बैंग्लोरका ती ताता दिनपनि सिर्जना–सौरभ एक–अर्काको साथले शीतल महसुस गर्थे । जहाँ जाँदा पनि सँगै देखिन थालेपछि साथीभाइ र उतिबेला त्यहाँको सानो नेपाली सर्कलले लख काट्दै सोध्थे, होइन तिमीहरूबीच खास केही छ कि क्या हो ? तर उनीहरू उत्तर दिन्थे, ‘होइन हामी बेस्ट फ्रेन्ड मात्रै हौं ।’
नेपालमा कहलिएको व्यापारिक घरानाका सौरभ ज्योतिलाई बैंग्लोर पढ्दा साथीभाइले यो केटा निकै घमण्डी छ भन्ने सुनाएका थिए । त्यसैले सिर्जना शाक्यले दोस्रो भेटमै उसैले नबोलाएसम्म आफू अघि सरेर नबोल्ने प्रण गरेकी थिइन् । तर भाग्यमै लेखेर ल्याएको जीवनभर सँगै हुनलाई रहेछ, कसरी–कसरी उनीहरूको मित्रता भयो । ‘त्यसो त हामी काठमाडौंमै किन्डरगार्टेनमा सँगै पढेका रहेछौं, बालापनमै कखरा सँगै सिकेका हामीलाई यो कुरा पत्तै थिएन । बैंग्लोर गएपछि मात्रै कुराको सिलसिलामा यो भेद खुल्यो,’ निर्देशकका रूपमा ज्योति ग्रुपअन्तर्गतको होन्डा फोर ह्विलर्सको कार्यभार सम्हालिरहेकी सिर्जना भन्छिन्, ‘बैंग्लोरमा सँगै बिताएका पल मस्तिष्कमा सधै ताजा छन् । तर उतिबेला मैले विवाह नै गरिएला भन्नेसोचेकी थिइनँ । म एकल परिवारमा स्वतन्त्र रूपले हुर्किएकी केटी, सौरभका जिजुहजुरमुमा, हजुरमुमा समेत भएको विशाल परिवार । तर काठमाडौं फर्किएपछि पनि हामी दुई नभेटी नहुने भयो । सौरभ बाइकको सौखिन भएकाले उसको बाइकको पछाडि बसेर हुइँकिरहँदा आजभन्दा २५ वर्षअघिको समाजमा सबैले नोटिस गर्न थाले । विवाह गर्ने उमेर पनि भएको थियो । एकपटक गर्न परिहाल्छ, आफैंले मन पराएको मान्छेसँग किन नगर्ने भन्ने सोच आयो । सौरभको परिवारसँग भेट्दा सबैको मायालु व्यवहार पाएँ । अनि हाम्रो १९९९ मा विवाह भयो ।’
विवाहपछि ठूलो परिवारमा एडजस्ट हुन सौरभले ठूलो साथ दिए । सबैसँग मिल्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने कौशलसिर्जनामा भएकाले त्यसका लागि खासै बढी मेहनत गर्न नपरेको सौरभ बताउँछन् । भन्छन्, ‘सबैलाई कलात्मक ढंगले जोडेर राख्न सक्ने सिर्जनाको विशेष क्षमता छ । त्यसो त हाम्रो परिवार संकुचित छैन, छोरी–बुहारी पनि अघि बढ्नुपर्छ भन्ने सोच भएकाले ज्योति परिवारमा आफ्नो व्यापारिक घराना बाहिर निस्किएर काम गर्ने पहिलो बुहारी उनै हुन पुगिन् । छोराछोरीको आगमनपछि दुवैमा जिम्मेवारी थपियो । समय व्यवस्थापनमा कसरत गर्नुपर्ने भयो तब मात्र सिर्जनाले आफ्नै पारिवारिक व्यवसाय सम्हाल्न थालेकी हुन् । आज उनले हाँकेको व्यावसायिक संस्थाले तीव्र गति लिइरहेको छ । महिलाको नेतृत्व अब्बल हुन्छ भन्नेमा उनले प्रमाणित गरेर देखाइदिएकी छिन् ।’
भारतको खर्साङ तथा बैंग्लोर हुँदै काठमाडौं युनिभर्सिटीबाट एमबीए गरेकी सिर्जना र दार्जिलिङको सेन्ट जोर्जेस तथा बैंग्लोर पढेका पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ जमाना बदलिइसकेको बताउँछन् । आफ्नो जमानामा आइ लभ यु भनेर प्रस्ताव गर्नै नपर्ने, बोली–व्यवहार र आँखाको भावले प्रेम बुझिहाल्ने बताउने सौरभ प्रेम दुई व्यक्तिबीच हुने र विवाह परिवारबीच पनि हुने भएकाले यसलाई एक संस्थाका रूपमा बुझ्छन् । ‘पहिलो कुरा त सिर्जना मेरो च्वाइस हुन् । अर्को कुरा हामीकहाँ छोरी नभएकाले सिर्जनालाई सबैले माया र सम्मान गर्ने, उनको विचार र भावनाको महत्व मान्ने हुँदा विवाहसम्मै पुगियो । फरक पृष्ठभूमिबाट आएकीले उनलाई सुरुवाती दिनमा ठूलो परिवारमा केही नर्भस भए पनि मैले सधै नजिकको साथीको व्यवहारद्वारा उनलाई सघाएँ,’ सौरभ भन्छन्, ‘त्यसो त उनी विवाह हुने भएपछि मानसिक रूपमा पूर्वतयारीमै थिइन् । घरमा आइसकेपछि क्रमशः उनले सबै कुरालाई मिलाउँदै लगिन्, सहजताका लागि म सहयोगी भइदिएँ ।’
सिर्जनाका अनुसार सपिङमा रुचि भएका सौरभ निकै मायालु श्रीमान् हुन् । श्रीमतीलाई सरप्राइज गिफ्ट दिन उनलाई कुनै पर्व कुर्नै पर्दैन । जे देख्यो किनिहाल्ने सौरभको स्वभावमाथि कहिलेकाहीँ यी दुईको ठाकठुक पर्छ तर लामो समय टिक्दैन । विवाहको २६ वर्ष बितिसक्दा पनि यी दुई श्रीमान्–श्रीमती कम बेस्ट फ्रेन्ड बढी छन् । एक–अर्कासँग लुकेको कुनै कुरा छैन । साना–ठूला जेसुकै कुरा हुन् आपसमा सेयर गरिहाल्नुपर्छ दुवैलाई, कसले के भन्ला वा सोच्ला भन्ने चिन्ता छैन ।
सौरभको सिर्जनाप्रतिको विश्वास र सम्मान यति अद्भुत छ कि उनी हरेक आर्थिक कारोबार सिर्जनाकै हातमा छोडिदिन्छन् । उनी भन्छन्, ‘महिलाले सम्हालेको घर होस् वा संघसंस्था अझ बलियो र विश्वासयोग्य हुन्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ । मनभित्र यति छ कि अन्त्यमा उसलाई पर्दा म र मलाई पर्दा ऊ नै हो । छोराछोरीको आफ्नै जीवन र संसार हुन्छ । हामीबीच सर्तरहित प्रेम र अकल्पनीय विश्वास छ जसले हाम्रो जीवनलाई थप सुन्दर बनाएको छ ।’
अहिलेका पुस्तामा धैर्य कम, हरेक परिणाम तुरुन्तै चहिने भएकाले पनि सम्बन्ध धरापमा पर्ने सिर्जना बताउँछिन् । म मात्रै नभनेर हामी भन्यो भने र एकापसमा माया, विश्वास, जिम्मेवारीबोधको क्षमता भयो भने दाम्पत्य जीवन सहज र सुन्दर बन्ने उनको तर्क छ ।
चुनौतीमा पनि सदा हँसमुख सिर्जना आफू वरिपरिको वातावरणलाई सधै रमाइलो बनाउने स्वभावकी छिन् । श्रीमान्को मोटरसाइकल प्रेमबारे ठठ्ठा गर्दै भन्छिन्, ‘सौरभले यति धेरै बाइक थुपारेकामा ठीकै छ स्वास्नी बटुल्नुभन्दा त बरु बाइक बटुलेकै राम्रो भन्ठान्छु । अनि अर्को कुरा उसको सपिङ गराइको तौरतरिका देखेर प्रायः भन्ने गर्छु, म लोग्ने र सपिङको कीरा, तिमी स्वास्नी भएको भए पक्कै सक्दैनथ्यौ ।’ छेवैमा बसेर यो सुनिरहेका सौरभ व्यंग कस्छन्, ‘पैसा जति सबै तिम्रो कन्ट्रोलमा छ, तिमीले दिए पो सपिङ गर्ने ? अब त यो एउटारूचि पनि सपना होला जस्तो छ ।’
२२ वर्षीय छोरा श्रेयांश र १८ वर्षीया छोरी सुहासिनीले यी आमाबुवाको जीवनमा नयाँ रङ छरिरहेका छन् । सौरभ–सिर्जनाका रुचिमा खासै फरक छैन । उनीहरू प्रायः व्यावसायिक यात्रामै व्यस्त रहन्छन् । सम्बन्धलाई अझ मजबुत बनाउन उनीहरू दुवैतर्फका परिवारसँग देशभित्रै र बाहिर भ्याकेसनमा निस्कन्छन् । सिर्जना मात्रै नभएर उनकी देउरानी पनि व्यापारिक घरानाकै व्यवसाय सम्हालिरहेकी छिन् । आफ्नो व्यावसायिक प्रतिष्ठानलाई बलियो बनाएर नयाँ रूप प्रदान गर्न उनीहरू चारै जना भारतमा ८ महिने तालिम लिएर आए । यतिबेला घरमा सिर्जनाकी सासू मीराले सबै कुरा व्यवस्थापन गर्ने गरेकी छिन् । सिर्जना भन्छिन्, ‘श्रीमान् र परिवारको सहयोगबिना महिलालाई अगाडि बढ्न सकस छ । म सुरुमा निर्देशक भएर होन्डा फोर ह्विलर्स जाँदा धेरैले मेरो क्षमताले भन्दा पनि बुहारीको ट्यागले आएको हो भन्ने जस्तो गर्थे तर अहिले त्यो माहौल छैन । मेरो निर्णय मान्य हुन्छ । मेरो निर्णयमा कुनै हस्तक्षेप नभएको र परिवारले पनि मेरो निर्णयलाई खुसी हुँदै साथ दिएकाले यो सम्भव भएको हो । अहिले हामी देउरानी–जेठानी नै निर्णायक तहमा छौं । हरेक काममा हामीसँग सरसल्लाह गर्ने र हाम्रो विचारलाई सम्मान गर्ने संस्कृति बढेको पाएका छौं ।’
सिर्जनाले पद्मज्योति ग्रुपमा सिस्टम बसाल्ने काम गरिन् । उनलाई आफ्ना छोराछोरी विदेश पढेर फर्किएपछि सिस्टम बनाउँदैमा उनीहरूको समय नबितोस् सारासर सिस्टममा रहेर काम गरून् भन्ने लाग्छ । उनले आफ्नै अवधारणामा सुरु गरेको युनिभर्सल आउटसोर्सिङ र ह्वाइट ह्याट डिजिटल मार्केटिङ नामका दुई कम्पनी रफ्तारमा दौडिरहेका छन् । ज्योति ग्रुपको सामाजिक उत्तरदायित्वअन्तर्गतको शिक्षा, स्वास्थ्य, संस्कार उद्यमशीलताका क्षेत्रमा भइरहेका काममा पनि सिर्जनाको सक्रियता उत्तिकै छ । वीरगन्ज नजिकै गाउँमा जग्गा दान गरेर विद्यालय खडा गर्न उनको पनि मेहनत उत्तिकै परेको छ । सिर्जना भन्छिन, ‘त्यो स्कुल पढ्ने बच्चा खरर्र अंग्रेजी बोल्छन्, आमाबाबु बुझ्दैनन् तर उनीहरूको मुहारको हाँसोले बताउँछ ती कति खुसी छन् भनेर । मान्छे भएर जन्मिएपछि अरुका लागि केही न केही सेवा गर्नु नै धर्म हो भन्ने लाग्छ ।’
जिम्मेवारीलाई साझा गर्दै र एक–अर्काको भावनालाई सम्मान गर्दै अघि बढिरहेका सौरभ–सिर्जना भन्छन्, ‘आपसी प्रेम, विश्वास, सम्मान र कृतज्ञता भयो भने वैवाहिक सम्बन्धले जीवनलाई स्वर्ग बनाउँछ ।’
सौरभको नजरमा सिर्जना
बलियो पक्ष : सबैलाई जोडेर राख्ने गुण
कमजोरी : खुलेर भावना व्यक्त नगर्ने
लत : भिडियो गेम
मनपरेको चलचित्र : यथार्थवादी
ड्यासिङ पुरुष : बालेन शाह
कस्ती श्रीमती ? : बेस्ट फ्रेन्ड, मेरो खुसी
के भएको हेर्ने रहर छ : स्वस्थ र खुसी
सिर्जनाको नजरमा सौरभ
बलियो पक्ष : अत्यन्तै सहयोगी र मायालु
कमजोरी : एकदमै खर्चालु
प्रभाव पारेका व्यावसायिक व्यक्ति : नेपालका नवयुवा प्रवर्तकहरू
रुचि : बाइकमा घुम्ने
मनपर्ने साधन : मोटरबाइक
मनपर्ने परिकार : गुलिया खाना
कस्ता श्रीमान् ? : रोमान्टिक, लभिङ, केयरिङ
के भएको हेर्ने रहर छ : सधैं खुसी भएको