१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो पुम्सेतर्फ दुई स्वर्ण जितेकी आयशा शाक्य एसियन च्याम्पियनसिपका लागि तयारी गर्दै थिइन् । सन् २०२० मा हुने भनिएको च्याम्पियनसिपमा सहभागी हुन उनको तयारी थियो । उनको यो तयारी तयारीमै सीमित भयो । कोरोना भाइरसका कारण हरेक खेलकुद गतिविधि स्थगित भए । कोरोनाको असर राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा पर्यो । यसको प्रत्यक्ष असर भने खेलाडीमा परेको छ । कोरोना कहरका कारण खेलाडीहरूले न राम्रोसँग वर्कआउट गर्न पाएका छन् न त कुनै आम्दानीको स्रोत जुटाउन ।
खेलकुद ठप्प भएसँगै आयशा घरमै दिन बिताइरहेकी छन् । दुई सन्तान र परिवारसँगै घरमै थुनिएकी छन् । उनी भन्छिन्, ‘खेलकुद गतिविधि ठप्प भएकाले घरमा बस्नुको विकल्प छैन ।’ उनले यो समयमा न राम्ररी प्रशिक्षण लिन पाएकी छन् न दिन । आफूले प्रशिक्षण नलिए पनि विद्यार्थीहरूलाई भने उनले अनलाइनमार्फत प्रशिक्षण दिइरहेकी छन् । यतिबेला खेलाडीको मनोबल कमजोर नहोस् भनेर विद्यार्थीका लागि भर्चुअल कक्षा सञ्चालन गरेको उनले प्रस्ट पारिन् ।
प्रतियोगिता नहुँदा खेलाडीको आम्दानी अहिले छैन । यसरी कहिलेसम्म बस्नुपर्ने हो भन्ने थाहा छैन । यसले गर्दा चिन्ता उत्पन्न भएको उनी बताउँछिन् ।
महिला भलिबल टिमकी कप्तान अरुणा शाही आफ्नो गाउँ म्याग्दीमा दिन बिताइरहेकी छन् । विभिन्न प्रतियोगिताको तयारी गरिरहेकी उनी कोरोना महामारीसँगै फुर्सदिली बनेकी छन् । खेलकुद ठप्प हुनुको पीडा त उनीमा छँदै छ, त्यसमाथि थपिएको आर्थिक संकट पनि चुलिएको छ । उनी भन्छिन्, ‘खेल्न नपाउनु एकातिर छ भने अर्कोतिर आर्थिक संकटको समस्या छ ।’ खेलकुद प्रतियोगिता सञ्चालन हुँदा खेलाडीहरूको निश्चित भत्ता नै आम्दानीका रूपमा लिएका हुन्छन् । त्यही भत्ता रोकिएपछि आफूहरू बेरोजगार भएको शाही बताउँछिन् । उनका अनुसार मुख्य आम्दानी भनेकै खेलकुद हो । कोरोनाका कारण आर्थिक समस्यामा परेका खेलाडीलाई कसैले चासो नदिएको गुनासो उनी गर्छिन् ।
सुनिता महर्जन
नेपाल पुलिस क्लबकी कराँते खेलाडी सुनिता महर्जन मैदान फर्कने दिन गनिरहेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी सुनिता पनि घरमै दिन बिताउन बाध्य भएकी छन् । उनलाई अब खेल कहिले सुरु हुन्छ भन्ने चिन्ताले सताएको छ । भन्छिन्, ‘मैले यो समयमा गेम एकदमै मिस गरिरहेकी छु, प्रतिस्पर्धामा उत्रिन आतुर छु ।’
करिब ६ महिनादेखि ठप्प खेलकुद गतिविधिहरू अझै अनिश्चित छ । खेलाडीहरूको दैनिकीमै असर परिरहेको छ । उनका अनुसार खेलाडीहरू घरमै बस्दा वर्कआउटको समस्या हुन्छ । उनी भन्छिन्, ‘खेलाडीहरूलाई घरमै वर्कआउट हुँदैन, यसले शारीरिक तथा मानसिक रूपमै असर पर्छ ।’ पुलिस क्लबबाट प्रतिनिधित्व गर्ने सुनितालाई खेलकुद गतिविधि ठप्प हुँदा आर्थिक अभाव भने भोग्नुपरेको छैन । उनले मासिक तलब भने पाइरहेकी छन् । आफूलाई आर्थिक संकट नभए पनि अहिलेको परिस्थितिमा धेरै खेलाडीको रोजगार गुमेको उनी बताउँछिन् ।
अरुणा शाही
नेपाली महिला क्रिकेट टिममा पनि कोरोनाका कारण विभिन्न प्रतियोगिताहरू रद्द भए । प्रधानमन्त्री कप, त्यसपछिको विश्वकप र एसिया कप छनोटका खेल कोरोनाका कारण स्थगित भए । खेलकुद स्थगित भएसँंगै महिला क्रिकेट खेलाडीहरूको आम्दानीको स्रोत गुमेको छ । क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री भन्छिन्, ‘खेलकुद रद्द भएसँंगै खेलाडीहरूमा आर्थिक संकट आइपरेको छ ।’ खेलाडीहरूलाई कुनै मासिक तलब छैन । खेलाडीहरूलाई आर्थिक समस्यासंँगै वर्कआउटको समस्या रहेको उनको भनाइ छ । लकडाउनपश्चात् झापा पुगेकी उनी घरै नजिक अभ्यास गरिरहेकी छन् । उनीसँंग अन्य राष्ट्रिय टिम खेलाडीहरू पनि अभ्यास गरिरहेका छन् । फुर्सदको समयमा आफूमा भएको कमजोरी सुधार्ने प्रयास गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘खेल्ने क्रममा थुप्रै कमजोरी भएका हुन्छन्, त्यस्ता कमजोरी सुधार्ने प्रयास गर्दै छु ।’ खेलाडीहरूलाई आर्थिक समस्या पर्दा कतैबाट सहयोग नआएको उनको गुनासो छ । खेलाडीहरू देशका गहना हुन् भने पनि संकटमा भने कसैको सहयोग नपाएको उनले बताइन् ।
रुबिना क्षेत्री
घरमै फिट रहने तरिका
दीपक विष्ट, प्रशिक्षक
वर्तमान विषम परिस्थितिमा खेलाडीहरूले आम्दानीभन्दा पनि आफूलाई बचाउने समय हो । उनीहरू निष्क्रिय हुनुहुँदैन । वर्कआउट भने गर्नैपर्छ । मैदान, रंगशालामा वर्कआउट गर्ने स्थिति नभए पनि खेलाडीहरूले अवस्था र ठाउँ हेरेर शारीरिक अभ्यास गरिरहनुपर्छ । त्यसैले हामीले खेलाडीहरूलाई अहिले भर्चुअल प्रशिक्षण दिइरहेका छौं । खेलाडीहरूले घरको सानो ठाउँमा पनि वर्कआउट गर्न सक्छन् । यति मात्रै होइन, यो भर्चुअल संसारमा विभिन्न साइट, युट्युब हेरेर खेलाडीहरूले आफूलाई तन्दुरुस्त र फिट राख्न सक्ने प्रयास गर्नुपर्छ ।