Successfully Copied

मेकअप

बाल्यकालदेखि नै आत्मनिर्भर बन्न चाहने सकिलको सपना त्यतिबेला साकार भयो जब उनी ११ वर्षको उमेरदेखि नै मेहन्दी लगाएर

बाल्यकालदेखि नै आत्मनिर्भर बन्न चाहने सकिलको सपना त्यतिबेला साकार भयो जब उनी ११ वर्षको उमेरदेखि नै मेहन्दी लगाएर आफ्ना लागि आर्जन गर्न सक्ने भए। त्यसो त उनको सिर्जनात्मक कला त्यसो भन्दा पनि सानो उमेरमा आफ्ना सहपाठीलाई नाटक, नृत्यजस्ता स्कुले कार्यक्रमका लागि सिंगारेर तयार पारिदिने क्रममै प्रस्फुटन हुन थालेको हो।

सकिल कुँवर (२१) लाई के नपुग थियो र ? बुबा पदमबहादुर कुँवर सिंगापुरे पुलिस फोर्सका चिफ इन्सपेक्टर थिए। सिंगापुरमै जन्मिएर त्यतै हुर्किएका कुँवरले आमा, एक दिदी र एक  दाइका साथ सिंगापुरमै सुखद् बाल्यकाल बिताए। रातो बंगलाबाट ए लेभल सिध्याएका सकिलले सिटी गेड्स डिप्लोमा एण्ड हेयर डिजाइन, दिल्लीको भिएलसिसीबाट डिप्लोमा इन प्रोफेसनल मेकअप अर्टिस्टी तथा डिप्लोमा इन हेयर डिजाइनिङको कोर्स गरेका छन्। १५ वर्षको उमेरमा उनले जावलाखेलको शान ब्युटी होमबाट मेकअपसम्बन्धी तालिम लिएका थिए। पढेर भन्दा पनि हेरेर धेरै कुरा सिकेको बताउने सकिलसँग देखेर र हेरेर आफूले धेरै थोक जानेको अनुभव छ। १४ वर्षदेखि १६ वर्षको उमेरसम्म उनले सिंगारपुरको पिज्जा हटमा वेटरको काम गरे। सकिल भन्छन्-'त्यसअघि म अन्तर्मुखी स्वभावको थिएँ। मानिसहरूसँग कसरी बोल्ने, कसरी व्यवहार गर्ने केही थाहा थिएन। त्यहाँको कामले ममा कन्फिडेन्स बढाउनुका साथै यहाँसम्म आइपुग्न मार्गनिर्देश गर्‍यो।' प्याजेन्ट टे्रनिङ दिन १७ वर्षको उमेरमा नेपाल फर्किएका सकिलले त्यसयता आजसम्म कुनै समय खाली बस्नु परेको छैन। केही नयाँ काम गरौं भन्नेहरूका लागि नेपाल पहिलो गन्तव्य भएको उनको बुझाइ छ। उनी नेपाली युवाका लागि त्यस्ता उदाहरण हुन् जो केही गर्नका लागि बिदेशिन्छन्। नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा भाग लिन जानेहरूलाई कम्पिलट ब्युटी प्याजेन्ट तालिम दिने सकिल मानिसलाई सुन्दर हुन मात्र होइन आफ्नो भित्रैदेखि कन्फिडेन्स लेभल बढाई व्यक्तित्वमा पूर्ण निखार ल्याउन परामर्श दिन्छन्। कुँवर भन्छन्-'सबै मानिस राम्रा नै जन्मिन्छन् उनीहरूलाई अझ आकर्षक कसरी देखाउने हाम्रो काम हो। यसका लागि धेरै पढेकै हुनुपर्छ भन्ने छैन। आफ्नो कामलाई राम्रोसँग बुझेको हुनु आवश्यक छ। उसको कामको आफ्नै खालको, फरक स्टाइलको हुनुपर्छ। उसमा उद्यमशीलताको गुण एवं क्षमता चाहिन्छ।'

आकर्षक फेस सेपका सम्बन्धमा सकिल

धेरै गोलो फेसलाई आकर्षक बनाउन हाइलाइटिङ र कन्टेरिङद्वारा थ्री डी इफेक्ट्स निकाल्ने हो। आइडल फेस सेपलाई (ऐश्वर्या राय बच्चन, सृष्टि श्रेष्ठ हरूको जस्तो) ओभल फेस सेप दिने हो। यसलाई ब्युटी प्राइमर, स्किनअनुसारको फाउन्डेसन, कम्प्याक्ट आदि प्रसाधनले सेप दिनुपर्छ।

डस्की स्किनलाई आकर्षक लुक्स दिन

आकर्षक भनेको गोरो वा कालो छाला मात्र होइन। छालामा देखिने ग्लो, फ्रेसनेस तथा चमक र स्वस्थपन नै सुन्दरता हो। कालो छालामा ब्रन्ज मेकअप गर्नु हुँदैन। कालो त त्यसै ब्रन्ज छ उसलाई अझ कालो बनाउने आवश्यकता हुँदैन तसर्थ सुट हुने फाउन्डेसनलगायत अन्य प्रसाधनद्वारा छालामा चमक ल्याउनुपर्छ।

चुच्चो नाकलाई मेन्टेन लुक्समा ल्याउन

ठूलो गाला भएको मुहारमा चुच्चो नाक छ भने नाकलाई चलाउनु आवश्यक हुँदैन गालालाई सेप मात्र दिनुपर्छ। गालाको भागमा कन्टोरिङ गरेर नाकको सेपमा ढाल्न सकिन्छ।

चिम्सा आँखालाई ठूला देखाउन

नक्कली परेला, वाटरलाइन (कोष) मा कालोको ठाउँमा ह्वाइट पेन्सिल, डायमिटर ठूलो भएको कन्ट्याक्ट लेन्सको प्रयोगले सानो आँखालाई ठूलो देखाउन सकिन्छ।

मेकअप गर्न सहज

हरेक फेस सेप फरक हुन्छन् जसका अलग विशेषता पनि हुन्छन्। सबै मेकअप गर्दा उत्तिकै परिश्रम र रमाइलो हुन्छ। सबै सेपमा आ-आफ्नै किसिमका चार्म हुन्छन्।

क्रियटिभ मेकअप

आँखाको मेकअपमा बढी क्रियटिभ

हुन पाइन्छ।

छालामा असर

बेलुका सुत्नुअघि मेकअप उतारिएन (मेकअप नपुछी सुतियो) भने छालालाई असर गर्छ। मेकअप गर्दैमा छाला बिग्रने होइन मेकअप नउतारी सुतियो भने असर गर्न सक्छ।

सुन्दर देखिने घरेलु उपाय

म त्यस्ता हरेक व्यक्तिलाई सम्मान गर्छु जो आफू स्वयं सुन्दर बन्न सक्ने हैसियत राख्छन्। मेरो चाहना र अहिलेको काम पनि त्यही हो-महिलाहरू आफू सुन्दर देखिन आफैंले मेहनत गरून्। घरमै मेकअप गर्नेले सर्वप्रथम छालाको सफाइमा ध्यान दिने। त्यसपछि थिन लेयरमा ब्युटी प्राइमर वा सन ब्लक लगाउने, त्यसपछि हल्का फाउन्डेसन प्रयोग गर्ने। आइब्रोमा पेन्सिलले कोर्ने, गालालाई पिच कलर दिने र लिप नेचुरल राख्ने।

मेकअप गर्नुअघि

प्राइमर लगाउनुपर्छ। यसले मेकअपलाई लामो समयसम्म टिकाइराख्नुका साथै अनुहारमा आउने तैलीय पदार्थलाई कन्ट्रोल गर्छ।

छाला चम्किलो बनाउन

स्किन एक्सफोलियसन जरुरी छ। सुत्नुअघि बेबी ओयल वा क्लिन्जिङले मेकअप निकाल्ने। टोनिङ गर्ने, मोस्चराइजर वा नाइट क्रिम लगाएर सुत्ने।

सुन्दरता

मुहार, केश, ओठ वा आँखा मात्र होइन आफ्नो समग्र व्यक्तित्व कसरी बोलिरहेको हुन्छ त्यही हो-सुन्दरता।

मिेरो बेस्ट

इक्विपमेन्टस ः मैले भर्खरै मात्र किनेको इयरब्रस किट।

मेकअप गर्ने इच्छा छ ः सोनम कपूरको (किनभने उनी एक्सपेरिमेन्ट मन पराउँछिन्। उनले आफ्नो छालामा मलाई विश्वास गरेपछि मेरा लागि पनि त्यो चुनौती बन्छ जसले मेरो क्षमतामा अझ निखार ल्याउँछ, मलाई थप हौसला मिल्छ।)

अत्यन्त खुसी भएँ ः जतिबेला नगमा श्रेष्ठ मिस नेपाल अर्थ २०१२ को टप ८ मा परिन् त्यहाँ मेरो तालिमले पनि केही हदसम्म उनलाई सघाएको हुनुपर्छ। (भाग लिन जानुअघि सकिलले नगमालाई ब्युटी प्याजेन्ट तालिम दिएका थिए।)

इच्छा छ ः नेपालीले पर्सनल गु्रमिङलाई लाइफ स्टाइल बनाएको हेर्ने। नेपालमा यति गर्न सकें भने मेरो आत्माले शान्ति पाउँछ।

आफ्ना लागि ः पर्सनल गु्रमिङका लागि समय र पैसा दुवै बराबर खर्चिन्छु।

- सकिल कुँवर

हेयर मेकअप आर्टिस्ट तथा प्याजेन्ट टे्रनर

 Image