गर्मीमा छाला स्याहार
दिनहुँ अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि गुणस्तरीय क्रिम प्रयोग गर्नुपर्छ । काँचो दूधले पनि क्लिन्जिङ गर्न सकिन्छ ।

चन्दनको लेप
चन्दनको प्रयोगले छाला कसिलो बनाउँछ । छाला कसिलो भएपछि अनुहारका खुल्ला छिद्रमा कमी हुनुका साथै दागधब्बा समेत हट्छ । चन्दनको लेपले छालाको कोमलता समेत जोगाउँछ । चन्दनको लेपलाई नियमित प्रयोग गर्दा अनुहारमा दाना आउने, अनुहार तैलीय हुने, धेरै फुस्रो हुनेजस्ता समस्या पनि हट्नसक्छन् ।
कागती र मह
अनुहारलाई चम्किलो बनाउन कागती र महको घोल प्रयोग गर्न सकिन्छ । कागती र महको मिश्रणलाई अनुहारमा लगाउने र १५ मिनेटपछि चिसो पानीले अनुहार धुने गर्नुपर्छ । यो प्रक्रिया नियमित अपनाउँदा छाला कान्तिमय बन्छ ।
अनुहारको सफाइ
चिनी र सुन्तलाको गुदीको घोल अनुहार र हातको छालाको मास्तिरतर्फ लगाउनु पनि उपयोगी हुन्छ । यो मिश्रणलाई हातले हलुका ढंगले शरीरमा पनि लगाउन सकिन्छ । यसबाट छालाको मृत कोशिका हट्नुका साथै हराएको कान्ति समेत फर्कन्छ ।
छाला चम्काउने आधुनिक उपाय
आजको वैज्ञानिक युगमा छालामा कान्ति ल्याउन गार्हो छैन । छोटो अवधिमै विशेष ढंगको सौन्दर्य उपचार गरी छालाको मृत कोशिका हटाएर लुक्सलाई ताजगीपूर्ण तथा आकर्षक बनाउने अनेक उपाय छन् । लेजर टोनिङले समेत छालाको बनावट र चमकमा सुधार ल्याउँछ । ताजगीले भरिपूर्ण आकर्षक लुकका लागि जुवेडर्मजस्ता फिलर्सको प्रयोग समेत गर्न सकिन्छ । जुवेडर्म फिलर्सजस्तो नयाँ पद्धतिको प्रयोगबाट आँखाको तल्लो भागमा हुने खोपिल्टो पनि पुर्न सकिन्छ । आधुनिक दुलहीले बोटोक्सदेखि डीटैनिङ तथा लिपोसक्सनजस्ता हरप्रकारका आधुनिक सौन्दर्य चिकित्सा पद्धतिलाई उपयोगमा ल्याउन सकिन्छ ।
लिप ओग्मेटेसन
ह्यालुरोनिक एसिडमा आधारित फिलर्सको इन्जेक्सन लगाउँदा राम्रो परिणाम निस्कन्छ । यो प्रविधिलाई छालामा चमक ल्याउनका लागि प्रयोग गरिन्छ । यो इन्जेक्सनको प्रयोग गरेर आफ्नो गाला र ओठको मांशपेशीलाई चाहेजस्ता बनाउन सकिन्छ । यसले ओठ फुट्ने समस्यालाई समेत निराकरण गर्नसक्छ । जुवेडर्मजस्तो फिलर्सले ओठलाई निकै सुन्दर आकारमा ढाल्नुका साथै मांसपेशीलाई समेत रसिलो बनाइदिन्छ । यो पद्धतिको असर केही महिनासम्म रहिरहन्छ । यसको अलावा यो पद्धतिले अनुहार वरिपरिको मुजा परेको क्षेत्रलाई मुजारहित बनाइदिन्छ । यसको प्रयोगले छालालाई अधिक मुलायम तथा चम्किलो बनाउँछ ।
रौं तथा चाउरी हटाउन
हिजोआजका युवती आफ्नो धेरै समय पढ्न, संघर्ष गर्न र क्यारियर बनाउनमै खर्च गर्छन् । यसैकारण पनि धेरै युवतीहरू ३० वर्षको आसपास र यसपछि मात्र विवाह गर्छन् । ३० वर्षे उमेरमा २० वर्षको जस्तो जवानी तथा सुन्दरता नरहन सक्छ, तर यसको समेत उपाय छ । बोटोक्सको प्रयोगले ३० वर्षको उमेरलाई २० वर्षको जस्तो देखाउन सकिन्छ । बोटोक्सको प्रयोगले अनुहारका चाउरी तथा अनावश्यक रौं हट्नुका साथै तनावरहित एवं आकर्षक देखिन सकिन्छ ।
डायमण्ड पोलिसिङ
यो पनि एकप्रकारको आधुनिक उपाय हो । यसमा एउटा इलेक्ट्रोनिक्स डिवाइसको चुच्चोमा डायमण्ड लगाएर छालामा दल्दै पोलिस गरिन्छ । मृत कोशिका र दागधब्बा हटाउन यो प्रविधि निकै उपयोगी हुन्छ । डायमण्ड पोलिसिङले अनुहारको चमक बढाउनुका साथै गोरोपन बढाई अनुहारमा निखार ल्याउँछ ।
लेजर हेयर रिडक्सन
वेक्सिङ, सेविङ तथा ब्लिचिङबाट छाला नराम्रोसँग प्रभावित हुनसक्छ । यसको विकल्पमा लेजर हेयर रिडक्सन लिन सकिन्छ जसबाट शरीरका विभिन्न भागमा पलाएका रौंहरूलाई फेरि नपलाउने गरी हट्छन् । लेजर हेयर रिडक्सनको प्रयोगबाट नियमित आइरहने झन्झटबाट छुटकारा पाउन सकिन्छ । हुनेवाला दुलहीले प्राय: हात, खुट्टा, काखी, विकिनी, नाभी तथा शरीरका अन्य भागको रौं हटाउनका लागि भरपर्दो उपाय हुनसक्छ– लेजर ट्रिटमेन्ट ।