होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।

गर्मीको मौसममा चर्को घाम लाग्छ । यसमा हुने अल्ट्राभायोलेट (युभी) ‘ए’ किरणले छालामा एलर्जी गराउँछ भने ‘बी’ ले छाला डढाउँछ । कपडाले नढाकेको भागमा घामले डढ्ने सम्भावना बढी हुन्छ । यसले छालामा विभिन्न समस्या निम्त्याउन सक्छ । पछिल्लो समय महिलामा चायाँपोतो आउने, डण्डिफोर, चाउरीपना, डार्क सर्कल जस्ता समस्या देखिन्छन् । यसबाट बच्न छालाको उचित हेरचाह जरुरी छ ।
सौन्दर्य चेतनाको कमी
हामीले जथाभावी सौन्दर्य प्रसाधनको प्रयोग गर्दा छालाको प्राकृतिक चमक गुमाइरहेका छौं । कम गुणस्तरका प्रसाधनले छालालाई बेफाइदा गर्छ । अनुहार सफा गर्न प्रयोग गरिने फेसवास, क्लिन्जर र सिरमले छालालाई पातलो र संवेदनशील बनाइदिन्छ । यसले अनुहारमा चाउरीपन ल्याउँछ । गुणस्तरीय सिरमले अनुहारलाई फाइदा गरेपनि नेपाली बजारमा पाइने सबै सौन्दर्य प्रसाधन गुणस्तरीय पाइन्नन् । सिरमको प्रयोग लामो समयसम्म गर्नुहुँदैन । रिजल्ट आएपछि यसको प्रयोग बन्द गर्नुपर्छ । छालाले क्रिमको तुलनामा सिरमलाई छिटो सोस्छ । क्रिम ठूला–ठूला कणबाट बन्ने भएकाले विस्तारै सोस्छ । सिरम भनेको ‘अल्ट्रामाइक्रोनाइज्ड’ भएकाले कोषझिल्लीलाई क्षति पुर्याउँछ । फेसवास र क्लिन्जरले अनुहार धुनुको सट्टा सफा पानीले धुनुपर्छ । यसो गर्दा छाला ढाकेको पत्र निस्कन्छ र पातलो बन्छ । यसले छालालाई संवेदनशील पनि बनाइदिन्छ । संवेदनशील छाला भनेको छाला पातलो, रातो र सुख्खा हुनु हो । यस्तो छाला घामले डढ्ने सम्भावना बढी हुन्छ ।
सनस्क्रिन क्रिम र मोस्चराइजरको सही प्रयोग
अनुहारको छालालाई जोगाउन उपयुक्त सनस्क्रिन र मोस्चराइजरको नियमित प्रयोग गर्नुपर्छ । अनुहार र शरीरको खुल्ला भागमा घाममा निस्कनुभन्दा करिब १५ मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ । नाक, कानको छेउ, घाँटी तथा ओठको वरिपरि सनस्क्रिन लगाउन बिर्सन हुन्न । घरमा बस्दा समेत प्रत्येक २–३ घण्टामा लगाउनुपर्छ । सनस्क्रिनको छनोट गर्दा एसपीफ १५ भन्दा माथिको प्रयोग गर्नुपर्छ । यसले घामको सबै रंग (स्प्रेक्टम) लाई रोक्छ । एसपीफले युबी किरणबाट हुने क्षतिलाई पनि रोक्छ । बिहान ८ बजेदेखि ४ बजेसम्मको घामको किरण हानिकारक हुन्छ । एकपटक लगाएको क्रिमले २–३ घण्टासम्म मात्र काम गर्छ । २–२ घण्टाको फरकमा सनस्क्रिन क्रिम लगाउनुपर्छ । तर, यसको मात्रा सही हुनुपर्छ । एकपटकमा आधा चम्चा सनस्क्रिन आवश्यक हुन्छ । मेकअप गर्नुपरेमा मोस्चराइजर र सनस्क्रिन क्रिम लगाएपछि फाउन्डेसन लगाउन सकिन्छ । सनस्क्रिन लगाएको २४ देखि ३६ घण्टाभित्रमा छालामा नयाँ खटिरा वा फोका आए सनस्क्रिनको एलर्जी भएको बुझ्नुपर्छ ।
छाता र कालो चस्मा
छायाँ सानो भएको बेला सकेसम्म घाममा ननिस्केकै राम्रो हुन्छ । घामबाट जोगिन सनस्क्रिनमात्र पर्याप्त हुँदैन । यसले शतप्रतिशत घामबाट छालालाई जोगाउन सकिन्न । घाममा निस्कदा कालो छाता, कालो चस्मा र ह्याट छुटाउनुहुँदैन । कालो छाताले शीतलता प्रदान गर्छ भने चस्माले आँखाको वरिपरि आउन सक्ने चाउरीपनाबाट जोगाउँछ ।
सही उपचार
अरूको अनुहारमा क्रिमले फाइदा गर्यो भन्दैमा आफूलाई पनि त्यही क्रिमले राम्रो गर्छ भन्ने हुँदैन । आफ्नो छालाको प्रकृतिअनुसार क्रिमको छनोट गर्नुपर्छ । अनुहारमा जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । इन्टरनेटमा हेरेर वा अरुको पछि लागेर छालाको उपचार गर्नु भनेको छालालाई अझ बिगार्नु हो । इन्टरनेटको प्रयोग जानकारी लिनलाई गर्ने हो, उपचारका लागि होइन । छाला रोग विशेषज्ञको सल्लाहविना सौन्दर्य प्रसाधन प्रयोग गर्नुहुँदैन ।
डा. धर्मेन्द्र कर्ण
(डा.धर्मेन्द्र छाला तथा सौन्दर्य विशेषज्ञ हुन्)