शान्ति सम्मानित
विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता सन् २०२४ मा दक्षिण कोरियामा रहेकी शान्ति भण्डारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ ।
काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष शाहको जीवनयात्राबाट प्रेरित कथानक चलचित्र ‘द टेस्ट अफ सल्ट’ विश्वप्रसिद्ध बर्लिनाले सह–निर्माण बजार २०२६ का लागि आधिकारिक रूपमा छनोट भएको छ।
विश्वभरबाट प्राप्त करिब चार सय आवेदनमध्येबाट छनोट हुँदै यो चलचित्र ‘आधिकारिक फिचर परियोजना’ श्रेणी अन्तर्गतका १९ उत्कृष्ट परियोजनामध्ये स्थान बनाउन सफल भएको हो। आगामी फागुन महिनामा आयोजना हुने ७६औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवसरमा यो परियोजना छ सयभन्दा बढी अन्तर्राष्ट्रिय निर्माता, वितरक, बिक्री प्रतिनिधि तथा लगानीकर्तामाझ प्रस्तुत गरिनेछ।
अवार्ड–विजेता निर्देशक दीपक रौनियारको निर्देशनमा बन्ने यो चलचित्र नेपाल र बेलायतको सह–निर्माणमा निर्माण हुँदैछ। ‘हाइवे’, ‘सेतो सूर्य’ र ‘पूजा, सर’ जस्ता चर्चित चलचित्रमार्फत नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरिसकेका रौनियारका लागि बर्लिनाले सह–निर्माण बजारमा यो पहिलो छनोट हो। साथै, नेपालबाट यस प्रतिष्ठित बजारमा छनोट हुने यो पहिलो परियोजना पनि हो।
नेपाल, भारत र बेलायतमा छायांकन गरिने ‘द टेस्ट अफ सल्ट’ ले सेफ सन्तोष शाहको संघर्षपूर्ण जीवनयात्रालाई केन्द्रमा राख्दै आप्रवासन, जातीय विभेद र निर्वासनजस्ता गहिरा सामाजिक विषयलाई खानाको माध्यमबाट प्रस्तुत गर्नेछ। अभाव, संघर्ष र आत्मसम्मानबाट सुरु भएको यात्राले कसरी विश्वस्तरीय सफलतासम्मको बाटो तय गर्छ भन्ने कथा चलचित्रको मूल विषयवस्तु रहेको छ।
चलचित्र निर्माणमा नेपालबाट निर्देशक दीपक रौनियार र निर्माता आशा मगरातीद्वारा सह–स्थापित आदि फिल्म्स तथा बेलायतबाट अनुभवी निर्माता स्याम टेलर नेतृत्वको फिल्म एण्ड म्युजिक इन्टरटेनमेन्ट संलग्न छन्। युरोपेली सिनेमामा लामो अनुभव बोकेका निर्माता टेलरले यस सहकार्यलाई निर्देशक रौनियारको सिर्जनात्मक यात्राको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।
विश्वव्यापी रूपमा चर्चित पाककला प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय पहिचान बनाएका सेफ सन्तोष शाहले चलचित्रको यो उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण नेपालीको साझा गर्वको विषयका रूपमा लिएका छन्। उनका अनुसार, ‘द टेस्ट अफ सल्ट’ केवल उनको जीवनी होइन, नेपाली पाक संस्कृति, संघर्ष र पहिचानको सम्मानको कथा हो।
निर्देशक दीपक रौनियारका अनुसार, विश्वभर आप्रवासन र पहिचानसम्बन्धी बहस चर्किरहेको वर्तमान सन्दर्भमा यो कथा झन् सान्दर्भिक बनेको छ। चलचित्रले घर, नागरिकता र स्वीकृतिबाट वञ्चित गरिँदा व्यक्तिले भोग्नुपर्ने पीडा र त्यसबाट जन्मिने असाधारण सफलताको कथालाई प्रभावकारी रूपमा चित्रण गर्ने लक्ष्य राखेको छ ।
बर्लिनाले सह–निर्माण बजारलाई विश्वकै प्रभावशाली चलचित्र लगानी र सहकार्य मञ्चमध्ये एक मानिन्छ। यहाँ छनोट भएका धेरै परियोजनाहरूले पछि कान्स, सन्डान्स तथा अस्करजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र समारोहमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् ।