Successfully Copied

रनवेमा पश्मिना शोको आकर्षण

युरोपेली संघ–नेपाल व्यापार तथा लगानी कार्यक्रमको समापन समारोहमा ‘पश्मिना फेसन शोकेस’ सम्पन्न भयो ।


युरोपेली संघ–नेपाल व्यापार तथा लगानी कार्यक्रमको समापन समारोहमा ‘पश्मिना फेसन शोकेस’ सम्पन्न भयो । होटल याक एन्ड यतीमा भएको समारोहले हस्तकला र सौन्दर्यलाई स्मरणीय ढंगमा उजागर गर्‍यो । यो शोकेस नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसीएफटी) र नेपाल पश्मिना उद्योग संघबीचको सहकार्यमा प्रस्तुत गरिएको थियो, जसले नेपाली पश्मिनाको सुन्दरतालाई र्‍याम्पमा जीवन्त बनायो ।
फेसन शोमा चार पुरुष र १२ महिला गरी १६ मोडलले पश्मिनाका उत्कृष्ट डिजाइन प्रस्तुत गरे । एनसीएफटीको १९औं ब्याचका स्नातक तहका विद्यार्थी प्रशा जोशी र अनुज नगरकोटीले स्टाइलिङ र मोडल समन्वयको जिम्मेवारी सम्हालेका थिए । सञ्चारकर्मी तथा अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यले शोको निर्देशन गरेका थिए ।


फेसन शो चार राउन्डमा विभाजित गरिएको थियो, जसमा पश्मिनाको बहुमुखी प्रयोगलाई लाउन्ज वियर, स्मार्ट क्याजुअल वियर र ग्ल्याम वियरका रूपमा प्रस्तुत गरियो । अन्तिम राउन्ड पश्मिना निर्माण गर्ने सिपालु कामदारको सम्मानमा समर्पित गरिएको थियो । पश्मिनाका वास्तविक नायकका रूपमा ती कुशल कामदार आफैं र्‍याम्पमा प्रस्तुत भएका थिए ।
शोमा केपीए पश्मिना, प्लस क्याश्मेर, क्याश्मेर वर्ल्ड नेपाल, गायत्री पश्मिना, माउन्ट मनास्लु पश्मिना र अल्पाइन पश्मिनाले आफ्ना उत्पादन प्रस्तुत गरेका थिए । युरोपेली संघको सहयोग र अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा जर्मन कोर्पोरेसन फर इन्टरनेसनल कोअपरेसनद्वारा कार्यान्वयन गरिएको यो कार्यक्रमले नेपाली कपडा र हस्तकलालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै स्थानीय प्रतिभा र सीपको महत्वपूर्ण योगदानलाई सम्मान दियो ।

 Image