थाईल्यान्डको राजधानी बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट्स’ मा नेपाली युवायुवतीलाई विभिन्न विधामा सफलता प्राप्त भएको छ ।
प्रशंसा बुढाथोकीले ‘हेरिटेज जेम्स युनिभर्स’को ताज पहिरिइन् भने वसन्त लामिछानेले ‘मिष्टर हेरिटेज युनिभर्स’को उपाधि उचाले । मनिशा राजवंशीले ‘हेरिटेज पेटाइट युनिभर्स’ र सुष्मिता श्रेष्ठले ‘एमएस हेरिटेज इन्टरनेसनल’ विजेताको ताज पहिरिइन् । प्रतियोगिताको मिसतर्फ सहभागी एलिसा ‘लो टुरिजम एम्बेसडर’का रुपमा चयन भइन् भने उनलाई ‘मिस बेस्ट स्माइल’ र ‘मिस फोटोजेनिक अवार्ड’ पनि प्राप्त भएको थियो । शिशिर लामिछानेलाई ‘ग्राण्ड हेरिटेज रनवे’का लागि एम्बेसडर घोषणा गरिएको थियो ।
सहभागीहरु नेसनल डाइरेक्टर प्रमिला सिलवाल तथा इभेन्ट निर्देशक रमेश शाहीको नेतृत्वमा थाइल्यान्ड पुगेका थिए । सहभागिहरुको पहिरन फेसन डिजाइनर समीक्षा लामिछानेले तयार पारेकी हुन् ।
मिसेस हेरिटेजको ताज विभालाई
अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट्स’ को सातौं संस्करण थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको छ । फाइनल प्रतिस्पर्धामा मिसेसतर्फ विभा बस्नेत ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरिन सफल भइन् ।
मिसतर्फ फिलिपिन्स फस्ट रनर अप, भारत सेकेन्ड रनर अप, लाट्भिया थर्ड रनर अप र सर्विया फोर्थ रनर अप विजेता चयन भए । मिसेसतर्फ म्यानमार फस्ट रनर अप, युके सेकेन्ड रनर अप, जापान थर्ड रनर अप तथा पेरु फोर्थ रनर विजेता छानिएका थिए ।
मिस मेक्सिकोलाई पिस एम्बेसडर, मिसेस न्युजिल्याण्डलाई इन्भाइरोमेन्ट एम्बेसडर, मिस मंगोलियालाई कल्चुरल एम्बेसडर, मिसतर्फकी नेपालकी एलिशा लोलाई टुरिजम एम्बेसडर तथा मिसेस्तर्फकी विभा बस्नेतलाई हेरिटेज एम्बेसडरका रुपमा छनोट गरिएको थियो । प्रतियोगितामा नेपाल, भारत, थाइल्यान्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्यान्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या, मलेशियाका सहभागीको उपस्थिति थियो ।