मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर नियुक्त
संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ दुई स्वर्ण जितेकी आयशा शाक्य एसियन च्याम्पियनसिपका लागि तयारी गर्दै थिइन् । सन् २०२० मा हुने भनिएको च्याम्पियनसिपमा सहभागी हुन उनको तयारी थियो । उनको यो तयारी तयारीमै सीमित भयो । कोरोना भाइरसका कारण हरेक खेलकुद गतिविधि स्थगित भए । कोरोनाको असर राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पर्यो । यसको प्रत्यक्ष असर भने खेलाडीमा परेको छ । कोरोना कहरका कारण खेलाडीहरूले न राम्रोसँग वर्कआउट गर्न पाएका छन् न त कुनै आम्दानीको स्रोत जुटाउन ।
खेलकुद ठप्प भएसँगै आयशा घरमै दिन बिताइरहेकी छन् । दुई सन्तान र परिवारसँगै घरमै थुनिएकी छन् । उनी भन्छिन्, ‘खेलकुद गतिविधि ठप्प भएकाले घरमा बस्नुको विकल्प छैन ।’ उनले यो समयमा न राम्ररी प्रशिक्षण लिन पाएकी छन् न दिन । आफूले प्रशिक्षण नलिए पनि विद्यार्थीहरूलाई भने उनले अनलाइनमार्फत प्रशिक्षण दिइरहेकी छन् । यतिबेला खेलाडीको मनोबल कमजोर नहोस् भनेर विद्यार्थीका लागि भर्चुअल कक्षा सञ्चालन गरेको उनले प्रस्ट पारिन् ।
प्रतियोगिता नहुँदा खेलाडीको आम्दानी अहिले छैन । यसरी कहिलेसम्म बस्नुपर्ने हो भन्ने थाहा छैन । यसले गर्दा चिन्ता उत्पन्न भएको उनी बताउँछिन् ।
महिला भलिबल टिमकी कप्तान अरुणा शाही आफ्नो गाउँ म्याग्दीमा दिन बिताइरहेकी छन् । विभिन्न प्रतियोगिताको तयारी गरिरहेकी उनी कोरोना महामारीसँगै फुर्सदिली बनेकी छन् । खेलकुद ठप्प हुनुको पीडा त उनीमा छँदै छ, त्यसमाथि थपिएको आर्थिक संकट पनि चुलिएको छ । उनी भन्छिन्, ‘खेल्न नपाउनु एकातिर छ भने अर्कोतिर आर्थिक संकटको समस्या छ ।’ खेलकुद प्रतियोगिता सञ्चालन हुँदा खेलाडीहरूको निश्चित भत्ता नै आम्दानीका रूपमा लिएका हुन्छन् । त्यही भत्ता रोकिएपछि आफूहरू बेरोजगार भएको शाही बताउँछिन् । उनका अनुसार मुख्य आम्दानी भनेकै खेलकुद हो । कोरोनाका कारण आर्थिक समस्यामा परेका खेलाडीलाई कसैले चासो नदिएको गुनासो उनी गर्छिन् ।

सुनिता महर्जन
नेपाल पुलिस क्लबकी कराँते खेलाडी सुनिता महर्जन मैदान फर्कने दिन गनिरहेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी सुनिता पनि घरमै दिन बिताउन बाध्य भएकी छन् । उनलाई अब खेल कहिले सुरु हुन्छ भन्ने चिन्ताले सताएको छ । भन्छिन्, ‘मैले यो समयमा गेम एकदमै मिस गरिरहेकी छु, प्रतिस्पर्धामा उत्रिन आतुर छु ।’
करिब ६ महिनादेखि ठप्प खेलकुद गतिविधिहरू अझै अनिश्चित छ । खेलाडीहरूको दैनिकीमै असर परिरहेको छ । उनका अनुसार खेलाडीहरू घरमै बस्दा वर्कआउटको समस्या हुन्छ । उनी भन्छिन्, ‘खेलाडीहरूलाई घरमै वर्कआउट हुँदैन, यसले शारीरिक तथा मानसिक रूपमै असर पर्छ ।’ पुलिस क्लबबाट प्रतिनिधित्व गर्ने सुनितालाई खेलकुद गतिविधि ठप्प हुँदा आर्थिक अभाव भने भोग्नुपरेको छैन । उनले मासिक तलब भने पाइरहेकी छन् । आफूलाई आर्थिक संकट नभए पनि अहिलेको परिस्थितिमा धेरै खेलाडीको रोजगार गुमेको उनी बताउँछिन् ।

अरुणा शाही
नेपाली महिला क्रिकेट टिममा पनि कोरोनाका कारण विभिन्न प्रतियोगिताहरू रद्द भए । प्रधानमन्त्री कप, त्यसपछिको विश्वकप र एसिया कप छनोटका खेल कोरोनाका कारण स्थगित भए । खेलकुद स्थगित भएसँंगै महिला क्रिकेट खेलाडीहरूको आम्दानीको स्रोत गुमेको छ । क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री भन्छिन्, ‘खेलकुद रद्द भएसँंगै खेलाडीहरूमा आर्थिक संकट आइपरेको छ ।’ खेलाडीहरूलाई कुनै मासिक तलब छैन । खेलाडीहरूलाई आर्थिक समस्यासंँगै वर्कआउटको समस्या रहेको उनको भनाइ छ । लकडाउनपश्चात् झापा पुगेकी उनी घरै नजिक अभ्यास गरिरहेकी छन् । उनीसँंग अन्य राष्ट्रिय टिम खेलाडीहरू पनि अभ्यास गरिरहेका छन् । फुर्सदको समयमा आफूमा भएको कमजोरी सुधार्ने प्रयास गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘खेल्ने क्रममा थुप्रै कमजोरी भएका हुन्छन्, त्यस्ता कमजोरी सुधार्ने प्रयास गर्दै छु ।’ खेलाडीहरूलाई आर्थिक समस्या पर्दा कतैबाट सहयोग नआएको उनको गुनासो छ । खेलाडीहरू देशका गहना हुन् भने पनि संकटमा भने कसैको सहयोग नपाएको उनले बताइन् ।

रुबिना क्षेत्री
घरमै फिट रहने तरिका

दीपक विष्ट, प्रशिक्षक
वर्तमान विषम परिस्थितिमा खेलाडीहरूले आम्दानीभन्दा पनि आफूलाई बचाउने समय हो । उनीहरू निष्क्रिय हुनुहुँदैन । वर्कआउट भने गर्नैपर्छ । मैदान, रंगशालामा वर्कआउट गर्ने स्थिति नभए पनि खेलाडीहरूले अवस्था र ठाउँ हेरेर शारीरिक अभ्यास गरिरहनुपर्छ । त्यसैले हामीले खेलाडीहरूलाई अहिले भर्चुअल प्रशिक्षण दिइरहेका छौं । खेलाडीहरूले घरको सानो ठाउँमा पनि वर्कआउट गर्न सक्छन् । यति मात्रै होइन, यो भर्चुअल संसारमा विभिन्न साइट, युट्युब हेरेर खेलाडीहरूले आफूलाई तन्दुरुस्त र फिट राख्न सक्ने प्रयास गर्नुपर्छ ।