Successfully Copied

हेयर स्टाइलिङ प्रोडक्टस

यो गाढा बेक्स जस्तै हुन्छ, जुन लामो समय रहन्छ। हेयर बेक्स अन्य स्टाइलिङ उत्पादनजस्तै केशमा गएर कडा हुँदैन।

हेयर बेक्स

यो गाढा बेक्स जस्तै हुन्छ, जुन लामो समय रहन्छ। हेयर बेक्स अन्य स्टाइलिङ उत्पादनजस्तै केशमा गएर कडा हुँदैन। हेयर बेक्सलाई पोमेड, ग्लू, विप वा स्टाइलिङ पेस्ट पनि भनिन्छ। विशेषत: जाडो मौसममा हेयर बेक्स प्रयोग गर्नुपर्छ।

प्रयोग गर्ने उपाय : स्कुप गरी थोरै बेक्स निकालेर हातमा मल्दै सुख्खा केशमा लगाउनुपर्छ, यसबाट हल्का चिल्लोपन आउँछ।

टिप्स : बेक्स सफा गर्न मनतातो वा तातोपानीले केश धुनुपर्छ।

जेल

केशमा जेलको प्रयोग केशलाई कडा बनाउन गरिन्छ जसका कारण केश एउटै ठाउँमा सेट रहन्छ र चाहेअनुसार हेयर स्टाइल बनाउन सकिन्छ।

प्रयोग गर्ने उपाय : हातमा अलिकति जेल लिएर भिजेको केशमा प्रयोग गर्नुपर्छ। अब औंला प्रयोग गरी केशलाई स्टाइल दिनुपर्छ वा मोटो दाँत भएको काइँयो वा ब्रस प्रयोग गनुपर्छ। जेललाई आफंै सुक्न दिनुपर्छ।

टिप्स : लामो समयसम्म बाहिर रहनु छ भने केशमा प्रयोग भएको जेलमा थोरै पानी प्रयोग गरी पुन: औंलाको सहायताले स्टाइलिङ दिनुपर्छ।

मुज

मुज फोम (फिज) का रूपमा उपलब्ध हुन्छ, जुन केशमा प्रयोग गरेपछि केशको भोल्युम बढ्छ अर्थात् मुज लगाएपछि केश धेरै देखिन्छ। मुज लगाउन समय पनि बढी लाग्छ। कारण यसलाई लगाएपछि केशको ब्लो ड्राई आवश्यक छ। पार्टीमा जानुपूर्व हेयर स्टाइल बनाउँदा मुज प्रयोग गर्नु उपयुक्त हुन्छ।

प्रयोग गर्ने उपाय : फोमलाई हातमा लिएर केशको जरासम्म मसाज गर्दै लगाउने। त्यसपछि ब्लो ड्राई गर्ने।

टिप्स : केश पातलो छ भने मुज प्रयोग गर्नुपर्छ।

हेयर स्प्रे

हेयर स्टाइल बनाइसकेपछि त्यसलाई कायम राख्न केशमाथि हेयर स्प्रे प्रयोग गरिन्छ। हेयर स्प्रे जेल, बेक्स वा ग्लुभन्दा हल्का हुन्छ र केही समयका लागि हेयर स्टाइल टिकाउन सहयोगी हुन्छ। यसले केशलाई समेेटेर राख्छ, उड्न दिँदैन।

लिव इन कन्डिसनर

स्याम्पुपछि जुन कन्डिसनरलाई केशमा लगाएर छोडिन्छ, त्यसलाई लिव इन कन्डिसनर भनिन्छ।

प्रयोग गर्ने उपाय : स्याम्पु गरेपछि हातमा दुई-चार थोपा यो कन्डिसनर हालेर हल्का भिजेको केशमा लगाउनुपर्छ।

टिप्स : हेयर स्प्रेको बोतलमा यसको केही थोपा मिसाएर राख्नुपर्छ। यसलाई केश धोएपछि स्प्रे गर्न सकिन्छ।

हेयर सिरम

यो विशेष खालको लिक्विडबाट केशलाई पोषण एवं चमक प्राप्त हुन्छ। यसको केही थोपा नै पर्याप्त हुन्छ।

प्रयोग गर्ने उपाय : यसको केही थोपा लिएर केशमा लम्बाइअनुरूप दल्ने।

टिप्स : केशमा तेल लगाउन मन छैन भने हेयर सिरमको केही थोपा जरासम्म लगाएर हल्का हातले मालिस गर्नुपर्छ।

हेयर टनिक

यो पोषकतत्त्वबाट भरिपूर्ण लिक्विड हो। यसलाई ओयल मसाजपूर्व केशमा प्रयोग गरिन्छ।

प्रयोग गर्ने उपाय : हेयर टनिकको केही थोपा हातमा लिएर शिरको मसाज गर्नुपर्छ। त्यसपछि ओयल मसाज नगरे पनि फरक पर्दैन।

टिप्स : हेयर टनिकको प्रयोगपछि स्याम्पु गर्नुहुँदैन, केश सुख्खा अनि फुङ्ग उडेजस्तो हुन्छ भने यसलाई केशमा रहन दिनुपर्छ। यसले कन्डिसनरको काम गर्छ।

 Image