Successfully Copied

विदेशका रोमाञ्चक भ्रमण

जीवनको रोमाञ्चक अनुभव संगाल्न देश-विदेशको भ्रमण गर्न सकिन्छ । धेरै टाढा जानु पर्दैन, सिन्धुपाल्चोक हुँदै तिब्बत हान्निने हो

जीवनको रोमाञ्चक अनुभव संगाल्न देश-विदेशको भ्रमण गर्न सकिन्छ । धेरै टाढा जानु पर्दैन, सिन्धुपाल्चोक हुँदै तिब्बत हान्निने हो भने पनि ल्हासाको फन्को मार्न सकिन्छ । मुनामदनमा पढिएको 'पोतला दरबार' यहीँ अवलोकन गर्न सकिन्छ ।

होंगसान पहाडमा अवस्थित पोतला दरबार भव्य एवं सानदार देखिन्छ । यसलाई 'विश्वको सबैभन्दा अग्लो पहाडको मणि' उपमा दिइएको छ । पोतला दरबार तिब्बती वास्तुकलाको उत्कृष्ट नमुना मात्र होइन प्राचीन चीनको धरोहर पनि हो ।

त्यसो त ल्हासा आफैमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यो विश्वको सबैभन्दा उचाइमा रहेको सहर पनि हो । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा ३ हजार ४ सय ९० मिटरको उचाइमा छ । पोतला मात्र होइन त्यहाँका नोर्बुहिङजस्ता थुप्रै प्राचीन संरचनाले पर्यटकको मन लोभ्याउँछन् ।

अलि लामो दूरी तय गर्ने हो भने चीनकै संघाई-बेइजिङ आदि विशेष गन्तव्य साबित हुनसक्छन् । अर्कातिर थाइल्यान्ड, भियतनाम, कम्बोडियाको यात्रा तय गर्न सकिन्छ । नेपालीहरूका लागि राम्रो श्रम बजार मानिएको मलेसिया घुमफिरका लागि पनि उत्तिकै प्रसिद्ध छ । मलेसियाको भ्रमणमा सिंगापुरको फन्को मार्न सकिन्छ । यी मुलुकको भ्रमणका लागि ट्राभल एजेन्सीहरूले टुर प्याकेजसमेत सञ्चालन गरिरहेका छन् । झम्सिखेलस्थित स्पोर्टस टुर एण्ड ट्राभल्सका संचालक राजेन्द्र जिसी भन्छन्-'यस्ता प्याकेजअन्तर्गत निश्चित बजेटमै विदेशको अर्थपूर्ण भ्रमण गर्न सकिन्छ ।'

ग्रेटवाल हेर्न बेइजिङ

त्यसै पनि अनुमान गर्न सकिन्छ, चीनको राजधानी बेइजिङ आफैमा कति भव्य र आकर्षक होला ? यद्यपि यो आधुनिक सहर भने होइन । स्पोर्टस टुर एण्ड ट्राभलका राजेन्द्र भन्छन्-'खासमा त्यहाँको प्राचीन संरचनाले पर्यटक तान्ने गरेको छ ।' प्राचीन संरचनाले सजिएको यो सहर चीनको सांस्कृतिक केन्द्र पनि हो ।

प्राचीन चिनियाँ शैलीमा बनेका संरचनाहरूले बेइजिङलाई आकर्षक बनाएका छन् । टेम्पल अफ हेभेन, तियानमेन स्क्वायर, समर प्लेस, लामा टेम्पल, वाटर क्युव, वेल टावर, नेसनल ग्रान्ड थिएटर, मार्को पोलो बि्रज, टेम्पल अफ अर्थ, ओसन पार्क आदि बेइजिङका रमणीय स्थान हुन् । चराको गुँडको शैलीमा बनाइएको चीनको राष्ट्रिय स्टेडियम पनि यहीँ अवलोकन गर्न सकिन्छ । बेइजिङको यात्रामा छुटाउनै नहुने गन्तव्य हो-ग्रेटवाल ।

बेइजिङबाट १ सय किलोमिटरको यात्रा तय गरेपछि ग्रेटवाल पुगिने राजेन्द्र बताउँछन् । मानवनिर्मित विश्वका सात आश्चर्यमध्येको एक 'गे्रट वाल' ७ हजार किलोमिटर भन्दा लामो छ । विश्वमा सबैभन्दा लामो समयसम्म निर्माण गरिएको र प्राचीन कालको सबैभन्दा ठूलो सैनिक प्रतिरक्षा संरचना हो यो । ग्रेटवालले नौवटा प्रान्त, सहर तथा स्वायत्त प्रदेशलाई जोडेको छ ।

बेइजिङसँगै घुम्न सकिने अर्को गन्तव्य हो-संघाई । यो सहर बेइजिङवाट दुई घन्टाको हवाईयात्रापछि पुग्न सकिन्छ । आधुनिक विश्वलाई चियाउन संघाईको यात्रा गर्नैपर्छ । त्यहाँको भव्यताबाट जोकोही आश्चर्यचकित हुन्छन् । संघाई पुग्ने पर्यटकहरू त्यहाँ निर्मित गगनचुम्बी संरचना अवलोकन गरेर आनन्द लिन्छन् । यसको अर्को विशेषता मिश्रति समुदायको उपस्थिति हो । यो आधुनिक सहरमा अंग्रेजीमै कुराकानी गर्न कठिनाइ हुँदैन ।

'सेक्सी सहर' समेत भनिने संघाईको १ सय १ तल्लाको संघाई वल्र्ड फाइनान्सियल सेन्टर पयर्टकको रोजाइमा पर्ने गन्तव्य हो । यसको छानोबाट देखिने लोभलाग्दो दृश्यबाट पर्यटकहरू अघाउँदैनन् । रात्रि जीवनको अनुभवदेखि साना पानीजहाजमा चढेर समुद्रमाथि बत्तिनुको आनन्द यहीँ उठाउन सकिन्छ । यो सहर चीनको मौलिक खानपानका लागि पनि चर्चित छ ।

'विश्वको आठौं' विशेषतायुक्त स्थान अर्थात् छिन वंशका प्रथम संम्राटको समाधिस्थल अवलोकन गर्न सिआन सहर पुग्नुपर्छ । विश्वका संम्राटहरूको समाधिमध्ये सबैभन्दा ठूलो र विशेष खालको उक्त समाधिस्थल अहिले चीनको सुपरिचित पर्यटकीय गन्तव्य भएको छ । उक्त समाधिस्थलमा रहेका टेराकोटा सिपाहीहरू इजिप्टका पिरामिड जत्तिकै प्रसिद्ध छन् । चीनका छ वटा वंशका राजधानीमध्ये सबैभन्दा पहिले निर्माण गरिएको यो सहरमा हेर्न लायक प्राकृतिक तथा कृत्रिम संरचनाहरू छन् ।  

क्वालालम्पुर हुँदै सिंगापुर फन्को

मलेसिया हाम्रा निम्ति आकर्षक श्रम बजार मात्र होइन, घुम्नुपर्ने गन्तव्य पनि हो । त्यहाँ मन लोभ्याउने ठाउँ प्रशस्तै छन् । त्यसबाहेक स्थानीय खानपानको स्वाद एवं समुद्री तटको मस्ती त छँदैछ ।

मलेसियाको राजधानी क्वालालम्पुरलाई केन्द्र बनाएर घुमफिर गर्ने हो भने, ट्वीन टावर, म्युजियम, थिम पार्कदेखि जेन्टिङ हाइल्यान्डसम्मको यात्रा तय गर्न सकिन्छ । जेन्टिङ हाइल्यान्ड क्यासिनोका लागि प्रसिद्ध छ । क्वालालम्पुर भ्रमणलाई सिंगापुरको यात्राले थप अर्थपूर्ण बनाउँछ । त्यहाँबाट सिंगापुर पुग्न ५ घन्टाको बस यात्रा गर्नुपर्छ ।

अधिकांश पर्यटक सिंगापुरको वाइल्ड लाइफ सफारीमा रमाइरहेका भेटिन्छन् । त्यसबाहेक मेरिना वे नामको कृत्रिम आइल्यान्डले पनि पर्यटकहरूको ध्यान खिच्छ । उक्त आइल्यान्डमा संसारको सबैभन्दा ठूलो क्यासिनो छ । त्यहीँ संसारकै सबैभन्दा ठूलो स्काइ गार्डेन पनि छ, जुन तीनवटा टावरको टुप्पोमा निर्माण गरिएको छ ।

सिंगापुरको अन्डरवाटर यात्रा पनि अविस्मरणीय हुन्छ । त्यो विशाल एक्वेरियमबाट समुद्री संसारलाई खुला आँखाले चियाउन सकिन्छ । डल्फिन सोदेखि समुद्री किनारमा हुने चर्चित सो 'सङ आफ द सी' ले यात्रालाई थप रोमाञ्चक बनाइदिन्छ । फर्मुला वान कार रेसको ट्र्याक हेर्न सिंगापुर फ्लायर तथा वाटर फाउन्टेन अवलोकनका लागि सनसेक सिटीको भ्रमण गर्न सकिन्छ । सिंगापुर यात्राको अर्को फाइदा भनेको ब्रान्डेड सामग्रीको किनमेल पनि हो । विश्वका कुनै पनि ब्रान्डका सामग्री पाइने अर्चड रोड किनमेलका लागि प्रसिद्ध छ । यो विश्वकै सबैभन्दा लामो सपिङ सडक हो । थाइल्यान्डको नाइटलाइफ

घुम्नका लागि धेरै नेपालीको रोजाइमा पर्ने मुलुक हो-थाइल्यान्ड । समुद्री तटको मस्ती होस् वा नाइटलाइफको आनन्द थाइल्यान्डको भ्रमणमा सबै कुरा अनुभव गर्न सकिन्छ । राजधानी बैंकक, पटाया, फुकेट, चियाङ माई आदि थाइल्यान्डका आकर्षक गन्तव्य हुन् ।

बैंकक विश्वका ठूला सहरमध्ये एक मानिन्छ । नहरमा तैरिरहेका पसल, समुद्री तट, बुद्धको प्रतिमा, सुन्दर रिसोर्ट त्यहाँका आकर्षण हुन् । बैंकक पुगेपछि नौकाविहारको आनन्द पनि उठाउन पाइन्छ । मरिन पार्कमा प्रशिक्षित डल्फिनले देखाउने कलाबाट जोकोही मोहित हुन्छन् । त्यहाँ जंगल सफारी पनि गर्न सकिन्छ । बैंककमा विश्वको सबैभन्दा ठूलो चिडियाघर छ । त्यहाँ एसिया र अफ्रिकाका लगभग सबै वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिन्छ ।

बैंककपछि पटायाको भ्रमण गर्न सकिन्छ । त्यहाँ पयर्टकको ध्यान खिच्ने संग्रहालय, थिएटर, सुरुङ आदि छन् । पटायाको कोरल आइल्यान्डमा वाटर स्पोर्टसको आनन्द उठाउन सकिन्छ । यद्यपि कोरल आइल्यान्ड जानुपूर्व एउटा कुरामा भने ध्यान पुर्‍याउनुपर्छ । कोरलका लागि छुट्टै ड्रेसकोडको व्यवस्था गरिएको छ, जसलाई पूर्णत: पालना गर्नुपर्ने हुन्छ ।

थाइल्यान्डको ठूलो द्वीप फुकेट छुटाउनै नहुने अर्को गन्तव्य हो जहाँ अत्यधिक पर्यटक पुग्ने गरेका छन् । फुकेटमा ४८ किलोमिटर लामो तथा २१ किलोमिटर चौडा समुद्री तट छ, जसको गणना विश्वका सबैभन्दा सुन्दर समुद्री तटमा गरिन्छ । फुकेटमा नाइट क्लब तथा डिस्कोथेगको आनन्द उठाउन सकिन्छ । थाइल्यान्डमा नेसनल पार्क, वटरफ्लाई गार्डेन, एक्वेरियम, तलाङ नेसनल म्युजियम, क्रोकोडायल वल्र्ड सी एक्वेरियम आदिले पनि पर्यटकहरूको ध्यान खिच्छन् ।

समुद्रको मोती : श्रीलंका

चारैतिरबाट हिन्द महासागरले घेरिएको सानो टापु हो, श्रीलंका । प्राकृतिक सौन्दर्यको रसपान, स्थानीय परिकारको स्वाद एवं खरिददारीका लागि श्रीलंकाको भ्रमण गर्न सकिन्छ ।

श्रीलंकाको यात्रा राजधानी कोलम्बोबाट सुरु गर्न सकिन्छ । त्यहाँ विहारमहादेवी पार्क, राष्ट्रिय संग्रहालयजस्ता थुप्रै दर्शनीय स्थल छन् । श्रीलंकामा डच संस्कृतिको जीवन्तता हेर्न चाहने हो भने, तटीय सहर गाले पुग्नुपर्छ । यो आधुनिकता पोतिएको निकै व्यस्त सहर हो । त्यहाँ ग्रुट कर्क (डच गिर्जाघर) लगायत डच सभ्यताका केही अन्य इतिहास अवलोकन गर्न पाइन्छ ।

रक क्लाइम्विङ, सी सफिर्ङ तथा हाइकिङ, कायाकिङ, रिभर र्‍याफ्टिङ आदिले श्रीलंकाको यात्रालाई थप रोमाञ्चक बनाइदिन्छन् । साहसिक पर्यटनका लागि त्यहाँ वैलुनिङको सुविधा पनि छ । शान्त वातावरणमा रम्नेहरूका लागि पनि श्रीलंका उपयुक्त रोजाइ हुनसक्छ, त्यहाँ १ हजार किलोमिटरभन्दा लामो मनमोहक समुद्री तट छ । श्रीलंका पुगेपछि केन्डीको यात्रा गर्नैपर्छ । सामरिक महत्वको केन्डी बौद्ध धर्मावलम्बीहरूले निम्ति पुग्नैपर्ने गन्तव्य हो । त्यहाँ गौतम बुद्धको एउटा दाँत संग्रहित छ । वोगम्वारा झिलजस्ता थुप्रै स्थानले आगन्तुकहरूलाई श्रीलंकामा स्वागत गरिरहेका हुन्छन् ।

हङकङका गगनचुम्बी भवनहरू

हङकङको विमानस्थलमा ओर्लनुअघि नै त्यहाँका गगनचुम्बी भवनहरूले पर्यटकलाई आश्चर्यचकित तुल्याउँछन् । विमानको झ्यालबाट हेर्दा देखिने नीलो समुद्र, हरिया फाँटहरू तथा त्यही पृष्ठभूमिमा उभिएका गगनचुम्बी महलहरूले पर्यटकहरूलाई आमन्त्रण गरिरहेको अनुभव हुन्छ ।

आधुनिक वास्तुशिल्पको आकर्षणको केन्द्र बनेको हङकङमा घुम्न लायक ठाउँ थुप्रै छन् । भिक्टोरिया बन्दरगाहको तटमा अवस्थित व्यापारिक टावर हेर्दा यस्तो लाग्छ, उक्त भवन आकाश छेडेर अग्लिएको छ । त्यसो त हङकङको सबैभन्दा आकर्षक थलो नै 'बैंक अफ चाइना टावर' हो । करिब ८० हजार मानिस बस्ने १ सय २० तले उक्त आवासीय भवनले पनि पर्यटकहरूलाई चकित तुल्याउँछ । विशिष्ट भौगोलिक, व्यापारिक तथा राजनीतिक स्थितिका कारण हङकङलाई चीनको प्रवेशद्वार भनिन्छ ।

 Image