घुमफिर गर्न मन पराउनेहरूका लागि साथीको साथ पनि छ भने घुमफिरको आनन्द विशेष हुन्छ । जब घुमफिरको प्रश्न उठ्छ तब फुटवेयर्सको कुरा उठ्नु स्वाभाविक हो । बाहिर कतै घुम्न जाँदा कस्तो र कुन शैलीको जुत्ता वा चप्पल लगाउने ? कुन पहिरनसित कस्तो खालको जुत्ता सुहाउँछ ? आदि प्रश्न मनमा उठे पनि कुनै शंका गर्नुपर्दैन । कारण यो प्रश्नको उत्तर बजारमा उपलब्ध अलग–अलग ब्रान्डका फुटवेयर हेरेर आफैं प्राप्त गर्न सकिन्छ । यी ब्रान्डमा अनेकौं रंग तथा स्टाइलका जुत्ता, चप्पल वा स्यान्डल आदि उपलब्ध छन् ।
अनेकौं ब्रान्डसँगै यिनमा बेलरिना, ग्लेडिएटर्स, पम्प सुज, स्टिलिटो, स्यान्डल्स, स्लिपर्स, ब्लेडोस, प्लेटफर्म, फ्लिप फ्लप्स, वेजेज, स्निकर्स, स्पोर्ट सुज, ब्लक हिल्स, प्वाइन्टेड विटन, पेन्सिल हिल्स, फ्लोटर्स आदि थुपै्र विकल्प र भेराइटीको विकल्प उपलब्ध छ भने टेन्सनको प्रश्नै हुँदैन ।
भेराइटी अनेकौं
बेलरिना वा ब्याले सुज एक प्रकारको फ्ल्याट सुज हो । जुन कालो, रातो, गुलाबी, हरियो, नीलो आदि विविध रंगमा उपलब्ध हुन्छ । यो जुत्ता ब्याले डान्समा धेरै अघिदेखि प्रयोग हुँदै आएको छ । सम्भवत: त्यसैले यसको नाम बेलेरिना भएको हुनसक्छ । आजभोलि बेलेरिना सुज अलग–अलग हिलमा पनि पाइन्छ । यो शैली फ्ल्याट र दुईदेखि चार इन्चसम्मको हिलमा अलग–अलग डिजाइन तथा रंगको कम्बिनेसनमा खरिद गर्न सकिन्छ । फ्ल्याट सुजलाई स्किन फिट जिन्स, थ्री फोर्थ एवं क्याजुअल वेयर्सका साथमा लगाउन सकिन्छ । आफ्नो जुत्ता लेदर वा फर्मल छ भने फर्मल ड्रेस नै सुहाउँदो हुन्छ ।
ग्लेडिएटर्स यस्तो जुत्ता हो जसले पैतालाका साथै खुट्टाको पछाडिको भागलाई पनि सपोर्ट गर्छ । यसको पछाडितर्फ दुईवटा लेस हुन्छन् जसलाई घुँडासम्म बाँध्न सकिन्छ । केही जुत्तामा भने पट्टा पनि राखिएको पाइन्छ जुन एंकलदेखि घुँडासम्मको लम्बाइमा पाइन्छ । ग्लेडिएटर्सलाई अलग–अलग पहिरनका साथ लगाउन सकिन्छ । मिनी ड्रेस वा हट पाइन्ट छ भने घुँडासम्म लामो लेसयुक्त वा स्टेन्सयुक्त ग्लेडिएटर्स राम्रो देखिन्छ । ड्रेस खुट्टासम्म वा थ्री फोर्थ लम्बाइको छ भने कम लम्बाइको लेस वा पट्टा भएको ग्लेडिएडर्स लगाउनुपर्छ । लेस बाँध्दा खुट्टा पछाडिबाट क्रस गरी अगाडि ल्याएर गाँठो बाँध्दा स्टाइलिस देखिन्छ ।
पम्प सुज, ब्लेडोस वा टिलिटोको प्याटर्न आपसमा केही मिल्दोजुल्दो हुन्छ । पम्प सुज प्राय: फ्ल्याट हुन्छ तर अलग–अलग हिल्समा पनि पाइन्छ । यो रातो, सेतो तथा पहेंलो रंगमा उपलब्ध छ । हिलयुक्त वा फ्ल्याट कुनै पनि प्रकारको सुज जिन्स वा डेनिम स्कर्टमा अत्यन्त सुहाउँछ ।
स्लिपर्स आजभोलि घरमा मात्र नभई युवाहरूको क्याजुअल मुडलाई पनि सुहाउँदो मानिन्छ । अहिले स्यान्डल्स र फ्लोटर्स पनि क्याजुअल वेयरकै रूपमा विकसित भएका छन् । अन्य फुटवेयरको तुलनामा यिनको प्रयोग बढ्दो छ । जुत्ता प्राय: वेस्टर्न आउटफिटमा बढी सुहाउँछ । यिनमा पनि एंकल लेन्थदेखि निलेन्थसम्मको प्याटर्न उपलब्ध छ । यिनमा कमन प्याटर्नमा बुट्स, फ्लोटर्स, स्यान्डल्स, स्लिपर्स, स्निकर्स आदि अब कमन सुज बन्न पुगेका छन् । अब त पुरुषका लागि पनि जुत्ताका अनेकौं भेराइटी उपलब्ध हुन थालेका छन् । ट्रेन्डी फुटवेयरको संसारमा महिलाहरूजस्तै पुरुषहरू पनि फेसनेबल हुन थालेका छन् । उनीहरू हन्टर, स्निकर्स, स्लिपर्स आदि अनेकौं रंग एवं डिजाइनका बुट, चप्पल तथा फ्लोटर्स लगाउन थालेका छन् ।
–रोजिन शाक्य