सोह्र वर्षको उमेर र स्वास्थ्य

१६ वर्षको उमेर त्यस्तो अवस्था हो जहाँबाट यौवन प्रारम्भ भैसकेको हुन्छ । शरीर परिवर्तनको क्रममा अघि बढिरहेको हुन्छ र दोबाटोमा उभिएका हुन्छन्–किशोरीहरू ।

१६ वर्षको उमेर त्यस्तो अवस्था हो जहाँबाट यौवन प्रारम्भ भैसकेको हुन्छ । शरीर परिवर्तनको क्रममा अघि बढिरहेको हुन्छ र दोबाटोमा उभिएका हुन्छन्–किशोरीहरू । जहाँ उनीहरू न बालिका रहन्छन् न त पूर्णरूपमा युवती नै भैसकेका हुन्छन् । शरीरमा भैरहेका परिवर्तन र मनमा उठिरहेका प्रश्नहरूको उत्तर आमासित सोध्ने कि संगिनीहरूसित ? आफ्ना प्रश्नलाई आमाले नकारात्मक रूपमा ग्रहण गर्ने हुन् वा संगिनीहरूले ख्यालठट्टाको विषय बनाउने हुन् ? यी सबै जिज्ञासा मेटाउने सबैभन्दा सहज र सरल तरिका देखापर्छ–इन्टरनेट । यद्यपि इन्टरनेटबाट प्राप्त हुने जानकारी सतही पनि हुनसक्छ । यो उमेर जीवनकै संवेदनशील अवस्था भएकाले यस विषयमा सचेत रहनु आवश्यक छ । 

शरीरमा आउने परिवर्तनको क्रममा सबैभन्दा पहिले हुन्छ–प्युबिक हेयर ग्रोथ । दुई–अढाई वर्षसम्म ब्रेस्ट विकसित भएपछि महिनावारी प्रारम्भ हुन्छ । कसैको महिनावारी अनियमित हुन्छ । कतिपय अवस्थामा एउटा महिनावारीपछि छ महिनासम्म त्यसको अत्तोपत्तो नहुन सक्छ । कसैमा मेन्स्ट्रुअल क्रेम्प्स आउनसक्छ । कसैको हेभी पिरियड्स हुन्छ त कसैमा हल्का मात्र । कसै–कसैको महिनावारी १५–१६ वर्षमा मात्र प्रारम्भ हुन्छ । यी सबै कुराबाट किशोरीहरू अन्योलग्रस्त हुन्छन् । स्त्री रोग विशेषज्ञहरूका अनुसार प्रारम्भमा अनियमित महिनावारी हुनु, कम वा बढी रक्तस्राव हुनु, क्रेम्प्स आउनुजस्ता समस्या सामान्य हुन् कारण शरीरले यो समयमा शारीरिक एवं भावनात्मक परिवर्तनसित तालमेल बसाइरहेको हुन्छ । त्यसो भए पनि यतिबेला हुने महिनावारीमा अण्डा बन्दैन । पछि गएर महिनावारी नियमित हुन्छ र अण्डा बन्ने प्रक्रिया प्रारम्भ हुन्छ । १५–१६ वर्षमा पनि महिनावारी नभए त्यसलाई प्राइमरी एमेनोरिया भनिन्छ । यो शारीरिक विकाससित जोडिएको समस्या हो । यसलाई सामान्य रूपमा नलिई चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकहरूका अनुसार त्यस्तो भए हार्मोन्स र युटरसको जाँच गरी हार्मोन्सको स्तर तथा युटरसको कमीका सम्बन्धमा पत्ता लगाउन सकिन्छ  अनि रिपोर्टका आधारमा उपचार गरिन्छ । कसै–कसैमा भने ढिलो गरी प्रारम्भ हुने महिनावारीको कारण आनुवंशिक पनि हुन सक्छ । 

कतिपय किशोरीमा महिनावारीका बेला मेन्स्ट्रुअल क्रेम्प्स आउँछ । कसैमा भने कुनै खालको पीडा हुँदैन । महिनावारीको प्रारम्भमा क्रेम्प्स आए त्यसलाई प्राइमरी डिस्मेनोरिया भनिन्छ । यो क्रेम्प्स र पीडापछि गएर डेलिभरीको समयपछि वा २६–२७ मिट्रियोसिस फाइब्राइड ट्युमर तथा ओवरीमा सिस्टका कारण पनि देखापर्नसक्छ । त्यतिबेलाको क्रेम्प्सलाई सेकेन्डरी डिस्मेनोरिया भनिन्छ । कतिपय किशोरीमा महिनावारीभन्दा पहिले योनि स्राव र ब्रेस्टमा पीडा हुन्छ  । यसलाई महिनावारीको सूचक पनि मान्न सकिन्छ । महिनावारी सकिएपछि रक्तस्राव र पीडा दुवै कम हुन्छ । स्त्री रोग विशेषज्ञहरूका अनुसार योनिबाट हरियो रंगको रक्तस्राव भएर त्यसमा रगतको दागका साथै दुर्गन्ध आए पनि वेजाइनल इन्फेक्सन हुन सक्छ । त्यसैले समयमै उपचार गराउनुपर्छ ।

त्यसो त पूर्णरूपमा युवती बन्ने अनुभूतिले पनि किशोरीहरूमा काउकुती जगाउँछ । सोही क्रममा उनीहरूलाई मुडी पनि बनाउँछ । कतिपय किशोरी महिनावारीका बेला संवेदनशील वा चिडचिडे हुन पुग्छन् । यी सबै हार्मोन्सका कारण हुन्छन् । यस्तोमा चिकित्सकहरू किशोरीलाई आफ्नो मेन्स्ट्रयल क्यालेन्डर मेन्टेन गर्ने सल्लाह दिन्छन् । यसमा महिनावारीका दिनमा सामान्य दिनका तुलनामा कस्तो महसुस हुन्छ लेख्न सल्लाह दिइन्छ । महिनावारीमा लगातार केही अलग लक्षण देखिन्छ भने त्यसलाई प्रिमेन्स्ट्रुयल सिन्ड्रोम वा पीएमएस भनिन्छ । पीएमएस वा मेन्स्ट्रुअल साइकल डिस्अर्डर भए औषधि सेवन गर्ने सल्लाह दिइन्छ । मुड स्वीङग्सको समस्या हो भने हल्का भोजन गरी नुन पनि कम गर्नुपर्छ अनि मसलेदार र पिरो खानाबाट जोगिनुपर्छ । सम्भव भएसम्म हल्काफुल्का एक्सरसाइज पनि गर्नुपर्छ । 

यो मोडमा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक हो । यतिबेला किशोरीहरू आफ्नो लुकप्रति बढी सजग हुन थाल्छन् । उनीहरू ऐनाअगाडि उभिएर लामो समयसम्म आफूलाई सजाउँछन् । हरेक दृष्टिबाट सुन्दर र आकर्षक देखिन चाहन्छन् । कतिपय किशोरीको ब्रेस्ट यो उमेरमा पनि पूर्णरूपले विकसित भएको हुँदैन । आफूलाई आकर्षक देखाउने क्रममा उनीहरू ब्रेस्ट आग्मेन्टेसन गराउँछन्, कोही भने पेडेड ब्रा लगाउँछन् । चिकित्सकहरूका अनुसार यो उमेर ब्रेस्ट आग्मेन्टेसन गराउने सही अवस्था होइन । त्यसैगरी पेडेड ब्राको स्थानमा सही साइज र सेपको यस्तो ब्रा लगाउनु आवश्यक हुन्छ, जसले ब्रेस्टलाई पूर्णरूपमा सपोर्ट प्रदान गरोस् । यो समयमा शरीरको विकास भैरहने भएकाले सन्तुलित डाइटका साथै प्रोटिनयुक्त खाना खानुपर्छ । कतिपय किशोरीलाई शरीरबाट विभिन्न ठाउँमा आउने रौंले सुन्दरतामा बाधा पुर्‍याएको महसुस हुन्छ । त्यसपछि उनीहरू काखी वा जाँघको बेक्सिङ गराउनुका साथै विकनी बेक्सिङ पनि गराउँछन् । चिकित्सकहरूका अनुसार त्यसबाट छाला प्रभावित भएर दाग बस्ने सम्भावना रहन्छ । २२ वर्षभन्दा पहिले बेक्सिङ गराए छाला चाँडै चाउरी पर्न थाल्छ ।

युवती बन्ने क्रममा कतिपय किशोरी आफ्नो शारीरिक आवश्यकताका अगाडि कमजोर महसुस गर्छन् र शारीरिक सम्बन्ध स्थापित गर्न पुग्छन् । असुरक्षित यौन सम्बन्धका कारण उनीहरू अवाञ्छित गर्भको सिकार हुन पुग्छन् जुन स्वास्थ्यका लागि खतरनाक हुुन्छ । यो समयमा आमाभन्दा राम्रो काउन्सिलर अरु  को होला ? छोरीलाई उनको रुचिको विषयमा सहभागी हुन प्रेरित गर्नुपर्छ । टिनएजर अनवान्टेड प्रेग्नेन्सीको सिकार भएको विषयमा जानकारी हुँदा साढे चार महिनाको गर्भ भैसकेको हुनसक्छ । त्यसपछि अबोर्सनमा समस्या आउँछ । यसबाट महिनावारी अनियमित हुन्छ । पेल्विक इन्फेक्सन डिजिज हुनसक्छ वा फर्टिलिटीको समस्या देखापर्न सक्छ । यस प्रकारको अबोर्सन प्राणघातक पनि हुनसक्छ । अत: असुरक्षित यौन सम्बन्धबाट जोगिनु आवश्यक छ ।

 Image