Successfully Copied

फेसियलका फाइदा 

मृतकोशिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ । धूलो, धूवाँका कारण छाला रुखो, सुख्खा भएर अनुहारको प्राकृतिक चमक हराएर जान्छ । साथै अनुहारमा दाग–धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ । फेसियलले छालाको गहिराइबाट सफा गर्ने र छालालाई निखार्ने काम गर्छ ।

खुशी पाठक

मृतकोशिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ । धूलो, धूवाँका कारण छाला रुखो, सुख्खा भएर अनुहारको प्राकृतिक चमक हराएर जान्छ । साथै अनुहारमा दाग–धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ । फेसियलले छालाको गहिराइबाट सफा गर्ने र छालालाई निखार्ने काम गर्छ ।

फेसियल घरमा आफैले गर्न सम्भव हुँदैन । फेसियल गर्ने विधि र तरिका तालिमप्राप्त व्यक्तिलाई मात्र थाहा हुन्छ । त्यस्तै, आफ्नो छालाअनुसार कस्तो प्रकारको फेसियल गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यो अनुहारको मसाज गर्ने एक विधि हो, जुन शारीरिक एवं मानसिक रूपमा आराम गर्नेसँग सम्बन्धित छ । त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो सलुनमा गराउँदाको फाइदा दोब्बर हुन्छ ।

फेसियलको प्रकार

फेसियल विभिन्न प्रकारका हुन्छन् । फेसियल छालाको समस्या कस्तो छ त्यहीअनुरूप गरिन्छ । सबैजनालाई एउटै प्रकारको फेसियल उपयुक्त नहुन सक्छ । पछिल्लो समय धेरैजसोमा चायाँपोतोको समस्या छ । छालाको प्रकार तथा उमेरअनुसार फेसियलको छनोट गर्नुपर्छ । चिल्लो छाला भएकाहरूमा डन्डिफोर, एक्नेजस्ता समस्या देखिन्छन् । यस्ता छाला भएकाहरूलाई त्यही किसिमको सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै, छाला रुखो र सुख्खा भएकाहरूलाई छालाको मोस्चर बढाउने किसिमका फेसियल गराउनुपर्छ । सामान्य छाला भएकाहरूले फ्रुट फेसियल गराउन सकिन्छ । यो प्राकृतिक भएकाले छालालाई असर गर्दैन । ताजा फलफूलमा एन्जाइम, एन्टिअक्सिडेन्ट र भिटामिन ‘सी’ ले छालामा भएका दाग–धब्बा हटाएर अनुहारलाई चम्किलो बनाउँछ । कम्बिनेसन छाला भएकाहरूलाई सोहीअनुसारको फेसियल किटको प्रयोग गर्न सकिन्छ । 

‘गोल्ड फेसियल’ छालालाई चम्किलो बनाउन उपयोगी मानिन्छ । यसले तत्कालै रिजल्ट दिन्छ । यो फेसियलले छालालाई कोमल एवं मुलायम बनाइराख्छ । बढ्दो उमेरलाई रोक्न रोक्न ‘एन्टी एजिङ फेसियल’ को प्रयोग गर्नुपर्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ र बूढोपनलाई रोक्छ ।

फेसियल किन गर्ने ?

फेसियल हरेक २१ दिनमा गर्नुपर्छ । २० वर्ष कटेपछि जोकोहीलाई फेसियल आवश्यक हुन्छ । यो एक योग नै हो । छालालाई बिग्रनबाट बचाउन नियमित फेसियल गराउनुपर्छ । छाला बिग्रिसकेपछि उपचार गराउन गाह्रो हुन्छ । त्यसैले समस्या भइसकेपछि उपचार गराउनुको सट्टा अगाडि नै छालाको हेरचाह गर्नुपर्छ ।

नियमित फेसियल गर्दा जवान देखाउँछ । यसले अनुहारको छालामा रक्त प्रवाह बढाउँछ जसकारण अनुहारको चाउरीपन कम गर्छ । फेसियलले छालालाई नरम बनाइराख्छ । त्यस्तै, यसले अनुहार गोरो देखाउँछ । अनुहारको छालामा भएको ह्वाइट र ब्ल्याक हेड्स हटाउँछ । फेसियलले छालालाई गहिराइबाट सफा गर्ने भएकाले छालालाई हाइड्रेट राख्नुका साथै छालालाई पोषण प्रदान गरेर स्वस्थ राख्छ ।

फेसियल सौन्दर्यसँग मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । यसको प्रक्रिया गरिरहँदा तन, मन एकाग्र भएर रिल्याक्स भइरहेको हुन्छ । जसकारण चिन्ता र नकारात्मक विचार मनबाट हटेर जान्छ । यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्‍याइरहेको हुन्छ ।

फेसियलको बेफाइदा

प्रायःजसो फेसियल रसायनयुक्त उत्पादनबाट गरिन्छ जसले गर्दा कहिलेकाहीँ छालामा केही समस्या देखिन सक्छ । छालाको प्रकारअनुरूप क्रिम प्रयोग नभएमा छालामा एलर्जी आउन सक्छ । धेरैपटक वा चाँडो फेसियल गराउँदा छाला रातो हुन्छ, पछि यसले समस्या निम्त्याउन सक्छ । कतिपयलाई फेसियल गरिसकेपछि एक्नेको समस्या आउन सक्छ । फेसियल गर्दा अनुहारका रोमछिद्र खुल्ने भएकाले सिबम उत्पादन बढी हुन्छ र छाला तैलीय हुने भएकाले एक्ने आउन सक्छ । घरमै फेसियल गराउँदा छालाको ‘पिएच ब्यालेन्स’ बिग्रन सक्छ । जसले छाला सुख्खा हुन सक्छ ।

फेसियल गर्दा ध्यान पुर्‍याउनुपर्ने कुरा

फेसियल गराउँदा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । अझ पहिलो पटक फेसियल गराउँदै हुनुहुन्छ भने यी कुरामा सतर्क हुनुपर्छ ।

- कुनै पनि क्रिमले फेसियल गराउनुपूर्व उक्त क्रिम तपाईंको छालामा नकारात्मक प्रभाव पार्छ/पार्दैन भनेर टेस्ट गराउनुपर्छ । अनुहारको छाला संवेदनशील हुने भएकाले जुनसुकै क्रिमको प्रयोग गर्नुहुँदैन ।

- फेसियल गराउन तालिमप्राप्त व्यक्ति वा विश्वासिलो सैलुनमा जानुपर्छ । यसो गरेमा छालामा कस्तो प्रकारको फेसियल आवश्यक छ सोहीअनुसारको सुझाव पाउन सकिन्छ ।

- छालामा कुनै प्रकारको एलर्जी भए पहिले नै सौन्दर्यविद्लाई अवगत गराउनुपर्छ । अनुहारको छालामा कुनै औषधिको प्रयोग गरिरहेको भए त्यसको पनि जानकारी गराउनुपर्छ ।

- गर्भावस्थामा फेसियल गराउनुहुँदैन । गर्भवती भए यसको जानकारी पनि गराउनुहोस् ।

- फेसियल गराउनासाथ तुरुन्त घामको प्रत्यक्ष सम्पर्कबाट बच्नुहोस् । कम्तीमा पनि एक सातासम्म बिनासनस्क्रिन क्रिम, ह्याट वा छाताको प्रयोगबिना बाहिर निस्कनुहुँदैन ।

- अनुहारको छालामा सकेसम्म साबुनको प्रयोग गर्नुहुँदैन । फेसियल गरेको केही दिनसम्म साबुनको प्रयोग नगर्नु राम्रो हुन्छ । साबुनमा भएको रसायनले अनुहारको छालालाई असर पार्न सक्छ ।

- सनस्क्रिनको प्रयोग गर्न बिर्सनु हुँदैन । बाहिर निस्कँदा ‘५० एसपीएफ’ र घरभित्र ‘३० एसपीएफ’ को सनस्क्रिन लगाउनुपर्छ । कतिपयले घरमै बस्ने हो भनेर सनस्क्रिन लगाउँदैनन् । घरमा बस्दा पनि सनस्क्रिन लगाउनुपर्छ । मोबाइलको उज्यालो विकिरणले पनि हाम्रो छालालाई हानि पुर्‍याउँछ ।

- फेसियल गराइसकेपछि एक सातासम्म छालामा स्क्रबको प्रयोग गर्नुहुँदैन ।

- फेसियल गरेपछि तुरुन्त वाक्स, थ्रेडिङ वा लेजर उपचार गराउनु हुँदैन । कम्तीमा पनि एक साता पर्खनुपर्छ ।

- फेसियल गरेपछि जिम वा कुनै प्रकारको कसरत गर्नुहुँदैन । अत्यधिक शरीरको तापक्रम र पसिनाले फेसियल गरेको छालामा जलन हुनसक्छ ।

(खुशी ऐना युनिसेक्स सलुनकी  संचालिका हुन्)

 Image