Successfully Copied

भर्चुअल पाककलामा सेलिब्रेटी

‘सबैले आफ्नो भान्सामा प्रयोग हुने मरमसला एवं सामग्रीबाट सजिलैसँग पकाउन सकून् भन्ने मेरो ध्येय हो ।’

हाई गाइज, फेरि पनि स्वागत छ चप–चप डाइरिजमा । आज हामी बनाउँदैछौं धेरै सजिलो, स्वादिलो परिकार । जुन तपाईं स्न्याक्सका रूपमा पनि खान सक्नुहुन्छ ।

अभिनेतृ प्रियंका कार्की आजभोलि यसरी नै आफ्नो युट्युब च्यानलमा प्रस्तुत हुन्छिन् । यसमा उनी एक भान्सेका रूपमा प्रस्तुत हुन्छिन् । थरीथरीका परिकार बनाउने विधि सिकाउँछिन् ।

पछिल्लो समयकी चर्चित अभिनेतृ हुन्, प्रियंका । तर, कोरोना महामारीसँगै फिल्म क्षेत्रको गतिविधि ठप्प भएपछि ‘प्रियंका कार्की’ नामबाट युट्युबमार्फत सार्वजनिक भइन् । आफ्नो पाककलाको सीप अरूलाई बाँड्न थालिन् ।

उनको भान्सामा ती सबै कुरा उपलब्ध छन्, जसले मीठो–मसिनो परिकार बनाउन सकिन्छ । भान्सामा उनलाई श्रीमान् आयुष्मान् देशराज जोशीले पनि बेलाबखत सघाउँछन् । दुवैको रमाइलो संवाद एवं अभिनय पनि देख्न पाइन्छ । त्यसभन्दा पनि विशेष, उनीहरूको हातबाट पाक्ने स्वादिलो परिकार बनाउन सिकिन्छ ।

प्रियंकाले सरल र सहज रूपमा परिकार बनाउने विधि सिकाइरहेकी हुन्छिन् । कहिले उनी चिकेन करी बनाउने विधि सिकाउँछिन् त कहिले सोया किमा करी । कहिले पिज्जा बनाउन सिकाउँछिन् त कहिले केक । धेरैजसो उनको हातबाट कन्टिनेन्टल परिकार बन्छ । प्रियंकाले तयार गरेको पकवान चाख्न सेलिब्रेटी पाहुना पनि निम्तो गर्छिन् । कहिले उनको भान्सामा केकी अधिकारी पुग्छिन् त, कहिले ऋचा शर्मा ।

ऋचा पनि भान्साको काममा रमाउने सेलिब्रेटीमा पर्छिन् । आफ्नो युट्युब च्यालन ‘ऋचा शर्मा’ मार्फत नयाँ–नयाँ परिकार बनाउने विधिसहित उनी पनि हाजिर हुन्छिन् । यसमा खास कुरा चाहिँ के छ भने, ऋचाले आफ्नो हातबाट त्यस्तो परिकार बनाउँछिन् जसमा नेपाली जिब्रो रसाउँछ । नेपाली मौलिक परिकार राइता, चरा साँधेको, पानरोटी आदि उनको हातबाट पाक्छन् ।

त्यति मात्र होइन, सामान्य लाग्ने र धेरैजसो नेपालीको भान्सामा पाक्ने कालो दाल र भुटेको भातलाई पनि उनले आफ्नै ढंगले तयार गर्छिन् । ऋचाको अर्को विशेषता के भने, भिडियोमा उनी त्यति धेरै तडकभडक देखाउँदिनन् । सकेसम्म नेपालीमा बोल्छिन् र नेपाली परिकार नै बनाउँछिन् ।

उनले भिडियोमा भनेकी छन्, ‘सबैले आफ्नो भान्सामा प्रयोग हुने मरमसला एवं सामग्रीबाट सजिलैसँग पकाउन सकून् भन्ने मेरो ध्येय हो ।’ त्यसपछि उनी सिलसिलाबद्ध परिकार बनाउन चाहिने सामग्री र त्यसलाई बनाउने विधि सिकाउँछिन् ।

आफ्नो जमानाकी चर्चित अभिनेतृ हुन्, करिष्मा मानन्धर । १६ वर्षको उमेरदेखि नै नेपाली फिल्ममा प्रवेश गरेकी उनी पछिल्लो समय भने राजनीतिमा पनि लागिन् । यतिबेला करिष्माले फिल्म खेलेकी छैनन् । तर, उनलाई पनि उनकै युट्युब च्यानल ‘करिष्मा मानन्धर’ मा देख्न सकिन्छ । उनी थरीथरीका परिकार बनाएर यसमा देखाउँछिन् ।

करिष्माले पनि सजिलो र सहजै उपलब्ध हुने सामग्रीबाट परिकार बनाउँछिन् । कहिले उनी हजुरआमाले पकाउने शैलीको अनुशरण गर्छिन् त कहिले जो कोहीको भान्सामा उपलब्ध हुने सरसामानबाट परिकार बनाउँछिन् ।

यससँगै उनले आफ्नो खानपान शैलीबारे पनि चर्चा गरिरहेकी हुन्छिन् । उक्त च्यानलमा कहिले पूजाआजा गरेको त कहिले मेकअप गरेको, कहिले घुमफिर गरेको त कहिले यत्तिकै रमाइलो गरेको पनि सार्वजनिक गर्छिन् ।

करिष्माकै समकालीन अभिनेतृ हुन्, विपना थापा । फिल्ममा छाइरहेका बेला उनी विवाहपछि फिल्मबाट ओझेल भइन् । अहिले उनी युट्युबमा झुल्किएकी छन् । उनको च्यालन हो, विपना थापा अफिसियल ।

‘यो हो मेरो भान्साघर’ भन्दै हाजिर हुने विपनाले सजिलो पाककला सिकाउँछिन् । यसमा बेलाबेला उनका छोरा र पाहुना समेत सामेल हुन्छन् । उनी कहिले आफ्नै हातले बारीबाट टिपेर ल्याएको तरकारी बनाएर पकाउँछिन् त कहिले आगन्तुकसँग भान्सा साझेदार गर्छिन् । विपना च्यानलमा सामान्य रूपमा प्रस्तुत भई रमाइलो कुराकानी गर्छिन् । सजिलो परिकार पकाएर देखाउँछिन् । साथसाथै आफूले जानेको, बुझेको कुरा पनि सेयर गर्छिन् ।

खासगरी कोरोना कालमा लकडाउन भएपछि नेपाली सेलिब्रेटीहरू भान्सामा छिरेका हुन् । फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले आ–आफ्नो युट्युब च्यानलमा मनोरञ्जनसँगै पाककला सिकाउँदै आएका छन् । हुन त यतिबेला धेरै सेलिब्रेटी रेस्टुरा व्यवसायमा पनि लागेका छन् । अभिनेतृ श्वेता खड्कादेखि वर्षा राउतसम्मले रेस्टुरा सञ्चालन गरिरहेका छन् ।

 Image