Successfully Copied

पाठेघरको मुखको क्यान्सर

९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) का कारण हुन्छ ।

डा. अरुण शाही

 

जनवरीलाई विश्वभरि पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना फैलाउने महिनाका रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । सन् २०२२ लाई विश्व स्वास्थ्य संगठनले क्यान्सरलाई विश्वबाट उन्मूलन गर्ने अभियान वर्षका रूपमा लिन संसारभरिका सरकारहरूलाई अपिल गरेको छ । महिलामा हुने क्यान्सरहरूमा पाठेघरको मुखको क्यान्सरको समस्या विश्वमा चौथो स्थानमा पर्छ । नेपालमा भने यो पहिलो नम्बरमा पर्छ । 

कारण

- ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) का कारण हुन्छ ।

- सानै उमेरमा विवाह गर्नु र बच्चा जन्माउनु ।

- अपरिपक्व अवस्थामा (कम उमेरमै) यौन सम्बन्ध राख्नु ।

- व्यक्तिगत सरसफाइमा कमी । 

- आर्थिक अभावका कारण स्वास्थ्य परीक्षण गराउन नसक्नु ।

- धेरै जनासँग यौन सम्बन्ध राख्नु र यौन रोग लाग्नु । 

- धूम्रपान गर्नु ।

लक्षण

- यौनसम्पर्कपछि रक्तस्राव हुनु ।

- योनिबाट बढी पानी बग्नु ।

- योनाङ्ग दुख्नु–पोल्नु ।

रोकथामका उपाय

पाठेघरको मुखको क्यान्सरबाट बच्न ‘एचपीभी भ्याक्सिन’ दिनुपर्छ । यो ९ देखि २६ वर्ष उमेरमा लिन सकिन्छ । ११ देखि १३ वर्ष उमेरमा लिनुलाई उत्तम मानिन्छ । ‘सर्भरिक्स’, ‘गाडासेल’ र ‘गाडासेल नाइन’ भ्याक्सिन दिन सकिन्छ । नेपालमा ‘गाडासेल भ्याक्सिन’ दिने चलन छ । तर ‘भ्याक्सिन’ लगाएर मात्र यो समस्याबाट जोगिन सकिँदैन । भ्याक्सिनका साथै रोकथामका उपाय अपनाउन आवश्यक छ । जसका लागि स्क्रिनिङमा जान आवश्यक छ । यसका लागि स्त्रीरोग चिकित्सकसँग परीक्षण गराउनुपर्छ । २१ देखि २९ वर्षसम्मका महिलाले हरेक तीन वर्षमा एकपटक स्त्रीरोग विशेषज्ञकहाँ गएर ‘प्याप स्मेयर’ परीक्षण गराउनुपर्छ ।

३० देखि ६५ वर्षसम्मका महिलाले ‘प्याप स्मेयर’ र ‘एचपीभी डीएनए’ परीक्षण गराइसकेको छ भने पाँच वर्षमा एकपटक परीक्षणका लागि जान सक्छन् । ‘प्याप स्मेयर’ मात्र परीक्षण गर्ने हो भने तीन वर्षमा एकपटक परीक्षणका लागि जानुपर्छ ।

त्यसपछि आवश्यकतानुसार क्यान्सर रोग विशेषज्ञलाई रेफर गर्ने गरिन्छ । समयमै यो क्यान्सरलाई पहिचान गरेर उपचार गरियो भने निदान सम्भव छ । 

(डा. अरुण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिस्टका रूपमा कार्यरत छन् ।) 

 Image