Successfully Copied

लण्डन

युरोपको यात्रा गर्ने सवै पर्यटकका निम्ति प्रिय शहर हो– लन्डन । यो आधुनिक र प्रचिन वास्तुशिल्पको मिश्रित शहर हो ।

युरोपको यात्रा गर्ने सवै पर्यटकका निम्ति प्रिय शहर हो– लन्डन । यो आधुनिक र प्रचिन वास्तुशिल्पको मिश्रित शहर हो । बेलायतको राजधानी लन्डनमा पर्यटकले जताततै हरियाली देख्न पाउँछन् । यो लन्डनको अर्को आकर्षक पक्ष पनि हो । किनभने यहाँ गगनचुम्बी महलका बीचमा पनि भव्य पार्क छन् । यस्ता पार्क अन्यत्र देख्नु दुर्लभ हुनसक्छ । लन्डन आफैमा बिग बेन, सेन्ट पोल क्याथेड्रलको सहर पनि हो । यहाँ विश्वका उत्कृष्ट संग्रहालयहरू छन् । 

लन्डनको यात्राले आगन्तुकको मनमा एक उत्साह त जगाउँछ नै, केही भय पनि पैदा गरिदिन्छ । यहाँ आलिशान कारमा हुँइकनेहरुदेखि सडकमा भिख मागिरहेका भिखारीहरुसँग समेत साक्षतकार गर्नुपर्ने हुन्छ । सडक र गल्लीदेखि हरेक आइतबार लाग्ने बजारमा डस्बिनमा मिल्काइएका खानेकुरा खोजीरहेका भिखारी देख्नु नौलो कुरा होइन । यति हुदाँहुदै पनि लन्डनले विश्व पर्यटनमा विशिष्ट स्थान कायम गरेको छ । पर्यटकका निम्ति यो एउटा ड्रिम डेस्टिनेसन हुनसक्छ । 

थेम्स नदीले यो महानगरलाई दुई भागमा विभाजित गरेको छ–उत्रन र दक्षिणमा । यहाँको बकिङघम प्यालेस, बिग बेन तथा संसद् भवनजस्ता दर्शनीय स्थल नदीको उत्तरी क्षेत्रमा अवस्थित छन्, जुन पैदल यात्राबाटै अवलोकन गर्न सकिन्छ । यसबाहेक अन्य सबै स्थान घुमफिरका लागि लन्डनको भूमिगत रेलको सहारा लिनुपर्ने हुन्छ । यो रेल सेवा सुगम भएकाले कुनै पनि बालबालिका कसैको मद्दतबिना यो रेलमा यात्रा गर्न सक्छन् । 

रेलमा चढ्नुअघि एउटा नक्सासामु गएर आफू जुन स्टेशनमा उभिएको हो, त्यहाँबाट आफ्नो गन्तव्यमा बटन दवाउनुपर्छ । यसपछि आफूले यात्रा गर्ने पूरा मार्गचित्र देखिनेछ । त्यसैका आधारमा यो रेलको यात्रा तय गर्न सकिन्छ । यदि यात्राका क्रममा अर्को ट्रेन परिवर्तन गर्नुपर्ने अवस्था भए त्यसको सूचना यही मानचित्रमा देखिन्छ । 

बकिङघम प्यालेस 

लन्डनको सबैभन्दा महत्वपूर्ण प्रतीक हो–बकिङघम प्यालेस । यसले सदियौं पुरानो राजघरानाको स्मरण दिलाउँछ । यहाँ बेलायतको शासकले सन् १८३७ मा महारानी भिक्टोरियाको पालादेखि यो महलमा वस्न थालेका थिए । यो महलमा ६ सय वटा कोठा छन् । यो कोठामा वालरुम तथा शाही सभा भवन पनि सामेल छन्, जसमा महारानीको सिंहासन छ । 

बकिङघम प्यालेसको दक्षिणमा कुनै बेला चर्च पनि थियो । अहिले उक्त चर्चलाई क्विन्स ग्यालरीको नाममा संग्रहालय बनाइएको छ । त्यहाँ प्राचीन शासकदेखि लिएर वर्तमान महारानीसम्म जोडिएका अनेकौं सामग्री राखिएको छ । संग्रहालयमा आगन्तुकले केही पुराना शासकको भव्य तेलचित्र समेत देख्न पाउँछन् । 

डाउनिङ स्ट्रिट 

तीन राजमहलले घेरिएको सेन्ट जोम्स पार्क लन्डनको शाही उद्यान मानिन्छ । अहिले यो लन्डनको सबैभन्दा सानो उद्यान हो । यद्यपि यसका साथै यस महानगरको सबैभन्दा सुन्दर तथा प्राचीन उद्यान पनि छ । यसको निर्माण सन् १५३२ मा हेनरी अष्टमले एक हिरन पार्कका रूपमा गरेका थिए । त्यहाँ आगन्तुकले रंगबिरंगी पक्षी त देख्नेछन् नै, पार्कको तलाउमा राजहाँसले जलक्रीडा गरिरहेको रोमाञ्चक दृश्य देखेर थकान मेटाउन सक्छन् । 

पार्ककै आडमा छ, बेलायती प्रधानमन्त्रीको निवास । यसलाई १० डाउनिङ स्ट्रिटको नामले चिनिन्छ । त्यहाँ १८ औं सताब्दीमा बनेको एक साधरण भवन छ । यसलाई १७३२ देखि प्रधानमन्त्रीको वासस्थान बनाइएको हो । भवनको तल्लो तल्लामा मन्त्रिमण्डलको कार्यालय छ । सवैभन्दा माथिल्लो तल्लामा प्रधानमन्त्री बस्छन् । 

यहाँबाट पैदल हिँडेरै चर्चिल संग्राहलय पुग्न सकिन्छ । यो बेलायतको विदेश मन्त्रालयको पछाडि छ । यहाँ बमबारीबाट वच्न बनाइएका केही बंकर पनि छन्, जहाँ द्वितीय विश्वयुद्धका क्रममा तत्कालीन प्रधानमन्त्री चर्चिलले आफ्ना मन्त्रिमण्डको बैठक बोलाउँथे र युद्ध सम्वन्धी नीति तय गर्थे । 

यो क्षेत्रमा बेलायतको संसद् भवन, हाउस अफ कमन्स तथा हाउस अफ लर्ड्स पनि छ । यहाँ बिग बेन, वेस्टमिस्टर हल तथा भिक्टोरिया टावर छ । राति जब यी संरचना बत्तीको उज्यालोमा जगमगाउँछन्, त्यतिबेलाको दृश्य हेर्नलायक हुन्छ । बिग बेनको १३ टनको घन्टा हरेक घन्टा बज्दा, त्यसको कम्पन टाढा–टाढासम्म महसुस गर्न सकिन्छ । 

रोयल ओपेरा हाउस

कोभेन्ट गार्डेनमा केही रेस्टुराँ तथा महँगा कपडाको उपहार पसल पनि छ । यहाँबाट थोरै दूरी छिचोलेपछि जबली मार्केट पुगिन्छ । यदि कपडा सस्तो मूल्यमा खरिद गर्ने हो भने, यो सही गन्तव्य हुनसक्छ । यसैको नजिक छ लन्डनको सुप्रसिद्ध–रोयल ओपेरा हाउस । 

यहाँ महानगरका मुख्य नृत्य, संगीत कार्यक्रम तथा नाटक मञ्चन हुने गरेको छ । यो ओपेरा हाउसमा स्टिल र काँचले बनाइएका सुन्दर हल छन् । 

ब्लूम्सबरी लन्डनका बुद्धिजिवीहरुको गढ हो र यहाँको मूख्य आकर्षण हुन्– विट्रिश संग्रहालय तथा लन्डन विश्वविद्यालय । लन्डन विश्वविद्यालयको परिसरमा अवस्थित छ विश्वभर प्रसिद्ध लन्डन स्कुल अफ इकोनोमिक्स  तथा केही अन्य शैक्षिक संस्था । 

बाहिर भने भव्य मन्दिर जस्तै लाग्ने बिट्रिस संग्रहालय छ । ग्रीक भिक्टोरिया शैलीमा निर्माण गरिएको यो संरचनाले पर्यटकहरूको मन लोभ्याउँछ । 

यदि तपाईंका बालबालिकाले ह्यारी पोर्टर हेरेका छन् र त्यसको १० नम्बर प्लेटफर्म हेर्न चाहन्छन् भने, त्यो इच्छा यहाँ पूरा हुन्छ । यसका निम्ति किंग्स क्रोस स्टेशन जानुपर्छ । यो आफ्नो १२ फुट अग्लो घण्टाघरका लागि प्रख्यात छ । यहाँ उक्त काल्पनिक प्लेटफर्मको बोर्ड पनि राखिएको छ, जहाँ बालबालिकाको फोटो खिच्न सकिन्छ । 

स्क्वायर माइल 

लन्डन शहरको प्रमुख व्यापारिक केन्द्र स्क्वायर माइललाई न्यूर्योकको वाल स्ट्रिटसँग तुलना गरिन्छ । यद्यपि यो वाल स्ट्रिट भन्दा केही भव्य छ । यहाँ अवस्थित सेन्ट पोल क्याथेड्रल ७ औ शताब्दीमा बनाइएको प्राचीन संरचना हो । यसका साथै टावर अफ लन्डन पनि दर्शनीय छ, जहाँ शाही किल्ला, कारागार तथा आभूषण भण्डार छन् । यो रक्तिम इतिहासको साक्षी पनि हो । यस क्षेत्रमा आगन्तुकले पुरानो गिर्जाघर, बजार तथा पबहरू देख्न सक्नेछन् । 

१८९४ मा निर्मित टावर ब्रिजको विशेषता कुनै जहाज आउँदा त्यो स्वचालित रुपमा माथि उठ्नु हो । यसको नजिकमा टावर अफ लन्डन छ, जहाँ शाही रत्न, राजमुकुट तथा आभूषण सुरक्षित छन् । 

ट्रेफलगर स्क्वायर लन्डनको मुटु मानिन्छ । यो त्यही केन्द्रिय स्थान हो, जहाँवाट लन्डनका सबै स्थानको दुरी नापिन्छ । राजघरानाका कुनै व्यक्तिको विवाह होस् वा कुनै राजनीतिक प्रदर्शन सवै यही हुने गरेका छन् । 

वेस्टमिस्टर अवे

थेम्स नदीको दक्षिणमा अवस्थित वेस्टमिस्टर अवे पनि लन्डनको एक प्रभावशाली प्रतीक मानिन्छ । सन् १०६६ को क्रिसमसमा यहाँ विलियम्सको राज्याभिषेक गरिएको थियो । त्यसपछि सवै राजा तथा महारानीको राज्याभिषेक यहीँ हुँदै आएको छ । यहाँ स्थापना गरिएका अनेक स्मारकले ऐतिहासिक झझल्को दिन्छ । यी संरचनाको निर्माण १३ औं तथा १४ औं शताव्दीमा भएको थियो, जो ११ औं सताब्दीमा निर्मित पुरानो चर्च भत्काएर बनाइयो । पछि १८ औं सताब्दीमा यसको पश्चिमी प्रवेशद्वारमा २ वटा जुम्ल्यहा टावर बनाइएको थियो । 

लन्डनको वर्षौसम्म वेश्यालय, सेक्स सप तथा नाइट क्लबका लागि पनि चर्चित थियो । सन् १९८० मा एक विशेष कानुनले उक्त गतिविधिमाथि कडाइ गर्‍यो । कालान्तरमा कतिपय वेश्यालय, क्लब बन्द भए । अहिले उक्त स्थानमा विशेष रेस्टुराँहरू खुलेका छन् जुन विश्वप्रसिद्ध छन् । 

थेम्स नदीको दक्षिणी तट संस्कृति, इतिहास तथा दर्शनीय स्थल अवलोकनका लागि महत्वपूर्ण छ । त्यहाँ अनेकौं रेस्टुराँका साथै थिएटर, सिनेमाघर, ऐतिहासिक युद्धपोत, मत्स्यालय देख्न सकिन्छ । यहाँ हङ्रफोर्ड ब्रिजमा गएर नदीको अवलोकन गर्न सकिन्छ । 

केनसिङ्टन प्यालेस 

कुनै बेला यहाँ राजकुमारी डायना र महारानी भिक्टोरिया बसेका थिए । यहाँ अहिले केही सुन्दर संग्रहालयका साथै पुरानो सामग्री संग्रह गर्ने केही पसल पनि छन् । यहाँका केही सपिङ सेन्टर निकै प्रसिद्ध छ । नेचुरल हिस्ट्री म्युजियम, साइन्स म्युजियम, भिक्टोरिया तथा अलबर्ट म्युजियम दर्शनीय स्थल हुन् । यहीँको एक संग्रहालयमा विश्वप्रसिद्ध सेलिब्रेटीहरूको प्रतिमा देख्न सकिन्छ। 

 Image