Successfully Copied

गहनाको हेरचाह

महिलाहरू विभिन्न कार्यक्रम तथा उत्सवहरूमा गहनाका साथ सहभागी हुन रुचाउँछन् ।

महिलाहरूको गहनाप्रतिको मोहलाई शब्दमा वर्णन गर्न सकिँदैन । महिलाहरू विभिन्न कार्यक्रम तथा उत्सवहरूमा गहनाका साथ सहभागी हुन रुचाउँछन् । आफूसँग भएको बचतलाई महिलाहरू गहना खरिदमा खर्च गर्छन् । महिलालाई  गहना निकै सुहाउँछ पनि । गहना लगाएपछि त्यसको हेरचाहमा पनि उत्तिकै ध्यान पुर्‍याउनु आवश्यक हुन्छ । जतन गरेर राखिएन भने गहनाको चमक तथा सुन्दरतामा ह्रास आउँछ । 

कुन्दनका गहना 

कुन्दनका गहनालाई धातुको बट्टामा राख्नु हुँदैन । यसले गहनालाई नोक्सान पुर्‍याउँछ । कुन्दनका गहनालाई मलमल तथा एल्मुनियम फाइलमा बेरेर राख्दा सुरक्षित रहन्छ । 

मोतीका गहना 

मोतीका गहनालाई बाँडाहरूले रातो तथा गुलाबी कागजमा बेरेर राख्छन् तर घरमा यसरी राख्ने गल्ती गर्नु हुँदैन । किनभने पसिना तथा पानीले मोतीको रंग परिवर्तन गर्छ । 

जडाउ गहना 

जडाउ गहना हेभी हुन्छन् । यस्ता गहनालाई धातुको बट्टामा राख्नुपर्छ । सावधानीपूर्वक राखिएन भने  जडाउ गहना टुट्न सक्छन् । 

सुनका गहना

सुनका गहनालाई मोडेर राख्नु हुँदैन । यसरी राख्दा गहना कमजोर हुन्छन् । सुनका गहनालाई लकरमा कुनै नरम कपडाले बेरेर राख्नुपर्छ । कमजोर गहनालाई कपासमा बेरेर राख्न सकिन्छ । 

नक्कली गहना 

नक्कली गहनालाई कागज वा प्लास्टिकको बट्टामा राख्न सकिन्छ । सक्कली र नक्कली गहना एकसाथ राख्नु हुँदैन । 

गोल्ड प्लेटेड गहना 

गोल्ड प्लेटेड गहनालाई हावा, पानी, चिसो तथा गर्मीबाट जोगाउनुपर्छ । प्रयोगपछि यस्ता गहनालाई सुतीका कपडाले बेरेर राख्नुपर्छ । 

मोतीका गहनाको हेरचाह 

मोतीका गहनालाई सदैव ज्वेलरी बक्समा राख्नुपर्छ । त्यसलाई खुल्ला राख्नुहँुदैन । 

मोतीका गहनालाई बट्टामा दबाएर राख्नु हँुदैन । त्यसो गर्दा मोती बिग्रन सक्छ । 

एउटा ज्वेलरी बक्समा केवल एउटै मोतीको गहना राख्नुपर्छ । एकभन्दा बढी गहना राख्दा मोती अल्झने डर हुन्छ ।

मोतीका गहनामा झुक्किएर पनि परफ्युम पार्नु हुँदैन । परफ्युमले मोतीको चमक कम गर्छ । 

मोतीका गहनालाई सीधै बक्समा राख्नुहँुदैन । त्यसलाई नरम कपडामा बेरेर राख्नुपर्छ । 

सुत्दा तथा नुहाउँदा मोतीका गहना फुकाल्नुपर्छ किनभने पानी तथा पसिनाले मोतीको रंग फिक्का बनाउँछ । 

मोतीसम्बन्धी विशेष जानकारी 

रोयल लुक दिन सेतो पहिरनमा सिंगल मोतीको माला लगाउनुपर्छ । 

बजारमा कलरफूल मोतीका गहना पनि उपलब्ध छन्, त्यसलाई पारम्परिक पहिरनसँग पेयर गर्न सकिन्छ । सुन तथा मोतीका गहनाको कम्बिनेसन निकै राम्रो देखिन्छ । यसलाई पारम्परिक पहिरनमा प्रयोग गर्न सकिन्छ । हेभी लुकका लागि हीरा र मोती मिसाएर तयार पारिएका गहना लगाउनुपर्छ । 

मोतीको झुम्का 

बजारमा मोतीले बनेका ह्याङगिङ इयररिङ, टप्स, झुम्का, बाली आदि धेरै प्रकारका इयररिंग्स खरिद गर्न सकिन्छ । परफेक्ट लुकका लागि आफ्नो आउटफिटअनुसार यसको छनोट गर्नुपर्छ । 

बैंगल्स 

हेभीदेखि सिंगल मोतीको माला भएको बैंगल्स निकै प्रचलित छ । यो निकै राम्रो देखिन्छ । यसलाई पारम्परिक पहिरनसँग लगाउन सकिन्छ । यसलाई वेस्टर्न वेयरसँग पनि पेयर गर्न सकिन्छ । 

नेकपिस 

सिंगल वा डबल, लामा वा साना थुप्रै नेकपिस बजारमा उपलब्ध हुन्छन् । यिनलाई खरिद गर्दा आफ्नो व्यक्तित्व एवं परिधानमा ध्यान पुर्‍याउनुपर्छ । 

औंठी

हातको सुन्दरता बढाउन मोतीको औंठी लगाउन सकिन्छ । वेस्टर्न आउटफिटका साथ सिंगल मोतीको र्औंठी तथा पारम्परिक आउटफिटका साथ हेभी वर्क गरिएको औंठी लगाउनु उपयुक्त हुन्छ । 

 Image