मेष
कुनै पुरानो काममा सफलता मिल्नेछ । धार्मिक एवं माङ्गलिक काममा पनि सहभागी रहनुपर्नेछ । कसैको लगनगाँठो कसिने, कसैको सन्तान लाभ र कसैको घरमा गरहगहना जोडिने सम्भावना छ । आर्थिक पक्ष सुदृढ हुनुका साथै सेयर कारोबार पनि उकालोतिर लाग्नसक्छ । दाम्पत्य जीवनमा राम्रो सहयोग र सद्भाव मिल्नेछ । उत्तरार्द्धमा विवाद हुने योग भएकाले बोली एवं व्यावहारिक काममा सजग रहनुपर्ने बेला छ । असम्बन्धित कामकुरामा चासो नदिनु नै उचित हुनेछ ।
वृष
विभिन्न कामले गर्दा कतैको यात्रा गर्ने सम्भावना छ । कतिपयको सरुवा वा बसाइ सराइ हुनसक्छ भने कसैको घरमा भाउजू वा बुहारी भित्र्याउने मौका मिल्नसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । नयाँ रोजगारीका अवसर मिल्नसक्छन् । काम गर्दा आकस्मिक विवादको सामना गर्नुपर्ने हुनसक्छ । सकेसम्म शान्त र तटस्थ रहने प्रयास गर्नुपर्नेछ । असम्बन्धित कामकुरालाई वास्ता नगरेकै उत्तम रहनेछ । सकेसम्म आफ्नो कर्तव्यपथमा लम्किनु नै उचित हुनेछ । पेटमा गडबडी हुने योग भएकाले खानपानमा सतर्क रहनुहोला । पेटका बिरामीले यात्रामा विशेष ख्याल गर्नुपर्ने बेला छ ।
मिथुन
अधूरा कामहरू सम्पन्न हुँदै जानेछन् । व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा भएको बोझ हट्दा तनमन दुवै स्वस्थ रहनेछ । काम गर्ने उत्साह बढ्दा सबै काम सहज लाग्न थाल्नेछन् । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । नयाँ रोजगारीका प्रशस्त बाटा खुल्नेछन् । डाह गर्नेहरू पनि उल्टै तपाईंको प्रशंसा गर्न तम्सिनेछन् । सामाजिक काममा तपाईंको महत्व बढ्दै जानेछ । कुनै विशेष कामका लागि तपाईंको छनौट हुनसक्छ । दाम्पत्य जीवनमा सुख र समझदारी कायम रहनेछ । कसैको प्रेम सम्बन्धले महिनामा गृहस्थको रूप लिनसक्छ ।
कर्कट
विविध कुराले गर्दा व्यस्त रहनुपर्ला । पारिवारिक भेटघाट हुनसक्छ । धार्मिक, माङ्गलिक एवं सामाजिक कार्यमा आबद्ध हुनुपर्नेछ । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि अपजसको भागिदार हुनुपर्ला । अत्यावश्यक प्राथमिकतामा जोड दिँदै कार्यक्षेत्रमा सक्रिय रहनुपर्ने बेला छ । छोराछोरीले कुनै कुरामा अनाहकमा जिद्दी गर्नसक्छन् । तिनीहरूलाई धैर्यपूर्वक सम्झाउनु उचित हुनेछ । दाम्पत्य जीवनमा कहिलेकाहीँ वैचारिक मतभेद भए तापनि आपसी समझदारी भने कायमै रहनेछ । कामको चापले गर्दा टाउको एवं आँखा दुख्ने समस्या हुनसक्छ । कामका साथसाथै स्वास्थ्य, खानपान, आराम र व्यायाममा पनि जोड दिनु उचित हुनेछ ।
सिंह
घरायसी कामकुरा गर्दा सजग रहनुपर्नेछ । आफूले जानेबुझेका कुरामा मात्र मुख खोल्नु उचित हुनेछ । पारिवारिक जिम्मेवारीमा व्यस्त हुँदा आफ्ना लागि समय दिन नपाइनसक्छ । समसामयिक कुराको ख्याल गर्दै आफू र आफ्नो कामका लागि पनि समय दिनसके सबै काम सुचारु ढंगले सकिँदै जानेछन् । परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । कसैको घरमा विविध कुराले पारिवारिक सदस्यको कतैको यात्रा हुनसक्छ । विविध कामकुराले गर्दा मनमस्तिष्कमा बढी जोड पर्नसक्छ । जतिसक्यो शान्त, धीर र तटस्थ हुनु नै उत्तम रहनेछ । सम्भावित अपजसबाट बच्न आफ्नो कार्यक्षेत्रमा विशेष सक्रिय रहनुपर्ने देखिन्छ ।
कन्या
मानसिक तनाव हट्दा तन स्वस्थ रहनेछ । काममा मन उत्साहित भइदिँदा सबै काम सहज लाग्नेछ । कसैको यो महिनामा कतैको घुमघाम हुनसक्छ । नयाँ रोजगारीका बाटाहरू भेटिनसक्छन् । समसामयिक कुरा बुझी मौका छोपेर काम गर्नुपर्ने बेला छ । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । रोजगारीमा बढुवा वा सरुवा हुनसक्छ । कुनै कुराले गर्दा मनमा हर्ष बढ्नेछ । आफ्ना खुसीका कामकुरामा मन केन्द्रित रहनेछ । मन शान्त र सुखी हुने कुरामा अघि बढ्न सक्छ । आफैले आफ्नो कामको बुझी प्रस्तुति दिनु उचित हुनेछ ।
तुला
सोचेअनुसार काममा सफल हुन बढी खट्नुपर्नेछ । कामको चाप बढ्नुका साथै सहयोगी हात पछि हट्दा आफैंले सबैतिर भ्याउनुपर्ने हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले कुनै पनि सामान किन्न बढी नहतारिएकै राम्रो होला । कसैमाथि विश्वास नगरेकै राम्रो होला । आफ्नो मालसामानको ख्याल गर्नुपर्ने बेला छ । कामको चाप बढ्न गई आफूलाई समय दिन नभ्याउँदा मन भित्रभित्रै कुँडिने, टाउको र आँखा दुख्ने, अनिद्रा तथा पेटमा गडबडी हुने समस्या आइलाग्नसक्छ । आफैंले आफ्नो हितका बारेमा सोची काम गर्नुपर्ने बेला छ ।
वृश्चिक
देश–विदेशको यात्रा हुने योग छ । सबै काम आफैंले गर्नुपर्ने हुँदा काममा धपेडी हुनसक्छ । कसैकसैको यो महिनामा विवाहको लगन जुर्नसक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ । आर्थिक लगानीको काम गर्दा सहज रहनुपर्ने बेला छ । समसामयिक अवस्थासित सजग हुँदै कामको वर्गीकरण गर्दै गरे आफैंलाई सहज हुनेछ । कसैबाट कुनै आशा नगरी आफ्नो काम आफैं गर्नु उत्तम रहनेछ । कसैको कुरा चित्त नबुझ्दा तटस्थ रहनु नै उचित हुनेछ । अनावश्यक चासोले अनपेक्षित विवाद हुनसक्छ । पेट तथा मुटुका बिरामीले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्नेछ । दाम्पत्य जीवनमा अपेक्षित सहयोग एवं सद्भाव पाउँदा मन प्रसन्न रहनेछ ।
धनु
पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । विभिन्न प्रकारका सामानको जोहो हुनेछ । व्यक्तिगत काममा सफल भइनेछ । कसैकसैको यो महिनामा लगनगाँठो कसिनसक्छ । प्रतिस्पर्धात्मक काम गर्दा सजग रहनुपर्ने अवस्था छ । कुनै पनि काम गर्दा गोपनीयतामा जोड दिनुहोला । कसैको कुराले मन बिझ्नसक्छ । शान्त र तटस्थ हुँदै व्यावहारिक हुनुपर्ने बेला छ । सोचेझैं काममा सफल हुन निकै खट्नुपर्नेछ । सकारात्मक सोचले गरेको कामले सकारात्मक फल दिनेछ । मनोरञ्जनात्मक कार्यमा मन रमाउनसक्छ । मनलाग्दो कुरामा केही समय दिनसकेमा मनले पुनर्ताजगीको अनुभव गर्नेछ ।
मकर
गरेको काममा अपेक्षित सफलता मिल्नेछ । कामविशेषले कतैको यात्रा गर्नुपर्ने हुनसक्छ । प्रतिस्पर्धात्मक क्रियाकलापमा तपाईंको विजय हुनेछ । मनमा भएको बोझ हट्दा मन हलुका र तन स्वस्थ रहनेछ । धार्मिक, माङ्गलिक एवं सामाजिक काममा अग्रसर भइएला । आर्थिक क्रियाकलापका काममा सफल भइनेछ । सवारीसाधनमा हेरफेर हुने सम्भावना छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । सन्तान सुख प्राप्त हुनेछ । अनावश्यक खर्च हुनसक्ने भएकाले कुनै पनि सामान किन्नुपूर्व राम्ररी निरीक्षण गर्नु उपयुक्त हुनेछ । साथीहरूसित कतै रमाइलो जमघट हुनसक्छ । यो महिनामा कसैकसैको प्रेम सम्बन्धले विवाहको रूप लिनसक्छ ।
कुम्भ
यो महिना आफू अनुकूल नै रहनेछ । प्रायः सबै कामकुरा आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । कुनै रोकिएका काम वा मुद्दामामिलामा पनि सफलता मिल्नेछ । समस्याको उचित समाधान हुँदा मन तनावरहित भै खुसी रहनेछ । कसैकसैलाई नयाँ रोजगारी मिल्नसक्छ । प्रतियोगितात्मक कार्यमा सहभागी भइनेछ । माइतीपक्षका इष्टमित्रसित भेटघाट हुनसक्छ । कसैकसैलाई आफन्तको विवाहको तयारीमा जुट्नुपर्ला । दाम्पत्य जीवन सुमधुर रहनेछ । कसैको लगनगाँठो कसिनसक्छ । कुनै आर्थिक कारोबारका काममा सहभागी हुनुपर्ला । मनोरञ्जनात्मक कार्यमा मन आकृष्ट हुनेछ । सबैतिरबाट काममा भनेजस्तो सहयोग पाइनेछ ।
मीन
सोचेअनुरूप काममा सफल हुन निकै खट्नुपर्नेछ । कुनै कुरामा सम्झौता गर्नुपर्ला । आर्थिक क्रियाकलापका काम गर्दा सजग रहनुपर्नेछ । कुनै नयाँ काममा लगानी गर्दा विशेष चनाखो रहनुपर्नेछ । अनपेक्षित अपजसको भागिदार बन्नुपर्ला । कसैले केही भनिहाले पनि मौन रहनु नै उचित ठहरिनेछ । केही समय आफूलाई छुट्याउन सके मनले तरोताजा अनुभव गर्नेछ । काम गर्दा आकस्मिक बाधा आइरहने हुँदा सकेसम्म कुनै नयाँ काममा हात नहालेकै उचित हुनेछ । कहिलेकाहीँ काम गर्दागर्दै अनावश्यक बाधा आउनसक्छ । समयावस्था बुझ्दै अत्यावश्यक प्राथमिकताका कुरामा जोड दिनु उचित हुनेछ ।