फेसनशैलीको प्रभाव अन्य पहिरनमा जस्तै ब्राइडल वेयरमा पनि बढ्दै गएको छ । बजारमा ब्राइडल वेयरमा अनेकौं आकर्षक एवं मनमोहक विविधता उपलब्ध छन्, त्यसमा साडी र लेहेंगा मुख्य हुन् । सुटका साथमा गाउन एवं विवाह उत्सवसँग जोडिएका अलग–अलग अवसरका लागि फरक–फरक भेराइटी छनौट गर्न सकिन्छ ।
वान पिस साडीको चलन
हरेक वर्षजस्तै यो वर्ष पनि साडीमा फरकपन देख्न पाइएको छ । ब्राइडल साडीमा सबैभन्दा ठूलो परिवर्तन भनेको वान पिस साडीको बढ्दो चलन हो । वान पिस साडी अर्थात् त्यस्ता साडी जुन ड्रेप नगरी लगाउन सकिन्छ । छिटो–छरितो, लगाउन सजिलो र आरामदायक पनि भएकाले वान पिस साडीको आकर्षण बढेको जानकारहरूको भनाइ छ । यस्तो साडी जिप अप गरेर सजिलै लगाउन सकिन्छ । विवाहमा यो साडी सहजतापूर्वक प्रयोग गर्न सकिन्छ भने यसमा अलग–अलग प्रयोग पनि गर्न सकिन्छ ।
कलर्स
यसपटक साडीमा नयाँ रंगहरूको रेन्ज अनुभव गर्न पाइँदैछ । अहिले बजारको मागसँगै परम्परागत रंगहरूमै फरक–फरक सेड्स प्रयोग भएको पाइन्छ । डिजाइनहरूका अनुसार यो सिजनका रंगहरूमा हट पिन्क, ओरेन्ज, ट्याङ्गरिङ रेडका साथमा भाइब्रेन्ट कलरसँगै रानी, पिन्क, ओरेन्ज र तिनका साथमा रोयल ब्लुको जोडामा प्योर जर्जेटमा रेशम वर्क, आरी वर्क, जरदोजी, गोटा वर्क गरिएको साडीको माग बढ्दो छ । मेटालिक टोन्समा भने सिल्भर, ग्रे तथा गोल्ड प्रचलित छन् ।
फेब्रिक
साडीमा एउटा फेब्रिकको साटो जर्जेट, सिफन, ब्रासो, सिमर, नेट आदि विविध फेब्रिक प्रयोग भएको पाइन्छ । यसबाट साडीको तौल कम हुन्छ । ट्रेडिसनल सिल्क, चँदेरी, लहरिया, जर्जेट, सिफनबाहेक नेट फेब्रिकको प्रयोग पनि बढ्दो छ ।
वर्क
रंगबाहेक साडीको वर्क र तौलमा पनि परिवर्तन आएको छ । प्राय: ब्राइडल वेयर हेभी वेट र हेभी वर्क हुन्छ तर यसपटक वर्कका साथै साडीको तौल पनि कम होस् भन्ने कुरामा ध्यान पुर्याइएको पाइन्छ । यसबाहेक रेगुलर बोर्डरका साथमा सम्पूर्ण साडीमा वर्क गरिएको पाइन्छ । यसको फाइदा के हुन्छ भने साडीमा गरिएको वर्कलाई केही समयपछि अन्य पहिरनमा समेत प्रयोग गर्न सकिन्छ ।
चोलीमा प्रयोग बढ्दो
नयाँ डिजाइनको माग चोलीमा पनि भएको पाइन्छ । डिजाइनरहरूका अनुसार यसपटक सबैभन्दा बढी स्टाइलिङ चोलीमै भएको छ । त्यसैले साडी र लेहेंगाका साथ जरदोजी, मिरर वर्क, थ्रीडी वर्क गरिएका ब्लाउजको माग बढ्दो छ । पहिले साडी र लेहेंगासित सुहाउँदो फेब्रिकको ब्लाउज लोकप्रिय थियो भने अहिले फेसन स्टेटमेन्ट बदलिएको छ ।
कलर्स
फेसन डिजाइनरहरूका अनुसार यसपटक ब्लाउजमा रंग, साडीमा फेब्रिक, लेहेंगामा कन्ट्रास्ट खोजिँदैछ अर्थात् साडी वा लेहेंगा पहेंलो छ भने ब्लाउज पिन्क, साडी रातो वा हरियो छ भने चोलीको रंग सिल्भर ।
फेब्रिक
साडी नेटको छ भने ब्लाउज साटनको । लेहेंगा जर्जेटको छ भने चोलीको फेब्रिक नेट वा कटनको । यसो गर्दा चोलीमा साडीसित म्याचिङ बोर्डर लगाउनुपर्छ ।
कट्स
चोलीको रंग र फेब्रिकमा मात्र होइन कट्समा पनि पर्याप्त परिवर्तन आएको पाइन्छ । डिजाइनरहरूका अनुसार हिजोआज चोलीमा सबैभन्दा बढी एक्सपेरिमेन्ट गरिँदैछ । अहिले ब्लाउजको स्थानमा डिजाइनर चोलीको माग बढ्दो छ ।
वर्क
चोलीमा प्राय: राजस्थानी स्टाइल मिरर वर्क, गोल्ड वर्क, थ्रेड वर्क, जरदोजी, स्वरोस्की आदि गराइएको पाइन्छ ।
नेकलाइन
सबैभन्दा बढी प्रयोग चोलीको नेकलाइनमा भएको छ । यसमा हल्टरदेखि वन सोल्डर, अफ सोल्डर, बस्टियर, बटरफ्लाई, चाइनिज कोलर सबै प्रकारको नेकलाइन प्रयोग भएका छन् । त्यसबाहेक चोलीमा ब्याक डिटेलिङ पनि विशेष पाइन्छ । यिनमा स्ट्रिङ स्टाइल बोट नेकलाइन, स्लिप स्ट्रिप वा विज्वेल्ड चेन डिजाइन पनि गरिन्छ । चोलीको स्लिभमा पनि प्रयोग हुँदै आएको छ । स्लिभलेस, क्वाटर स्लिभ, फ्लप्ड स्लिभ्स आदि । सी थ्रु ज्याकेट स्टाइल चोली पनि अहिले चल्तीमा छ ।
लेहेंगा पनि चलनचल्तीमा
तुलनात्मक रूपमा ब्राइडल लेहेंगा महँगा छन् । यद्यपि अल्टरनेटिभ ब्राइडल वेयरमा लेहेंगाको प्रयोग बढ्दो छ । यसमा लङ स्टाइल इन छ । त्यसबाहेक घेरादार लेहेंगा, स्ट्रेट कट, फिस कट लेहेंगा पनि यो सिजनमा हिट भएको छ । अहिले सिफनका साथमा सिमर र बनारसीको कम्बिनेसन नयाँ ट्रेन्डका रूपमा विकसित भएको छ भने ब्रोकेड र सिफनको कम्बिनेसन पनि चलनचल्तीमा छ । बनारसी, कांजीवरम वा सिल्क आदि फेब्रिकमा ब्राइडल लेहेंगा तयार पार्ने चलन पनि उत्तिकै छ । अहिले अनारकलीदेखि मस्तानी स्टाइलको चलन बढेको देख्न सकिन्छ ।
कलर्स
लेहेंगाका सम्बन्धमा व्यक्तिको रंगसम्बन्धी टेस्टसमेत बदलिएको पाइन्छ । अहिले टरक्वाइज ब्लु, कोरल ब्लु, क्रिम, पर्पल, बेबी पिन्कजस्ता असामान्य रंगको प्रयोग बढेको पाइन्छ । वेस्टर्न गाउनका रंगमा पनि लेहेंगा तयार पार्ने चलन बढ्दो छ । यसमा ब्लड रेड, मरुन तथा ग्रे सेड्सको प्रयोग पनि उत्तिकै पाइन्छ ।
वर्क
लेहेंगामा पनि साडीमा जस्तै जरदोजी र गोल्ड वर्क यो सिजनको विशेषता हो । यसबाहेक सिल्भर तथा स्टोन वर्कका साथै स्वरोस्कीको प्रयोग पनि बढ्दो छ । कम्मरमा करधनी स्टाइल वा लेयर्समा टेम्पल प्याटर्न वा लाइनिङमा सिमर, फरक–फरक स्टाइलसहितको लेहेंगा यो सिजनको विशेषता हो । अहिले बोर्डरमा पनि विशेष ध्यान दिन थालिएको छ । बोर्डरमा जरदोजीका साथै कुन्दन र पर्ल वर्कको माग बढ्दो छ । लेहेंगाका हरेक लेयरमा जरकिनको डिजाइनबाट टेम्पल लुक क्रिएट गरिएको शैली पनि लोकप्रिय छ । करधनी प्याटर्न निकै रुचाइएको पाइन्छ । यसमा कुन्दन तथा स्टोन वर्क विशेष छन् ।