Successfully Copied

वेस्टर्न आउटफिटसँग पारम्परिक गहना

नेपाल विविधताले भरिएको देश हो ।

नेपाल विविधताले भरिएको देश हो । यहाँ अलग–अलग परिधान अलग–अलग अवसरमा लगाउने परम्परा छ । पहिले पुरुषहरू धोती–कुर्ता वा दौरा–सुरुवाल लगाउँथे भने महिलाहरू साडी तथा चोलो लगाउँथे । समयसँगै नेपाली महिला तथा पुरुष आधुनिक परिधान तथा फेसनप्रति आकर्षित हुँदै गएका छन् । मानिसहरूले आधुनिकतालाई स्वीकार गरे पनि परम्परागत शैली भने छाडिसकेका छैनन् । त्यसैले अहिले पश्चिमेली पोशाकका साथमा पारम्परिक गहना लगाउने चलन पनि बढिरहेको छ । 

अहिले स्टेटमेन्ट गहनाको चलन बढिरहेको छ । आफूसँग परम्परागत गहना छन् भने तिनलाई नयाँ पहिरनका साथ लगाउँदा सौन्दर्यमा निखार आउँछ । हिजोआजको व्यस्त दिनचर्यामा सोर्‍ह शृंगार गरिबस्ने फुर्सद कमैमा छ तसर्थ विभिन्न अवसरमा शिरबन्दी, नत्थी, रानीहार, हथफूल आदि गहना लगाएर सुन्दर देखिन सकिन्छ । परिधान तथा गहना यस्तो हुनुपर्छ जसलाई देश–विदेशमा पनि लगाउन सकियोस् । कालो टिसर्टका साथमा शिरबन्दी, हार वा हथफूलमध्ये कुनै एउटा गहना लगाउँदा सौन्दर्यमा वृद्धि हुन्छ । पारम्परिक गहनालाई हिफाजत गरेर राख्नुपर्छ किनभने त्यसको कलाकारिता अमूल्य र युनिक हुन्छ । यस्ता गहना लगाएर भीडमा पनि पृथक् पहिचान बनाउन सकिन्छ । 

शिरबन्दी 

हिजोआज शिरबन्दी फेरि चलनमा आएको छ । यसलाई सलवार, कमिज, साडी, गाउन वा स्कर्टका साथ लगाउन सकिन्छ । 

झुम्का 

मोतीको झुम्का वेस्टर्न आउटफिटका साथ विशेष खुल्छ । 

क्लिप

हेयर स्टाइललाई ग्ल्यामरस लुक दिन क्लिप लगाउने चलन निकै छ । यसलाई वेस्टर्न पोशाकका साथ लगाउन सकिन्छ । 

हार 

स्कर्ट, जिन्स, टिसर्ट, प्लाजो तथा फ्रकका साथमा लामो चेनयुक्त नेकपिस आकर्षक देखिन्छ । 

नत्थी

ज्वेलरी डिजाइनरहरूका अनुसार नत्थी राजामहाराजाको समयदेखि चलेको गहना हो । नत्थी लगाउँदा महिलाहरू निकै सुन्दर देखिन्छन् । गाउन, लङ स्कर्ट, जिन्स तथा टिसर्टका साथमा लगाउन सकिने नत्थीले व्यक्तित्वमा निखार ल्याउँछ । मोतीजडित नत्थी वेस्टर्न आउटफिटका साथ निकै राम्रो देखिन्छ । 

कल्ली

बजारमा सुन तथा चाँदी दुवै किसिमका कल्ली पाइन्छन् । यसलाई स्कर्ट, फ्रक आदिका साथ लगाउन सकिन्छ । हिजोआज कल्ली लगाउने चलन निकै बढेको छ । यसलाई वेस्टर्न आउटफिटका साथ पेयर गर्न सकिन्छ । 

 Image