Successfully Copied

मन्टेश्वरी शिक्षा किन ?

नेपालका प्राय: पूर्वप्राथमिक विद्यालयहरूमा अझैसम्म पनि स्कुल टेकेकै दिनदेखि लेख्न सिकाउन थाल्ने परम्परा छ ।

नेपालका प्राय: पूर्वप्राथमिक विद्यालयहरूमा अझैसम्म पनि स्कुल टेकेकै दिनदेखि लेख्न सिकाउन थाल्ने परम्परा छ । यो गलत सुरुवात हो किनभने अक्षर लेख्न सुरू गर्नु नै सबै कुरा होइन । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा पनि लेख्न चाँडै सिकाउनुपर्छ भन्ने कुरा कतै उल्लेख छैन । सरकारले तयार पारेको पाठ्यक्रमको सुरूमै जीवनोपयोगी एवं स्वावलम्बी सीपहरू हासिल गराउनुमा यो पाठ्यक्रमको जोड छ भन्ने कुरा उल्लेख छ । त्यसैगरी बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउनुका साथै सामाजिक तथा व्यवहारिक मूल्य-मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशीला खडा गर्नुु यो शिक्षाको उद्देश्य हो । यो उमेर समूहका विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई प्राथमिक विद्यालयका लागि तयार पार्नु पनि प्रि-प्राइमरी पाठ्यक्रमको उद्देश्य हो ।

यति भए पनि सरकारले तयार पारेको पाठ्यक्रममा उल्लेख भएका व्यवहारिक सीप कसरी सिकाउने भन्ने विषयमा भने कतै केही उल्लेख छैन । यद्यपि मन्टेश्वरी शिक्षा प्रणालीबाट ती उद्देश्य पूरा गर्न सकिन्छ । मन्टेश्वरी सिकाइ विधिअन्तर्गत प्रयोगशालामा राखेर प्रयोगात्मक अभ्यास गराउने, विभिन्न खेलहरूबाट स्मरण शक्ति बढाउने, जुन पाठ पढाइँदैछ त्यससँग सम्बन्धित स्थलगत अवलोकनमार्फत सम्बन्धित विषय वा स्थानको ज्ञान दिने आदि काम हुन्छ । उदाहरणका लागि जनावरहरूका बारेमा पढाउँदा चिडियाघरको भ्रमण गराउने, जुन वस्तुका बारेमा पढाइँदैछ त्यही वस्तुलाई नै कक्षा कोठामा ल्याएर देखाउने, मुभी कक्षाहरू संचालन गर्ने, आर्ट एण्ड क्राफ्ट आदिबाट सिकाउने । प्रयोगात्मक एवं व्यवहारिक सिकाइब्ााट बालबालिकामा क्षमताको विकास हुने, स्मरण शक्ति बढ्ने, पढाएको कुरा राम्रोसँग बुझ्ने, आत्मविश्वास बढ्ने, भ्रम निराकरण हुने, सकारात्मक सोच अभिवृद्धि हुने, सिर्जनशीलता बढ्ने, चुनौती सामना गर्न सक्ने सीप एवं क्षमताको विकास हुने कुरा मन्टेश्वरी सिद्धान्तमा उल्लेख छ । दुईदेखि छ वर्षसम्मको उमेरमा मानिसको स्वभाव कस्तो हुन्छ भन्ने ९० प्रतिशत निध्रारित भैसक्ने हुँदा उचित समयमा बालबालिकालाई त्यस किसिमको वातावरण बनाइदिनु जरूरी छ अन्यथा बालबालिकाहरू मन्टेश्वरीको सिद्धान्तले निर्धारण गरेका लक्ष्यहरू हासिल गर्न समर्थ हुँदैनन् ।

व्यवहारिक ज्ञान तथा सीपयुक्त शिक्षण पद्धति अपनाउन विद्यालयको वातावरण फरक किसिमले तयार गर्नुपर्छ । दुई वर्षका बालबालिकाको कक्षा कोठामा कापी वा पेन्सिलको आवश्यकता पर्दैन । त्यो उमेरका बालबालिकाको कक्षाकोठामा प्रयोगशालाका सामग्रीहरू, सीप विकास गर्ने सामग्री, आँखा र हातको गतविधिको तालमेल हुने गरी अभ्यास गराउन आवश्यक पर्नेे सामग्री, सीधा अगाडि हिँड्न सक्ने अभ्यास, पालो पर्खिने बानी, समूहमा काम गर्ने बानीका लागि आवश्यक सामग्री, अरूको कुरा सुनेर आफ्नो कुरा बताउन सक्ने सीप, विभिन्न अवस्था बुझाउने रंगीन तस्बिरहरू, बौद्धिक खेलका सामग्रीहरू, मनोरञ्जक एवं सिर्जनात्मक खेल सामग्रीहरू आवश्यक हुन्छन् ।

यस्ता सामग्रीहरूका सम्बन्धमा राम्रो जानकारी भएका एवं बालबालिकालाई कुन उमेरमा कस्तो खालको सीप सिकाउनु उपयुक्त हुन्छ भन्ने ज्ञान पाएका शिक्षकहरूले मात्र मन्टेश्वरीका सामग्रीको प्रयोग गरेर पढाउन सक्छन् । मन्टेश्वरीको तालिम पाएका शिक्षकहरूले बालबालिकामा सामाजिक भावनाको विकास एवं आवश्यक परेको अवस्थामा म गर्न सक्छु भनी स्वत: अग्रसर हुने ऊर्जा प्रदान गर्छन् । यो उमेरमा सिकेको सामूहिक भावनाको विकास हुँदै जाँदा भविष्यमा उदार र सहयोगी भावनाको विकास हुँदै जान्छ र त्यस्ता नागरिकबाटै समाजको विकास हुने आशा राख्न सकिन्छ । दुईदेखि छ वर्ष उमेर समूहका बालबालिकालाई अक्षर चिनाउन तथा पढाउन हतार नगरी स्वस्थ रहने, पालो कुर्ने, आफ्नो काम आफैं गर्ने, सोधेको कुरामा उचित जवाफ दिने, सकारात्मक सोच्ने, अरुलाई आदर गर्ने, माफ गर्न सक्ने, शिष्ट बोल्ने, आफूले प्रयोग गरेका सामग्री ठीक ठाउँमा राख्ने, अरूका सामान प्रयोग गर्नुअघि सोधेर अनुमति लिने, समस्या पर्दा नआत्तिने, अनावश्यक कुरामा नडराउने, आफ्नो काम आफै गर्ने, इमान्दार रहने, अरूलाई पनि असल व्यवहार गर्न उत्प्रेरित गर्ने, सन्तुलित आहार मन पराउने, अनुशासित हुनेजस्ता सीपमूलक शिक्षा दिनु आवश्यक हुन्छ ।

यसरी व्यवहारिक ज्ञान दिएर परिपक्व बनाउँदै लेख्न र पढ्न सिकाउँदा सानो उमेरदेखि नै बालबालिकाको सर्वाङ्गीण विकास हुन थाल्छ । यस प्रकारको पूर्ण शिक्षा प्रदान गर्न तालिमप्राप्त शिक्षकका साथै विभिन्न शैक्षिक तथा खेल सामग्री आवश्यक हुने हुँदा विद्यालयले त्यसको चाँजोपाँजो मिलाउनुपर्छ । अभिभावकहरूले पनि सम्भव भएसम्म घरमा शैक्षिक तथा मनोरञ्जक वातावरण निर्माण गरिदिनुपर्छ ।

घरमा पनि स्वच्छ र भेदभावरहित, सहयोगी एवं स्वस्थ वातावरण पाए भने मात्र बालबालिकामा सकारात्मक विकास हुनसक्छ । भनिन्छ-झगडालु वातावरणमा हुर्किएको बालकले विद्रोह गर्न सिक्छ, सहयोगी वातावाणमा हुर्किएको बालकले समाज सेवा गर्न सिक्छ । मन्टेश्वरी सिकाइ प्रणालीले बालबालिकाको सर्वाङ्गीण विकासलाई जोड दिएको छ । यसअन्तर्गत सिकाइने धेरै प्रकारका सीपमध्ये लेख्ने तथा पढ्ने सीप पनि प्रमुख हो तर त्यति मात्र सबै कुरा होइन । जसरी हरेक मानिसलाई समाजमा मिलेर बस्ने, सहयोग गर्ने, सन्तुलित भोजन गर्ने, सफा रहने ज्ञानको आवश्यकता पर्छ त्यसैगरी बालबालिकामा लेख्ने र पढ्ने सीपको पनि आवश्यकता पर्छ, जसबाट ऊ आफ्ना कुरा लेखेर व्यक्त गर्न र अरूले लेखेको वा संकेत गरेको कुरा बुझ्न सकोस् । त्यसकारण जीवनमा पढ्न-लेख्न सिक्नु जति आवश्यक हुन्छ अन्य कुराको ज्ञान पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

मन्टेश्वरी सिकाइ प्रणाली अवलम्बन गर्ने विद्यालयबाट प्राप्त हुने शिक्षा चेतनशील मानिसका लागि ज्यादै उपयोगी हुन्छ । यद्यपि मन्टेश्वरी नाम राखेर खुलेका सबै विद्यालयबाट त्यस्तो व्यवहारिक शिक्षा एवं ज्ञान प्राप्त हुन्छ भन्ने छैन । मूल कुरा त त्यो विद्यालयले मन्टेश्वरी सिकाइ विधि बुझेको छ कि छैन, त्यसलाई व्यवहारमा कसरी अवलम्बन गरिरहेको छ, त्यहाँका शिक्षकहरूले मन्टेश्वरी सिकाइ प्रक्रियाका बारेमा दक्षता हासिल गरेका छन् कि छैनन् भन्ने हो । कुनै पनि मन्टेश्वरी  विद्यालयमा आफ्ना नानीलाई राख्नुअघि सम्बन्धित अभिभावकले यी सबै कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

- पुष्पा रिजाल

लेखिका सिटी मन्टेश्वरी स्कुल, अनामनगरकी  प्रिन्सिपल हुन् ।

——————-

मन्टेश्वरी किन्डर वल्र्ड

मन्टेश्वरी किन्डर वल्र्ड नेपालको लोकप्रिय स्कुलका रूपमा स्थापित भएको छ । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टरअन्तर्गत यो स्कुल नेपालको पहिलो चेन स्कुल हो । यसको स्थापना सन् २००२ मा भएको हो । यो अहिले नेपालकै सबैभन्दा ठूलो तथा बढी शाखा भएको स्कुलका रूपमा परिचित छ । काठमाडौंमा यसका ५ वटा शाखा छन् । २ वर्षदेखिका ७ सय विद्यार्थी यसका विभिन्न शाखामा अध्ययन गरिरहेका छन् । नेपाल मन्टेश्वरी ट्रेनिङ सेन्टर खुलेपछि यसबाट उत्पादन भएका तथा बाल शिक्षामा रुचि राख्ने जनशक्तिलाई प्रयोगात्मक कक्षामा सहभागी गराउन यसको अवधारणा प्रारम्भ भएको हो । मन्टेश्वरी किन्डर वल्र्डका शाखा झम्सिखेल, मध्यबानेश्वर, महाराजगंज, गठ्ठाघर एवं सोल्टिमोडमा छन् । हरेक शाखा पार्किङ, खेल मैदान तथा विभिन्न्ा प्लेस्टेसनयुक्त छन् । सबै शाखामा बालबालिकाहरूलाई मनपर्ने रंग तथा चित्रहरू कुँदिएका छन् । यो स्कुलको कुनै पनि शाखाभित्र प्रवेश गर्दा कुनै बगैंचामा प्रवेश गरेको अनुभव हुन्छ । मारिया मन्टेश्वरीको फिलोसोफीमा आधारित यहाँको शिक्षा पद्धतिले बालबालिकाहरूलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरूमा स्वनिर्णय गर्ने क्षमताको विकास गराउँछ । यहाँ नेपाली संस्कारलाई आदर गर्दै सबै विद्यार्थीलाई मन्टेश्वरी अप्रोचका माध्यमबाट अध्यापन गराइन्छ । बालबालिकाहरूको चौतर्फी विकास गर्न मन्टेश्वरी शिक्षा उपयोगी मानिएको छ जसले बालबालिकालाई शारीरिक एवं मानसिक रूपमा सन्तुलित तुल्याउँछ । मन्टेश्वरी किन्डर वल्र्ड बालबालिकाहरूका लागि स्वतन्त्र तथा सुरक्षित वातावरण तयार गरी सिक्नका लागि उपयोगी वातावरण उपलब्ध गराउने नमुना स्कुलका रूपमा अघि बढिरहेको छ । मन्टेश्वरीका शिक्षकहरू त्ाालिम प्राप्त, अनुभवी तथा बालबालिकाहरूसँग भिज्ने खालका छन् । यहाँको पाठ्यक्रमले बालबालिकाहरूलाई खेलका साथमा सिक्ने बानीको विकास गराउँछ । यहाँको पद्धति हरेक वर्ष आवश्यकताअनुसार परिमार्जित गर्दै लगिन्छ । यो स्कुलले बालबालिकाहरूलाई स्वस्थ तथा सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । स्कुलले तातो तथा स्वस्थकर खाना ख्वाउँछ । हरेक महिनाको मेनु मौसम तथा बालबालिकाहरूको रुचिअनुरूप तयार गरिन्छ । खानामा पौष्टिकतामा निकै ध्यान पुर्‍याइन्छ । बालबालिकाहरूको हेरचाहका लागि अतिरिक्त समयमा पनि सेवा प्रदान गरिन्छ । स्कुल समय साढे नौ बजेदेखि साढे दुई बजेसम्मको हुन्छ ।

——————-

प्रिमियर इन्टरनेसनल प्रि-स्कुल

झ.म्सिखेलस्थित प्रिमियर इन्टरनेसनल प्रि-स्कुल प्रिमियर स्कुलकै प्रि-विङ हो । झट्ट हेर्दा कुनै पार्कको झझल्को दिने यो स्कुलको हाता बालमैत्री छ । बालबालिकाहरूको मनस्थिति तथा उनीहरूको रुचिलाई मध्यनजर गरी यसको संरचना निर्माण भएको पाइन्छ । यो प्रि-स्कुलमा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्नसक्छन् । यहाँको पाठ्यक्रम नेपाली पाठ्यक्रमलाई पछ्याउँदै तयार गरिएको छ । यो स्कुलको शिक्षा प्रणालीले बालबालिकाहरूको मानसिक, शारीरिक, सामाजिक आदिको चौतर्फी विकास गराउँछ । यहाँको शिक्षा प्रणालीमा विश्वमै कहलिएको पद्धतिलाई अनुशरण गरिएको छ जसले गर्दा विद्यार्थीहरू विश्वका जुनसुकै वातावरणमा र जस्तोसुकै स्थितिमा आत्मनिर्भर भएर बाँच्न सक्छन् । यो स्कुलमा बालकालिकाहरूले आधुनिक तथा परम्परागत संस्कृतिका सबै पक्ष अध्ययन गर्न सक्छन् । यो स्कुलले आइबी तथा पी वाइ पी पाठ्यक्रमलाई मन्टेश्वरीसँग समायोजन गरी अध्यापन गराइरहेको छ । आइबी शिक्षाअन्तर्गत विद्यार्थीहरू जिज्ञासु, विचार गर्नसक्ने, कुराकानी गर्नसक्ने, जोखिम बहन गर्नसक्ने, ज्ञानी, आफ्नो साध्यमा अडिने, अरूको आदर गर्ने एवं सन्तुलित हुन्छन् । उनीहरू चुनौतीलाई सहजै झेल्न सक्छन् ।

——————-

युरो किड्स

नेपालमा अहिले चेन स्कुल खुल्ने क्रम निकै बढिरहेको छ । यहाँ भारतीय तथा अन्तर्राष्ट्रिय स्तरका स्कुल खुल्ने क्रम जारी नै छ । युरो किड्स भारतकै राम्रा प्रि-स्कुलहरूमध्ये एक हो । नेपालमा पनि करिब एक दशकअघि यसको शाखा खुलेको हो । खेलकुदका माध्यमबाट तथा जिज्ञासु बनाई अध्यापन गराइने युरो स्कुलको पाठ्यक्रमले बालबालिकाहरूलाई सिर्जनशील, कल्पनाशील एवं विवेकशील बनाउँछ । यसको पाठ्यक्रमले बालबालिकाहरूलाई संयमित, अनुशासित तथा संस्कारी बनाउँछ । यसको सञ्चालन सन् २००१ देखि भएको हो । अहिले यसका विश्वभरि ८ सय ७५ शाखा फैलिएका छन् । नेपालमा पनि यसका धेरै ठाउँमा शाखा छन् जसलाई भिन्न-भिन्न व्यवस्थापनले सञ्चालन गरेका छन् । स्कुलको हरेक पक्षलाई बालमैत्री बनाउनु युरो किड्सको विशेषता हो । यसका कक्षाहरू सुरक्षित, सफा तथा बालबालिकाहरू रमाउने खालका छन् । यी स्कुल खेल्नका लागि प्रशस्त ठाउँ तथा विभिन्न्ा मनोरञ्जनका साधनयुक्त छन् । यसको पाठ्यक्रम बालबालिकाहरूको चौतर्फी विकास तथा बाल विकासका लागि उपयुक्त छ भने मारिया मन्टेश्वरी एवं महात्मा गान्धीको विचारदर्शनबाट प्रेरित छ । यसको पाठ्यक्रम मानसिक तथा शारीरिक रूपमा बालविकास गर्न सहयोगी छ । अध्यापनसँगै संगीत, नाटक, कला, कम्प्युटरजस्ता क्रियाकलापहरू सँगै अघि बढाइन्छ । यहाँ विभिन्न फिल्ड टि्रपका माध्यमबाट बालबालिकाहरूले समाज तथा प्रकृतिलाई नजिकबाट अनुभव गर्न पाउँछन् । उनीहरूले त्यसलाई आफ्नो जीवनमा प्रयोग गर्न सक्छन् । बालबालिकाहरूलाई सेयरिङ, अनुशासित तथा संस्कारी बनाउन युरो स्कुलको पाठ्यक्रम सफल छ । यहाँका शिक्षक-शिक्षिका पनि अनुभवी तथा दक्ष छन् । यहाँ बालबालिहरूलाई मौसम सुहाउँदो स्वस्थ खाना ख्वाइन्छ । बालबालिकाहरूको मनोभाव बुझेर व्यवहार गर्नु युरो किड्सको विशेषता नै हो । राम्रो वातावरण तथा व्यवहारले गर्दा बालबालिकाहरू सदैव सुरक्षित रहनुका साथै नयाँ-नयाँ कुरा सिक्न उत्प्रेरित हुन्छन् । यसको पाठ्यक्रमले बालबालिकाहरूलाई चुनौतीसँग जुध्न तथा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ । यो स्कुलमा यातायातको राम्रो व्यवस्था छ । बालबालिकाहरूलाई सहयोग गर्न हरेक समय सिस्टर तथा अन्टीहरू तम्तयार रहन्छन् । समयानुकूल चुस्त-दुरुस्त व्यवस्थापन युरो स्कुलको विशेषता हो ।  

——————-

ग्लेन बड्स

५ वर्षअघि महाराजगञ्जमा मन्टेश्वरीका रूपमा खोलिएको यो स्कुलमा अहिले कक्षा १० सम्मै अध्यापन हुन्छ । यहाँ मन्टेश्वरी र स्कुलका लागि छुट्टै भवन तथा प्ले ग्राउण्ड बनाएर अलग-अलग वातावरण सिर्जना गरिएको छ । आफूले सानामा पढाएका नानीहरूलाई आफैले बुझेको हुने र उनीहरूको इच्छा, आकांक्षा एवं बानीका कारण नयाँ स्कुलमा जाँदा असहज महसुस भएको घटनालाई मध्यनजर गरी कक्षा बढाइएको प्रिन्सिपल रोशनी थापा बताउँछिन् । यो स्कुलमा १८ महिनादेखि ६ वर्षसम्मको जम्मा ३२ जना विद्यार्थीलाई मात्र ठाउँ दिइएको छ । १० जना विद्यार्थीका लागि १ जना शिक्षकको अवधारणामा अध्यापन हुने यो स्कुलमा सबै विद्यार्थीलाई उत्तिकै प्राथमिकता दिइन्छ । यहाँ अध्यापनका साथमा बानी-व्यवहार, खाने बानी, बोली-व्यवहार, सरसफाइ तथा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान पुर्‍याइन्छ । घोक्ने विद्या पूरै हटाएर भिज्युअली देखाएर सिकाइन्छ । यहाँ एक-अर्कालाई आदर गर्ने, बाँडेर खाने, खेल्ने तथा पढ्ने बानी विकसित गराइन्छ । सेयरिङको बानी बसाल्न महिनामा एकपटक खाना सेयर गरेर ख्वाउने क्रियाकलापमा पनि जोड दिइन्छ ।  यहाँ पजल, ब्लक्स, नेगोस आदि क्रियटिभ खेलौनाहरू बढी छन् । रोपाइँमा धान रोप्न लगेर, दही-चिउरा ख्वाएर, दसैंमा जमरा, टीका लगाइदिएर अनि मासु-चिउरा ख्वाएर आफ्नो संस्कृतिसँग परिचित गराइन्छ ।

——————-

बेबिजोन प्रि-स्कुल

बेबिजोन प्रि-स्कुलको स्थापना २०६६ सालमा चाइल्ड केयरका रूपमा भएको थियो । सुरुमा थोरै बालबालिकाबाट संचालित यो केन्द्रलाई दक्ष तथा तालिमप्राप्त अनुभवी शिक्षिकाहरूको अथक परिश्रम, अभिभावकहरूको चाहना एवं सहयोगले गर्दा दुई वर्षमै बेबिजोन प्रि-स्कुलको नाममा विकसित गरिएको हो । कुमारीपाटी, त:फाल्होस्थित यो प्रि-स्कुलमा ६ महिनादेखि ६ वर्षसम्मका बालबालिकाहरू छन् । यहाँ बालबालिकाहरूको सर्वाङ्गीण विकासलाई मध्यनजर गरी मन्टेश्वरी तथा प्लेविथ विधिबाट अध्यापन गराइन्छ । स्कुललाई समयसापेक्ष बनाउन तथा बालबालिकाको चौतर्फी विकासका लागि समय-समयमा अभिभावकहरूसँग अन्तक्रिर्या गरी उनीहरूको चाहना तथा विद्यार्थीहरूको क्षमताअनुरूप विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइन्छ । बालबालिकाहरूको बौद्धिक एवं शारीरिक विकास तथा आत्मविश्वास प्रबल बनाउन केन्दि्रत यो प्रि-स्कुल र अन्य ६ वटा प्रि-स्कुल मिलेर प्रि-स्कुल फाउन्डर क्लबको स्थापना गरिएको छ जुन विभिन्न स्कुलका विद्यार्थीहरूको आपसी क्षमता प्रस्तुत गर्ने थलो हो । विद्यार्थीहरूको बोली एवं व्यवहार राम्रो बनाउन विद्यार्थीहरूमा तपाईं, हजुर भनेर सम्बोधन गर्ने वातावरण बनाइएको छ । यहाँको शिक्षण पद्धति इन्क्वाइरीका आधारमा हुन्छ । यसले बालबालिकाहरूको ज्ञान तथा व्यक्तिगत रुचिलाई प्राथमिकता दिँदै सकेसम्म सजिलो अध्यापन पद्धति पछ्याउँछ । यो प्रि-स्कुलमा गणित, भाषा, विज्ञान, सामाजिक शिक्षा तथा शारीरिक शिक्षाका साथै प्रविधि, कला, नृत्य एवं संगीत अध्यापन गराइन्छ ।  शिक्षक-शिक्षिकाहरूमा निखार ल्याउन स्कुल व्यवस्थापनले विभिन्न तालिम समेत सञ्चालन गर्छ ।

——————-

एञ्जल मोन्टेश्वरी

धापासी, राम मन्दिरस्थित एञ्जल मन्टेश्वरीमा यसै वर्षदेखि २ वटा ब्लक सुरु भएका छन् । ४ रोपनी जग्गामा फैलिएको यो स्कुलमा ६ वर्षको दौरानमा त्यहाँका स्थानीय बासिन्दालगायत दरबारमार्ग, बानेश्वर, बालुवाटार, चपली, वनस्थली, म्हेपीदेखिका नानीहरू पढ्न पुगिरहेका छन् । यहाँ घरायसी वातावरणमा राम्रो हेरविचारका साथ अध्यापन हुन्छ । यहाँ १८ महिनादेखि ६ वर्षसम्मका विद्यार्थीहरू छन् जसको केयर, पढाउने, सिकाउने सबै काम मन्टेश्वरीले तोकेका आधारमा गराइन्छ । यहाँ सहज वातावरण तथा अध्यापनमा अतिरिक्त ध्यान दिइन्छ । स्कुलभित्र खेल्ने मैदान, स्वीमिङ पुल, बगैंचा, प्ले स्टेसनका साथमा अर्गानिक बारी पनि छ जहाँ विद्यार्थीहरूले त्यहीँ रोपेका अर्गानिक फलफूल, तरकारीहरू सिजनअनुसार खान पाउँछन् । यहाँको पाठ्यक्रम दक्ष शिक्षकहरूको सहयोगमा तयार पारिएको छ । स्कुलका हरेक क्रियाकलापमा सबै विद्यार्थीलाई समान सहभागी गराइन्छ । यहाँबाट युकेजी सकेर बाहिर पढ्न गएका पुराना विद्यार्थीहरूका लागि विन्टर क्याम्प पनि सुरु गरिएको छ । यहाँ हरेक चाडपर्वमा कार्यक्रमहरू आयोजित हुन्छन् भने खेल्दै पढिने सबै कुरा विद्यार्थीको मस्तिष्कमा सधै रहिरहने गरी अध्यापन गराइन्छ ।

——————-

हाइड एण्ड सिक किन्डरगार्टेन स्कुल एण्ड टिचर्स टे्रनिङ सेन्टर

वि.सं. २०६९ सालमा स्थापना भएको हाइड एण्ड सिक किन्डरगार्टेन स्कुल एण्ड टिचर्स टे्रनिङ सेन्टरले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा विशेष ध्यान दिन्छ । हाइड एण्ड सिक किन्डरगार्टेन स्कुल एण्ड टिचर्स टे्रनिङ सेन्टर बालबालिकाको ३ वटा विशेष क्षेत्रमा केन्दि्रत छ पहिलो बौद्धिक विकास, दोस्रो काइनेस्थिटिक तथा तेस्रो भावनात्मक विकास । हरेक वर्षलाई ३ टर्ममा विभाजन गरेर मासिक थिम बेस्ड क्रियाकलापअनुसार पढाइने यहाँ प्ले ग्रुपदेखि युकेजीसम्म पढाइ हुन्छ भने उनीहरूलाई हरेक दिन ४५ मिनेट प्राक्टिकल लाइफ स्किल लर्निङ ल्याबमा लगेर मारिया मन्टेश्वरी विधिअनुसार पढाइन्छ । दक्ष तथा अनुभवी शिक्षक एवं कर्मचारीहरूले यो स्कुललाई अझ प्रयोगात्मक बनाएको स्कुलकी संस्थापक प्रिन्सिपल कुमुद भट्ट बताउँछिन् । उनका अनुसार यो शैक्षिक संस्थाले बालबालिकाहरूलाई रमणीय तरिकाले विभिन्न सामाजिक तथा बौद्धिक ज्ञान प्रदान गर्दै आएको छ । यो स्कुल साना बालबालिकालाई हरेक दिन पृथक् तथा फरक किसिमका रमाइला गतिविधिमा संलग्न गराउँदै उनीहरूमा मायालु भावना विकास गराउने क्रियाकलापमा केन्दि्रत छ । यसका अतिरक्त हाइड एण्ड सिक किन्डरगार्टेन स्कुल एण्ड टिचर्स टे्रनिङ सेन्टर अतिरिक्त क्रियाकलापमा पनि केन्दि्रत छ जसअन्तर्गत २ महिनामा एकपटक हर्स राइडिङ, महिनाको २ पटक डान्स तथा भोकल अनि हरेक दिन योगका कक्षा पर्छन् । मारिया मन्टेश्वरी तथा एकीकृत विधिलाई पछ्याउँदै बालशिक्षा प्रदान गरिरहेको यो किन्डरगार्टेन स्कुलले बालहित र विकासका लागि सुरक्षित तथा बालमैत्री वातावरणभित्र रहेर हरेक कोणबाट उनीहरूलाई दक्ष बनाउने कुरामा कुनै सम्झौता गर्दैन । कुमुद भन्छिन्-हाम्रो विद्यालयका हरेक बालबालिकालाई उनीहरूको उमेर सुहाउँदो क्रियाकलापद्वारा खेलाउँदै पढाउँछौं । कुनै झन्झट वा तनावबिना नै उनीहरूले आफ्ना हरेक क्रियाकलापद्वारा ज्ञान ग्रहण गरिरहेका हुन्छन्, जसले गर्दा उनीहरू हरेक कोणबाट दक्ष त हुन्छन् नै उनीहरूलाई व्यवहारिक तथा आत्मविश्वासी पनि बनाउनु हाम्रो अर्को दायित्व हो । हरेक उमेर समूहका बालबालिकालाई हामी फराकिलो दायरामा राखेर उनीहरूमा आपसी सहयोग र समझदारीको विकास गराउँछौं । हाइड एण्ड सिक किन्डरगार्टेन स्कुल एण्ड टिचर्स टे्रनिङ सेन्टर बालमैत्री वातावरणका अतिरिक्त बालबालिकाका लागि सुहाउँदा फर्निचर तथा कलर कम्बिनेसनमा पनि अगाडि छ । यहाँको पाठ्यक्रम पनि निकै बलियो तथा प्रभावकारी छ ।

हाइड एण्ड सिक किन्डरगार्टेन स्कुल एण्ड टिचर्स टे्रनिङ सेन्टरद्वारा शिक्षाका अतिरिक्त मन्टेश्वरी तालिम पनि प्रदान गरिन्छ । मन्टेश्वरी शिक्षाको १ महिने विशेष तालिम तथा ६ महिने डिप्लोमा गर्न चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य हो । यहाँ तालिम लिएकाहरूले यही स्कुलमा प्राक्टिकल कक्षा पनि लिन पाउने व्यवस्था छ ।

——————-

टोड्लर्स इन्टरनेसनल प्रि-स्कुल

वि.सं. २०६८ सालमा स्थापना भएको टोड्लर्स इन्टरनेसनल प्रि-स्कुल, बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै अघि बढिरहेको छ । दक्ष शिक्षक तथा अनुभवी कर्मचारीकोे ऐक्यबद्धताले यो स्कुललाई थप प्रयोगात्मक बनाएको छ । टोड्लर्स इन्टरनेसनल प्रि-स्कुलले बालबालिकाहरूलाई रमाइलो तरिकाले विभिन्न सामाजिक तथा बौद्धिक ज्ञान प्रदान गर्दै आएको छ । स्कुलकी एकेडेमिक निर्देशक रञ्जना कायस्थका अनुसार यो स्कुल साना बालबालिकालाई हरेक दिन पृथक् किसिमका रमाइला गतिविधिमा संलग्न गराउँंदै उनीहरूमा माया तथा अपनत्वको भावना विकास गराउने क्रियाकलापमा केन्दि्रत छ । यसका अतिरिक्त टोड्लर्स इन्टरनेसनल प्रि-स्कुल बालबालिकाको जग बलियो बनाउने कुरामा सधैं कटिबद्ध छ । मारिया मन्टेश्वरी तथा एकीकृत विधिलाई पछ्याउँदै बालशिक्षा प्रदान गरिरहेको यो प्रि-स्कुलले बालहित र विकासका लागि सुरक्षित तथा बालमैत्री वातावरणमा हरेक कोणबाट उनीहरूलाई दक्ष बनाउने कुरामा कुनै सम्झौता नगर्ने बताउँदै रञ्जना भन्छिन्-हाम्रो विद्यालयका हरेक बालबालिकालाई उनीहरूको उमेर सुहाउँदा क्रियाकलापद्वारा खेलाउँदै पढाउँछौं जसले गर्दा उनीहरू हरेक कोणबाट दक्ष हुन्छन् ।

——————-

जेभियर इन्टरनेसनल मन्टेश्वरी स्कुल

हरेक बालबालिका व्यक्तिगत स्वतन्त्रता उपभोग गर्दै आत्मनिर्भर बन्न सक्षम हुन्छन् भन्ने नाराका साथ साना बालबालिकालाई जगैदेखि असल नागरिक बनाउन लागिपरेको जेभियर इन्टरनेसनल मन्टेश्वरी स्कुल बालबालिकाहरूको दार्शनिक तथा विविध आयामलाई अघि बढाउँदै सञ्चालनमा छ । शिक्षा मात्र होइन यो स्कुलले बालबालिकालाई चौतर्फी ज्ञान प्रदान गर्ने कुरामा कुनै कसर बाँकी राखेको छैन । स्वतन्त्र सिकाइलाई आफ्नो मूल मन्त्र बनाएको जेभियर इन्टरनेसनल मन्टेश्वरी स्कुल २ देखि ६ वर्षसम्मका बालबालिकाको चौतर्फी विकासमा केन्दि्रत छ । यहाँ मारिया मन्टेश्वरी विधिका अतिरिक्त इन्टिग्रेटेड विधिद्वारा अध्यापन हुन्छ । सन् २००६ मा स्थापना भएको जेभियर इन्टरनेसनल मन्टेश्वरी स्कुलमा विद्यार्थीलाई छोएर, अनुभूति गर्न लगाएर, प्रयोग एवं उपभोग गर्न लगाएर सिर्जनात्मक तरिकाले पढाइन्छ । साना नानीहरूलाई कुनै दवाबबिना उनीहरूमाथि केही कुरा हाबी हुन नदिनु र स्वतन्त्र तरिकाले रमाइलो वातावरणमा शिक्षा प्रदान गर्नु जेभियर इन्टरनेसनल मन्टेश्वरी स्कुलको मुख्य उद्देश्य हो । त्यसका अतिरिक्त हरेक विद्यार्थीलाई आफ्नो क्षमता र आफूभित्र भएको गुण पत्ता लगाउन सक्ने तरिकाले बौद्धिक विकास गराउनु यो स्कुलको लक्ष्य हो । अन्तर्मुखी स्वभावका बालबालिकालाई बहीर्मुखी बनाउन यहाँ विभिन्न किसिमका खेल खेलाइन्छ भने ल्याबमा लगेर व्यवहारिक ज्ञान प्रदान गरिन्छ । बालमैत्री वातावरणयुक्त यो स्कुलमा विद्यार्थीलाई न्यानो माया, सुरक्षित वातावरण, सम्मान, सहयोग, सामाजिक बन्ने खुबीमा जोड, मनोवैज्ञानिक बुझाइलाई आत्मसात् गर्दै चौतर्फी विकासका कुरा सिकाइन्छ । मन्टेश्वरी शिक्षामा दक्ष शिक्षक-शिक्षिका तथा अनुभवी कर्मचारीहरूको ऐक्यबद्धताले जेभियर इन्टरनेसनल मन्टेश्वरी स्कुललाई लोकप्रिय त बनाएको छ नै साना नानीहरूले घरमा पाउने मायालु व्यवहारसँगै पृथक् सिकाइ पनि पाइरहेका छन् ।

——————-

एसभीपी किन्डर वल्र्ड

गठ्ठाघरस्थित एसभीपी किन्डर वल्र्ड बालिकाहरूको शिक्षामा लोकप्रिय मानिन्छ । यहाँको वातावरण बालमैत्री तथा रमाइलो खालको छ । यो स्कुल बालबालिकाहरू खेल्नका लागि उपयुक्त ठाउँ तथा खेलौनाले सुुसज्जित छ । सुरक्षित वातावरणले स्कुलको हाताभित्र पस्दा फरक अनुभव हुन्छ । बालबालिकाहरूले यहाँ बिताएको समय निकै रमाइलो तथा सफल हुनेमा दुईमत छैन । यहाँ बालबालिकाहरूको सामथ्र्य पहिचान गरी उनीहरूको चौतर्फी विकास गराइन्छ । यहाँको शिक्षा प्रणालीले बालबालिकाहरूलाई आत्मनिर्भर, साहसी, चतुर, धैर्यवान्, विश्लेषण गर्ने तथा कल्पनाशक्तियुक्त बनाउँछ । उनीहरूमा ज्ञान, निर्णय क्षमता, समस्या समाधान गर्ने तथा सम्बन्ध सुमधुर बनाउने सामाजिक व्यवहारको पनि विकास गराउँछ । यहाँका शिक्षकहरू तालिम प्राप्त तथा जिम्मेवार छन् । यहाँ बालबालिकाहरूलाई खेल तथा सिकाइको सन्तुलनबाट अध्यापन गराइन्छ । कक्षामा भएका विभिन्न सामग्रीले बालबालिकाहरूलाई जीवन जिउन सिकाउँछन् । यहाँको पाठ्यक्रम मारिया मन्टेश्वरीको दर्शनसँग संयोजन गरी तयार गरिएको छ । यहाँ ३ देखि ५ वर्षका बालबालिकाहरूलाई अध्यापन गराइन्छ ।

——————-

बालुवाटार स्कुल

यो विभिन्न अन्तर्राष्ट्रिय स्कुलमा अध्यापन गर्ने व्यक्तिहरूको समूह मिलेर खोलिएको अन्तर्राष्ट्रिय सुविधायुक्त स्कुल हो । अन्तर्राष्ट्रिय स्तरको पढाइ, अनुशासन एवं नियमहरू नेपाली समाजमा पनि स्थापित गर्ने सोचका साथ यो स्कुलको स्थ्ाापना भएको प्रिन्सिपल भावना कार्की बताउँछिन् । पढाइका साथमा यहाँ शारीरिक, मानसिक एवं सामाजिक विकास होस् भनेर सिकाउने पद्धति पनि त्यहीअनुरूप तयार पारिएको छ । यो स्कुलमा थिमअनुसार कक्षा चलाइन्छ । बोटबिरुवाको थिममा नर्सरी, पार्कहरू घुमाउन लगेर, एनिमल थिममा चिडियाखाना घुमाउन लगेर, वातावरणसम्बन्धी ज्ञान दिन रुखहरू रोप्न लगाएर, मठमन्दिर सफा गर्न लगाएर बालबालिकाहरूलाई अध्यापन गराइन्छ । अध्ययनको जति नै महत्व खेललाई पनि दिने यो स्कुलमा ग्रुप गेम तथा इन्डोर प्ले आदि खेलाइन्छ । अध्ययनका साथमा सामाजिक रूपमा सबल हुनुपर्छ भनेर त्यहीअनुसार पढाइलाई अघि बढाइएको छ । बालुवाटार स्कुलमा विद्यार्थी एवं शिक्षक-शिक्षिकाहरूबीच पर्याप्त संवाद हुन्छ । हरेक दिन बिहानको सर्कल टाइममा सबैले आफ्ना कुरा व्यक्त गर्ने तथा अरूका कुरा सुन्ने काम हुन्छ । यसबाट आफूले मात्र भन्ने होइन सुन्ने बानीको पनि विकास हुन्छ । यो स्कुलको प्ले ग्रुपमा १८ महिनादेखि युकेजीमा ६ वर्षसम्मका विद्यार्थीहरू अध्ययनरत छन् । हरेक दिनको कक्षा स्टोरी बुक पढेर सुरु गरिन्छ जसले विद्यार्थीमा पढ्ने बानीको विकास गर्छ । बिहान स्न्याक्स र लञ्च गरी दुई पटक खाना ख्वाइन्छ । यहाँको खाना हाइजेनिक एवं फ्रेस हुने प्रिन्सिपल कार्की बताउँछिन् । यहाँ कराँते, संगीत, डान्स, बिबोइङ, आर्ट एण्ड क्राफ्टका कक्षाहरू पनि छन् । समरमा स्वीमिङ, फुटसलहरूमा फुटबल खेलाउन लाने काम हुन्छ । हरेक कक्षाको छुट्टै नियम-कानुन छ । यहाँ क्लास रुम रुल, डाइनिङ रुम रुल, बस रुल आदि पनि बनाइएको छ ।

——————-

सिटी मन्टेश्वरी

विगत ६ वर्षदेखि सञ्चालनमा रहेको अनामनगरस्थित सिटी मन्टेश्वरीमा अहिले १ सय ६५ जना विद्यार्थी छन् । एउटा कक्षामा १४ जना विद्यार्थी राखेर पढाइ हुने यो स्कुलमा १४ जना शिक्षक छन् । मन्टेश्वरी ट्रेनिङ म्याटरहरू आफैंले चीनबाट मगाएर प्रयोग गरिने यो स्कुलमा मन्टेश्वरी प्रशिक्षण पनि प्रदान गरिन्छ । बालबालिका काँचो माटोजस्तै हुन्छन् उनीहरूलाई कुमालेले जुन आकारमा ढाल्छ त्यही रूपमा तयार हुन्छन् । त्यसैले यहाँ नानीहरूलाई व्यवहारिक, सामाजिक एवं सांस्कृतिक ज्ञान प्रदान गरिन्छ । नानीहरूको विकासका लागि लाइफ स्किलसँग प्राक्टिस सुरु गर्नुपर्छ भनेर यहाँ २ वर्षदेखि ६ वर्षका नानीहरूलाई बोल्ने-सोच्ने तथा विकल्पको खोजी गर्ने कामको अभ्यास गराइन्छ । सिटी मन्टेश्वरीमा वृक्षरोपण, बगैंचामा पानी हाल्ने, फल टिप्ने, तरकारी काट्ने, पकाउनेदेखि सबै कुराको ज्ञान बाँड्ने काम हुन्छ जसले गर्दा बालबालिकाहरूमा ठूलो भएर के बन्ने, के गर्ने भन्ने लक्ष्य पहिले नै दिमागमा सेट हुन्छ । अभिभावकहरूलाई २ महिनाभित्र एउटा कार्यक्रममा भाग लिन लगाइन्छ । सिटी मन्टेश्वरीको मुख्य विशेषता भनेकै १५ दिनमा एउटा प्रोग्राम अर्थात् कुनै थिमअनुरूप अन्तिम दिन त्यसको सेलीब्रेट गर्नु हो । सिकाइने, पढाइने शैली मन्टेश्वरी स्टाइलमा भए पनि यहाँ लाइफ स्किल विकास गर्ने प्रयास गरिएको पाइन्छ ।

——————-

शास्त्र मन्टेश्वरी

कोटेश्वरमा २००५ देखि सञ्चालित डायना मन्टेश्वरीलाई २०१३ देखि शास्त्र मन्टेश्वरी नामकरण गरिएको हो । यसर्थ रमाइलो बालमैत्री वातावरण निर्माण गरी अध्यापन गरिने शास्त्र मन्टेश्वरीको स्थापना भएको ९ वर्ष पुगिसकेको छ । मन्टेश्वरी पद्धतिले कुनै पनि विद्यार्थीको भित्री इच्छा बुझेर त्यहीअनुसार सिकाउनुपर्ने कुरा बताउँछ भने शास्त्रमा पनि त्यसैको अनुसरण गरी हरेक विद्यार्थी त्यत्तिकै महत्वपूर्ण भएको मानेर सिकाइन्छ । कुनै विद्यार्थीले एकै पटकमा टिप्छन् भने कोही अलि स्लो हुन्छन् । त्यसमा धैर्यका साथ हरेकलाई समय दिएर, बुझाएर, खेलाएर दक्ष बनाउने दौडमा छ-शास्त्र मन्टेश्वरी । स्कुललाई दोस्रो घरका रूपमा मानेर विद्यार्थीको बोल्ने बानी, खाने शैली, एक-अर्कालाई आदर गर्ने, मिलेर खेल्ने बानी सिकाइने यो स्कुलमा प्रयोग हुने शैक्षिक सामग्रीहरू मन्टेश्वरी पद्धतिमा प्रयोग हुने नै छन् । यहाँ विद्यार्थीहरूलाई रमाइलो तथा बुझ्ने तरिकाबाट जानकारी दिइन्छ । रमाइलो तरिकाले सिकाउँदा विद्यार्थीहरू उत्साहित भएर सिक्न खोज्छन् । कक्षा कोठामा विद्यार्थीहरू कम भएकाले प्रत्येकलाई राम्रोसँग हेरचाह पुग्छ । यहाँ विभिन्न प्रकारका सामग्री तथा टुल्स प्रयोग गरिन्छ । स्कुलका सबै शिक्षक त्ाालिम प्राप्त छन् । यहाँ अभिभावकहरूको समय एवं आवश्यकताअनुसार अतिरिक्त डे केयरको व्यवस्था पनि छ ।

——————-

बेस्ट मन्टेश्वरी

सन् २००५ मा स्थापना भएको बेस्ट मन्टेश्वरी बालबालिकाहरूको शिक्षामा छुट्टै विशेषता बोकेर लोकप्रिय भएको नाम हो । सफलताको सिढीसँगै बेस्ट मन्टेश्वरीले आफ्ना ६ वटा शाखा बिस्तार गरिसकेको छ । यसका शाखा कुलेश्वर, बत्तीसपुतली, धुम्बाराही, सिन्चाहिटी, लाजिम्पाट तथा सामाखुसीमा छन् जहाँ मारिया मन्टेश्वरी प्रणालीअनुरुप अध्यापन हुन्छ । मन्टेश्वरी सिद्धान्तमा बालबालिकालाई खेलमै जीवन दर्शन, संस्कृति, विज्ञान, गणित, सामाजिक तथा नैतिक शिक्षा प्रदान गरिन्छ । बेस्ट मन्टेश्वरीका सबै शाखा यही प्रणालीमा आधारित छन् । सबै शाखा शान्त, रमाइला एवं हरियालीयुक्त छन् । सबै ठाउँमा मौसमी फूलहरू रोपिएका छन् जसले गर्दा स्कुल रंगीबिरंगी देखिन्छ ।

ठूलो खेल मैदान तथा पर्याप्त खेल सामग्रीहरूले गर्दा विद्यार्थीहरूको शारीरिक एवं मानसिक विकासमा सहयोग पुगेको छ । उमेरअनुसारका पजल, ब्लक्स तथा चार्टहरूले यहाँ नानीहरू खेल्दै धेरै कुरा सिकिरहेका हुन्छन् । बेस्ट मन्टेश्वरीको आफ्नै मन्टेश्वरी तालिम केन्द्र भएकाले यहाँका शिक्षक तथा कर्मचारीहरूले समय-समयमा नयाँ-नयाँ तालिम लिन पाइरहेका छन् । यहाँ हरेक विद्यार्थीको भावना बुझेर अध्यापन गराइन्छ । यहाँ विद्यार्थीहरूलाई मौसमअनुसार खाना ख्वाइन्छ । हरेक थिमअनुसार जहाँ लगेर सिकाउनुपर्ने त्यहीँ लगेर, देखाएर सिकाइन्छ ।

——————-

सेमरक शिक्षालय, हात्तीवन, खरिबोट, ललितपुर

वि.सं.२०७० साल माघ महिनादेखि नेपालमा सञ्चालनमा आएको सेमरक प्रि-स्कुल सेमरक शिक्षालय भारतको शाखा हो । भारतको पहिलो र सबैभन्दा बढी चेन भएको यो प्रि-स्कुलका काठमाडौं उपत्यकाभित्र ७ वटा शाखा छन् । सेमरक केन्दि्रय स्कुल महाराजगञ्ज चुन्देवीकी संस्थापक निर्देशक आरती जोशी भन्छिन्-  नेपालमा सेमरक सञ्जालले विगत चार वर्षदेखि बालशिक्षामा उत्कृष्ट योगदान पुर्‍याउँदै आएको छ । चौबीस वर्षअघि भारतमा स्थापना भएको सेमरक स्कुलका नेपाल र भारतमा गरी २ सय २५ भन्दा बढी शाखा भएको बताइन्छ । सबै शाखामा एकै किसिमको भौतिक पूर्वाधार तथा सहुलियतको व्यवस्था छ । सेमरक शिक्षालयमा १८ महिनादेखि ६ वर्षसम्मका बालबालिकाहरूलाई भर्ना लिइन्छ । यहाँ नेपाल तथा भारतमा मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरूले खेलका माध्यमबाट शिक्षा प्रदान गर्छन् । स्कुल बिहान साढे नौ बजेदेखि दिउँसो साढे २ बजेसम्म सञ्चालन हुन्छ । अतिरिक्त शुल्कमा बालबालिकालाई ४ बजेसम्म पनि राख्न सकिन्छ । गाडी सुविधा भएको सेमरकमा बालबालिकाहरूलाई दिनको दुईपटक सफा एवं स्वच्छ खाना दिइन्छ । सुरक्षा, स्वच्छता एवं सिकाइमा बढी ध्यान दिइने यो स्कुलमा १० जना बालबालिका बराबर एक जना शिक्षिका तथा एक जना दिदीको व्यवस्था गरिएको छ । अरू स्कुलसरह पिजी, नर्सरी, एलकेजी, युकेजी नभै यो स्कुलमा फाउन्डेसन, फाउन्डेसन सिनियर, फ्रि जुनियर, फ्रि सिनियर आदिमा कक्षा विभाजन गरिन्छ । सातामा शिक्षकहरूले गर्ने नियमित निरीक्षणका आधारमा विद्यार्थीहरूको मूल्यांकन हुन्छ । विभिन्न अवसर तथा चाडपर्वमा विशेष कार्यक्रम सम्पन्न गरिनुका साथै हरेक बुधबार विशेष दिनका रूपमा मनाइन्छ । स्कुलमा शिक्षक तथा विद्यार्थीहरूको युनिर्फमको राम्रो व्यवस्था छ । यो स्कुलमा बालबालिकाहरूका लागि रमाइलो वातावरणका साथै शान्त एवं स्वच्छ आवासीय व्यवस्था पनि उपलब्ध छ ।

——————-

लिटल आयम्स मन्टेश्वरी डे केयर सेन्टर, हात्तीवन, ललितपुर

२०७० सालमा हात्तीवन, सीतापाखामा खुलेको लिटल आयम्स मन्टेश्वरी एण्ड डे केयर सेन्टर १८ महिनादेखि ६ वर्षसम्मका बालबालिकाहरूलाई भर्ना लिइन्छ । अमेरिकाका साथै नेपालबाटै मन्टेश्वरी तालिमप्राप्त शिक्षिकाहरूबाट अध्यापन एवं रेखदेख गरिने यो मन्टेश्वरी स्कुलमा व्यावहारिक ज्ञान प्रदान गरिन्छ । विहान ९:३० बजेदेखि ३ बजेसम्म सञ्चालन हुने यो स्कुलमा अतिरिक्त शुल्कमा बालबालिकाहरूलाई ५ बजेसम्म राख्न सकिन्छ । गाडी सुविधा भएको यो मन्टेश्वरीमा बालबालिकाहरूलाई सफा एवं स्वच्छ खाना दिनको तीन पटक दिइन्छ । गुणस्तरमा जोड दिइने यो स्कुलमा एउटा कक्षामा बढीमा २५ जनासम्म बालबालिका भर्ना लिइन्छ । यहाँको कक्षा पी.जी., फाउन्डेसन फ्रि १ तथा फ्रि २ मा विभाजन गरिएको छ ।

 Image