Successfully Copied

मनाङमा मैत्रीपूर्ण फुटबल खेल हुँदै

मनाङ जिल्लाका विभिन्न स्थानमा याक र हिउँ चितुवा संरक्षणका लागि मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।


मनाङ जिल्लाका विभिन्न स्थानमा याक र हिउँ चितुवा संरक्षणका लागि मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउन्डेशनको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । राजधानीस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन मार्फत् आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको जानकारी गराएको थियो । उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा टिम हिमालयन, टिम कान्जिसरा, टिम पिसाङ गरी तीनवटा क्लबले भाग लिने एन्ट फाउन्डेसनका अध्यक्ष प्रशान्त ताम्राकारले जानकारी दिए ।



स्थानीय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरुलाई हिउँ चितुवा, याकलगायतका वन्यजन्तु संरक्षणमा अभिप्रेरित गर्ने उद्देश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको बायोकोस नेपालका अध्यक्ष डा. पारस विक्रम शाहले बताए ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता जिल्लाको तिमाङ, पिसाङ र मुङजीस्थित मैदानमा हुने भएको छ । फुटबल प्रतियोगितामा सेलिब्रेटी टिम हिमालयन स्रो लेपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता) र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानीय युवा) बीच मैत्रीपूर्ण खेल २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङजी ब्राकास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ ।

 Image