Successfully Copied

साउन तथा वर्षाका पहिरन

मौसम, पर्व एवं प्रचलित फेसन ट्रेन्डअनुसार हिँड्न कसलाई मन लाग्दैन र ? साउन लाग्दै यसपटक कस्तो पहिरन बनाउने, लगाउने भन्ने सोच धेरैको मनमा आइहाल्छ ।

मौसम, पर्व एवं प्रचलित फेसन ट्रेन्डअनुसार हिँड्न कसलाई मन लाग्दैन र ? साउन लाग्दै यसपटक कस्तो पहिरन बनाउने, लगाउने भन्ने सोच धेरैको मनमा आइहाल्छ । हिजोआज साउने सोमबारको व्रत बस्ने, चोखो खाने, चोखो बस्ने, चोखो लगाउने क्रमसँगै साउनभरि हरियो, पहेंलो एवं रातो रंगका पहिरन, चुरा, पोते, नङपालिस, मेहन्दी आदि लगाई ठाँटिने चलन बढेको छ । केही वर्षयता साउनमा हरियो मिश्रित पहिरन लगाउने फेसन नै छ । यो साउनमा भने हरियो रंगमा अन्य विभिन्न रंग मिश्रित पहिरन चल्ने फेसन डिजाइनरहरू बताउँछन् ।

नीलम शाही, ओरियन बुटिक, स्टार मल

यसपटकको साउनमा महिलाहरू हरियो रंगको फेसनमा नयाँपन चाहन्छन् । साडी र कुर्ता–सुरुवाल लगाउनेहरू कम भएसँगै त्यसबाहेकका पहिरनमा उनीहरूको चाहना बढेको देखिन्छ । विवाहित तथा कामकाजी महिलाहरू साउनमा अरेन्ज, सुगा रंग, ओलिभ ग्रिन, सी ग्रिन, एल्लो एवं पिच कलरका मोर्डन टच भएका पहिरन लगाउन चाहन्छन् । त्यसैले यसपटकको साउनका लागि लङ कुर्ती र निलेन्थ टाइट सिल्क, साटनका पाइन्ट, ग्रन्च जिन्समा कटनका कुर्तीहरू फेसनमा रहनेछन् । अहिलेका युवतीहरू बोलबम अरेन्ज पनि रुचाउँछन् । सादा फेब्रिकभन्दा फ्लोरल प्रिन्ट, एनिमेसन तथा जिकज्याक फेब्रिकमा ग्रिन टच गरी लगाउन सकिन्छ । अहिलेको पुस्ता फेसनप्रति निकै सचेत छ, एउटा वर्ष लगाएको डिजाइन अर्काे वर्ष लगाउन रुचाउँदैन । साथमा अरु भन्दा फरक देखियोस् भन्ने चाहना बढेकाले पूरै हरियो पहिरन भने यसपटकको फेसनमा हुनेछैन । पूजाआजा गर्ने तथा मन्दिर जाने बेला सिफन वा नेटको प्लेन वा किनारामा गोल्डेन, पिंक, एल्लो बोर्डर भएका साडी राम्रा देखिन्छन् । कन्ट्रास्ट कलरको सेल्फ वर्क भएको नेटको ब्लाउज लगाउँदा लुक्स फरक देखिनुका साथै सजिलो र शीतल पनि हुन्छ ।    

कुसुम बस्नेत, कुसुम बुटिक, लाजिम्पाट

साउन महिनामा हरियो पहिरन लगाउँदा यसको कलर कम्बिनेसनमा ध्यान दिन सके अझ राम्रो हुन्छ । हरियो र गोल्डेन, हरियो र रातो, हरियो र बेबी पिंक, हरियो र पहेंलो, हरियो र अरेन्ज, हरियो  र नीलो आदि रंगको कम्बिनेसनले महिलाहरूको व्यक्तित्व उजागार गर्छ । अझ पहिरनका साथमा म्याचिङ गहना, एसेसरिज, ब्याग एवं जुत्ता भए सुनमा सुगन्ध थपिन्छ । महिलाहरू नर्मल बजेटमा हरियो रंगको कम्बिनेसनमा गोल्डेन, रातो वा पहेंलो रंग मिसाएर साडी डिजाइन गराउन चाहन्छन् । हिजोआज साडीको अनुपातमा कुर्ती तथा टप्सको माग बढी छ । हरियो नेट वा सिफनको साडीमा गोल्डेन बोर्डर, हरियो कटन, नेट, सिफन, ब्रोकेट, टिस्यु, जर्जेट, साटन, सिल्क आदि फेब्रिकमा अनारकल्ली वा लङ कुर्ती तथा सरारा एवं जिन्स पाइन्ट प्रचलित छन् । लेहेंगा र गाउन पनि हरियोमा विभिन्न कलरको कम्बिनेसनका साथ तयार हुँदैछ । अरु बेला जिन्स, टिसर्ट तथा स्कर्टमा आफूलाई सजिलो महसुस गर्ने महिलाहरू पनि साउनमा कुर्ती अनि केही टिपिकल देखिने पहिरन लगाउन चाहन्छन् ।

आकाश श्रेष्ठ, फेसन डिजाइनर, दरबारमार्ग

यो वर्षामा टिनएजरहरूका लागि भिन्टेज लुकवाला सर्ट तथा टिसर्ट उपलब्ध छ । त्यसमा मेसिनले फ्लोरल इम्ब्रोइडरी अनि प्रिन्ट डिजाइन गरिएको छ । त्यसका साथै ट्रिबल प्रिन्टेड सर्ट ड्रेस, जम्प सुट, सर्ट, टिसर्ट, म्याक्सी ड्ेरस, फ्लोपी पाइन्ट, सर्ट स्कर्ट आदि पनि यसपटकको वर्षा फेसनमा छन् । प्राकृतिक हरियाली एवं सुन्दर वर्षामा मानिसहरू पहिरन पनि त्यस्तै लगाउन चाहन्छन् । टप्स, कुर्ती, लेहेंगा, ब्लाउज, साडी, स्कर्ट, वान पिसजस्ता हरेक पहिरन फ्लोरल र भिन्टेज प्रिन्टका छन् । फ्लोरल थ्रेड इम्ब्रोइडरी र कलरफुल ट्रिबल भिन्टेज प्रिन्टले यसपटक बजार लिने देखिन्छ । यतिबेला सिफन, जर्जेट, रेवन तथा कटन फेब्रिकमा ब्राइट एल्लो, ग्रिन र रेड कलर फेसनमा रहनेछन् । साउन महिना भएकाले महिलाहरूका लागि डिजाइनमा बोर्डर, प्रिन्ट, वर्कमा सी ग्रिन, प्यारोट ग्रिन, डार्क ग्रिनको कम्बिनेसन मिलाएर पहिरन तयार पारिएका छन् । बोलबम जानेहरूले अरेन्ज कलरमा लाइट, डार्क तथा प्रिन्टेड मिक्स पहिरन लगाउनेछन् । कटनको सादा पहिरनमा फ्लोरल इम्ब्रोइडरी तथा म्याक्सिकन ट्रिबल प्रिन्ट पनि निकै रुचाइएको छ ।

 Image