Successfully Copied

सिर्जनशील जोडी

फेसन डिजाइनर विश्व गौतमको वैवाहिक जीवनले एक दशकको यात्रा तय गरिसकेको छ । अनिता गौतमसँगको लामो सहयात्रामा उनीहरूले केही दु:ख, केही सुख र थुप्रै रोमाञ्चक क्षण संगाल्ने अवसर प्राप्त गरेका छन् र यो सिलसिला जारी छ ।

फेसन डिजाइनर विश्व गौतमको वैवाहिक जीवनले एक दशकको यात्रा तय गरिसकेको छ । अनिता गौतमसँगको लामो सहयात्रामा उनीहरूले केही दु:ख, केही सुख र थुप्रै रोमाञ्चक क्षण संगाल्ने अवसर प्राप्त गरेका छन् र यो सिलसिला जारी छ । प्लस टु सिध्याएसँगै विवाह गरेका उनीहरूले आ–आफ्नो करियर निर्माणमा एक–अर्काको भरपूर साथ पाए । 

दुवैको जन्मथलो चितवन । त्यहीँबाट उनीहरूले प्लस टु गरे । यतिबेलासम्म विश्व र अनिताबीच प्रेम झाँगिइसकेको थियो । अन्तत: तीन वर्षे प्रेम सम्बन्ध विवाहमा रूपान्तरण भयो । विवाहपछि दुवै जना उच्च शिक्षाका लागि काठमाडौं आए । त्यहीँबाट उनीहरूका संघर्षका दिन सुरु भए । 

‘यहाँ अनिता कम्प्युटर शिक्षकका रूपमा काम गर्न थालिन्’ विश्वले सम्झिए–‘म चाहिँ फेसन डिजाइनिङ सिक्न ।’ विश्वले नमुना कलेज अफ फेसन टेक्नोलोजीबाट स्नातक गर्ने क्रममा घर–व्यवहार सम्हाल्ने जिम्मेवारी अनिताले लिइन् । फेसन डिजाइनिङको कोर्स पूरा गरी विश्व टेक्सटायल कम्पनीमा काम गर्न थाले । त्यसपछि घरायसी खर्चमा अनिताको भार घट्यो । 

‘त्यसपछि मैले कम्प्युटर सिकाउन छाडें’ अनिता विगतमा फर्किइन्–‘फेरि अध्ययनलाई निरन्तरता दिएँ ।’ व्यवस्थापनमा स्नातक सकियो । विश्वको हातमा सीप थियो, अनितामा व्यवस्थापकीय ज्ञान । अब दुवै मिलेर छुट्टै कम्पनी सुरु गरे–विश्वाज क्रिएसन । 

फेसन डिजाइनिङसम्बन्धी यो कम्पनी उनीहरूले ५ वटा मेसिनबाट सुरु गरेका थिए । अहिले त्यो संख्या ५ सय पुगेको छ । विश्वका आधा दर्जन मुलुकमा विश्वाज क्रिएसनका पहिरन निर्यात हुन्छन् । यही धरातलमा टेकेर विश्वले फेसनवृत्तमा एउटा उचाइ तय गरे । 

गौतम दम्पती बस्ने फ्ल्याट नजिकै विश्वाज क्रिएसनको कार्यालय छ । त्यहीँबाट उनीहरू नयाँ–नयाँ डिजाइन तयार गरेर देश–विदेश पुर्‍याइरहेका छन् । बिहान ब्रेकफास्टपछि दुवै कार्यालय पुग्छन् । अनिता व्यवस्थापनमा खटिन्छिन्, विश्व डिजाइनमा । ‘विजनेसदेखि प्राइभेट लाइफसम्ममा हामी साथी हौं’ विश्व भन्छन् ।

निजी जीवनमा भने उनीहरूबीच केही असमानता छ । खानपान एवं आनीबानीमा त्यस्तो एकरूपता छैन । विश्व सन्तुलित जीवनशैली रुचाउँछन् भने अनिता आफ्नै खुसीमा चल्छिन् । ‘म बिहान ओछ्यानमै सामान्य व्यायाम एवं योग गर्छु र दिनभरिको खानपानमा पनि सतर्कता अपनाउँछु’ विश्व भन्छन्–‘तर, उनी आफ्नो खुसीले चल्न खोज्छिन् ।’ विश्व बिहान नियमित ब्रेकफास्ट तथा ब्राउन राइस खान्छन् । स्वास्थ्यकै लागि विश्वको खानपान नियन्त्रित छ । यता अनिताको जिब्रो भने पिरो, अमिलो खान्कीमा लोभिएको छ । 

घरको साजसज्जामा पनि विश्व बढी सचेत र जागरुक छन् । घरायसी सामग्रीको किनमेल उनी आफै गर्छन् । ‘म घरका सामान फेरिरहन रुचाउँछु’ विश्व भन्छन्–‘तर, उनलाई यस्ता विषयमा खासै रुचि छैन ।’ यद्यपि अनिता व्यावहारिक जीवनमा पूर्ण छिन् । व्यापार–व्यवसाय हाँक्नका लागि उनको लगनशीलता र मेहनत प्रशंसायोग्य छ । विश्व भन्छन्–‘आफ्नो कामप्रति एकदमै सचेत छिन् ।’ अनिताको यही गुणले नै आफूलाई करियर निर्माणमा सहयोग पुगेको विश्वको बुझाइ छ । 

अनिता शान्त छिन् । उनी आफ्नो करियर र घरपरिवारभन्दा दायाँ–बायाँ दौडिएकी पनि छैनन् । श्रीमतीको यस्तै राम्रो व्यवहार पाएर हुनसक्छ, विश्व आफूलाई भाग्यमानी मान्छन् । ‘अनिताजस्ती श्रीमती पाउनु मेरा निम्ति भाग्यको कुरा हो’ विश्व भन्छन्–‘उनको साथ पाएर नै मैले काममा ध्यान केन्द्रित गर्न सकेको छु ।’ 

विश्व पति–पत्नीका लागि आवश्यक पहिरन छनोटमा माहिर छन् । उनको रुचिमा अनिता सहमत हुन्छिन् । विश्व टिपटप देखिन रुचाउँछन् । अनितालाई पहिरनमा उस्तो आशक्ति छैन । आफूलाई सुहाउँदो ड्रेसअप गरिसकेपछि विश्व ‘आफू कस्तो देखिएको छु’ भनेर श्रीमतीसँग सोध्छन् अनि उनको टिप्पणीअनुसार आफ्नो ड्रेसअपमा परिमार्जन पनि गर्छन् । विदेश यात्रापछि घर फर्कदा विश्वको हातमा केही न केही उपहार हुन्छ । विश्वको काम, व्यवहारप्रति अनिता सन्तुष्ट छिन् । ‘उहाँले परिवारका लागि समय दिँदा अझ खुसी लाग्छ’ अनिता भन्छिन् ।

यस्ता पति–पत्नी बिरलै होलान्, जसको मनमुटाव हुँदैन वा जो आपसमा भनाभन–झगडा गर्दैनन् । यसको अपवाद होइनन्, गौतम दम्पती । ‘कहिलेकाहीँ सामान्य झगडा हुन्छ’ विश्व स्वीकार गर्छन्–‘तर, त्यो कुनै ठूलो इस्यु भने हुँदैन ।’ घरायसी काममा भन्दा पनि कार्यक्षेत्रको विषयमा उनीहरूबीच ठाकठुक पर्छ । अनिताले कुनै न कुनै निहुँ बनाएर हँसाएपछि मात्र उनीहरूबीच वार्ताको वातावरण बन्छ । विश्वले आफ्नै गल्ती भए पनि सम्झौता गर्दैनन् । ठुस्किएर बसिरहन्छन् । रिसाउने काममा पनि विश्व नै अगाडि छन् । 

यद्यपि कहिलेकाहीँ आफ्नै गल्तीका कारण पनि मनमुटाव हुने विश्वको आत्मस्वीकृति छ । ‘विगतमा म नै सही छु जस्तो लाग्थ्यो’ विश्व भन्छन्–‘तर, अहिले यस्ता घटनामा म आत्मसमीक्षा गर्छु अनि मैले त्यसो नभनेको वा नगरेको भए हुने थियो जस्तो लाग्छ ।’ गौतम दम्पतीबीच बोलचाल नहुँदा मानसिक तनाव हुन्छ, काममा ध्यान केन्द्रित हुँदैन । त्यस्तो बेला दुवैले दाम्पत्य सम्बन्धको महत्व थप बुझ्ने गरेका छन् ।

विश्वको नजरमा अनिता

मनपर्ने बानी

  •     साधारण र नेचुरल प्रकृति । 
  •     परिवारप्रति लगाव । 

नराम्रो बानी

  •     एउटै कुरा धेरै पटक भन्नुपर्ने । 
  •     समयलाई बुझ्न नसक्ने ।

अनिताको नजरमा विश्व

मनपर्ने बानी

  •     मनमा जे छ, नलुकाई स्पष्ट भन्ने । 
  •     कामप्रति लगनशील ।
  •     परिवारप्रति जिम्मेवार ।

मननपर्ने बानी

  •     झनक्क रिसाउने । 
  •     रिसाएपछि आफै फकाउन अग्रसर नहुने ।

प्रकाशित :२०१५ -१२ -१९ 

 Image