फेशनमा विश्वबजारको तुलनामा हामी पछाडि
पछिल्लो आधा दशकमा फेसनप्रति मानवीय सोच बदलिइरहेको छ । महिलाहरू घरभित्र सीमित मात्रै नभएर व्यावसायिक हुँदै गइरहेकाले टिपटप भएर हिँड्नैपर्ने हुन्छ ।
अहिले व्यक्तित्व पहिरनसँग गाभिन थालेको छ । त्यसैले पनि पुरानो भनाइ ‘खाने आफ्ना लागि लगाउने अरूका लागि’ थप सान्दर्भिक हुँदैछ । जाडोका लागि बजारमा विभिन्न डिजाइनका पहिरन तथा एसेसरिज उपलब्ध हुन थालेका छन् । जसमध्ये कुन परिहन वा कुन लुक्समा आफू स्मार्ट देखिन सकिन्छ थाहा पाउनुपर्छ । यसपटक विन्टरका लागि लामो वुलन स्कर्ट, कोट स्टाइलको टप्स, स्टाइलिस्ट नेक भएको लामा कुर्ता, वुलन पाइन्ट, लेदर पाइन्ट तथा ज्याकेट, लियोनार्दाे प्रिन्ट ज्याकेट तथा लंग कोटहरू विशेष रुचाइएका छन् ।

अफिसियल वर्कका लागि निलेन्थ वुलन स्कर्ट, स्टकिङ, लंग बुट, लंग कोट तथा स्कार्फ पनि फेसनमा छन् । कुर्ता लगाउनेहरूका लागि वुलन, भेल्भेट तथा फूलकारीका लामा कुर्ताहरू फेसनमा छन् जुन पाइन्ट स्टाइलको वुलन सुरुवालसँग लगाउँदा न्यानो हुनुका साथै स्टाइलिस्ट समेत देखिन्छ । यो समयमा विवाह तथा पार्टी आदि पनि हुने भएकाले साडी धेरैको रोजाइमा पर्छ । साडीसँग सल, स्वेटर तथा कोट लगाउँदा अप्ठ्यारो हुनसक्छ । त्यसैले साडीको माथिबाट इम्ब्रोइडरी गरिएको भेल्भेटको, फूलकारी फेब्रिकको ज्याकेट स्टाइलको ब्लाउज एवं डिजाइनर वर्क गरिएको पंचु पनि राम्रै देखिन्छ । त्यसैगरी भित्री भुवा भएको टाइट जिन्स, टाइट स्वेटरमा लेदर, फेदर, वुलन तथा भेल्भेटको लंग स्टाइलिस्ट कोट एवं ज्याकेटमा लंग कलरफुल बुट लगाउन सकिन्छ ।
फेब्रिक
१. वुलन (प्लेन तथा फ्लावर प्रिन्ट)
२. भेल्भेट
३. ब्रोकेट
४. फूलकारी
५. लाइक्रा
६. रसिल्क
७. पस्मिना
८. अल्लो
९. ढाका
१०. लिनेन
कलर
विन्टरका लागि सकभर डार्क सेडकै पहिरन छनौट गर्नुपर्छ जसले न्यानो महसुस गराउँछ । यो समयमा पनि कलरफूल पहिरन लगाई आकर्षक देखिन सकिन्छ ।
१. कालो
२. रातो
३. ग्रे
४. ब्राउन
५. डार्क ब्लु
६. क्ले ब्राउन
७. डस्की सेडर
८. डार्क ग्रिन
९. एरी ब्लु
१०. ब्राइट रिच पर्पल
सेलिब्रेटी विन्टर मन्त्र

प्रियंका कार्की, नायिका
गर्मी मौसममा स्वतन्त्र तरिकाले चाहेजस्तो पहिरनमा हिँड्न सकिने हुँदा मलाई गर्मी मौसम मन पर्छ । मन नपरे पनि विन्टर त आइ नै हाल्छ त्यसैले यो मौसममा आफू कसरी न्यानो हुने र त्यत्तिकै स्टाइलिस्ट अनि न्यू लुक पनि आओस् भन्ने लाग्छ । यसपटकको विन्टरमा लंग बुट, लेदरका पाइन्ट, स्कर्ट, ज्याकेट, कोट, वुलन सर्ट स्कर्टमा स्टकिङ, वुलन कोट, पंचु, कलरफूल मफलर, पञ्जा, टोपी तथा निक्याप आदि प्रयोग गर्ने तयारीमा छु ।
मलाई बजारमा धेरै पाइने पहिरन मन पर्दैनन् । त्यसैले म डिजाइनरकहाँ गएर विन्टर ड्रेसहरू बनाउँछु । बाक्लोभन्दा पनि न्याना फेब्रिकका पहिरन लगाउँदा आफूलाई सहज हुन्छ र स्लिम देखिन पनि मद्दत मिल्छ । फेसन ट्रेन्डको पछि लाग्नुभन्दा आफ्नो फेसन आफैं बनाउनुपर्छ ।